मुक्तिनाथमा श्रद्धालुको घुइँचो, दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था

हिमाल प्रेस ९ फागुन २०८२ २०:५२ | Saturday, February 21, 2026
मुक्तिनाथमा श्रद्धालुको घुइँचो, दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था मुक्तिनाथ मन्दिरमा भक्तजन। तस्बिर : रासस

मुस्ताङ– चिसो घटेपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ। हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो।

मुक्तिनाथमा फागुन लागेपछि दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। उनका अनुसार पुस र माघमा आशिंक रूपमा धार्मिक पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेकामा चिसो केही कम भएकाले दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हो।

मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थालेपछि मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी तथा धार्मिक पर्यटकको आगमन थप वृद्धि हुने अपेक्षा गरिएको व्यवस्थाक भुसालले बताए। फागुन लागेपछि मन्दिर दर्शन गर्ने भक्तजनको उचित व्यवस्थापन, सरसफाइ, खानपानलगायत पक्षमा ध्यान दिइएको उनको भनाइ छ।

मुक्तिनाथ दर्शन गर्नका लागि भक्तजनलाई लामबद्ध गराउने, दर्शनमा सहज बनाउने, स्वच्छ पानी तथा खानपानलगायत लेक लाग्ने समस्याबाट सुरक्षित रूपमा भक्तजनको सुरक्षाका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई क्रियाशील राखिएको व्यवस्थापक भुसालले जानकारी दिए। उनका अनुसार मुक्तिनाथको चिसोमा १०८ धारा र कुण्डमा स्नान गरेका दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था गरिएको छ।

हिन्दू तथा बौद्ध धर्मालम्बीको धार्मिक आस्थाको केन्द्र पवित्र धार्मिकस्थलमा दर्शन गर्नाले जानअञ्जानमा भएका गल्तीमा मुक्त भइने धार्मिक जनविश्वास छ। भगवान् विष्णुको बासस्थान रहेको मुक्तिनाथधाममा बर्सेनि श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ।

मन्दिरसम्म पुग्ने धार्मिक पर्यटक तथा दर्शनार्थीको सुविधाका लागि पर्याप्त भक्तजनमैत्री पूर्वाधार नहुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन्। मन्दिरको मुख्य प्रवेशद्वार ‘सिंगललेन’को भएकाले भक्तजनलाई भीडभाडमा पैदलयात्रा गर्न समस्या हुने गरेको समितिका व्यवस्थापक भुसालले बताए। साथै मन्दिर परिसरमा पर्याप्त मात्रामा शौचालय र कपडा परिवर्तन गर्ने कोठा नहुँदा पनि भक्तजनलाई समस्या पर्ने गरेको छ।

पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडकमार्ग सहज भइसकेकाले पनि मुस्ताङ र मुक्तिनाथ दर्शन गर्ने पर्यटकको संख्या वृद्धि हुँदै जान थालेको हो। मुस्ताङमा धार्मिक पर्यटकको संख्या बढेसँगै यहाँको पर्यटन व्यवसायसमेत चलायमान बन्दै जान थालेको छ। मुक्तिनाथमा दर्शन गर्न भारतीय पर्यटकको बाक्लो उपस्थिति रहँदै आएको छ।

मुस्ताङमा चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २२ हजार पाँच सय ५८ जना पर्यटक भित्रिएका छन्। यसअघि आव २०८०/८१ मा चार लाख ५४ हजार तीन सय २६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। गत आवमा यहाँ सात लाख पाँच हजार सात सय ७९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ। रासस

प्रकाशित: ९ फागुन २०८२ २०:५२ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast