काठमाडौँ- समाजमा यौनकर्मीप्रतिको दृष्टिकोण परिवर्तन गर्न ‘लालिमा’ बनाएकाे लेखक तथा निर्देशक रोशन मिराजले बताएका छन्। हात्तीसारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक मिराजले यस्तो बताएका हुन्।
आफूले करिब २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरेपछि फिल्म ‘लालिमा’ बनेको उनले दाबीसमेत गरेका छन्।कथालाई पहिले उनले डकुमेन्ट्रीमा देखाउने योजना बनाएका थिए। सबै तथ्य डकुमेन्ट्रीमा सम्भव नभएपछि फिल्म बनाएको उनले जानकारी दिए।
निर्देशक मिराजले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौँ। सुरुमा कथालाई डकुमेन्ट्री बनाउन खाेजेकाे थिए। डकुमेन्ट्रीमा परिचय खुल्ने डरले उहाँहरू पर्दामा देखिन चाहनुभएन। फिल्म बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो। र लालिमा बन्याे।’
फिल्म अध्ययन गरेका मिराज फेथ आस्था नामक संस्थामा कार्यरत छन्। फिल्म आम जनमानसमा परेको यौनकर्मीप्रतिको दृष्टिकोण र उनीहरूको वास्तविकताको खाडल पुर्न ‘लालिमा’ निर्माण गरिएको उनले बताए।
विगत लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर काम गरिरहेकाले आफू फिल्ममा अनुबन्ध भएको अभिनेत्री उषा रजकले बताइन्।
उनले भनिन्, ‘कसैको पीडालाई फिल्म बनाउने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ। तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ। उनीहरुको पीडामा साथ दिएको छ। उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ। त्यसैले उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो। त्यही भएर यो फिल्मको कलाकार बन्न तयार भएँ।’
समस्या परेका यौनकर्मीको आवाज बनेर फिल्ममा देखिन पाउने अवसरलाई गुमाउन नचाहेको मुख्य कलाकार रोशनी कार्कीले बताइन्।
उनले भनिन्, ‘समाजले यौनकर्मीहरूले मानवको दर्जासमेत दिएको छैन। यो फिल्मको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो। उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ। उहाँहरूको आवाज बन्न म यो फिल्ममा जोडिएको हो।’
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्ममा रोशनी र उषासहित जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। यही फागुन २९ देखि प्रदर्शनमा आउनेछ। फिल्मका कार्यकारी निर्माता रीना लामा हुन्।





