पोखरा- जावलाखेल युथ क्लबले एपीएआई चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गर्दै २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार सिमसिमे वर्षाबीच पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा जावलाखेलले दोस्रो हाफमा खाता खोल्दै फराकिलो गोलअन्तरका साथ अन्तिम चारमा प्रवेश पाएको हो।
दोस्रो हाफ सुरु भएको ३ मिनेट नबित्दै जावलाखेलका लागि धमेन्द्र कुँवरले गोल गर्न सफल भएका हुन्। दोस्रो हाफको सुरुमै अग्रता लिएको जावलाखेलले इन्जुरी टाइममा समेत थप गोल गर्न सफल भयो। खेलको ८८ औं मिनेटमा विदेशी खेलाडी निकोलस ओदाने हमिल्टनले गोल गर्दै गोलअन्तरले दोब्बर पारे। जित सुनिश्चित गरिसकेको जावलाखेलका लागि दोस्रो हाफको इन्जुरी टाइममा सुजन गुरुङले गोल थपेका हुन्। उनी खेलको ७३ औं मिनेटमा प्रशान्त रजकको स्थानमा मैदान छिरेका थिए।
प्रतियोगितामा हमिल्टन प्लेयर अफ दी म्याच घोषित भए। उनले पुरस्कारस्वरूप नगद १० हजार र ट्रफी हात पारेका छन्। उनले विपक्षी पोस्टमा लगातार दबाब सिर्जना गरेका थिए। चर्चा ब्याइजले पाएका केही अवसर खेर फालेको थियो। उसको फिनिसिङ कमजोर देखियो। कीपर दीप कार्कीले केही प्रहारको उत्कृष्ट बचाउ गरेका थिए। तर, आफ्नो टिमलाई पहिलो खेलबाटै हार टार्न सकेनन्। यो हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिन पुगेको छ।
यता, जावलाखेलले अब प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब, उजेकिस्तानबीच हुने क्वार्टरफाइनल विजेतासँग दोस्रो सेमिफाइनल खेल सुनिश्चित गरेको छ। शनिबारमात्र २६ औं बूढासुब्बा गोल्डकप जितेको प्लानिङ ब्वाइजले आहा रारामा भने पहिलो चरणमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको थियो। बूढासुब्बा गोल्डकपमा उपविजेता बन्दै चर्च ब्वाइज आइतबार खेल सुरु केही मिनेट अघिमात्र पोखरा रंगशाला आएको थियो।
प्रशिक्षक सुमन श्रेष्ठले खेलाडी थकित भएकाले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे। उनले केही खेलाडी समेत भएको बताए। उता, जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले जितपछि प्रतिक्रिया दिँदै आफ्ना खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्टि रहेको जनाए।
चिसो मौसमका कारण अघिल्ला दिनको तुलनामा पोखरा रंगशालाको प्यारापिटमा दर्शकको संख्या पातलो थियो। आयोजक सहारा क्लब पोखराका अनुसार सोमबार तेस्रो क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि, आयोजक सहारा क्लब पोखरा विभागीय नेपाल पुलिस फुटबल क्लबलाई सडन डेथको शिकार बनाउँदै जारी संस्करणको सेमिफाइनलमा पुगिसकेको छ।
१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल ९ फागुनमा हुनेछ। विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।




