पोखरा- प्लानिङ ब्वाइज युनाइटेड २५ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ। पापा इबो केवेको ह्याट्रिक मद्दतसँगै प्लानिङ ब्वाइजले फ्रेन्ड्स क्लबलाई शून्यका विरूद्ध चार गोलले पराजित गरेको हो।
शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा प्लानिङ टिमका सामु फ्रेन्ड्स खेलको अन्तिम मिनेटसम्म खेलमा फर्किन गरेको प्रयास अन्तत खेर जाँदा पहिलो खेलबाटै बाहिरिन पुग्यो।
पापाले पहिलो हाफको अन्तिम मिनेटमा आफ्नो तर्फबाट पहिलो र टिमका लागि दोस्रो गोल गरेका हुन्। उनले दोस्रो हाफमा थप २ गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले खेलको ५४ औं र ८१ औं मिनेटमा गोल गरेका हुन्।
प्लानिङले खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो। विपक्षी खेलाडी योगेश गुरुङको ह्याण्ड भएपछि पाएको पेनाल्टीमा विदेशी खेलाडी एलेक्स विलियनले बललाई जाली चुमाएका थिए। प्रतियोगितामा पापा प्लेयर अफ दि म्याच घोषित भए। उनले नगद १० हजार र ट्रफी प्राप्त गरे। ट्रफी सहारा युकेका तर्फबाट पूर्व अध्यक्ष कृष्ण गुरुङ र पूर्व महासचिव मञ्जु गुरुङले हस्तान्तरण गरेका थिए।
उता, जितसँगै प्लानिङ ब्वाइज युनाइटेड अब आभा फुटबल क्लब उज्वेकिस्तानसँग चौथो क्वार्टरफाइनल खेल्नेछ। जितसँगै प्लानिङ ब्वाइजका प्रशिक्षक गणेश खड्काले टिम टाइम प्रेसरमा भए पनि सहजै जित निकालेकोमा सन्तुष्ट देखिए। उनले शनिबार धरानमा हुने २६ औं बूढासुब्बा गोल्डकपको फाइनल खेल्न रातारात त्यता जान लागेको बताए।
फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले आयोजकको समय तलमाथि पर्दा आफ्ना खेलाडीले वार्मअपमा पर्याप्त समय नपाएको गुनासो गरे। शनिबारदेखि क्वार्टरफाइनलका खेल सुरू हुनेछन्। दिउँसो ३ बजे आयोजक सहारा क्लब पोखराको टिमले विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले बाइ पाएको हो भने सहाराले उद्घाटन खेलमा हङकङको गोर्खा इन्टरनेशनललाई पराजित गरेको हो।
१२ टिमले भाग लिएको प्रतियोगिताको गत माघ २७ देखि सुरु भएको हो। फाइनल यही फागुन ९ गते हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।




