नवनियुक्त अन्तरिम परराष्ट्रमन्त्री बालानन्द शर्माले ढाका पुगेर स्वर्गीय बेगम खालिदा जियाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनी खालिदाको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुन बुधबार ढाका पुगेका थिए। अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री शर्माले आफू तथा नेपाल सरकारका तर्फबाट स्वर्गीय खालिदाको पार्थिव शरीरको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै गहिरो शोक व्यक्त गरे।
८० वर्षीया खालिदा जियाले लामो समयदेखिको स्वास्थ्य समस्याका कारण ३० डिसेम्बर २०२५ मा ढाकाको अस्पतालमा देहत्याग गरेकी थिइन्। उनको अन्त्येष्टि ३१ डिसेम्बरमा राजकीय सम्मानका साथ सम्पन्न भएको थियो। उनको पार्थिव शरीर उनका पति एवं पूर्वराष्ट्रपति जियाउर रहमानको समाधिस्थल नजिकै समाधिस्थ गरिएको छ।
परराष्ट्रमन्त्री शर्माले स्वर्गीय खालिदाका छोरा तथा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेटघाट गरी नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना व्यक्त गरे। उनले खालिदालाई बंगलादेशको राजनीतिक तथा लोकतान्त्रिक यात्रामा अमूल्य योगदान दिने एक प्रतिष्ठित राजनेतृका रूपमा स्मरण गर्दै उनको योगदानलाई सदैव सम्मान गरिने बताएका छन्।
रहमानले अन्त्येष्टि समारोहमा सहभागी भई श्रद्धाञ्जली अर्पण गरेकामा आभार व्यक्त गर्दै आगामी दिनहरूमा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्य अझै सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।
परराष्ट्रमन्त्री शर्माले बुधबार बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक डा. मोहम्मद युनुससँग शिष्टाचार भेटवार्ता गरे। भेटमा उनले नेपालका प्रधानमन्त्री सुशीला कार्कीका तर्फबाट स्वर्गीय खालिदा जियाको निधनप्रति गहिरो समवेदना व्यक्त गरिएको सन्देश हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्रीको सन्देशमा खालिदा जियाले तीन कार्यकाल प्रधानमन्त्रीका रूपमा रहँदा नेपाल–बंगलादेश सम्बन्धलाई सुदृढ बनाउन पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ। परराष्ट्रमन्त्री शर्माले खालिदालाई बंगलादेशको विकास, समृद्धि तथा क्षेत्रीय सहकार्य र एकताका पक्षमा दृढतापूर्वक उभिने एक दूरदर्शी नेतृका रूपमा सदैव स्मरण गरिने बताए।

प्रमुख सल्लाहकार डा. युनुसले बंगलादेशको स्वतन्त्रताको समयदेखि नेपालले प्रदान गर्दै आएको निरन्तर समर्थन र मित्रताप्रति कृतज्ञता व्यक्त गरे। नेपालले बंगलादेशलाई स्वतन्त्रतापछि सातौँ देशका रूपमा मान्यता दिएको र औपचारिक कूटनीतिक सम्बन्ध ८ अप्रिल १९७२ मा स्थापित भएको इतिहासलाई स्मरण गर्दै उनले दुवै देशबीचको सम्बन्धलाई अझै गहिरो बनाउनुपर्नेमा जोड दिए ।
भेटवार्तामा दुवै पक्षबीच नेपाल–बंगलादेश सम्बन्धको वर्तमान अवस्था तथा व्यापार, ऊर्जा, सम्पर्क विस्तार, पर्यटन र जनस्तरको आदानप्रदानलगायतका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ।
सन् २०२३ मा बंगलादेशबाट नेपालमा करिब एक करोड २० लाख अमेरिकी डलर बराबरको निर्यात भएको र दुवै देशबीचको व्यापार वृद्धि गर्नका लागि थप प्रयास आवश्यक रहेको तथ्यलाई पनि छलफलमा उल्लेख गरियो।
परराष्ट्रमन्त्री शर्माले बंगलादेशका परराष्ट्र मामिला सल्लाहकार एम डी तौहिद होसैनसँग पनि भेटघाट गरी व्यक्तिगत समवेदनापत्र हस्तान्तरण गरे। होसैनले अन्त्येष्टि समारोहमा सहभागिता जनाएकामा धन्यवाद दिँदै नेपाल सरकारको निरन्तर सहयोगप्रति प्रशंसा व्यक्त गरे।
यो भेटले दुवै देशबीचको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। यो उपस्थिति केवल औपचारिकता मात्र नभई दक्षिण एसियाली क्षेत्रमा गहिरो अर्थ बोकेको एक कूटनीतिक कदमका रूपमा ग्रहण गर्न सकिन्छ। नेपाल र बंगलादेश दुवै देशले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापनामा महत्त्वपूर्ण सहकार्य गरेका थिए, जसको जगमा आज पनि क्षेत्रीय एकताको बहस चलिरहेको छ।
दुवै मुलुकमा हाल युवा आन्दोलनपछि गठित अन्तरिम राजनीतिक संरचना विद्यमान छन्, जसले लोकतान्त्रिक संक्रमणको साझा चुनौतीलाई प्रतिबिम्बित गर्दछ। दुवै मुलुकका सरकारहरूले निष्पक्ष निर्वाचनमार्फत लोकतान्त्रिक वैधता पुनःस्थापना गर्ने प्रयासमा जुटिरहेका बेला यो भ्रमण क्षेत्रीय सन्तुलन र प्राथमिकताको एक स्पष्ट संकेत हो।
बंगलादेशमा लामो समयदेखि राजनीतिक संक्रमण चलिरहेको छ, जबकि नेपालमा यो संक्रमण चार महिनामात्र भएको छ। खालिदा जियाको राजकीय अन्त्येष्टिमा नेपालसहित क्षेत्रका अन्य मुलुकहरूबाट उच्चस्तरीय प्रतिनिधित्वको उपस्थितिले बंगलादेशको आन्तरिक राजनीतिक संक्रमणप्रति सावधानीपूर्ण र सक्रिय कूटनीतिक दृष्टिकोणलाई झल्काउँछ।
सैनिक तथा राष्ट्रपतीय शासनबाट संसदीय लोकतन्त्रतर्फ मुलुकलाई डोर्याउने बंगलादेशकी प्रथम महिला प्रधानमन्त्रीप्रति नेपालको अन्तरिम सरकारले देखाएको हार्दिकता र शोक सन्देश अत्यन्त अर्थपूर्ण छ। संक्रमणकालीन शासन र लोकतान्त्रिक वैधताको परीक्षा नेपाल र बंगलादेशको भूराजनीतिक स्थिति तथा गति भिन्नभिन्न भए पनि उनीहरू राजनीतिक संक्रमणको समान मोडमा उभिएका छन्।
दुवै मुलुकमा युवा आन्दोलनले पुराना शक्ति संरचना र विकृतिमाथि गम्भीर प्रश्न उठाएको थियो, परिणामस्वरूप अन्तरिम सरकारहरू गठन भएका छन्। त्यसपछिका बाटोहरूमा केही भिन्नता देखिन्छन्। बंगलादेशमा अन्तरिम सरकारले निर्वाचनको तयारी गरिरहेको दाबी गरे पनि चुनावी प्रक्रिया ढिलाइ हुँदै गएको छ।
दलहरूबीचको अविश्वास, प्रशासनिक पुनर्संरचना र सुरक्षा चिन्ताका कारण चुनावी कार्यतालिका अझै स्पष्ट हुन सकेको छैन। यसले अन्तर्राष्ट्रिय समुदायमा बंगलादेशको राजनीतिक दिशाप्रति प्रश्नहरू जन्माइरहेको छ। नेपालमा भने चुनावको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। संक्रमण छोट्याउने र राजनीतिक वैधता छिट्टै पुनःस्थापना गर्ने प्रयास प्रशंसनीय छन्, तर चुनावपछिको स्थायित्व कत्तिको दिगो हुन्छ भन्ने विषयमा गम्भीर बहस आवश्यक छ।
नयाँ तथा पुराना दलहरूले प्रस्तुत गरेको समानुपातिक सूचीले यसलाई थप उजागर गरेको छ, जसले आमनागरिकमा अझै पूर्ण विश्वास जगाउन सकेको छैन।
खालिदाको विरासत : लोकतन्त्र, द्वन्द्व र क्षेत्रीयता
दुई पूर्ण कार्यकाल र एक कार्यकालका केही सातासम्म प्रधानमन्त्री रहेकी खालिदा जिया बंगलादेशी राजनीतिमा मात्र प्रभावशाली व्यक्तित्व होइनन्, उनी दक्षिण एसियाली शक्ति सन्तुलनमा पनि एक प्रख्यात नाम थिइन्।
उनको कार्यकालमा सार्क सक्रिय बनाउने बहसलाई तीव्रता दिइएको थियो, जसमा १९९३ मा ढाकामा सार्क शिखर सम्मेलन आयोजना गरी क्षेत्रीय सहकार्यलाई नयाँ उचाइ दिइएको थियो। हिन्द महासागरको क्षेत्रीय राजनीतिबाट बाहिर निस्कने प्रयास तथा छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध स्थापित गर्न उनको दृष्टिकोण प्रशंसनीय थियो।
खालिदा जिया सार्कको प्रथम महिला अध्यक्ष बनेकी थिइन्। जसले बंगलादेशलाई क्षेत्रीय कूटनीतिको केन्द्रमा स्थापित गरेको थियो। यही कारण प्रधानमन्त्री सुशीला कार्कीको सन्देशमा खालिदा जियाले नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा खेलेको भूमिकालाई विशेष रूपमा स्मरण गरिएको छ।
यो स्मरण विगतको कदर र वर्तमान कूटनीतिक संकेत पनि हो। उनको निधनपछि यो क्षेत्रमा उब्जिएको मुख्य प्रश्न भनेको शक्ति सन्तुलन हो। जेलमा रहँदासमेत उनले आफूलाई क्षेत्रीय सहकार्यको एक बलियो आधारस्तम्भ ठानिन्।

बीएनपीसँग सम्पर्क : सत्ता–प्रतिसत्ताको सन्तुलन
परराष्ट्रमन्त्री शर्माले खालिदा जियाले नेतृत्व गरेको बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग गरेको भेटघाटलाई समवेदना प्रकट गर्ने औपचारिकताका रूपमा मात्र हेर्न सकिँदैन। यो भेटले खालिदा जियापछिको बीएनपी नेतृत्वसँगको संवादलाई बलियो बनाउने तथा निर्वाचनमा भएको ढिलाइ र भारतमा निर्वासनमा रहेकी नेतृ सेख हसिनाप्रतिको आमनागरिकको धारणा बुझ्ने अवसर पनि प्रदान गरेको छ।
सम्भावित निर्वाचन र सत्ता समीकरणमा नेपालको अन्तरिम सरकारले सबै पक्षसँग संवाद कायम राख्दै समयमै निर्वाचन सुनिश्चित गर्ने तयारी गरेको देखिन्छ। बंगलादेशमा यस्तो अवस्था कत्तिको छ भन्ने बुझ्ने अवसरका रूपमा पनि परराष्ट्रमन्त्री शर्माले यो भ्रमणलाई उपयोग गरेको हुन सक्छ। भएका भेटघाट र छलफलले केही रणनीतिक पक्षहरूलाई झल्काउँछन्।
दक्षिण एसियामा सरकारहरू मात्र होइन, विपक्षी दलहरू र आन्दोलनकारी शक्तिहरूसँग पनि संवाद राख्नु साना मुलुकहरूको व्यावहारिक कूटनीतिको एक महत्त्वपूर्ण पक्ष हो। नेपालले यो अभ्यासलाई निरन्तरता दिएको देखिन्छ, यद्यपि भारतमा प्रतिपक्षी दलहरूसँग भने यस्तो संवाद गरेको पाइँदैन।
अन्तरिम भेट : वैधता र व्यावहारिक सहकार्य
अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक डा. मोहम्मद युनुससँग भएको भेटवार्तामा औपचारिक विषयहरू जस्तै व्यापार, ऊर्जा, सम्पर्क विस्तार र पर्यटन उल्लेख भए पनि यसको गहिरो सन्देश लोकतान्त्रिक संक्रमणको व्यवस्थापनसँग जोडिएको छ। शर्माले बाहिर नल्याए पनि त्यहाँका सञ्चारमाध्यमसँगको अन्तरक्रियापछि यो भ्रमणले सत्ताको आयु कसरी लम्बिएको छ, चुनाव किन ढिलाइ भइरहेको छ र युवाहरूको प्रतिक्रिया के छ भन्ने विषयहरू बुझ्ने अवसर दिएको स्पष्ट हुन्छ।
सैनिक पृष्ठभूमिका शर्माले यो कूटनीतिक भ्रमणलाई नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप बलियो बनाउने माध्यमका रूपमा उपयोग गरेको देखिन्छ। विगतमा पनि यस्ता अवसरहरूमा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्व हुने गरेको थियो।
बंगलादेशमा चुनाव ढिलाइ हुँदै जाँदा अन्तरिम सरकारको वैधतामाथि प्रश्न उठिरहेका बेला नेपालले औपचारिक सम्पर्कलाई निरन्तर राख्नु संस्थागत सम्बन्ध व्यक्ति वा सरकारभन्दा माथि हुन्छु भन्ने कूटनीतिक सिद्धान्तको सुन्दर अभ्यास हो।

क्षेत्रीय समीकरण : सार्क निष्क्रिय, विम्स्टेक पनि अलमलमा
सार्क संरचनागत रूपमा निष्क्रिय रहनुको मूल कारण भारत– पाकिस्तान सम्बन्ध हो। भारत–पाकिस्तान तनावले क्षेत्रीय सहकार्यलाई अवरुद्ध बनाएको कतै छिप्दैन। यस्तो परिस्थितिमा बिम्स्टेक, द्विपक्षीय ऊर्जा व्यापार र कनेक्टिभिटी व्यावहारिक विकल्प बनेको भनिए पनि त्यहाँ पनि सहकार्य अघि बढ्न सकेको देखिँदैन। जसले गर्दा यस क्षेत्रमा क्षेत्रीय संगठन किन अघि बढ्न नसकेको होला भन्ने प्रश्न सबैमा आइरहेको छ।
बिम्स्टेकले अपेक्षाकृत रूपमा काम गर्न सकेको छैन, जसको सचिवालय ढाकामै छ। सार्कमा भारत–पाकिस्तान समस्या थियो भने बिम्स्टेकमा त्यस्तो समस्या नहुँदा पनि किन यो अघि बढ्न सकेन भन्ने प्रश्न पूर्व कूटनीतिज्ञहरूले उठाउँदै आएका छन्।
नेपालका लागि बंगलादेश ऊर्जा निर्यात, समुद्री पहुँच र वैकल्पिक व्यापार मार्गको दृष्टिले एक रणनीतिक साझेदार हो। बंगलादेशका लागि भने नेपाल हिमाली ऊर्जा र उत्तरतर्फको स्थिर साझेदारका रूपमा महत्त्वपूर्ण छ। यी साझा हितहरूले राजनीतिक संक्रमण रहे पनि दुवै देशलाई सम्बन्ध निरन्तर राख्न बाध्य बनाएको छ।
सार्कमा गरेको सहकार्य तथा छिमेकपछि निकटतम मुलुकका रूपमा बंगलादेशलाई हेर्ने नेपालको दृष्टिकोणले यो सम्बन्धलाई थप सुदृढ बनाएको छ। सन् २०२२ मा दुवै देशबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका थिए, जसले सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई प्रोत्साहित गरेको थियो।
श्रद्धाञ्जली दक्षिण एसियाकी नेतृमा
खालिदा जियाको अन्त्येष्टिमा नेपालको सहभागिता भावनात्मक कूटनीतिको एक सुन्दर उदाहरण हो। अस्थिर दक्षिण एसियामा स्थिर सम्बन्धको खोजी गर्ने यो एक राजनीतिक तथा कूटनीतिक जमघट पनि हो।
चुनाव ढिलाइ भइरहेको बंगलादेश र चुनावतर्फ अग्रसर नेपाल दुवैका लागि लोकतान्त्रिक संक्रमणलाई सफल बनाउनु आन्तरिक मात्र होइन, क्षेत्रीय स्थायित्वको एक महत्त्वपूर्ण प्रश्न बनिसकेको छ। यी दुवै मुलुकले पुनः लोकतान्त्रिक धारमा संसदीय अभ्यास गर्दा मात्र नेतृ खालिदाप्रति सच्चा श्रद्धाञ्जली मिल्नेछ।
परराष्ट्रमन्त्री शर्माको ढाका भ्रमण यो सन्दर्भमा एक स्पष्ट सन्देश हो, नेपाल राजनीतिक संक्रमणमा रहे पनि क्षेत्रीय कूटनीतिमा सक्रिय र जागरुक छ भन्ने सन्देश दिन सफल भएको छ। यतिबेला नेपालले राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षता गरिरहेको छ, जसले विश्व मञ्चमा नेपालको पहिचानलाई बलियो बनाएको छ।
यस्तो अवस्थामा नेपालले क्षेत्रीय राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक छ। सार्कको मुख्यालय काठमाडौँ हो भने यसको अध्यक्ष पनि नेपालले विगत १२ वर्ष देखि गरिरहेको छ। क्षेत्रीय भूमिका नभए पनि दुईपक्षीय भूमिका बलियो बनाउने कामममा भने बंगलादेशमा रहेका नेपाली राजदूत धनश्याम भण्डारीको सक्रियताले पनि प्रस्ट पारेको छ।
खालिदाको अन्त्येष्टिमा नेपालको उच्चस्तरीय सहभागिता शोक प्रकट गर्ने औपचारिकता मात्र होइन, दक्षिण एसियामा राजनीतिक संक्रमणका बीच नेपालले बंगलादेशसँगको सम्बन्धलाई निरन्तर प्राथमिकतामा राख्न चाहेको एक हार्दिक संकेत हो।
यो भ्रमणले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ, जसमा ऊर्जा सहकार्य, पर्यटन विस्तार र सांस्कृतिक आदान–प्रदान जस्ता क्षेत्रहरूमा थप अवसरहरू सिर्जना हुन सक्छन्।



