प्रलोपाको घोषणापत्र : कक्षाअनुसार शिक्षक दरबन्दी अनिवार्य

हिमाल प्रेस ३ फागुन २०८२ १५:४० | Sunday, February 15, 2026
72
SHARES
प्रलोपाको घोषणापत्र : कक्षाअनुसार शिक्षक दरबन्दी अनिवार्य

काठमाडौँ- ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सबै शैक्षिक संस्थामा कक्षाको संख्याअनुसार शिक्षक दरबन्दी अनिवार्य गर्ने प्रमुख प्रतिबद्धता सार्वजनिक गरेको छ। विशेषगरी विज्ञान र कम्प्युटर शिक्षाका लागि छुट्टै दरबन्दी सुनिश्चित गरिने घोषणा गर्दै पार्टीले यसलाई शिक्षा सुधारको मूल आधारका रूपमा अघि सारेको छ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष दुर्गा सोब, अध्यक्ष सन्तोष परियार, अध्यक्ष सुदन किराँती लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

पार्टीले हाल विद्यालयहरूमा विषयगत शिक्षक अभावका कारण गुणस्तरीय शिक्षामा समस्या देखिएको उल्लेख गर्दै कक्षा र विद्यार्थी संख्याअनुसार दरबन्दी कायम गरिने स्पष्ट पारेको छ।

विज्ञान तथा सूचनाप्रविधि शिक्षालाई अनिवार्य र सुदृढ बनाउँदै विद्यार्थीलाई आधारभूत तहदेखि नै वैज्ञानिक तथा प्राविधिक ज्ञान दिने वातावरण तयार गरिने दाबी गरिएको छ।

यससँगै प्रलोपालले वर्तमान शिक्षा प्रणालीलाई आवश्यकता आधारित, सीपमूलक, व्यावहारिक र जीवनोपयोगी बनाउने लक्ष्य लिएको जनाएको छ।

शिक्षा क्षेत्रमा व्याप्त दलीयकरण र व्यापारीकरण अन्त्य गर्दै सार्वजनिक उत्तरदायित्वमा आधारित शिक्षा प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सरकारी तथा सार्वजनिक विद्यालयमा उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने, विद्यालय खाजा कार्यक्रमको रकम क्रमशः वृद्धि गरिने तथा सबै शैक्षिक संस्थामा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने योजना पनि सार्वजनिक गरिएको छ।

त्यसैगरी ‘नेपाल राष्ट्रिय डिजिटल पुस्तकालय’ सञ्चालन गरी विद्यार्थीलाई ईपुस्तक तथा अनुसन्धानमूलक सामग्रीमा निःशुल्क पहुँच उपलब्ध गराइने, रैथाने ज्ञान प्रणालीलाई विद्यालयदेखि विश्वविद्यालयसम्म समावेश गरिने तथा मौलिक शिक्षा प्रणाली विकासका लागि विशेष पहल गरिने उल्लेख छ।

साथै त्रिभुवन विश्वविद्यालय को पुनर्संरचना गर्दै विश्वविद्यालय शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको मागसँग जोड्ने योजना अघि सारिएको छ।

प्राविधिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै पाठ्यक्रम पुनर्संरचना गरिने र ‘एक पालिका, एक पुस्तकालय’ अभियानमार्फत पठन संस्कृतिको विकास गरिने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।

प्रकाशित: ३ फागुन २०८२ १५:४० | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast