संकटमा ज्ञानेन्द्र कार्कीको ‘ह्याट्रिक’ दाउ!

विवेक विवश रेग्मी ७ फागुन २०८२ २१:३३ | Thursday, February 19, 2026
14
SHARES
संकटमा ज्ञानेन्द्र कार्कीको ‘ह्याट्रिक’ दाउ!

इटहरी- २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट ज्ञानेन्द्रबहादुर कार्की तेस्रोपटक उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा होमिएका कार्कीले यसपटक लगातार तेस्रो जित निकाल्दै ‘ह्याट्रिक’ गर्ने लक्ष्य राखेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा शक्तिमा रहेका बेला देउवाका भित्रिया मानिने कार्कीले पार्टीभित्र बलियो हैसियत बनाउँदै आएका थिए। भोजपुरमा लगातार पराजय भोगेपछि सुनसरी क्षेत्र नं. ४ रोजेका कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सहज रूपमा विजयी भएका थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँगको गठबन्धनको बलमा कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई जम्मा ११२ मतको झिनो अन्तरले पराजित गरेका थिए। समानुपातिकतर्फ कांग्रेसले २८ हजार ८२ मत ल्याउँदै अग्रता लिँदा एमालेले २० हजार ५७३ मत प्राप्त गर्‍यो। तर जनता समाजवादी पार्टी, राप्रपा र रास्वपाले संयुक्तरूपमा करिब १७ हजारभन्दा बढी मत बटुल्नुले सुनसरी-४ बहुदलीय प्रतिस्पर्धाको केन्द्रका रूपमा उभिएको देखायो।

४२ मतदानस्थल र १५० मतदान केन्द्र रहेको यस क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदाता रहेका छन्। अघिल्लोपटक थोरै मतान्तरले नतिजा उल्टिन सक्ने अवस्था कायमै छ, जसले यसपटकको निर्वाचनलाई अझै अनिश्चित र रोचक बनाएको छ।

खासगरी यसपटक कुनै पनि चुनावी गठबन्धन नहुनु, मुख्य दलहरू आ-आफ्ना उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रनु, अघिल्ला निर्वाचनका क्रममा कार्कीले व्यक्त गरेका प्रतिबद्धता पूरा नभएको जनगुनासो बढ्नु, कांग्रेसभित्रै अन्तर्घातको आशंका रहनु, दक्षिणी क्षेत्रका त्यो पनि नेताका आफन्तलाई समानुपातिक सूचीमा राख्नु, ‘सीमित व्यक्तिलाई मात्रै च्याप्नु’ जस्ता कारण र नयाँ शक्ति भनेर चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको मतदाताको आकर्षणले कार्कीको चुनावी यात्रा यसपटक थप असहज बनेको छ।

उनी तेस्रोपटक जित निकाल्दै ‘ह्याट्रिक’ गर्ने तयारीमा रहे पनि परिस्थिति असहज रहेको कांग्रेस कार्यकर्ताहरूनै बताउँछन्। पार्टीभित्रको आन्तरिक असन्तुष्टि, गठबन्धनको समीकरण नहुनु र प्रतिस्पर्धी दलहरूको आक्रामक रणनीतिले कार्कीको चुनावी यात्रा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

कांग्रेस सुनसरी क्षेत्र नं. ४ (क)का सभापति तथा निर्वाचन अनुगमन समितिका संयोजक उपेन्द्र कटवालका अनुसार कार्कीप्रति मतदाताको असन्तुष्टि खुलेर देखिन थाल्दा चुनावमा मत माग्नै गाह्रो भइरहेको छ। उनी भन्छन्, ‘सबै मतदाता खुसी छैनन्। चुनावमा बोलेका धेरै कुरा भाषणमै सीमित भए। नेताले प्रयोग गर्ने भाषा व्यवहारमा देखिएन। सधैँ सीमित व्यक्ति र समूहको घेराबन्दीमा पर्नु पनि प्रमुख कारण हो। जुनसुकै अवसरमा पनि उही व्यक्ति र उही समूहलाई प्राथमिकता दिइयो।’

उनका अनुसार सञ्चारमन्त्री र अर्थमन्त्रीजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसक्दा पनि अपेक्षित रूपमा रोजगारी सिर्जना हुन नसक्दा नयाँ मतदाता निराश छन्। ‘अब जनतासमक्ष लिएर जाने ठोस मुद्दा नै छैन। जनतालाई झुटो बोलेको जस्तो अनुभूति भइरहेको छ,’ उनले भने। कटवालले विकास र पहुँचमा क्षेत्रीय असन्तुलन पनि औँल्याएका छन्। उनका अनुसार उत्तरी क्षेत्र उपेक्षित हुँदै जाँदा दक्षिणी क्षेत्रमा मात्रै केन्द्रित हुने प्रवृत्तिले असन्तोष थप चुलिएको छ।

खास गरी कार्कीको निर्वाचन क्षेत्र पर्ने सुनसरीको कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिकामा कांग्रेसले जितेको छ। तर यहाँका मतदाता काम नभएको भन्दै असन्तुष्ट छन्।

सुनसरीको हरिपुर क्षेत्रका उमेरले ८१ वर्ष पुगेका मिठु खत्वे नेपाली कांग्रेससँग आबद्ध छन्। उनले निर्वाचनमा पार्टीलाई जिताउनका लागि यसअघि महत्त्वपूर्ण भूमिका खेलेका छन्। गाउँमा अग्रज भएकै कारण पनि आफूले भनेको सुन्ने, मान्ने केही मानिसहरू छन्। तर निर्वाचनमा नेताले दिएका आश्वासन आश्वासनमा मात्रै सीमित हुने गरेको उनले सुनाए।

म मन्त्री भएँ भने यो काम गर्छु, त्यो गर्नु भन्ने आश्वासन दिलाएर चुनाव जित्ने तर चुनाव जितेपछि फर्किएर नआउने प्रवृत्ति अहिले पनि उस्तै रहेको मिठुले भोगे। तर उनी केही बोलेका छैनन्। चुपचाप-चुपचाप वर्षौँदेखि यो प्रवृत्ति देखेर आजित भएका उनी बोलेर माग पूरा हुँदैन भन्ने निष्कर्षमा पुगिसकेका छन्।

‘जहाँ चुनावमा भन्छ कि बाटो बनाइदिने, हात्ती आउन नदिने, अर्ना ननिस्कने बनाइदिन्छु। जब जितेर जान्छ, तब फर्किएर आउँदैन,’ उनले थपे, ‘जितेपछि के आउँछ? अफिसमा फुर्सद हुँदैन।’

कोशी गाउँपालिकामा कांग्रेसले निर्वाचन जितेको छ। पालिकामा मात्रै होइन, प्रदेशसभा (दुवै) र प्रतिनिधिसभामा पनि कांग्रेसले नै निर्वाचन जितेको छ। खास गरी कोशी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तुका कारण स्थानीयवासी प्रताडित रहे पनि घेरबारसम्म गर्ने कुनै कदम नचाल्दा यहाँका मतदाता असन्तुष्ट रहेको उनको भनाइ छ।

गरिब जनतालाई वन्यजन्तुको आक्रमणबाट जोगाउने आश्वासन दिलाएर निर्वाचन दुईपटक निर्वाचन जितेका कार्की तीनपटक मन्त्री भइसकेका छन्। २०७४ साल मङ्सिरमा भएको निर्वाचनमा अर्थमन्त्री रहेका उनी त्यसपछि कानुन मन्त्री र पछि पुनः सञ्चारमन्त्री भइसकेका छन्। तर यस क्षेत्रका जनताको समस्या सम्बोधन हुने त परको कुरा, निर्वाचनपछि नेताहरू फर्किएरै नआएको मिठुको गुनासो छ।

‘आफ्नो-आफ्नो पार्टीमा सबै मान्छे लागेको छ। म पनि आफ्नो पार्टीमा लागेँ। तर निर्वाचन जितेपछि के आउँछ? अफिसबाट फुर्सद हुँदैन, बोलीको भरमा, विश्वासको भरमा भोट दिनुपर्छ,’ उनले कहिलेकाहीँ पालिकामा जाँदाको अवस्था सम्झदैँ भने, ‘उसको अफिसमा गयो भने ए कुर्सी ल्याउनु–ल्याउनु, चिया ल्याउनु, पानी ल्याउनु भन्छ।’

कोशी गाउँपालिकामा भने ऐयुब अन्सारीले निर्वाचन जितेका छन्। प्रदेशसभाको दुवै निर्वाचन क्षेत्र (क) र (ख) मा कांग्रेसका सदानन्द मण्डल र इस्राइल मन्सुरीले निर्वाचन जितेका छन्। सदानन्द र इस्राइल दुवैजना कोशी प्रदेश सरकारको मन्त्री भइसके पनि कोशीका मुद्दामा काम नगरेको उनको गुनासो छ।

‘यो बाटो छ तपाईँ बाटोमा लामो समय हिँड्नुहुन्छ भने जता जानुहुन्छ, त्यतै राम्रो गर्दै जानुपर्छ,’ खत्वे भन्छन्, ‘यहाँ त राजनीति गरिहाल्छ।’ खत्वेजस्ता हजारौँ पात्रको गुनासो उम्मेदवारहरूसँग छ। तर उनी त्यो भन्न सक्दैनन्। आफैँले निर्वाचन जिताएकाहरूसँग उनी मुख फोर्न सक्दैनन्, आफ्नो समस्या सुनाउन सक्दैनन्।

कोशी गाउँपालिका ४ का ७१ वर्षीय नारायणप्रसाद खत्वे पनि चुनावमा मत माग्न आउनेहरूसँग सन्तुष्ट छैनन्। यहाँ खास गरी हात्ती, बँदेलजस्ता वन्यजन्तुले दुःख दिने गरेको र बालीनाली क्षति हुँदा राज्यले कुनै काम नगरेकोमा उनको असन्तुष्टि छ। वन्यजन्तुले मानिस मार्दा १० लाखसम्मको क्षतिपूर्ति दिए पनि बालीनाली क्षति गर्दा जति क्षति हुने हो त्यति राहत उपलब्ध नभएकोमा उनको गुनासो छ। ‘चुनावमा मत माग्न आउँछ, मत माग्न आउने बेला वाचा गर्छ,’ उनले भने, ‘तर त्यो वाचचा चुनाव सकिएको दिनदेखि कहाँ जान्छ जान्छ ।’

यहाँस्थित अठहत्तर हड्डी, बाइस हजार, भट्टाबारी, बैरस, श्रीलंका टप्पु, कमलपुर, पथरी, बदगमाहा क्षेत्रमा मानव–वन्यजन्तु समस्या न्यूनीकरण गर्नुपर्ने उनले बताए। सुनसरी ४ मा कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, बराह नगरपालिकाको ६–११, रामधुनी नगरपालिकाको वडा ४, इनरुवा नगरपालिकाको ३, ४ र ८ र हरिनगर गाउँपालिकाको वडा १, २ र ४–७ समेटिएको छ।

जसमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट जगदीशप्रसाद कुसियैत, नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, राप्रपाबाट प्रेमप्रसाद भट्टराईलगायत ३३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

२०६५ सालमा कोशी बाँध फुटेपछि विस्थापित र पीडित बनेका बाढीपीडितहरूको समस्या आजसम्म पनि उस्तै रहेको जनाइएको छ। वर्षौँदेखि समाधानको आशामा बसेका उनीहरू पुराना पार्टीका उम्मेदवार चुनाव जितेपछि गाउँमा कहिल्यै नदेखिएको गुनासो गर्छन्।

जनप्रतिनिधि विजयी भएपछि जनताबाट टाढा रहने प्रवृत्तिले बाढीपीडित क्षेत्रमा राजनीतिक विश्वास कमजोर बन्दै गएको अधिकांश मतदाताको धारणा छ। यही असन्तुष्टि, मत विभाजन र नयाँ दलप्रतिको आकर्षणका कारण यसपटक सुनसरी-४ मा कसको जित सुनिश्चित हुन्छ भन्ने विषय अझै अनिश्चित बनेको छ।

प्रकाशित: ७ फागुन २०८२ २१:३३ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast