काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताए ।
खनालले विश्वको शक्ति सन्तुलनमा व्यापक परिवर्तन भइरहेको र पश्चिमा शक्तिहरूको वर्चस्व रहेको पुरानो विश्व व्यवस्था विघटनको दिशामा रहेको उल्लेख गरेका छन् । उनका अनुसार, अब विश्वमा न्याय र समानतामा आधारित नयाँ व्यवस्थाले आकार लिइरहेको छ, जसको प्रभाव नेपालमा पनि परिरहेको छ ।
देशको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै खनालले कुशासन, भ्रष्टाचार र बेरोजगारीका कारण देशको सामाजिक–आर्थिक संकट गहिरिएको बताए । विशेषगरी गत भदौ २४ गते जेन्जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई महासंकटमा धकेलेको उनको ठहर छ । उनले यसलाई देशी विदेशी प्रतिक्रियावादीहरूको सुनियोजित महाविध्वंसको संज्ञा दिएका छन् ।



