काठमाडौँ- स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरी जथाभाबी खर्च गर्दा स्वास्थ्य बिमा बोर्डमा समस्या देखिएको बताएकी छन्।
शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गौतमले स्रोत सहमति पनि नलिई र स्रोत सुनिश्चित नगरी रकमहरू खर्च गरेका कारण स्वास्थ्य बिमा बोर्डको आर्थिक दायित्व बढेको बताएकी छन्।
वार्षिक बजेटको परिधिभित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्। उनले चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बिमालाई १० अर्ब रुपैयाँ छुट्याएको जानकारी दिइन्। मन्त्री गौतमले मितव्ययी र स्रोतको सही सदुपयोग गर्नुपर्ने धारणा राखिन्।
त्यस्तै उनले अनियन्त्रितरूपमा पूर्व जानकारी नदिई सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको उल्लेख गरिन्।



