मुलुकमा राजनीतिक अन्धकार कायम छ। त्यो अन्धकारको मुख्य कारक दल मध्य एमाले एक हो भन्नेमा दुईमत छैन। त्यही अँध्यारोमा एमाले एउटै व्यक्ति केपी शर्मा ओलीको अहंकारपूर्ण दम्भमा चलिरहेको छ। ओलीमाथि एमाले र मुलुक दुवैलाई बन्धक बनाएको आरोप छ।
जेनजी आन्दोलनको रगत अझै सुकेको छैन। युवाहरूमा आक्रोशको आगो निभेको छैन। यही बेला पुरानो वामपन्थी दल एमाले नयाँ नेतृत्व चयन प्रक्रियामा छ। चुनावी प्रक्रिया हेर्दा एमाले फेरि उही असफल नेतृत्वलाई स्वर्णसिंहासन चढाउन उद्यत छ। त्यसैले एमालेको एघारौँ महाधिवेशनबाट नयाँ सपनाको उदय हुने संकेत देखिँदैन। बरु पुरानै जिद्दीको पुनरावृत्ति हुने निश्चित भएको छ। प्रश्न उठ्छ- अब फेरि ओली शक्तिमा आएमा दोषी को? यसको स्पष्ट उत्तर हुन्छ- निरन्तर तेस्रो पटक नेतृत्वमा पुग्न खोज्नुको दोष ओलीलाई होइन, ओली बोक्ने र त्यसबाट मह चाट्न पल्केकाहरूमाथि जान्छ।
१५ वर्ष निरन्तर कार्यकारी अध्यक्ष बनेर पतनतर्फ उन्मुख हुँदै गएका ओलीलाई फेरि उही पदमा निर्वाचित गराउनुलाई राजनीतिक निर्णय मान्न सकिन्न। यो त एमालेजनमा आएको बौद्धिक पतन हो। अझ भनौँ- नैतिक दिवालियापन हो र जनताको विश्वासमाथि ठाडो धोका हो। जारी महाधिवेशनले ओलीको जिद्दीलाई पुरस्कृत गर्दै पुरानो स्थानमा राख्छ र मान्छ भने त्यसको परिणाम मुलुक, एमाले कार्यकर्ता र दलका लागि दुर्भाग्य हुनेछ।
नेताकार्यकर्तामा किन बुद्धि फर्किँदैन? किन जनआक्रोशबाट पाठ सिकिँदैन? किन असफल व्यक्तिलाई फेरि पनि चोख्याएर ल्याउने काम हुन्छ? एमालेको जारी महाधिवेशनले यी प्रश्नहरूको जवाफ दिनुपर्छ, नत्र इतिहासले एमालेलाई कठोर सजाय दिनेछ।
जनआक्रोश सम्बोधन गर्न नसकेका ओली
केही महिनाअघिको जेनजी आन्दोलन कुनै क्षणिक ‘स्टन्ट’ बाजी थिएन। यो राजनीतिक असफलताको भयंकर विस्फोट थियो। युवा पुस्ताको धैर्यको बाँध फुट्यो। सडकमा सरकारविरोधी नारा गुञ्जियो। राज्यसंयन्त्र लडखडायो। राजधानीमा आगो बल्यो। सरकारी संरचना ध्वस्त भए। दर्जनौँ युवाको रगत बग्यो।
जेनजी आन्दोलन ओली नेतृत्वको सरकारको पूर्ण असफलताको प्रमाण थियो। यसमा कारक थिए- भ्रष्टाचारको जालो, बेरोजगारी समस्या, सामाजिक सञ्जालमाथि प्रतिबन्धको आक्रोश र सुशासनको अभाव। आफूलाई बचाउन नसक्ने अवस्था भएपछि तत्कालीन प्रधानमन्त्री ओली हेलिकप्टरमा भागे, सेनाको ब्यारेकमा लुकेर ज्यान जोगाए। जनतालाई ढाडस दिनुपर्ने ओली भाग्दा उनीमाथि आक्रोश थप चुलिएको हो।
प्रधानमन्त्रीसहितको निजी निवासमा आगजनी भयो। यस्तो घटना दुःखद छ। दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्छ। घटना दोहोरिन दिनु हुँदैन। त्यति बेलाका सरकार प्रमुख ओलीले सबै जिम्मेवारी लिएर उत्तरदायित्व पूरा गर्नपर्छ। ओलीले त्यो घटनलाई बाह्य घुसपैठसमेत भनेका छन्। यी घटना कुनै विदेशी तानाशाही आएर गराएका होइनन्। त्यो त ओलीको कार्यकालमा चुलिएको असन्तुष्टिको युवा आवेगको परिणाम थियो।
ओलीले ती कलिला युवा संहार भएको घटनाबारे क्षमायाचना गरेका छैनन्। उनमा पछुतो देखिँदैन। गुण्डुमा कार्यकर्ताको शरण लिएर बस्दा पनि दम्भ उही छ। प्रश्न उठ्छ- यति ठूलो संकटको नैतिक जिम्मेवारी कसले लिने? लोकतन्त्रमा जवाफदेहिता भाषणको अलंकार हो कि व्यवहारको आधारस्तम्भ? जेनजी आन्दोलनले नेपाली युवालाई जागरण दियो। उनीहरूले सडकबाट मात्र होइन, वैकल्पिक प्लेटफर्मबाट पनि आवाज उठाए, जसले सरकारलाई सम्झौता गर्न बाध्य पार्यो।
युवा आक्रोशले दलहरूलाई आत्मचिन्तनको सुनौलो अवसर दियो। तर उनीहरु अझै चेत्नेवाला देखिएनन्। उदाहरणका लागि, बंगलादेशको २०२५ को युवा विद्रोहले तानाशाही सरकार ढाल्यो र नयाँ अन्तरिम व्यवस्था ल्यायो। त्यसअघि श्रीलंकामा पनि यस्तै भएको थियो। नेपालमा पनि जेनजीले परिवर्तनको बिउ रोपेको छ- एमालेको नेतृत्वले त्यसलाई बुझेर आफू अभिभावक बन्दै युवाहरुलाई अघि बढाउन सकेको भए एमालेको भविष्य सुनौलो थियो।
एमाले अध्यक्ष ओली आफूलाई जिताउन र भागबन्डा मिलाउन पदाधिकारी थप्ने देखि अनेक कार्य गरिरहेका छन्। उनी प्रतिस्पर्धाविहीन रूपमा तेस्रोपल्ट अध्यक्ष बन्ने दाउमा थिए। ओलीले आफूलाई बलियो देखाउन अनेक निर्णय गरेका छन्। उनका यस्ता मनलाग्दी प्रकारको निर्णयले युवामा थप आक्रोश पलाएको छ।
अहिले परम्परागत राजनीतिक दललाई युवाहरुले हुँकारेको अवस्था छ। यस्तो अवस्थामा राजनीतिक दलको नेतृत्वमा परिवर्तन आवश्यक छ। सायद यही बुझेर होला कुनै बेला ओलीको सारथीका रुपमा रहेका ईश्वर पोखरेल नयाँ अनुहारसहित नेतृत्वमा जान लागेका छन्। उनको टिम कमजोर देखिँदैन। वरिष्ठ उपाध्यक्ष्र पोखरेलले अर्को समूहसहित प्रतिस्पर्धा गर्ने भएपछि ओलीमाथि चुनौती थपिएको छ। यस्तो अवस्थामा एमाले प्रतिनिधिहरू सुझबुझपूर्ण तरिकाले प्रस्तुत हुनुपर्छ।
लोकतन्त्रमा लगाएको दाग
लोकतन्त्रको आधारभूत नियम स्पष्ट छ- असफल नेतृत्वले राजीनामा दिन्छ, नयाँ अनुहारले अवसर पाउँछ। एमालेमा यो उल्टो संस्कृति फस्टाएको छ। असफलता सजाय होइन, पदको सुनौलो ताज बन्ने संकेत देखिएको छ। ओलीको कार्यकाल एमालेका लागि त्यति सुखद रहेन। उनको ओलीको शासनकालमा पार्टी फुट्यो, सरकार ढल्यो, संसद् विघटन गर्ने संवैधानिक अपराधमा सर्वोच्चले हस्तक्षेप गर्नुपर्यो, अन्तर्राष्ट्रिय छवि धुमिल भयो, गुटबन्दीले पार्टी खोक्रो बन्यो। यस्तो अवस्थामा ओली तेस्रो कार्यकालको लोभमा पर्नु भनेको एमालेमा अन्य विकल्प नभएको सन्देश हो।
कतिपय नेताहरुले त जता दाम उतै काम भनेका खबर पनि छन्। त्यो भन्दा पनि संगठन बलियो देखिएको यो दल अहिले आमजनताको नजरबाट टाढा हुन खोज्दै छ। त्यही कारण सायद महाधिवेशनको तस्बिर ओलीलाई गुण्डुमा संरक्षण दिनेले होस् या भ्रातृ संगठनले राखेको तस्बिर एआई प्रयोग गरेर अधिक मास देखाउनुपरेको स्पष्ट छ।
दलभित्र नेतृत्वको जिद्दीले पार्टीभित्रको बहसमा कुचो लागेको छ। ओलीले प्रश्न उठाउनेलाई ‘देशद्रोही’ को ट्याग लगाएकै हुन्। आलोचना गर्नेहरु ओलीको तारोमा परेका छन्। २०७७ को संसद् विघटनदेखि जेनजी दमनसम्मका घटनाले ओलीको असफलता प्रमाणित गरिसक्दा पनि उनलाई नेता मानेर अघि बढ्नुपर्ने दल र नेताको सोच उदेकलाग्दो छ।
महाधिवेशनमा फेरि ओली प्यानलको दम्भ देखिएको छ। जुन एमालेजनले भोग्दै आएका हुन। ओलीको नेतृत्वमा समूह बन्नु कुनै संयोग होइन। यो त व्यक्तिपूजाको विषाक्त फल मात्र हो। जारी महाधिवेशनले पुरानैलाई नेतृत्व दियो भने अहिले इतरबाट उठ्नेहरु कारबाहीमा पर्नेछन्। किनभने ओलीको दम्भ झनै बढेर आउने देखिन्छ।
पार्टीले असफलताबाट सिकेको थियो भने युवा नेतृत्वलाई अगाडि सारेर नयाँ ऊर्जा भर्न सक्नुपर्ने हो। ओली आफूलाई कहिलेकाहीँ नेलसन मन्डेलासँग दाँज्न भ्याउँछन्। दक्षिण अफ्रिकामा मन्डेलाले आफूपछि पुस्तान्तरण गरेर स्थिरता कायम गरेका थिए। उनले चाहेका भए बाँचुन्जेल मुलुकको नेतृत्व गर्न सक्थे। तर त्यसो गरेनन्। भारतमा सत्तारुढ दल भारतीय जनता पार्टीले नरेन्द्र मोदीपछि नयाँ अनुहारहरूको चयन भइसकेको छ। चीनमा सहमतिमा सी जिनफिङलाई नेतृत्व दिइएको हो। सीले सन् २०३० मा सत्ता छाड्ने छन्। सत्तामा रहँदै गर्दा उनीहरूले गरेका काम विश्वब्यापी रुपमा नै चर्चा हुने खालकै छन भने मुलुक विकासमा पनि उत्तिकै लागेका छन्।
दुई कार्यकाल नारामात्रै
एमालेले दुई कार्यकालको सिद्धान्त त राखेको छ। तर विधानमा लेखेर अघि भने बढेको छैन। ओली अहिले यो सीमा भुलेर तेस्रो कार्यकालका लागि मैदानमा उत्रिएका हुन। कुनै बेला दुई कार्यकालको सीमा राखेर अरूलाई लोकतान्त्रिक पाठ पढाउँथ्यो, एमाले। कांग्रेसलाई परिवारवाद र माओवादीलाई एकाधिकारको आरोप लगाउने पनि एमाले नै हो। तर आफ्नै नेतृत्वमा यो सिद्धान्त कागजको बाघ बन्यो।
विधान महाधिवेशनमा उमेर हद र कार्यकाल सीमा हटाएर ओलीले व्यक्तिगत स्वार्थलाई संस्थामाथि राखे। यो दोहोरो चरित्रले पार्टीको विश्वसनीयता रसातलमा पुर्याएको छ। अघिल्लो महाधिवेशनपछि पनि ओलीकै जिद्दीले गुटबन्दी बढायो, कार्यकर्ता निराश भए। जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा यो सिद्धान्त पुर्नस्थापित गर्नुपर्थ्यो, तर उल्टो भएको छ। ओली अमर बन्न खोज्दै छन्, पार्टी मर्न लागेको छ।
७० वर्ष उमेर हद र दुई कार्यकाल सीमा लागू गरेर ४० वर्षमुनिका नेताहरूलाई ४० प्रतिशत कोटा दिएर पुस्तान्तरण गर्न सकिन्छ भनेको दल पनि एमाले नै हो। बेलायतको कन्जर्भेटिभ पार्टीले थ्याचरपछि नयाँ नेतृत्वलाई मौका दियो, जसले देशलाई बलियो बनाएको थियो। यस्तै लामो समय सत्ताको स्वाद लिएको एमालेले पनि यो सुन्दर बाटो रोजोस्।
एमालेमा विधान संशोधन सहजै रुपमा गर्न नमिल्लने गरी व्याख्या गर्न आवश्यक छ। किनभने कार्यकाल भनेको दुई अवधि ठिक हो। बरु सरकारमा जान संसदीय दलको नेता भइरहन सक्ने व्यवस्था गर्न मिल्यो। दलभित्र नेतृत्व भने दुईभन्दा बढी हुन नहुने गरी संशोधन गरेर अघि बढ्न आवश्यक छ।
राजनीतिशास्त्री प्रा. कृष्ण खनालको भनाइमा लोकतन्त्रमा नेतृत्वको मूल्यांकन चुनाव जितेर मात्रै हुँदैन, संकटका बेला देखाएको जिम्मेवारी र जवाफदेहिताले हुन्छ। जुन कुरा ओलीमा देखिएन। त्यसैले प्रश्न उठ्छ- ओलीलाई किन यसरी अघि बढाउँदै छ एमाले? एमालेभित्रको एक समूहले यी प्रश्नहरूलाई आत्मसात् गर्नेभन्दा पनि ‘नेतामाथि आक्रमण भयो’ भन्ने भावनात्मक आवरणले ढाक्ने प्रयास गरिरहेको छ।
भयमा युवा
नेतालाई कुन दिशामा लैजाने भन्ने कार्यकर्ताको विवेकमा भर पर्छ। एमाले कार्यकर्ताको मौनताले यो विष विस्तार गरेको छ। नेतृत्व रिसाउला भन्ने डर कार्यकर्तामा छ। नेतृत्व रिसाएमा आगामी निर्वाचनमा टिकट पाइँदैन कि भन्ने भय नेतामा छ। जसले गर्दा एमालेसँगै मुलुक पनि अस्थिरतातर्फ धकेलिएको छ।
प्रश्न उठाउनेलाई सजाय, चाकरी गर्नेलाई पुरस्कृत गर्नेे संस्कारले लोकतन्त्रलाई भीडतन्त्र बनाउँछ। महाधिवेशनमा पनि यो भयले विकल्पलाई दबाएको छ। निर्वाचनमा कार्यकर्ताले विवेक प्रयोग गरेमा कार्यकर्ताहरू परिवर्तनका वीर हुन् भन्ने प्रमाणित हुनेछ। अन्यथा एमालेजन केपी ओलीको झोले हुनेछन्। हजारौँ कार्यकर्ताको प्रतिनिधित्व गरेर आएकाहरुले विवेक जगाउँछन् भने पुरानाो नेतृत्वलाई होइन नयाँको विकल्पमा जाने सोच राख्नुपर्छ।
दक्षिण कोरियाको ‘क्यान्डललाइट’ आन्दोलनले त्यहाँको नेतृत्वलाई ढालेको थियो। त्यो यहाँ पुनः नहोला भन्न सकिन्न। प्रशिक्षण, खुला बहस र आलोचनालाई प्रोत्साहन दिनुपर्छ। कार्यकर्ताको जागरणले एमालेलाई बलियो दाबेदार पार्टी बनाउने छ। अन्यथा ओलीमा गिरीबन्धुको भय छ। अनि आमकार्यकर्तामा ओलीले गर्न सक्ने कारबाहीको भय छ।
अग्रज पत्रकार किशोर नेपाल लेख्छन्, ‘नेतृत्वको संकट तब गहिरिन्छ, जब पार्टीले व्यक्तिलाई संस्था भन्दा माथि राख्न थाल्छ। अहिले एमालेमा भएको नै यही हो। एमाले भनेको केपी शर्मा ओली। किनभने ओलीको पछि लागेर उनलाई भगवान् बनाउनेहरु नै अहिले यो अवस्थाको दोषी छन्। ओलीकै कारण शिक्षामन्त्री भएका कृष्णगोपाल श्रेष्ठले काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा केपी ओलीलाई हटाउने कोही माइकलाल छैन भन्थे। तर उनै श्रेष्ठ अहिले ओलीभन्दा फरक कित्तमा उभिएका छन्।
ईश्वर पोखरेल : साँचो विकल्प
कतिपयले ईश्वर पोखरेलको उम्मेदवारी एक व्यवस्थित नाटक पनि भनिरहेका छन्। महाधिवेशनमा पोखरेलको उम्मेदवारी आशाको उज्यालो किरण हो। उनी ओलीका सहयोगी भए पनि संयमी, संस्थागत सोचका र कम विवादास्पद छन्। विद्यादेवी भण्डारीको समर्थनले उनको प्यानल बलियो बनेको छ। गृहमन्त्री र रक्षा मन्त्री कालमा उनले सुरक्षा नीतिमा स्थिरता ल्याएका थिए। यो प्रतिस्पर्धा साँच्चै स्वतन्त्र हुन्छ भने एमालेमा साँचो परिवर्तन सम्भव छ।
पोखरेलका लागि यो कडा परीक्षा हो र मिठो परिणामको आशा पनि। नेपाली राजनीतिको कालो चित्रमा एमाले एक्लो अपराधी होइन। यसमा एमालेसँगै कांग्रेस र माओवादी पनि उत्तिकै मुछिएका छन्। कांग्रेसमा जेनजीबाट घाइते सभापति शेरबहादुर देउवाको पुनरागमन, माओवादीमा पुष्पकमल दाहालको एकाधिकार जस्ता गतिविधिले पुस्तान्तरणलाई धोका दिएको स्पष्ट छ। कांग्रेसमा भने विधानबाट बाहिर जान मिल्ने अवस्था छैन। त्यसैले पनि दुई कार्यकालपछि नयाँ व्यक्तिको काँधमा जिम्मेवारी जानेछ। अतः एमालेमा पनि विकल्प खोज्न आवश्यक छ। दोहोरो चरित्रको व्यक्ति नेतृत्वमा रहँदा समस्या निम्तिएको घटना छर्लंग छ।
विद्यादेवी भण्डारी राष्ट्रपति कार्यकाल सकेर बाहिरिएपछि एमालेमा सक्रिय हुन खोज्दा बाहिरी जगतले पार्टीमा नजान सल्लाह दिए। तर ओलीले स्वागत गरे। अन्यको कुरालाई बकुम्फुसे भने। जुन दलबाट गएको त्यही दलमा फर्कन्छु भन्दा किन टाउको दुखाएको पनि भने। अध्यक्षमा निर्वाचन लड्ने र ओलीलाई नै टक्कर दिने देखिएपछि भण्डारीको नवीकरण गरेको सदस्यतासमेत नवीकरण गरेको छैन भनियो। त्यो पनि उनै ओलीको मुखबाट। यस्ता द्वैध चरित्र भएका ब्यक्तिले कसरी मुलुक वा दललाई सही दिशा देलान्?
अग्रज पत्रकार नेपाल र लेखक विश्लेषक खगेन्द्र संग्रौलाहरुले ओलीका बारेमा त्यसै लेखेका होइनन्। २०४६ पछिको राजनीतिमा वृद्ध नेतृत्वको बन्धनले मुलुकलाई विकासभन्दा बहसमा बढी केन्द्रित गरिदियो। काम गर्ने भन्दा ठगेर खानेहरु शक्तिशाली हुँदै गए। काम गर्न पर्दैन भन्ने संस्कार बसालियो। काम गर्नेलाई निरुत्साहित गर्ने र विदेश पलायन गराउने भूमिका बढ्यो।
आमनागरिक कमजोर हुँदै गए। त्यही कारण एमाललेले उमेर हद राखेर त्यसबाट युवालाई अवसर पनि हुने स्पष्ट पारेको थियो। नेतृत्वमा पुगेपछि नेतृत्व अस्थायी हो भन्ने भुल्दा यो समस्या आएको हो। सधै आफैँले नेतृत्व गर्न पर्ने सोच राख्ने नेता र त्यही नेताको वरीपरी बसेर हात चाटेकाहरू उनै हुँदा सजिलो हुने सोच राख्दा यो अवस्था आएको हो।
निष्कर्ष
एमालेको जारी महाधिवेशन एमालेजनको आत्मपरीक्षाको अन्तिम अवसर हो। यसमा प्रमुख तीन पक्ष छन्- सुधार, पुस्तान्तरण र युवामा नेतृत्व हस्तान्तरण। त्यता नलागी पुरानै जिद्दी रोजियो भने एमालेले भरोसा मात्र होइन, जनसमर्थन गुमाउनेछ। जेनजीको रगतले चेतावनी दिएको छ- ‘बुद्धि नफर्किए इतिहासले सजाय दिन्छ।’ परिवर्तन रोजियो भने एमाले फेरि एकपटक मुलुकको निर्णायक शक्ति बन्न सक्छ।
जनता जनार्दनहरू विवेकले मात्र निर्णय गर्छन्। एमालेको चुनावले अध्यक्ष मात्र होइन, नेपालको भविष्य निर्धारण गर्नेछ। यसलाई आधार मानेर एमालेजन अघि बढ्न आवश्यक छ। ओलीलाई दलको नेतृत्वमा राखिरहनु भनेको दलको मात्र होइन मुलुककै एक अभिसाप हो। त्यस्ता ब्यक्तिलाई पुनः ल्याउनु भनेको आफ्ना बालबच्चाको भविष्यलाई कुल्चनु हो। मुलुकको भविष्यलाई दाउमा राख्नु हो। यसैले पनि दलमा नयाँ मुहारलाई अवसर दिनुपर्छ।
एमालेमा लागेर सबैभन्दा बढी फाइदा लिने ब्यक्तिमा पर्छन् ओली। उनी पटकपटक प्रधानमन्त्री भए। उनकै अहंकार र बुझाइको कमीले चार घण्टामा मुलुक ध्वस्त भएको एक सय दिन पनि भएको छैन। यसलाई नभुली नेतृत्व चयन गर्न आवश्यक छ।
यहाँ प्रश्न केवल ओलीको होइन, प्रश्न एमाले कार्यकर्ताको विवेकको पनि हो। किन बारम्बार एउटै व्यक्तिलाई ‘अपरिहार्य’ ठानिन्छ? के एमालेभित्र नेतृत्व गर्न सक्ने अर्को पुस्ता नै छैन र? यसलाई कतिपयले नेता पूजाको संज्ञा दिएका छन्। आलोचनालाई शत्रुता ठान्ने र प्रश्न उठाउनुलाई गद्दारी ठान्ने प्रवृत्तिले पार्टी कमजोर बनेको छ।
ओलीभन्दा अघि दलमा नेतृत्व गरेकाहरु अहिले एमालेमा छैनन्। राजनीतिक विश्लेषक एवं पूर्व राजदूत प्राध्यापक लोकराज बराल भन्छन्, ‘जब पार्टीभित्र आलोचनात्मक चेतना मर्छ, त्यहाँ निर्णय विवेकले होइन, डर र लोयल्टीले गर्छ।’ यस भाष्यबाट एमालेजन बच्न आवश्यक छ। जारी महाधिवेशनमा सही नेतृत्व चयन नभएमा एमालेले नेतृत्व होइन, भरोसा पनि गुमाउनेछ। र, त्यो गुमेको भरोसा फिर्ता पाउन वर्षौँ लाग्न सक्छ।





