पोखरा– आयोजक सहारा क्लब पोखरा २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।
शनिबार पोखरा रंगशालाको घरेलु मैदानमा विभागीय नेपाल पुलिस फुटबल क्लबलाई ‘सडन डेथ’को शिकार बनाउँदै सहारा अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो।
निर्धारित समयको खेल एक–एकको बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेटमा दुवै टिमबाट गोल हुन सकेन। त्यसपछि खेल निर्णयार्थ पेनाल्टी सुट आउटमा पुगेको थियो। पेनाल्टीमा निर्धारित ५–५ प्रहारमा दुवैतर्फबाट ४–४ को बराबरी गोल भएकोमा खेल ‘सडन डेथ’ मा पुगेको हो।
थप २–२ प्रहारमा पुलिसका लागि धीरेन्द्र शाहको प्रहार सहाराका कीपर टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै फेरि आफ्नो टिम विजयी यात्रामा अघि बढाएका हुन्। पेनाल्टीमा पुलिसका लागि पहिलो प्रहार गरेका क्याप्टेन राम वाजीको प्रहार कीपरले बचाएका थिए। तर, टिकेन्द्र आफैँले भने सहाराका लागि गरेको प्रहार पोस्ट बाहिर फाले।
सहाराका तर्फबाट विक्की चाम्लिङ राई, भगत चौधरी, सिसस थापा, विनय तामाङ, प्रसन्न श्रेष्ठ र टेये डेनियल बडरुको प्रहार गोलमा परिणत भएको थियो। त्यसैगरी, पुलिसका लागि नीरज खड्का, दशरथ गिरी, जोन विष्ट, वैकल्पिक गोलकीपर अमीत टमाटा र सञ्जीव लामाले गोल गरेका थिए।
प्रतियोगितामा प्लेयर अफ दि म्याच सहाराका कीपर टिकेन्द्र थापा घोषित भए। उनले नगद १० हजार र ट्रफी पुरस्कार प्राप्त गरेका छन्।
निर्धारित समयको कडा प्रतिस्पर्धामा पहिलो हाफ गोलरहित बराबरी खेलका सहारा र पुलिसमध्ये पुलिसले दोस्रो हाफको सुरुआतमै अग्रता लिएको थियो। क्याप्टेन राम बाजीले खेलको ४९ औँ मिनेटमा गोल गरेका थिए। तर, पोखरा रंगशालामा सर्वाधिक सफल टिम मानिएको पुलिस यसपालि अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो।
त्यसैगरी, सहाराले ६१ औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी खेलेको थियो। पाएको पेनाल्टीमा मुकुन्दकुमार न्यूरेले सहजै गोल गरेका हुन्।
सहाराले यो जितसँँगै पहिलो सेमिफाइनल खेल अब मनाङ मस्र्याङ्दी र थन्डरबोल्ट नर्थ युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, सहाराले उद्घाटन खेलमा हङकङको गोर्खा इन्टरनेशनललाई १–० गोलअन्तरले पराजित गरी विजयी यात्रा सुरु गरेको हो।
आइतबार दोस्रो क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड क्लब र जावलाखेल युथ क्लबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। यसअघि, पहिलो चरणमा जावलाखेलले मच्छिन्द्र क्लबको चुनौती २–० गोलअन्तरले पन्छाएको थियो। थन्डरबोल्डले भने बाई पाएको हो।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले प्रतियोगितामा हारजित स्वाभाविक हुने उल्लेख गर्दै आगामी ए डिभिजन लिगका लागि हरेक खेलाडीलाई स्थान दिएर तयार गरिएको बताए।
सहाराका प्रशिक्षक सुनिल राना मगरले लामो समय तालिम गरेको पुलिस जस्तो बलियो टिमलाई हराउन सकेकोमा सन्तुष्ट देखिए। उनले आफ्ना खेलाडीले राम्रो खेलेको र स्कोर निकाल्ने कोसिस सुरुआतदेखि गरेको उल्लेख गरे।
उनले भने, ‘हामीहरु एक शुन्यले पछि परे पनि गोल निस्कन्छ भन्ने आशा थियो।’ अब पहिलो सेमिफाइनलमा आउने मनाङ वा थन्डरबोल्ड जुन भए पनि केही फरक नपर्ने थापमगरले बताए।





