आहा रारा पोखरा गोल्डकपको रजत संस्करण आजदेखि, रातिमा हुनेछ खेल

विजय नेपाल २७ माघ २०८२ १०:२० | Tuesday, February 10, 2026
6
SHARES
आहा रारा पोखरा गोल्डकपको रजत संस्करण आजदेखि, रातिमा हुनेछ खेल

पोखरा- फुटबलमार्फत सामाजिक सेवामा सक्रिय मोफसलको प्रतिष्ठित कुनै क्लबको नाम छ भने त्यो हो, सहारा क्लब पोखरा। २०५५ सालमा जन्मिएको यो क्लबले २०५८ सालमा क्याराभान गोल्डकप गरेको थियो। पछिल्ला संस्करण भने आहा रारा हुँदै आहारारा पोखरा गोल्डकपको नाममा खेलाउँदै आएको छ।

यसरी क्याराभानसहित ऐतिहासिक २५ औं संस्करण अर्थात् रजत संस्करण आजदेखि सुरु हुँदैछ। यो प्रतियोगिता नेपालको फुटबल इतिहासमा निरन्तर भएको एकमात्र प्रतियोगिता हो। २७ माघदेखि ९ फागुनसम्म पोखरा रंगशालाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टिमले भाग लिँदैछन्। २५ औं संस्करणको यो प्रतियोगितालाई विविध कार्यक्रमसहित विशेष बनाइएको आयोजकले जनाएको छ।

क्लब अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रत्येक खेल फ्लड लाइट जडान गरी रातिमा समेत खेलाइनेछ। बेलुका करिब ५ बजेतिर सुरू हुने प्रतियोगितामा हाफ टाइमसम्म उज्यालोमै भए पनि त्यसपछि फ्लड लाइट प्रयोग हुनेछ। यसबाट नौलो प्रयोग थालिएको र दर्शकसमेत बढ्ने थापाको विश्वास छ। नेपालको पूर्वी भेगमा विभिन्न प्रतियोगितामा अभ्यास गरिएको लाइट करिब २० लाख खर्चेर पोखरा ल्याइएको छ।

आयोजकले यसपालि पुरस्कार राशिसमेत बढाएको छ। प्रथम र दोस्रो पुरस्कारको धनराशि वृद्धि गरी क्रमशः १४ लाख र ७ लाख रुपैयाँ प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। खेलको ‘म्यान अफ दि म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफीको व्यवस्था गरिएको छ भने दर्शकका लागि पनि दैनिक भाग्यशाली दर्शक र फ्यान अफ दि म्याच पुरस्कार राखिएको छ।

रजत जयन्ती संस्करणलाई विशेष बनाउन लागेको बताउँदै अध्यक्ष थापाले खेलको गुणस्तर र दर्शकको सुविधालाई ध्यानमा राखेर विशेष तयारी गरेको प्रस्ट पारे।

उद्घाटन खेल आयोजक र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी, प्लानिङ बाइज युनाइटेड, भारत सिक्किमको थनडरबोन्ड नर्थ युनाइटेड, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, फ्रेन्ड्स क्लब, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्च व्वाइज युनाइटेड, नेपाल एपिएफ क्लब, जाउलाखेल युथ, मछिन्द्र क्लब र आयोजक सहारा क्लब रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरूङले जानकारी दिए।

प्रतियोगिता सधैं झैं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने मूल आयोजक समितिका सदस्य सचिव गंगाराज पौडेलले जनाए। हिमश्री फुड्स प्रालिका निर्देशकहरु प्रकाश केसी र किरण केसीले मुख्य प्रायोजनमा सहारा क्लबसँग वर्षौवर्ष सहकार्य हुने उद्घोष गरे।

क्लबले राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ बाट पुरस्कृत गर्ने घोषणा गरेको छ। प्रतियोगितालाई २५ औं संस्करणसम्म ल्याउन अतुलनीय योगदान पु¥याउने २५ जना व्यक्तित्व तथा संस्थालाई विशेष सम्मान गर्ने तयारी क्लबको छ ।

सहाराले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकलाई आवासीय सुविधासहित फुटबल सिकाउँदै आएको छ। हाल चौंथो ब्याचमा १६ जिल्लाका ३० जना बालक एकेडेमीमा आश्रित छन्।

प्रकाशित: २७ माघ २०८२ १०:२० | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast