काठमाडौँ- प्रतिनिधिसभा सदस्यका प्रत्यासी रवीन्द्र मिश्रले दोस्रो पटक हार बेहोरेका छन्। काठमाडौँ-१ बाट प्रतिनिधिसभा सदस्यमा ७ हजार १४३ मत ल्याएर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए।
सिंहले २०७४ मा पनि मिश्रलाई नै पराजित गरेका थिए। २०७४ को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए। तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए।
यसपटक मिश्रको चुनावी नारा लोभलाग्दो थियो। घरदैलोमा सक्रिय हुँदा उनमा केही गरौँ भन्ने अठोट पनि देखिन्थ्यो। मतदातामाझ शालीन शैलीमा प्रस्तुत भएर उनले आफ्नो क्षेत्रको मन जिते पनि मत भने जित्न सकेनन्। मिश्रको हारलाई लिएर अनेक टिप्पणी हुन थालेका छन्। प्रमुख रूपमा उनले चुनाव हार्नुका तीन कारण देखिन्छन्।
राजनीतिक बाटो परिवर्तन
अघिल्लोपल्ट सिंहविरुद्ध चुनाव लड्दा मिश्रलाई वैकल्पिक राजनीतितर्फ आकर्षण भएका मतदाताको साथ थियो। काठमाडौँ-१ मतदाताले सिंहलाई दुई कार्यकाल परीक्षण गरिसकेका थिए। सोही बेला विवेकशील साझा वैकल्पिक दलका रूपमा उपस्थित भयो। उसले अगाडि सारेको नारा लिएर मिश्र मैदानमा उत्रिए।
गणेशमान सिंहका उत्तराधिकारी प्रकाशनमान सिंहलाई झिनो मतान्तरले हराउँदा मिश्रले वाहीवाही पाए। धेरैको सहानुभूति बटुले। यसको निष्कर्ष के देखियो भने काठमाडौँ-१ का मतदाताले नयाँ र वैकल्पिक शक्तिलाई प्रतिनिधि बनाउन चाहन्छन्।
यसपल्ट पनि उनै सिंह र मिश्र मैदानमा उत्रिए। मिश्रमा अघिल्लो निर्वाचनमा पाएको वाहीवाहीको धङधङी कायमै थियो। त्यसैले उनले सोही क्षेत्र रोज्नु स्वाभाविकै थियो। तर मिश्रले राजनीतिक धार परिवर्तन गरे। अघिल्लोपल्ट नयाँ र वैकल्पिक शक्तिको प्रतिनिधिका रूपमा रहेका मिश्र यसपटक राप्रपामा आबद्ध भए। सोही लदबाट चुनाव लडे। पूर्वपञ्चहरूको यो दललाई २०४६ को परिवर्तनपछि काठमाडौँले पत्याएकै छैन भन्ने उनले भुले। अनि मिश्रलाई पत्याइहाल्नुपर्ने बलियो आधार पनि त थिएन। अतः उनले दोस्रोपल्ट हार व्यहोर्नुपर्यो।
परिवर्तनकारी शक्तिसँग तालमेल गर्न नसक्नु
अघिल्लो चुनावमा मिश्रले पाएको मत र अहिले अन्य उम्मेदवारले पाएको मत हेर्दा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले नयाँ पार्टी र नयाँ अनुहार स्पष्ट छ। यही चाहना राख्ने मतदाताहरुको मत बाँडिदा त्यसको मारमा मिश्र परे। रवीन्द्र मिश्रको सहजै जित तीन अवस्थामा हुने मत प्रवृत्ति देखिन्छ।
देशव्यापी रूपमा नयाँ पार्टी र उम्मेदवारप्रति आशा देखिनु स्वाभाविकै हो। प्रमुख दलका नेताहरूको अकर्मण्यताका कारण जहिल्यै नयाँनयाँ व्यक्तिलाई रोज्न चाहनु मतदाताहरूको विशेषता नै बनेको छ। नयाँ पार्टी र नयाँ अनुहारप्रति आएको लहर काठमाडौँ १ मा पनि आएको थियो। हिजो मिश्रसँगै काम गरेका व्यक्तिहरू उनीसँगै मैदानमा उत्रिएका थिए। तर मिश्रले त्यस्ता व्यक्तिसँग चुनावी तालमेल गर्नै चाहेनन्। उनी त ‘विचार भन्दा माथि देश’ भन्दै मतदाताकहाँ पुगे।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन्। यी तीनै जना परिवर्तनको नारा दिएका उम्मेदवार हुन्। ती उम्मेदवार एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए। परिवर्तनको नारा दिएकाहरुलाई आफूमा केन्द्रित गर्न नसक्दा मिश्रले हार बेहोरे। यसपल्ट मिश्रप्रति राजावादीको साथ रह्यो। यही कारण विगतमा उनले पाएको मतमध्ये ठूलो संख्या राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले लिए।
मिश्रले वैकल्पिक शक्तिको खोजीमा रहेकाहरूको मत नबाँडियोस् भनेर अपिल नगरेका होइनन्। उनी आफैँ वैकल्पिक राजनीति गर्ने भन्दै गठित साझा विवेकशील छाडेर हिँडेका थिए। सोही कारण उनको अपिल काम लागेन। उनले मार्ग परिवर्तन नगरेको भए पुकार बम उम्मेदवार नै हुँदैनथे। पुकार बम र मिश्रले पाएको मत जोड्ने हो भने सिंह निकै पछाडि देखिन्छन्।
चुनावअघि धेरै उम्मेदवारले घरदैलो अभियानमा कांग्रेसका सिंहको आलोचना गर्थे। १५ वर्षदेखि निरन्तर सांसद हुँदा पनि राष्ट्रिय महत्त्वका विषयमा सिंहको ध्यान नगएको उनीहरूको गुनासो हुन्थ्यो। मिश्र, बम, खरेल सबैले आफूले जितेमा त्यस्तो हुन नदिने बाचा गर्थे। विपक्षी सबै उम्मेदवारले सिंहविरुद्ध तालमेल गर्न खोजेनन् या चाहेनन्।
सिंहलाई बालेनबाट तर्सिएका मतदाताको साथ
काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएपछि काठमाडौँका रैथानेमा एक प्रकारको भय रहँदै आएको छ। खासगरी नेवार समुदायकै प्रतिनिधित्व रुचाउने यहाँका मतदाता बालेनका गतिविधिपछि झस्किएका छन्। निर्वाचन प्रचारका क्रममा सिंहले ‘बाहिरका मान्छेले जित्दाको परिणाम थाहा पाइहाल्नुभयो’ भन्दै घरदैलो गरेका थिए।
प्रतिस्पर्धी अन्य उम्मेदवार नेवार समुदाय इतरका रहेकाले पनि सिंहको यो रणनीति सफल हुन पुग्यो। त्यस्ता मतदाताको पनि साथ पाएपछि झिनो मतान्तरले भए पनि सिंहको संसद् प्रवेश सहज बन्न पुग्यो। मिश्रको संसद् प्रवेश गर्ने बाटो अर्को चुनावसम्मका लागि बन्द भयो।
पहिलो आधार हो उनी साझा विवेकशील पार्टीबाटै उठेका भए जित्ने सम्भावना प्रबल थियो। यस्तै साझा विवेकशील छाडिसकेको अवस्थामा स्वतन्त्र उठेका भए उनीप्रति मतदाताको सहानुभूति बढी हुने थियो। तेस्रो राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उठेको भए पक्कै पनि उनले चुनाव जित्न सक्ने थिए।