आहा रारामा उज्वेकिस्तानले हरायो प्लानिङ ब्वाइजलाई

हिमाल प्रेस ५ फागुन २०८२ २०:१७ | Tuesday, February 17, 2026
2
SHARE
आहा रारामा उज्वेकिस्तानले हरायो प्लानिङ ब्वाइजलाई

पोखरा- पोखरा रंगशालामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानको एक फुटबल टिमले नेपाली टिमसँग संघर्षपूर्ण जित दर्ता गरेको छ।

मंगलबार चौथो क्वार्टरफाइनलमा प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै उज्वेकिस्तानको आभा फुटबल क्लबले अन्ततः सेमिफाइनलको यात्रा तय गर्न सफल भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा उज्वेकिस्तानको टिमले गोल गर्न सकेको हो। खेलको ५६ औं मिनेटमा उमिदजोन कारिलोभले झण्डै ३५ यार्ड टाढाबाट सुन्दर गोल गरेका हुन्। उनी नै प्लेयर अफ दिन म्याच घोषित भए। उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरेका छन्।

जितसँगै पाहुना टोली अब फाइनल प्रवेशका लागि जावलाखेल युथ क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ। बुधबार पहिलो सेमिफाइनल आयोजक सहारा क्लब पोखरा र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ।

मंगलबारको खेलमा प्लानिङ ब्वाइजले पाएका केही राम्रा अवसर खेर फाल्दा पोखराबाट भने यात्रा टुंगाएको छ। जबकि प्लानिङ ब्वाइजले ३ दिनअघि मात्रै बूढासुब्बा गोल्डकपको उपाधि चुमेको थियो। २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइेटेडलाई १–० गोलअन्तरले हराउँदै उपाधिसहित १० लाख जितेको हो।

प्रशिक्षक पंकज शाहीले बलियो टिमसँग पनि आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पराजित हुन पुगेको स्वीकारे। उज्वेकिस्तानतर्फ बाट प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले नेपालको चर्चित टिमविरुद्ध राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए।

हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा १२ टिमले भाग लिएका हुन्। फाइनल यही ९ फागुनमा हुने प्रतियोगिता संयोजक एवं आयोजक सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए।

प्रकाशित: ५ फागुन २०८२ २०:१७ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast