‘शून्यको मूल्य’ : कर्णालीको हृदयबाट उठेको जीवनगाथा

हिसिला यमी २ फागुन २०८२ १०:०० | Saturday, February 14, 2026
34
SHARES
‘शून्यको मूल्य’ : कर्णालीको हृदयबाट उठेको जीवनगाथा

डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पढ्दा म प्रज्वलित भएँ। कुनै पुस्तक पढ्दा शब्द मात्र पढिँदैन-जीवन स्पर्श हुन्छ। ‘शून्यको मूल्य’ त्यस्तै पुस्तक हो, जसले कर्णालीको कठोर भूगोलभित्र लुकेको मानवीय उज्यालो पाठकको आत्मासम्म पुर्‍याउँछ। यो चिकित्सकको मात्र अनुभव होइन; छोरी, आमा, हजुरआमा र अनगिन्ती मौन जीवनहरूको कथा हो, जसले अभावबीच पनि आशाको आगो निभ्न दिँदैनन्। केसीले त्यहाँका मानिसको आँसुभित्रको मुस्कान, अभावभित्रको आत्मसम्मान र संघर्षभित्रको सौन्दर्य उजागर गरेका छन्। पुस्तक पढ्दा लाग्छ-जीवनको वास्तविक पाठ सहरका पुस्तकालयमा होइन, दुर्गम गाउँका धुलामाटोमा लेखिएको हुन्छ।

डा. केसीले कर्णाली क्षेत्रलाई मानव सङ्ग्रहालय बनाएर त्यहाँको मानिसका विपन्नता, बेहाल र विकटताका विज्ञापन गरेका छैनन्। बरु, यसविपरीत कसरी त्यहाँका मानिस मेहनेती, जब्बरताका साथ सहनशील छन् भन्ने देखाउँदै ‘जीवन जिउनका लागि हो’ भनेर मानवजातिको सबल पक्ष उजागर गरेका छन्। केसीले सबल व्यक्ति, संस्था र राज्यसत्ताको थोरैमात्र आडभरोसा पायो भने तिनीहरू कसरी चम्किन सक्छन् भनेर देखाएका छन्।

पाँच जना आमा, हजुरआमा, फुपूआमाका जीवन पढ्न लायक छन्। नेपालको सबभन्दा लामो नदीका रूपमा चिनिएको कर्णालीभित्र लाटी, भेडिनी, कर्किनी भनेर चिनिएका उपेक्षित, अपहेलित र अञ्जान महिलालाई आफ्नो कलमले तिखारेर मोती बनाउन सफल भएका यी लेखक कम्ती दक्ष छैनन्। कसरी एउटा पुरुष डाक्टरमा छोरी, आमा, हजुरआमा, फुपूआमा सबैले माइती भेट्टाउन सकेको होला? मानवजातिको मात्र मातृत्व नभएर जनावरजातिभित्रको मातृत्व भावनासमेत चिन्न सक्ने, बुझ्न सक्ने डाक्टर केसी जगत्कै डाक्टर भएका छन्। जेन्डरसम्बन्धी अनुसन्धाताहरूलाई समेत चकित पार्ने काम डा. केसीबाट भएको देखिन्छ। पुरुषहरूलाई कत्ति पनि नबिझाइकनै, नचिच्याइकनै एउटा पुरुषले महिलाजाति कति बलवान्, क्षमतावान् र समग्र हुन सक्छ भनेर विना कन्जुस्याइँ  प्रशंसा गरेका छन्।

कतिपय अवस्थामा जनतासित सामीप्य हुनका लागि तिनीहरूको भगवान्को नाम लिएर तिनीहरूभित्र पलाएको भगवान् उजागर गर्न सक्ने डाक्टर हुन् उनी। कतिपय जब्बर परिस्थितिमा बलियो आत्मबल भएको मानिस जिउने प्रयासमा रोगविरुद्ध आफ्नो सम्पूर्ण जिद्दीपना अभिव्यक्त गर्छ। त्यस्तो अवस्थामा आफूले मलजल गरेर मर्न लागेको जिउमा अलिकति सास, साहस हाल्दा त्यसको श्रेय, स्वामित्व आफूले मात्र नलिई आफ्नो सम्पूर्ण टिमलाई नै दिन्छन्। त्यो सफलता, जुन बेलाबखत चमत्कारका रूपमा प्राप्त हुन्छ, त्यसलाई पुष्टि गर्न किताबी ज्ञान, तर्क र अन्तर्राष्ट्रिय उदाहरणले स्वभाविक देखाउने प्रयत्न गर्छन्। तसर्थ उनी कुनै भगवान् डाक्टर नभएर विज्ञानमा आधारित, तर्कमा आधारित एक संवेदनशील डाक्टर हुन्।

केसी आफू कर्णालीको कठोर संघर्षबाट डाक्टर बनेको तर आफूले हासिल गरेको प्राविधिक ज्ञान अपूर्ण छ भन्ने कुरा बिना हिचकिचाहट स्वीकार्छन्। उनी जीवनको ज्ञान, व्यावहारिक ज्ञान, समाजबाट सिक्ने ज्ञान, अभाव, गरिबी र पहुँचको वञ्चितिबाट प्राप्त हुने ज्ञानबाट मात्र यो भरिपूर्ण हुन्छ भन्ने धारणा राख्छन्। किताबी दर्शनलाई जीवन दर्शनबाट सुसज्जित गर्न खोज्छन्।

उनी नयाँनयाँ कुरामा जिज्ञासा राख्दै सिक्न खोज्छन्। मानिस शारीरिक बिमारी मात्र नभएर मनोवैज्ञानिक, लैंगिक, वर्गीय, जातीय विभेद र राज्यमा पहुँचको समस्यालगायत बिरामी हुन्छन् भनेर बिरामीको परिभाषा फराकिलो बनाएका छन्। प्राविधिक ज्ञानका मोटामोटा पानालाई गाउँले भाषामा सरलीकृत रूपमा प्रस्तुत गरेका छन्। यहाँसम्म कि, संयुक्त राष्ट्रसङ्घको दिगो विकासका १७ वटा लक्ष्यदेखि लिएर नेपालको असन्तुलित वितरित वजेटसम्म जनताको भाषामा सरल, सुलभ र सुुसज्जित गरेर प्रस्तुत गर्ने कला उनीमा छ ।

शून्यको मूल्य भनिरहँदा उनले शून्यलाई माटोसँग दाँज्दै पाठेघरको मूल्यको वर्णन गर्छन्। महिलाको पाठेघर बलियो भयो भने उनको घर बलियो हुन्छ, उनी हुर्केको समाजको घर बलियो हुन्छ, उनी बसेको देश बलियो हुन्छ। देश बलियो हुनु भनेको संयुक्त राष्ट्रसंघ बलियो हुनु हो। हुँदाहुँदा महिला बलियो भयो भने जीवजगत्को घर पनि सुरक्षित हुन्छ। अतः उनी समग्रमा मातृत्वको महत्त्वबोध गराउन सफल भएका छन्। त्यति मात्र नभएर हजुरआमाको थप महत्त्वबोध दर्शाएका छन्।

यो सबै भन्दै गर्दा मैले डाक्टर केसीलाई देवत्वकरण गर्न खोजेको छैन। मेरो पूर्ण विश्वास छ- उनले जबसम्म उपेक्षित, दूरदराज, विपन्न कर्णाली भूमि छोड्दैनन्; त्यहाँका हेपिएका, फ्याँकिएका, गाँस-बास-कपास नभएका आधारभूत जनतालाई छोड्दैनन्। उनी कर्णालीका चट्टानझैँ त्यहीँ अडिइरहनेछन्। कर्णालीको तिखो घामले पोलेको बाक्लो छालाझैँ खुम्चने छैनन्।

कर्णालीको स्याँठ, चिसो हावा ऊर्जा बनाई कर्णालीलाई प्रज्वलित बनाइरहनेछन्। कर्णाली नदीको गहिराइमा डुबुल्की मारेर त्यहाँका बालक, आमा, हजुरआमाको जीवन बचाइरहनेछन्। किनभने कर्णालीले उनलाई पलपल सिकाइरहेको छ :

निराशाभित्र आशा लुकेको हुन्छ।
अज्ञानताभित्र ज्ञान पलाइरहेको हुन्छ।
अभावभित्र सम्भावना उम्लिरहेको हुन्छ।
अनिश्चितताभित्र निश्चितताको बीउ रोपिएको हुन्छ।
दुःखभित्र सुख लुकेको हुन्छ।
मृत्युभित्र मुक्तिको उज्यालो पलाइरहेको हुन्छ।

शून्य थपेर पो सय, हजार, लाख, करोड, अरब बन्छ। यति भन्न आँट गरौँ ः अमेरिका, युरोप, अस्ट्रेलियाबाट छाप्ने सेल्फहेल्प किताबभन्दा कर्णालीको जीवनमा आधारित ‘शून्यको मूल्य’ अझ मूल्यवान् छ। अन्त्यमा, एउटा गीत उल्लेख गर्दछु :

संघर्ष हो जीवन, जीवन संघर्ष हो।
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन…।

कस्तो संयोग ! यो गीत लेख्ने, कम्पोज गर्ने नेपालको सुगम मानिने पूर्वेली परे। भोग्ने मान्छेहरू चाहिँ नेपालको दुर्गम मानिने पश्चिमका। ‘शून्यको मूल्य’ ले हराउन लागेका र दबिएका आवाजलाई स्थान दिँदै संघर्षबाट नभाग्न र जीवनलाई प्रेम गर्न सिकाउँछ। पुस्तक चिकित्सकको संस्मरण मात्र नभएर कर्णालीको कठोर भूगोलभित्र बाँचेका मानिसको अदम्य साहस, आत्मसम्मान र मानवीय उज्यालोको दस्तावेज हो।

प्रकाशित: २ फागुन २०८२ १०:०० | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast