‘लालिमा’ बन्न जब रोशनी यौनकर्मी भेट्न पुगिन्

सुस्मिता बजगाईं १२ फागुन २०८२ २०:५७ | Tuesday, February 24, 2026
46
SHARES
‘लालिमा’ बन्न जब रोशनी यौनकर्मी भेट्न पुगिन्

काठमाडौँ-  कोही किन बन्छ यौनकर्मी? बाध्यताले कि रहरले?

जबाफ सजिलै छ- बाध्यताले। तर त्यो बाध्यता के हो? किन मान्छेले यो पेसा रोज्छ? र, यो पेसा रोजिसकेपछिको मानसिक अवस्था के हुन्छ भन्ने विषय भोग्ने व्यक्तिबाहेक अरू कसैलाई थाहा हुँदैन। किनभने उनीहरू खुल्न चाहँदैनन्।

खुलुन् पनि कसरी? यौनकर्मीलाई छिः छिः, दूरदूर गर्ने समाज जो छ। समाजले उनीहरूका बाध्यता बुझ्न पनि चाहँदैन। त्यसैले उनीहरू सार्वजनिक रूपमा बोल्न सक्दैनन्, बोल्दैनन्।

जब कलाकार रोशनी कार्कीलाई फिल्म ‘लालिमा’मा यौनकर्मीको भूमिकाको प्रस्ताव आयो। तब उनलाई समस्या भयो, यौनकर्मीलाई कहाँ भेट्ने र उनीहरूको भावना कसरी बुझ्ने?

हामीले जसरी बाहिरबाट यौनकर्मीलाई बुझेका छौँ, त्योभन्दा धेरै विषय लुकेका हुन्छन्, लुकाइएका हुन्छन्। चाहे त्यो बाध्यताको कुरा होस् वा मानसिक रूपमा विक्षिप्त भएको।

त्यसैले उनीहरूलाई नभेटी वा कुरा नगरी सो पात्रलाई न्याय गर्न सकिँदैन भन्ने बुझेपछि रोशनीले यौनकर्मीहरू भेट्ने मनसाय बनाएकी हुन्। उनी भन्छिन्, ‘यौनकर्मी मैले चिनेको थिइनँ। आफूलाई यौनकर्मी बताउने को नै हुन्छ र?’ 

फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित भएकाले उनका लागि जसरी पनि उनीहरूसँग भेट्नुपर्ने बाध्यता थियो। ‘फिल्म निर्माण टिमको सहयोगमा यौनकर्मीहरूसँग कुराकानी गर्न सकेँ। उहाँहरूले आफ्नो समस्या, पीडा र मनोदशा सुनाउनुभयो। त्यसैबाट पात्र निर्माणमा मलाई सहयोग भयो,’ उनले भनिन्। यसक्रममा उनले १० जना यौनकर्मीहरूसँग कुरा गर्ने मौका पाएको बताइन्।

यसरी भेटिएका यौनकर्मीहरू कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्म रहेको उनले सुनाइन्। उनी भन्छिन्, ‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ। सबै किशोरीदेखि अधवैँशे उमेरसम्मका छन्। उनीहरू आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका रहेछन्।’

ठूलो संख्यामा रहेका यौनकर्मीको मानसिकता र पीडाको प्रतिनिधित्व गर्न पाएकोमा आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘कलाकारको रूपमा म उहाँहरूको आवाज बनेकी छु। उहाँहरूका लागि मैले गर्न सक्ने काम गरेँ। कम्तीमा उहाँहरूको मानसिकता र समस्या पर्दामा उतार्ने प्रयास गरेकी छु।’

यही फागुन २९ बाट प्रदर्शन हुने फिल्म ‘लालिमा’ मा कलाकार रोशनी कार्की शीर्ष भूमिकामा छिन्।  थिएटर पृष्ठभूमिबाट अभिनय यात्रा सुरु गरेकी रोशनी पहिलोपटक यौनकर्मीको भूमिकामा ठूलो पर्दामा आएकी हुन्।

फिल्म रोशन मिराजकाे लेखन तथा निर्देशनमा बनेकाे छ। फिल्मले नेपालका यौनकर्मीहरूको अनुभव, संघर्ष र भोगाइलाई पर्दामा उतार्ने  प्रयास गरेकाे निर्देशक मिराजले बताए।

‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ। एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन्। आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन्,’ फिल्मबारे निर्देशक मिराज भने, ‘त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य भएकी छन्। फिल्म यही कथामा बनेको हो।’ ‘लालिमा’को आमाको भूमिकामा कलाकार उषा रजक छिन्।

फिल्मको प्रचार सामग्रीमा लालिमाको यौन व्यावसायसँगै उनको मानसिक अवस्थाको चित्रण गरिएको छ। एक टिजरमा उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको देख्न सकिन्छ। अर्काेमा उनी बच्चाको साथमा पनि देखिएकी छन्। जसले एक यौनकर्मीको जीवनमा आउने उतारचढावको संकेत गर्छ।

निर्देशक मिराजले फिल्मलाई यौनकर्मीको कथामात्र नभएर एक जागरण र आत्मबलको कथा पनि रहेको दाबी गरेका छन्।

रोशनीसहित फिल्ममा जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, शिशिर वाङ्देल, घनश्याम जोशी, सविन कट्टेल, किशोर भण्डारीलगायत कलाकार सहायक भूमिकामा छन्। फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।

प्रकाशित: १२ फागुन २०८२ २०:५७ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast