साफ महिला च्याम्पियनसिप : अधुरै रह्यो नेपालको फाइनल पुग्ने सपना

हिमाल प्रेस २१ माघ २०८२ १८:४६ | Wednesday, February 4, 2026
12
SHARES
साफ महिला च्याम्पियनसिप : अधुरै रह्यो नेपालको फाइनल पुग्ने सपना

पोखरा- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ महिला फुटबल च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनल पुगेका हुन्। नेपाल भने लिग चरणबाटै बाहिरियो।

बुधबार बंगलादेशसँग नेपाल पराजित भएसँगै फाइनल पुग्ने सपना चकनाचुर भएको हो। च्याम्पियनसिमा सर्वाधिक उपाधि विजेता बंगलादेशले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो।

नेपाल यसअघि पहिलो खेलमा भारतसँग १-० ले पराजित भएकोमा दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो। बंगलादेशकी अल्पी अख्तेरको ह्याट्रिक गरिन्।

खेल सुरुआतको तेस्रो मिनेटमै प्रोतिमा मुन्डाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफको इन्जुरी टाइममा अल्पीले गोलअन्तरले दोब्बर पारिन्।

पहिलो हाफमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा फर्किने प्रयास गरेकोमा झनै गोलको सामना गर्नुपरेको हो। खेलको ६७ औं मिनेट र ८२ औं मिनेटमा अल्पीले थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।

बुधबार नै भारतले भुटानलाई ८-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ। पहिलो हाफमै ७ गोलको वर्षा गरेको भारतले दोस्रो हाफमा थप १ गोल थपेको हो।

अलिशा ल्याङ्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएकोमा पर्ल फरनान्डेजले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १६ औं, ३९ औं र ४१ औं मिनेटमा गोल गरेकी हुन्।

खेलको १० औं मिनेटमा अभीष्टा बस्नेत, १७ औं मिनेटमा दिव्यासी लिन्डा, २५ औं मिनेटमा प्रीतिका बर्मनले गोल गरेका थिए। भुटानी टिममाथि हावी भएको भारतले खेलको अन्तिम ९० औं मिनेटमा प्रीतिका बर्मनको थप एक गोलसँगै ८ गोल बनाएको हो।

नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ देशले भाग लिएको च्याम्पियनमा लिग चरणको नतिजापछि शीर्ष दुई टिम बंगलादेश र भारत फाइनलमा पुगेका हुन्। प्रतिस्पर्धामा बंगलादेश अपराजित रहँदै सर्वाधिक ९ अंक तथा भारतले २ जितसँगै ६ अंक जोडेको छ। एकमात्र जित हात पारेको नेपाल र अंकविहीन भुटान लिग चरणबाटै बाहिरिन हुन पुगे। फाइनल पोखरा रंगशालामा शनिबार दिउँसो २ बजे हुनेछ।

प्रकाशित: २१ माघ २०८२ १८:४६ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast