काठमाडौँ- आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्यको समझदारी बनेको छ। पछिल्लो राजनीतिक परिस्थितिमा दुवै दलले आपसी सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका हुन्।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सहयोग गर्ने भद्र सहमति भएको छ। प्रलोपाले कांग्रेसको चुनाव चिह्व ‘रुख’ मा मतदान गर्न आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेको छ। समानुपातिकतर्फ भने प्रलोपाले आफ्नै चुनाव चिह्न ‘आँखा’ मा मतदान गर्न आग्रह गरेको छ।
दुई दलबीच शनिबार भएको समझदारीअनुसार कांग्रेसले आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा प्रलोपालाई सहयोग गर्नेछ। डा.बाबुराम भट्टराई निकटका एक नेताले आइतबार हिमालप्रेससँग भने, ‘गोरखामा स्थानीय तहको चुनावमा कांग्रेस र प्रलोपाबीच सहकार्य गर्ने र अहिले दुबै संघीय निर्वाचन क्षेत्रमा कांग्रेसलाई प्रलोपाले सघाउने भद्र सहमति भएको छ।’
यसअघि पनि गोरखामा कांग्रेस र तत्कालीन नयाँ शक्ति नेपाल (हाल प्रलोपा) बीच चुनावी तालमेल हुँदै आएको थियो। २०७४ सालको निर्वाचनमा पनि डा.भट्टराई कांग्रेससँगको सहकार्यबाट गोरखा-२ बाट निर्वाचित भएका थिए। यस पटक उनले उम्मेदवारी दर्ता गरे पनि पछि फिर्ता लिएका थिए।
नेपाली कांग्रेस गोरखाले प्रलोपालाई धन्यवाद व्यक्त गर्दै सहकार्यको निर्णयको स्वागत गरेको छ। कांग्रेसका गोरखा-२ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले पनि प्रलोपाको निर्णयप्रति आभार व्यक्त गरेका छन्। उनले प्रलोपा सम्बद्ध मतदातालाई रुख चिन्हमा मतदान गरी सहयोग गर्न अपिल गर्दै आफू निर्वाचित भएपछि दुवै पार्टी र मतदाताप्रति बफादार रहने प्रतिबद्धता व्यक्त गरे।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गोरखाको निर्वाचन क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दाइ आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिह्व ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको छ। प्रलोपाको हालै सम्पन्न बैठकले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेकोप्रति हार्दिक आभार व्यक्त गर्दै सो निर्णयको स्वागत गर्दछु। साथै आगामी फागुन २१ गतेको निर्वाचनमा प्रलोपा संवद्ध मतदाताहरूलाई रुख चिह्वमा अमूल्य मतदान गरी सहयोग र सहकार्य गर्नुहुन अनुरोध गर्दछु। निर्वाचन जितेर गएपछि दुबै पार्टी र मतदाताप्रति बफादार बन्दै सहकार्य र सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु।
धन्यवाद।’
यसअघि नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रलोपासँग सहकार्यका लागि बिनासर्त सहयोग मागेका थिए।





