रहेनन् ‘हिम्यान अफ बलिउड’ धर्मेन्द्र, ‘फिल्म उद्योगमा एक युगको अन्त्य’

सुस्मिता बजगाईं ८ मंसिर २०८२ १७:००
30
SHARES
रहेनन् ‘हिम्यान अफ बलिउड’ धर्मेन्द्र, ‘फिल्म उद्योगमा एक युगको अन्त्य’

काठमाडौँ- बलिउड वरिष्ठ अभिनेता धर्मेन्द्र (धरमसिंह देओल) को निधन भएको छ। मुम्बईस्थित आफ्नै निवासमा सोमबार  उनको निधन भएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। विले पार्ले श्मशान भूमिमा उनको अन्त्येष्टि गरिएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि केही समयअघि उनलाई परिवारले मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरेका थिए। त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। केही दिनको बसाइपछि स्वास्थ्य सुधार भएको भन्दै घर फर्किएका उनले आज दिउँसो अन्तिम सास फेरेका हुन्।

दिग्गज फिल्म स्टार धर्मेन्द्रले अन्तिम सास फेरेपछि बलिउडभरिबाट श्रद्धाञ्जली दिइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र र प्रतिपक्षी दलका नेता राहुल गान्धीले पनि शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय फिल्ममा एक युगको अन्त्य भएको बताएका छन्। धर्मेन्द्रको अभिनयमै थुप्रै मानिसहरू प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री  मोदीले  एक असाधारण व्यक्तिको रुपमा धर्मेन्द्रलाई परिचय गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धर्मेन्द्रजीको निधनले भारतीय फिल्ममा एक युगको अन्त्य भएको छ। फिल्म क्षेत्रमा उहाँ एक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो। एक असाधारण अभिनेता जसले आफ्नो हरेक भूमिकामा गहिराई र आकर्षण ल्याउनुभयो। उहाँको भूमिकाले अनगिन्ती मानिसलाई प्रभावित पारेको छ। उहाँको सरतला, नम्र स्वभावको सबैले प्रशंसा गर्नुहुन्थ्यो। यो दुःखद घडीमा उहाँको परिवार, साथीभाई र असंख्य प्रशंसकहरूप्रति मेरो समवेदना छ। ओम शान्ति।’

राहुल गान्धीले ट्विटरमा लेखेका छन्, ‘महान् अभिनेता धर्मेन्द्रजीको निधनको खबर अत्यन्तै दुःखद छ र यो भारतीय कलाजगतका लागि अपूरणीय क्षति हो। करिब सात दशक लामो सिनेमामा उनको अद्वितीय योगदानलाई सधैँ सम्मान र प्रेमका साथ सम्झिइनेछ। म धर्मेन्द्रजीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

धर्मेन्द्रको निधनको खबरपछि प्रतिष्ठित अभिनेतालाई अन्तिम श्रद्धाञ्जली दिन फिल्म उद्योगका धेरै सदस्यहरू विले पार्लेस्थित पवन हंस शवदाह गृहमा भेला भएका थिए। महानायक अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चनदेखि लिएर दिग्गज लेखक सलिम खान र उनका छोरा सलमान खानलगायतका कलाकार सोमबार दिउँसो धर्मेन्द्रको अन्तिम संस्कारमा पुगेका थिए।

अक्षय कुमार, आमिर खान, अनिल कपूर, जायद खान, सञ्जय दत्त र सिद्धार्थ रोय कपुरले पनि अन्त्येष्टिमा धर्मेन्द्रलाई श्रद्धाञ्जली अर्पण गरे। सामाजिक सञ्जालमा उनकी पत्नी हेमा मालिनी र छोरी ईशा देओललगायत उनका परिवारका सदस्यहरू पवन हंस शवदाह गृहमा पुगेका भिडियोहरू पोस्ट भएका छन्। शाहरुख खान, सलमान खान, अमिताभ बच्चन र अभिषेक बच्चन पनि शवदाह गृहमा पुगेका देखिएका थिए।

धर्मेन्द्र ८९ वर्षका थिए। उनको जन्म मुम्बईको पञ्जाब राज्यस्थित नसराली गाउँमा  सन् १९३५ डिसेम्बर ८ मा भएको थियो।

फिल्म क्षेत्रमा उनको प्रवेश सन् १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट भएको थियो। फिल्म सोचेअनुसार चल्न सकेन। तर पनि उनलाई अभिनयको अफर भने आइरह्यो। सन् १९६६ मा उनको अर्को फिल्म प्रदर्शन भयो। ‘फूल और पत्थर’। यो फिल्म भने उनको करियरको टर्निङ पोइन्ट बन्यो। त्यसपछि उनले अन्य कामका लागि भौँतारिनु परेन।

पछिल्लो समय उनले फिल्म ‘तेरी बातों मे ऐसा उलझा जिया’मा अभिनय गरेका थिए। उनले ७ दशक लामो आफ्नो अभिनय यात्रामा सयौँ फिल्ममा काम गरेका छन्। फिल्म ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’, ‘दोस्त’, ‘प्रतिज्ञा’, ‘कटी पतंग’, ‘दिल्लगी’ लगायत उनका थुप्रै फिल्म चर्चित छन्।

सामान्य परिवारमा जन्मिएका धर्मेन्द्र सानैदेखि फिल्म हेर्न रुचि राख्थे। साथै अभिनयप्रति उनको चासो थियो। जीवन चलाउन मुम्बईमा संघर्ष गरिरहँदा धर्मेन्द्रले सन् १९५८ तिर ‘फिल्म फेयर ट्यालेन्ट हन्ट’ मा भाग लिएका थिए। उक्त प्रतियोगिताको विजेता पनि उनी भए। फलस्वरुप उनले अरजन देसाई निर्देशित फिल्म ‘दिल भी तेरा हम भी तेरे’ मा अभिनय गर्ने अवसर पाए। जुन धीरेन्द्रको डेब्यु फिल्म थियो।

फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि नै धीरेन्द्रले सन् १९५४ प्रकाश कौरसँग विवाह गरिसकेका थिए। प्रकाशतर्फ उनको चार सन्तान छन्, सनी देओल, बबी देओल, विजेता देओल र अजिता देओल।

फिल्म यात्राकै क्रममा उनले अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरेका थिए। हेमा फिल्म ‘शोले’ की मुख्य अभिनेत्री हुन्। हेमातर्फ पनि उनका दुई छोरी छन्, ईशा र अहाना देओल।

धर्मेन्द्रका छोराहरू बबी र सनी देओलले फिल्म क्षेत्र रोजे। उनीहरू आम दर्शकमाझ सुपरिचत बन्न सफल छन्। बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रले  रोमान्टिक, एक्सन, कमेडी र ड्रामा जनराका फिल्ममा आफ्नो छाप छोडेका छन्।

धर्मेन्द्र शारीरिक सुगठनमा खुबै ध्यान दिन्थे। उनलाई बलिउडमा पहिलो मस्कुलर अभिनेता भनेर चिनिन्छ। त्यसैले उनलाई ‘हिम्यान अफ बलिउड’ भनिन्थ्यो।

धर्मेन्द्रले फिल्म क्षेत्रमा दिएको योगदानको कदर गर्दै उनलाई फिल्मफेयर लाइफटाइम एचिभमेन्ट अवार्ड, भारत सरकारको तर्फबाट पद्यम् भूषण लगायत थुप्रै पुरस्कार पाएका थिए। ‍

बलिउड क्षेत्रमा धर्मेन्दको याेगदान अविष्मरणीय रहिरहनेछ। अलबिदा धर्मेन्द्र सिंह देओल !

भारतीय सञ्चारमाध्यमको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast