ख्यातिवाद : भ्रमात्मक ज्ञानको चिरफार

रोहिणीराज तिमिल्सिना ७ फागुन २०८२ १३:३४ | Thursday, February 19, 2026
6
SHARES
ख्यातिवाद : भ्रमात्मक ज्ञानको चिरफार

१. ख्यातिवादको दार्शनिक पृष्ठभूमि

पौरस्त्य दर्शनको विशाल प्राङ्गणमा ‘ख्यातिवाद’ ज्ञानमीमांसाको एउटा यस्तो आधारस्तम्भ हो, जसले मानवीय बुद्धिको सीमा र भ्रमात्मक प्रकृतिको अत्यन्तै सूक्ष्म ढङ्गले चिरफार गरेको छ। ‘ख्याति’ को शाब्दिक अर्थ ज्ञान वा प्रतीति भए तापनि दार्शनिक सन्दर्भमा यसले ‘भ्रमपूर्ण ज्ञान’ को स्वरूपलाई बुझाउँछ। जब हामी अन्धकारमा एउटा डोरीलाई सर्प देख्छौँ वा समुद्रको किनारमा टल्किरहेको सिपीलाई चाँदी ठानेर उठाउन जान्छौँ, तब यस प्रकारको व्यवहारको सन्दर्भमा प्रश्नहरू उठ्ने गर्छन्- त्यो भ्रममा देखिएको वस्तुको सत्ता कस्तो प्रकारको हो? के त्यो वस्तु मानसिक कल्पनाको उपजमात्र हो? अथवा त्यो कतै अन्तै रहेको वास्तविक वस्तुको झलक हो? या त पूर्णतया असत् वस्तु हो? यस्ता अनेकन प्रश्नहरूको उत्तर खोज्ने क्रममा पूर्वका मनीषीहरूले विभिन्न तार्किक विमर्शहरू गरे, जसलाई एकीकृत रूपमा ‘ख्यातिवाद’ भनियो।

ख्यातिवादका विभिन्न मान्यतामध्ये बौद्धदर्शनको आत्मख्याति र असत्ख्याति, मीमांसाको अख्याति र विपरीतख्याति, न्यायको अन्यथाख्याति तथा विशिष्टाद्वैतको सत्ख्यातिले भ्रमलाई आ-आफ्नै तत्त्वमीमांसीय दृष्टिकोणबाट व्याख्या गर्ने प्रयास गरेका छन्। यी विविध मतहरूमध्ये अद्वैतवेदान्तको ‘अनिर्वचनीयख्याति’ले एउटा क्रान्तिकारी वैचारिक आयाममा पुऱ्याएर ख्यातिवादलाई निष्कर्षित गरिदिएको छ । यसले भ्रममा भासमान हुने वस्तुलाई सत् र असत् दुवै कोटिभन्दा फरक रूपमा अनिर्वचनीय मानेर अन्य सबै ख्यातिहरूको खण्डनपूर्वक जगत्‌को मिथ्यात्व र आत्मसत्यतालाई सिद्ध गर्ने बलियो आधार प्रदान गरेको छ। प्रस्तुत लेखमा यिनै आठ प्रकारका ख्यातिहरूको तुलनात्मक विवेचना गर्दै अद्वैतवेदान्तको निष्कृष्ट अनिर्वचनीयख्यातिलाई शास्त्रीय तर्कदृष्टिले विश्लेषण गर्ने प्रयास उठाइएको छ।

 १.१ उपक्रम

पौरस्त्य दर्शनमा ‘ख्याति’ शब्दले भ्रमपूर्ण ज्ञानको प्रकृतिलाई बुझाउँछ। देख्नु/भन्नु अर्थ भएको ‘चक्ष्’धातुबाट ‘क्तिन्’ प्रत्यय भएर बनेको यस ‘ख्याति’ शब्दको अर्थ ‘प्रतीति’ वा ‘अनुभूति’ हो। जब हामी डोरीलाई सर्प देख्छौँ, त्यहाँ सर्पको ‘ख्याति’ भइरहेको हुन्छ। त्यो सर्प कहाँबाट आयो? के त्यो सर्प सत्य हो? यदि सत्य हो भने डोरी देखेपछि किन हराउँछ? यदि असत्य हो भने किन देखिन्छ? आदि प्रश्नहरूको उत्तर खोज्ने क्रममा नै ‘ख्यातिवाद’ को जन्म भएको हो।

 १.२ भ्रमको मनोवैज्ञानिक एवं तार्किक आधार

भ्रम (Illusion) केवल दृष्टिदोषमात्र होइन, यो एक ज्ञानमीमांसीय समस्या हो। पौरस्त्य दर्शनमा भ्रमलाई ‘अध्यास’ वा ‘विपर्यय’ भनिन्छ । यसमा तीनवटा पक्ष हुन्छन्-

अधिष्ठान :    जसको आधारमा भ्रम हुन्छ (जस्तै : डोरी वा सिपी)।

आरोप्य   :   जुन वस्तुको भ्रम हुन्छ (जस्तै : सर्प वा चाँदी)।

दोष  :  भ्रम सिर्जना गर्ने कारण (जस्तै : मधुरो प्रकाश, वासनासंस्कार, मानसिक वा ऐन्द्रिक रोग)।

२. ख्यातिका प्रकार

दार्शनिक जगत्‌मा विशेषतः ख्यातिपञ्चकका नामले पाँच ख्याति प्रसिद्ध छन्-

आत्मख्यातिरसत्ख्यातिरख्यातिः ख्यातिरन्यथा।

परीक्षकाणां विभ्रान्तौ विवादात्सा विविच्यते।। (मण्डनमिश्रः, विभ्रमविवेकः १)

आत्मख्यातिरसत्ख्यातिरख्यातिख्यातिरन्यथा।

तथानिर्वचनीयख्यातिरित्येतत् ख्यातिपञ्चकम्।। (वंशीधरटीका, श्रीमद्भागवतम् ११/१६/२७)

आत्मख्याति, असत्ख्याति, अख्याति, अन्यथाख्याति र अनिर्वचनीयख्याति ती अतिप्रसिद्ध पाँच ख्याति हुन्। यी पाँचका अलावा पनि अन्य तीन ख्याति प्रसिद्ध छन्, जसका बारे भासर्वज्ञ आदि दार्शनिकहरूले चर्चा गरेका गरेका छन्। तिनै आठ मुख्य ख्यातिको यहाँ चर्चा प्रस्तुत छ। अवान्तर भेदहरूसमेत गरेर चौधथरी ख्यातिको चर्चा पाइन्छ।

२.१ आत्मख्याति

आत्मख्याति मुख्यतया विज्ञानवादी योगाचार, बाह्यार्थानुमेयवादी सौत्रान्तिक र बाह्यार्थप्रत्यक्षवादी वैभाषिक बौद्धहरूको मत हो। यहाँ ‘आत्मा’ शब्दले जीवात्मा नभई ‘विज्ञान’ वा ‘चित्त’लाई बुझाउँछ। यी तीनै मतमा भ्रमको समयमा आरोपित हुने वस्तु (जस्तै : चाँदी) ‘ज्ञान’कै एउटा आकार हो भन्ने कुरामा त सहमति छ तर त्यो कुन आधार वा अधिष्ठानमा आरोपित हुन्छ भन्ने विषयमा भने मतभेद छ। विज्ञानवादीहरू बाह्य वस्तुको वास्तविक सत्ता स्वीकार गर्दैनन्। उनीहरूका अनुसार अनादि अविद्याको वासनाले गर्दा एउटा अलिक (झुटो) बाह्य आधारको कल्पना गरिन्छ र त्यहीँ भित्री ज्ञानको आकार ‘चाँदी’ का रूपमा देखिन्छ। अर्कोतर्फ बाह्य संसारको सत्तालाई सौत्रान्तिकहरू अनुमेय अनि वैभाषिकहरू प्रत्यक्ष मान्छन् र त्यही बाह्य वस्तुमा भित्री ज्ञानको आकार आरोपित हुन्छ भन्छन्।

सिद्धान्त : यी मतका अनुसार बाह्य संसारको कुनै स्वतन्त्र अस्तित्व छैन । सबै कुरा ‘आलयविज्ञान’ वा चेतनाको प्रवाहमात्र हो।

प्रक्रिया : हाम्रो मनभित्र रहेको ‘रजत-संस्कार’ वा चाँदीको विचार बाहिर प्रक्षेपित हुन्छ । भ्रमले बाहिर देखिने चाँदी वास्तवमा आफ्नै ‘विज्ञान’ वा ‘आत्मा’को आकार/विवर्त हो।

खण्डन : यदि चाँदी विज्ञानकै आकार/विवर्त हो भने “यो चाँदी हो” (इदं रजतम्) नभनी “म चाँदी हुँ” भन्नुपर्ने थियो।

२.२ असत्ख्याति

यो शून्यवादी माध्यमिक बौद्धहरूको मत हो।

सिद्धान्त : उनीहरूका अनुसार संसारका सबै वस्तु स्वभावशून्य (असत्) छन्। भ्रमको समयमा देखिने चाँदी पनि पूर्णतया ‘असत्’ हो।

प्रक्रिया : जसरी एउटा जादुगरले हावामा वस्तु देखाउँछ, त्यसरी नै असत् वस्तुको प्रतीति हुनु नै असत्ख्याति हो।

खण्डन : यदि वस्तु पूर्णतया असत् (जस्तै: खरायोको सिङ) हो भने त्यो देखिनै सक्दैन। असत् वस्तुको प्रत्यक्ष ज्ञान असम्भव छ।

२.३ अख्याति वा स्मृतिविप्रमोष

यो प्रभाकर मीमांसकहरूको मत हो। सिद्धान्त : ज्ञान कहिल्यै गलत हुँदैन । भ्रम भनेको ज्ञान हुनु होइन, बरु दुई ज्ञानबीचको भेद थाहा नपाउनु हो।

प्रक्रिया : यहाँ दुई क्रिया हुन्छन् : डोरीलाई ‘यो’ (इदम्) भनी देख्नु (प्रत्यक्ष) र पहिले देखेको सर्पलाई ‘सर्प’ भनी सम्झनु (स्मृति) । यी दुईबीचको भिन्नता नछुट्टिनु (भेदाग्रह) नै अख्याति हो।

खण्डन : यदि भेदमात्र नछुट्टिएको हो भने मान्छे चाँदी उठाउन किन अघि बढ्छ ? यहाँ चाँदी उठाउन अघि बढ्ने ‘प्रवृत्ति’को व्याख्या अख्यातिले गर्न सक्दैन।

 २.४ अन्यथाख्याति

यो न्याय र वैशेषिकको मत हो।

सिद्धान्त : एउटा वस्तु अर्को रूपमा (अन्यथा) देखिनु।

प्रक्रिया : चाँदी बजारमा छ (सत् छ) तर आँखाको दोषले गर्दा उहिल्यै कहिले वनमा देखेको सर्प डोरीको ठाउँमा देखिन्छ। यसलाई ‘ज्ञानलक्षणा प्रत्यासत्ति’ भनिन्छ, जहाँ स्मृतिले प्रत्यक्षजस्तै काम गर्छ।

खण्डन : यहाँ अद्वैतवेदान्तीको प्रश्न हो- यहाँ अगाडि हुँदै नभएको वस्तुलाई आँखाले कसरी देख्न सक्छ र?

२.५ विपरीतख्याति

यो भाट्ट मीमांसकहरूको मत हो। यसलाई तलका बुँदाहरूमा बुझ्न सकिन्छ:

सिद्धान्त : ज्ञानको विषय पूर्णतः असत्य हुँदैन, तर दुईवटा सत्य कुराहरूबीच गलत सम्बन्ध स्थापित हुनु नै भ्रम हो । यहाँ ‘विपरीत’ रूपमा वस्तुको ज्ञान हुने भएकाले यसलाई विपरीतख्याति भनिएको हो।

प्रक्रिया : जब हामी डोरीलाई देखेर “यो सर्प हो” भन्छौँ, त्यहाँ दुईवटा कुरा हुन्छन् : एउटा अगाडि रहेको डोरी (उद्देश्य) र अर्को हाम्रो दिमागमा रहेको सर्पको ज्ञान (विधेय)। डोरी पनि सत्य हो र संसारमा सर्पको अस्तित्व हुनु पनि सत्य हो । भ्रम तब हुन्छ जब हामी डोरी र सर्पबीच एउटा ‘संसर्ग’ वा सम्बन्ध जोड्छौँ जुन वास्तवमा त्यहाँ छैन।

भ्रम विषयमा होइन, सम्बन्धमा हुन्छ। कुमारिल भट्टका अनुसार अकार्य (गर्न नहुने काम) लाई कार्य (गर्ने काम) सम्झनु नै विपरीत भान हुनु हो। यो मत धेरै हदसम्म न्याय दर्शनको ‘अन्यथाख्याति’ सँग मिल्दोजुल्दो छ।

खण्डन : यस मतको आलोचना पनि नैयायिकहरूको भ्रमसिद्धान्त जस्तै गरिन्छ । यदि ज्ञान सधैँ यथार्थ हुन्छ भने गलत सम्बन्धको उत्पत्ति कसरी हुन्छ भन्ने प्रश्न यहाँ मुख्य रहन्छ।

२.६ सत्ख्याति

यो विशिष्टाद्वैती आचार्य रामानुजाचार्यको मत हो।

सिद्धान्त : सबै ज्ञान सत्य हुन्।

प्रक्रिया : ‘पञ्चीकरण’ को प्रक्रिया-अनुसार हरेक वस्तुमा अर्को वस्तुको केही अंश हुन्छ। सिपीमा चाँदीको केही वास्तविक अंश विद्यमान हुन्छ। दोषका कारण हामीले बढी अंश (सिपी) नदेखेर न्यून अंश (चाँदी) देख्छौँ।

 २.७ सदसत्ख्याति

यो साङ्ख्यदर्शन र विशेषगरी विज्ञानभिक्षुद्वारा प्रतिपादित भ्रमको सिद्धान्त हो।

सिद्धान्त : भ्रम भनेको सत्य (सत्) र असत्य (असत्) को मिश्रण वा संयोग हो। भ्रममा देखिने वस्तु आंशिक रूपमा सत् र आंशिक रूपमा असत् हुन्। साङ्ख्यदर्शनका अनुसार कुनै पनि ज्ञान पूर्ण रूपमा असत्य हुँदैन, त्यसमा केही अंश सत्य र केही अंश असत्य हुन्छ।

  • प्रक्रिया : जब हामी ‘यो चाँदी हो’ (इदं रजतम्) भनी सिपीलाई देख्छौँ, तब : सत्-अंश : ‘यो’ (इदम्) अर्थात् हाम्रो अगाडि रहेको वस्तु (सिपी) सत्य हो। असत्-अंश : त्यहाँ देखिने ‘चाँदी’ (रजत) असत्य हो । किनभने, परीक्षण गर्दा पछि त्यहाँ चाँदी पाइँदैन। विज्ञानभिक्षुका अनुसार चाँदी आफैँमा ‘सत्’ हो। किनभने त्यो पसलमा वा अन्यत्र कतै अस्तित्वमा छ तर त्यो चाँदीलाई सिपीमा देख्नु (आरोप गर्नु) चाहिँ ‘असत्’ हो। यसरी एउटै भ्रममा सत् र असत् दुवै पक्ष विद्यमान हुन्छन्।
  • खण्डन : यदि चाँदी ‘असत्’ (छँदै नभएको) हो भने त्यो देखिन्छ कसरी ? जसरी आकाश-कुसुम (आकाशको फूल) वा खरायोको सिङ कहिल्यै देखिँदैन, त्यसरी नै असत् चाँदी पनि देखिनु नपर्ने हो। एउटै वस्तु एकै समयमा ‘सत्’ र ‘असत्’ दुवै हुन सक्दैन। असत्य वस्तु सत्य जस्तो देखिनुको वास्तविक मानसिक वा बाह्य कारण के हो भन्ने कुराको स्पष्टीकरण यो मतले सन्तोषजनक रूपमा दिन सक्दैन।

दार्शनिक जगत्‌मा केही अन्य ख्यातिको पनि चर्चा छ। जस्तै- प्रसिद्धार्थख्याति। यो चार्वाक दर्शनसँग निकट छ। लोकमा जे प्रसिद्ध छ, त्यसैको ज्ञान हुनु ख्याति हो। उनीहरू जटिल तार्किक व्याख्यामा जाँदैनन्। उनीहरूको मतमा इन्द्रियले जे देख्यो, त्यसलाई त्यसै रूपमा स्वीकार गर्नु नै ख्याति हो। यस ख्यातिमा भ्रम र अभ्रम दुवै समेटिन्छन्। त्यसैगरी अलौकिकार्थख्याति भट्टोम्बेक र केही वीरशैव दार्शनिकहरूको मत हो। यस मतका अनुसार भ्रममा देखिने वस्तु लौकिक हुँदैन। यो एक क्षणिक र अलौकिक सृष्टि हो। दोषयुक्त इन्द्रियले केही समयका लागि एक विशेष प्रकारको अलौकिक पदार्थको निर्माण गर्दछ र त्यही दृश्यकोटिमा देखा पर्छ। यही अलौकिकार्थख्याति हो।

 २.८ अनिर्वचनीयख्याति

अद्वैतवेदान्तका अनुसार माथिका सबै ख्यातिमतहरूले भ्रमको पूर्ण व्याख्या गर्न सक्दैनन्। त्यसैले आचार्य शङ्कर र शङ्करानुयायीहरूबाट ‘अनिर्वचनीयख्याति’को प्रतिपादन भएको‌ छ।

 २.८.१ अनिर्वचनीय-शब्दको अर्थ

‘निर्वचनीय’ भनेको शब्द वा तर्कले भन्न सकिने। ‘अनिर्वचनीय’ भनेको जसलाई कुनै पनि तार्किक कोटिमा राख्न सकिँदैन।

  • न सत् :  यदि चाँदी साँचो (सत्) हुन्थ्यो भने सिपी देखेपछि त्यो हराउने थिएन।
  • न असत् :  यदि चाँदी झुटो (असत्) हुन्थ्यो भने त्यो देखिने नै थिएन।
  • न सदसत् :  एउटै वस्तु एकैसाथ साँचो र झुटो दुवै हुन सक्दैन (विरोधाभास)।

तसर्थ त्यो चाँदी ‘सत्-असत्-विलक्षण’ अर्थात् अनिर्वचनीय छ।

२.८.२ अविद्याका दुई शक्ति : आवरण र विक्षेप

अनिर्वचनीय ख्यातिमा माया वा अविद्याले प्रमुख भूमिका खेल्छ-

आवरणशक्ति : यसले सिपीको वास्तविक स्वरूपलाई छोपिदिन्छ।

विक्षेपशक्ति : यसले छोपिएको ठाउँमा चाँदीको नयाँ सृष्टि गरिदिन्छ।

 २.८.३ प्रातिभासिक रजतको उत्पत्ति (Immediate Creation)

अद्वैतवेदान्तको मान्यता हो- भ्रमको समयमा ‘प्रातिभासिक रजत’को साँच्चै उत्पत्ति हुन्छ। यो पहिलेदेखि कतै रहेको चाँदी होइन, बरु अज्ञानको परिणाम हो।

  • उपादानकारण  :    अविद्या (Ignorance)।
  • अधिष्ठान   :   सिपीमा रहेको चैतन्य (Consciousness as Substratum)।
  • साक्षीभास्य :  यो चाँदी इन्द्रियको सामान्य प्रक्रियाबाट नभई ‘साक्षी’ (Witness  Consciousness) द्वारा सीधै प्रकाशित हुन्छ।

२.८.४ ‘इदं रजतम्’ को तार्किक विश्लेषण

भ्रम हुँदा हामी भन्छौँ- ‘यो चाँदी हो।’ यहाँ ‘यो’ (इदम्) सत्य हो । किनभने, त्यहाँ वस्तु छ तर ‘चाँदी’ (रजत) अनिर्वचनीय छ। अज्ञानले गर्दा सत्य (इदम्) र अनिर्वचनीय (रजत) को ‘तादात्म्य’ वा अध्यास हुन्छ। यसलाई नै ‘सत्यानृते मिथुनीकृत्य’ (सत्य र असत्यको मिश्रण) भनी आचार्य शङ्करले लेख्नुभएको छ। (ब्रह्मसूत्र-अध्यासभाष्यम्)

३. उपसंहार (Conclusion)

अद्वैतपरम्परामा मण्डन मिश्र अलि फरक देखिनुहुन्छ। उहाँले ‘ब्रह्मसिद्धि’मा ‘विपरीतख्याति’को समर्थन गर्नुभएको छ तर पछिल्ला आचार्यहरूले व्याख्या गरे-अनुसार मण्डन मिश्रको ‘विपरीत’ शब्दको अर्थ पनि अन्तमा ‘अनिर्वचनीयता’मै गएर टुंगिन्छ।

हामीले चाँदीलाई ‘सत्’ वा ‘असत्’ मान्यौँ भने ‘बाध’ (भ्रम हट्ने वा आरोपित वस्तु मिथ्यात्वसाधन) को प्रक्रिया नै असम्भव हुन्छ। भ्रम हटेपछि हुने “मैले देखेको चाँदी झुटो रहेछ” भन्ने अनुभव नै अनिर्वचनीयताको प्रमाण हो। वाचस्पति मिश्रले ‘भामती’टीकामा अविद्याका दुईवटा आश्रय (आधार) को चर्चा गर्दै अनिर्वचनीय-ख्यातिलाई जीवको अज्ञानसँग जोड्नुभएको छ।

ख्यातिहरूको तुलनात्मक अध्ययन गर्दा यो प्रष्ट हुन्छ कि, अन्य ख्यातिहरूले ‘भ्रम’को अनुभवलाई कतै न कतै यथार्थसँग मिसाउन खोज्छन् तर अद्वैतवेदान्तको अनिर्वचनीयख्यातिले मात्र भ्रमको मनोवैज्ञानिक र तार्किक दुवै पक्षलाई न्याय गरेको पाइन्छ। यो सिद्धान्तले मानिसलाई ‘दृश्य’भन्दा माथि उठेर ‘द्रष्टा साक्षी’सम्म पुग्न प्रेरित गर्दछ।

अज्ञानं तु ज्ञातुमिच्छेद् यो मानेनात्यन्तमूढधीः।

स तु नूनं तमः पश्येद्दीपेनोत्तमतेजसा। (वेदान्तसिद्धान्तमुक्तावली ४०)

अर्थात् जसले प्रमाणद्वारा अज्ञानलाई जान्न खोज्छ, उसले उज्यालो दियो लिएर अन्धकार खोजेजस्तै मूर्खता गरिरहेको प्रमाणित हुन्छ। अतः अविद्याको स्वरूप ‘अनिर्वचनीय’ हो र यस यथार्थको ज्ञान नै मुक्तिको प्रथम सोपान हो। अनिर्वचनीयख्याति केवल ‘डोरी र सर्प’ वा ‘सिपी र चाँदी’को उदाहरणमा सीमित छैन। व्यावहारिक रूपमा सत्य देखिए पनि परमार्थतः यो पूरा संसार मिथ्या भएको बताउनुमा यसको मूल तात्पर्य निहित छ। जसरी डोरी नदेखेसम्म सर्प सत्य लाग्छ, सिपी नचिनेसम्म चाँदी सत्य लाग्छ वा स्वप्नबाट नबिउँझिएसम्म स्वाप्निक जगत् सत्य लाग्छ, त्यसरी नै आफ्नो असली पहिचान ब्रह्मरूपतालाई नजानेसम्म यो संसार सत्य लाग्छ।

आफ्नो असली पहिचान प्राप्त गर्नेतर्फ पाठकवर्गलाई अभिप्रेरित गर्नु नै ख्यातिवादविषयक भ्रमात्मक ज्ञानको यस चिरफारको मूल प्रयोजन हो। किनकि- इह चेदवेदीदथ सत्यमस्ति, न चेदिहावेदीन्महती विनष्टिः (केनोपनिषद् २/५) अर्थात् यदि यसै जन्ममा यही लोकमा मनुष्यले त्यो आफूलाई जान्न सक्यो भने उसको जीवन सार्थक भयो, ऊ धन्य-धन्य, कृतकृत्य भयो तर यदि जान्न सकेन भने त्यो उसको महान् विनाश हो, ठुलो नोक्सानी हो। ॐ तत्सत् ।।

लेखक अद्वैतवेदान्तविषयक विद्यावारिधिका शोधार्थी हुन्।

प्रकाशित: ७ फागुन २०८२ १३:३४ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast