दूरी टाढा, सम्बन्ध गाढा : नेपाल-अस्ट्रेलिया मित्रताको ६५ वर्ष

चन्द्रशेखर अधिकारी २ मंसिर २०८२ २०:५९
6
SHARES
दूरी टाढा, सम्बन्ध गाढा : नेपाल-अस्ट्रेलिया मित्रताको ६५ वर्ष

काठमाडौँ- कुनै समय विश्व मानचित्रमा एकअर्कालाई टाढाबाट सम्झेर भावनात्मक नातामा सीमित नेपाल-अस्ट्रेलिया सम्बन्ध दुई दशकयता निकै झाँगिएको छ। बेलायतसँगको सम्बन्धले प्रारम्भिक चरणमा नेपाल अस्ट्रेलियासहित कमनवेल्थ मुलुक (एसिया प्रशान्त, अफ्रिका, युरोप, अमेरिका र क्यारेबियन क्षेत्रका ५६ मुलुक) सँग नजिकिन पुगेको थियो। यद्यपि अहिलेको निकटता फरक देखिन्छ।

विगतमा ‘खुला जेल’ भनेर प्रचारित अस्ट्रेलिया अहिले विश्वका कर्मशीलहरूको मुलुकको सूचीमा अग्रणी छ। सोही कारण अस्ट्रेलिया नेपालीको गन्तव्यका लागि रोजाइको मुलुकमा परेको हो। अस्ट्रेलियाको कुनाकुनासम्म हिमाल, पहाड र तराईका नेपाली पुगेका छन्। लाग्छ- नेपालका हजारौँ सपना दक्षिणी गोलार्धको तटसम्म सलबलाइरहेका छन्।

बेलायती बन्दीहरूको खुला जेल

अस्ट्रेलियाको आफ्नै इतिहास छ। अस्ट्रेलियामा पहिले डचहरू पुगेका थिए। हल्याण्डका अबेल तास्मान रहेको स्थानलाई तास्मानिया भनियो। अबेल सन् १६४२ मा त्यहाँ पुगेका थिए। उनले अस्ट्रेलिया मुलुक हो भन्ने पुष्टि गरेपछि त्यहाँको एक ठाउँको तास्मानिया रहेको इतिहासमा पढ्न पाइन्छ। डच व्यापारीहरू पुगेकाले त्यतिबेला अस्ट्रेलियालाई ‘न्यु हल्यान्ड’ भनिन्थ्यो। पछि बेलायतीहरूले अस्ट्रेलियाको पूर्वी भागलाई आफ्नो उपनिवेश घोषणा गरे। सत्रौँ शताब्दीमा युरोपेली जहाज त्यहाँ पुग्दा अस्ट्रेलियाली आदिवासी दंग देखिएका थिए। युरोपेली मुलुक बेलायतले आफ्नो उपनिवेश दाबी गरिदिपछि केही समय अस्ट्रेलियाको अस्तित्व कमजोर बनेको थियो।

सन् १७७० मा बेलायतीहरू त्यहाँ पुगे पनि सन् १७८८ देखि अस्ट्रेलिया उपनिवेश बनेको थियो। एबोरिजिनल समुदायहरू विशाल मरुभूमि, समुद्रकिनार र घना जंगलमा जीवन बिताइरहेका थिए। बेलायतका कैदी र अव्यावहारिक सैनिकहरूले त्यहाँ नयाँ जीवन खोज्न थाले। उनीहरूले अस्ट्रेलियाको सभ्यता र संस्कृति परिवर्तन गर्दै गए। मूलवासीहरूले भने परिवर्तनको मूल्य असहज रूपले चुकाइरहे।

सन् १८५० पछि संसारभरका मानिस धनी बन्ने सपना बोकेर अस्ट्रेलिया पुग्न थालेका हुन्। बिस्तारै त्यहाँ सहर बस्न थाले। रेलसेवाको विकास भयो। अस्ट्रेलिया बिस्तारै बहुसांस्कृतिक भविष्यतिर अघि बढ्यो। अस्ट्रेलियामा आदिवासीहरू खुम्चिँदै गए। त्यो मुलुक आप्रवासीका मुलुकका रूपमा चिनिन थाल्यो। अन्ततः १९०१ मा सबै प्रदेश एक भएर अस्ट्रेलिया मुलुक बन्यो। अहिले त यसलाई महादेश नै भनिन्छ। उपनिवेशको छायाबाट बाहिर निक्लिएपछि अस्ट्रेलिया आफ्नै पहिचान निर्माणसहित एक सशक्त मुलुकका रूपमा देखियो। त्यसयता अस्ट्रेलियाले कहिल्यै पछाडि फर्कनुपरेको छैन। यद्यपि अस्ट्रेलियाले विश्वयुद्ध, आप्रवासन र उपनिवेशका लहरहरूमा आर्थिक उछाल-पतन भोगेको छ।

अस्ट्रेलियाले नयाँ साझेदारीहरूका बीचमा आधुनिक राज्यको स्वरूप पूर्ण बनायो। आजको अस्ट्रेलिया-विविधता, सुशासन र अवसरको प्रतीक बनेको छ। मूलवासीहरूबाट सुरु भएको हजारौँ वर्षको त्यो यात्रा आधुनिक अस्ट्रेलियासँग मेल भने खाँदैन। इतिहास कहिल्यै पुरानो हुँदैन भन्ने विषय अस्ट्रेलियाको यो क्षणले सम्झाइरहन्छ। अस्ट्रेलियालाई ‘कंगारुको देश’ भनेर पनि चिनिन्छ। अस्ट्रेलिया र त्यसका नजिकैका केही टापुहरूमा मात्र पाइने कंगारु त्यहाँको पहिचान हो। यो जनावरलाई अस्ट्रेलियाको राष्ट्रिय प्रतीकका रूपमा प्रयोग गरिएको छ। त्यहाँको पर्यटन प्रवर्धनमा पनि कंगारको चित्र उपयोग हुन्छ। विश्वभरका मानिसले अस्ट्रेलिया सुन्दै कंगारु सम्झने गर्छन्।

कूटनीतिक सम्बन्ध

१९६० फेब्रुअरीमा कायम भएको दुई देशबीचको सम्बन्धले समय, दूरी र भूगोलका सिमाना पार गरेको छ। ६५ हजार वर्षदेखि मानवजातिले बसोबास गरेको दाबी गर्ने अस्ट्रेलियाले गत शनिबार नेपालसँग ६५ औँ सम्बन्धको वर्ष मनाएको हो।

नेपालबाट राजा महेन्द्र र बडामहारानी रत्नले अस्ट्रेलिया भ्रमण गरेर सम्बन्ध अघि बढाएका हुन्। महेन्द्रपछि वीरेन्द्र सन् १९७१ अप्रिलमा राजा भएका थिए। उनको राज्याभिषेकमा अस्ट्रेलियाबाट गभर्नर जनरल सर जोन केर नेपाल आएका थिए। सन् १९८५ को सुरुमा अस्ट्रेलियन परराष्ट्रमन्त्री नेपाल आए भने सोही वर्षको अन्त्यतिर नेपालबाट तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले अस्ट्रेलिया भ्रमण गरेका थिए। सोही दशकदेखि नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध निकट हुन थालेको देखिन्छ।

सन् १९६० फेब्रुअरी १५ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि अस्ट्रेलियाले १९८४ मा काठमाडौँमा आफ्नो दूतावास खोलेको थियो। सुरुमा चार्ज डि अफेयर्स स्तरमा थियो भने दुई वर्षमा राजदूत स्तरमा स्तरोन्नति भएको हो। नेपालले भने सन् २००७ मा क्यानबेरामा दूतावास स्थापना गरेको हो। अस्ट्रेलियामा अध्ययन गर्ने नेपालीको संख्या बढेपछि नेपालले आफ्नालाई सेवा दिन लागि दूतावास स्थापना गरेको छिप्दैन।

नेपालले पनि सुरुमा चार्ज डे अफेयर्स स्तरमा दूतावास खोलेको थियो। पछि राजदूत स्तरमा पुर्‍याएको हो। दूतावास स्थापनायता एक राजदुत रुद्रप्रसाद नेपालबाहेक कसैले पनि त्यहाँ चार वर्ष कार्यकाल पूरा गरेका छैनन्। यसले पनि नेपालको अस्थिर राजनीतिलाई इंगित गर्छ। दूतावास नखोल्दै पनि नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध निकै राम्रो थियो।

अस्ट्रेलियाली भूगोलविद्हरूले नेपालका हिमाललाई पहिलोपटक नाप्ने नयाँ ट्रेल खोजिदिएका थिए। अस्ट्रेलियाली महाद्वीपको न्युजिल्यान्डबाट एडमन हिलारीले सगरमाथामा पहिलो मानव पाहिला राखे। नेपालको हिमाली क्षेत्रमा उनको नामबाट कैयौँ विकासका कार्य भएका छन्।

पहिलो चरणमा अस्ट्रेलियाले नेपालमा सामुदायिक वन संरक्षणका लागि सहयोग गर्न थालेको थियो। नेपालको सामुदायिक वन यतिबेला विश्वमा नुमना बनेको छ। अस्ट्रेलियन एडअन्तर्गत सहयोग जारी राखेको छ।

भूकम्प, महामारी र संकटका बेला अस्ट्रेलियाबाट ओसारिएका राहत सामग्री मात्र होइन, त्यहाँ रहेका नेपालीहरूको मन, पसिना र योगदानले सम्बन्धलाई थप ताजा बनाइरहेको छ। ती योगदानहरू घर फर्किएका विद्यार्थीहरूको स्वरूपमा, आप्रवासी परिवारका सफलताका कथामा वा अस्ट्रेलियाबाट उडेको सहयोगको जहाजमा अभिव्यक्त हुन्छन्। अस्ट्रेलियाबाट उच्च शिक्षा लिएर फर्केकाहरू नेपालको विभिन्न क्षेत्रमा स्थापित भएर काम गरिरहेका छन्।

सहयोग र सद्भाव

कूटनीतिक हिसाबले अस्ट्रेलियाले नेपाललाई विश्वासिलो विकास साझेदार मान्दै आएको छ। विद्यालय निर्माण, दैवी प्रकोपमा राहत र पुनस्र्थापना, स्वच्छ खानेपानी र महिला सशक्तीकरणका कार्यक्रममा अस्ट्रेलियाको निरन्तर उपस्थिति छ। २०७२ सालको भूकम्पपछिको विद्यालय पुनर्निर्माणदेखि कोभिड-१९ महामारीका बेला उपलब्ध स्वास्थ्य सामग्रीसम्मको सहयोगले अस्ट्रेलियाबाट नेपाली जनजीवनमा राहत र भरोसा थपेको थियो। यी प्रयासले दुवै मुलुकका नागरिकबीच गहिरो सद्भाव उत्पन्न भएको छ।

नेपाललाई अस्ट्रेलियाले उपलब्ध गराएको वार्षिक विकास सहयोग सन् २०२३ मा २७.१ मिलियन डलर थियो। त्यो रकम संघीयता, जलवायु लचकता, सामाजिक समावेशिता र आपत्कालीन तयारीमा योगदान दिएको छ। सहयोग रकम सन् २०२४ मा थोरै मात्र बढे पनि आगामी दिनमा थप बढ्ने काठमाडौँस्थित अस्ट्रेलियन दूतावासका अधिकारी बताउँछन्।

नेपाल-अस्ट्रेलिया सम्बन्ध विकास, सहकार्य र साझा मूल्य मात्र होइन सहकार्यका साथ अघि बढिरहेको छ। जलवायु परिवर्तन, वातावरण संरक्षण, शान्ति र मानवीय सहयोग यी साझा चासोका विषय हुन्। अस्ट्रेलिया दक्षिणी गोलार्धमा जलवायु परिवर्तनका असरहरू भोगिरहेको छ भने नेपाल हिमाली क्षेत्रमा त्यसका चुनौतीसँग जुधिरहेको छ। यो साझा पीडाले दुवै देशलाई वातावरण र दिगो भविष्यका विषयमा नजिक्याएको छ। हिमाली हिउँ पग्लने र अस्ट्रेलियाली जंगलमा डढेलो लाग्ने घटनाहरूले दुवै वातावरणीय दृष्टिले एकै डुंगामा सवार रहेको देखिन्छ।

दुवै राष्ट्रले द्विपक्षीय, क्षेत्रीय र संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्, जसमा जलवायु परिवर्तन, दिगो विकास र लैंगिक समानताका मुद्दा समावेश छन्।

उच्च शिक्षाले जोडेको सम्बन्ध

नेपाल अस्ट्रेलियाबीचको सबैभन्दा शक्तिशाली माध्यम बनेको छ शिक्षा। अस्ट्रेलियाका कलेज र विश्वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थीको संख्या विगत दुई दशकमा अभूतपूर्व रूपमा बढ्दै गएको छ। कतिपय अभिभावकले खाडी मुलुकमा काम गरेर भए आफ्ना सन्तानलाई अस्ट्रेलिया पठाएका छन्। अभिभावकले आफ्ना सन्तानलाई पहिलो प्रयास अमेरिका र दोस्रो रोजाइ अस्ट्रेलिया र तेस्रोमा क्यानडा पर्छन्। अस्ट्रेलिया पुगेका युवाले कमाएर पठाएको रकमले नेपाली अभिभावकको आर्थिक-सामाजिक स्वरूप परिवर्तन भएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको संख्या बढ्दै गएको छ। सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ र एडिलेडका गल्ली-कुनाहरूमा नेपाली भाषाको स्वर, ममको बासना, चाडपर्वको झल्को र बहुरंगी सांस्कृतिक उत्सवहरू प्रशस्त देखा पर्न थालेका छन्। अस्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीको उपस्थिति अन्तर्राष्ट्रिय स्तरमै उल्लेखनीय छ।

सहकार्य, सम्झना, आप्रवासन, शिक्षा र जनस्तरको सम्बन्धले नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक भन्दा माथि जनस्तरको सम्बन्ध कायम भइसकेको छ। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या अबको केही वर्षमा १० लाख पुग्ने त्यहाँका नेपालीहरू सुनाउँछन्। यसरी दुई मुलुकबीचको मित्रता कागजी लेखन र सम्झौतामा मात्र सीमित छैन। अस्ट्रेलिया नेपाली युवाको संघर्ष, सफलता र साझा सपनाहरूसँगै जोडिएको देखिन्छ।

नेपाली युवा, विद्यार्थी र परिवारहरूले दुई देशबीचको सम्बन्धलाई कूटनीतिक मञ्चभन्दा पर जनजनको मनमा पुर्‍याइदिएका छन्। अस्ट्रेलियामा रहेका नेपालीको योगदानबिना दुई देशबीचको सम्बन्धको कथा अधुरो हुन्छ। यति मात्रै होइन नेपाली समुदायले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई समृद्ध बनाउन योगदान दिइरहेको छ।

अस्ट्रेलियाकी पहिलो आवासीय राजदूत डायन जोनस्टोनका अनुसार नेपाल-अस्ट्रेलियाबीचको औपचारिक सम्बन्ध प्रारम्भमा पर्वतारोहण, पर्यटन, भ्रमण आदान-प्रदान र सांस्कृतिक सम्बन्धलाई सहज बनाउन सीमित थियो। साढे ६ दशकको सहयात्रा पूरा गरेको यी दुई मुलुकबीच कूटनीतिक सम्बन्ध बहुआयामिक बनेको छ। त्यसलाई उच्चस्तरीय भ्रमण, द्विपक्षीय परामर्श संयन्त्र, विकास सहकार्य, शिक्षा आदानप्रदान, प्रविधि हस्तान्तरणले थप बलियो बनाएको छ।

अस्ट्रेलियामा तीव्र रूपमा बढ्दै गएको नेपाली विद्यार्थी र समुदायका कारण शैक्षिक कूटनीति दुईदेशीय सम्बन्धको आधारस्तम्भ जस्तै बने पनि अस्ट्रेलियाले नेपाली विद्यार्थीले भोग्नुपरेको समस्या सम्बोधन गर्न सकेको छैन। नेपालमा दूतावास रहँदा पनि भिसाका लागि एजेन्टमार्फत दिल्लीस्थित अस्ट्रेलियाली दूतावासमा पठाउनुपर्ने बाध्यता नेपालीलाई छ। नेपालीको कमाइ र वास्तविकता जान्दाजान्दै पनि अध्ययनका लागि कागजी प्रक्रिया झन्झटिलो बनाएर अस्ट्रेलियाले बिचौलियालाई कमाइ गर्ने ठाउँ दिएको छ। यसमा अस्ट्रेलिया चुकेको छ।

अस्ट्रेलियाले विद्यार्थी गतिशीलता, शैक्षिक साझेदारी र सहकार्य सहज बनाउने नीतिमार्फत शैक्षिक कूटनीतिलाई बलियो बनाउँदै आएको छ। आममानिसको चासोका विषयमा भने कूटनीतिक पक्षमा वकालत गर्ने अधिकारीहरूले पनि वास्ता गरेको देखिँदैन। दुईपक्षीय संयन्त्र तथा व्यापार-मिसनका संवादहरूमा समेत शिक्षासम्बन्धी सहकार्य, गुणस्तरीय शिक्षामा पहुँच र अनुसन्धान साझेदारीलाई मुख्य एजेन्डा बनाइन्छ तर त्यसको सहायक भिसाको विषयलाई भने बेवास्ता गरिँदै आएको छ।

नेपाल-अस्ट्रेलियाबीचको शैक्षिक सम्बन्ध छात्रवृत्ति, विद्यार्थी विनिमय, शैक्षिक साझेदारी र सरकारी समर्थनमा केन्द्रित छ। विद्यार्थी आप्रवासनसँगै अनेक चुनौती देखिएका छन्। विद्यार्थीलाई मार्गदर्शनको अभाव छ। ठगीको जोखिम छ। संरक्षण संयन्त्र छैन। विद्यार्थी भिसामा अस्ट्रेलिया जान खोज्दा दूतावास ऋण काडेर केही दिनका लागि राखिने बैँक स्टेटमेन्ट किन खोज्ने? काम गर्दै पढ्ने हो भन्ने यथार्थ जान्दाजान्दै पनि अस्ट्रेलिया सरकारले राखेको प्रावधान नेपाली विद्यार्थी मैत्री देखिँदैन।

अस्ट्रेलिया पुगेका नेपाली युवाले प्रारम्भिक संघर्ष पार गर्दै स्थायित्व खोजेका छन्। त्यसका लागि सीप सिकेका छन् र नयाँ जीवन अघि बढाएका हुन्छन्। उनीहरूको भोगाइ र यात्राले सम्बन्धको मानवीय पक्षलाई गहिरो बनाएको छ। अस्ट्रेलिया सरकारको अवाड्र्स विश्वविद्यालयको छात्रवृत्ति कार्यक्रमले पनि अस्ट्रेलिया जाने बढेका छन्। अनि निजी कलेज र विश्वविद्यालयले नेपालमा एजेन्ट तोकेर प्रचारप्रसार गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया तान्ने गरेको छ।

अस्ट्रेलिया पुग्दा त्यो मुलुक कसैका लागि सम्भावनाको समुद्र हो, कसैका लागि संघर्षको पाठशाला। कोही युवा बिहान दुईवटा काम गरेर रातमा कलेज जान बाध्य हुन्छन् अनि कोहीचाहिँ परिवारबाट टाढिँदा एक्लोपन भोगिरहेका छन्। यति हुँदाहुँदै पनि नेपालीहरूको सहनशीलता, दृढता र उपलब्धिको कथा प्रशस्त छन्। यस्ता कथाहरू कागजका सम्झौताभन्दा शक्तिशाली हुने राजदूतहरू नै बताउँछन्।

नेपाली विद्यार्थीले अस्ट्रेलियाली विश्वविद्यालयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, जसले दुवै देशको शैक्षिक आदान-प्रदानलाई बलियो बनाएको छ। पर्यटन र सांस्कृतिक घुलमिलका कारण बिस्तारै व्यापारिक सम्भावनाका ढोका खुलेका छन्। नेपालबाट हस्तकला, गलैँचा, चिया, मसला र पहाडी उत्पादन निर्यात बढेको देखिन्छ। अस्ट्रेलियाबाट प्रविधि, शैक्षिक सेवा र स्वास्थ्य सामग्री आयात भइरहेको छ।

अस्ट्रेलियाली नागरिकका लागि नेपालको हिमाली क्षेत्र लोभलाग्दो गन्तव्य हो। हरेक वर्ष थुप्रै पर्यटकहरू सगरमाथादेखि अन्नपूर्णसम्मका पदमार्गमा अघि बढ्छन्। जहाँ उनीहरूले दुई देशको सम्बन्धको परोक्ष रूप भेट्छन्। अस्ट्रेलियाली पर्यटकहरूले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको प्रशंसा गर्दै आएका छन्।

यसले दुवै देशबीच पर्यटन प्रवद्र्धनका अवसर खोलेको छ। नेपाली चाडपर्वहरू अस्ट्रेलियाका सहरमा मनाइन्छन्, जसले सांस्कृतिक घुलमिल बढाउँछछ। नेपाली डायस्पोराले अस्ट्रेलियाली समाजमा योगदान दिँदै नेपाली संस्कृतिलाई जीवन्त राखेको छ। नेपालीहरू अस्ट्रेलियाको सबैभन्दा छिटो बढ्दो प्रवासी समुदाय बनेका छन्।

बिहान नेपाली चिया खाएर कलेज जाने र बेलुका अस्ट्रेलियाली समाजमा घुलमिल हुने नेपाली जीवनशैलीले सांस्कृतिक संयोजनको उदाहरण प्रस्तुत गर्छ। त्यहाँबाट पठाइने रेमिटेन्स अर्थतन्त्रको सहारा मात्र होइन, सम्बन्धको मिठास पनि हो। यसले नेपाली परिवारको जीवनस्तर उकास्दै शिक्षा र स्वास्थ्यमा लगानी बढाएको छ। जनस्तरीय झाँगिदो सम्बन्ध, सार्वभौमिकताको सम्मान तथा लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्धनसँगै अस्ट्रेलिया-नेपाल सम्बन्ध अझ सशक्त बन्दै गइरहेको छ।

६५ औँ वार्षिकोत्सव

गत शनिबार अर्थात् नोभेम्बर १५ मा नेपालस्थित अस्ट्रेलियाली दूतावासको संयोजनमा ६५ औँ वर्षको स्वागत कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले भनिन्, ‘६ दशकभन्दा लामो नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध शिक्षा, व्यापार, विकास तथा संस्कृतिजस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको छ।

नेपालमा अस्ट्रेलियाको निरन्तरको विकास सहयोग, हाम्रो लोकतन्त्र र समावेशी रूपान्तरणको यात्रामा अस्ट्रेलियाले पुर्‍याएको निष्ठापूर्ण साथले गर्दा पनि अस्ट्रेलियासँगको मित्रता हाम्रा लागि विशेष महत्त्वको छ।’ उनले अस्ट्रेलियाको मित्रता र सहयोगले नेपालको लोकतान्त्रिक यात्रालाई बलियो बनाएको बताइन्। दुवै देशले अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा मूल्य र हितहरूको समर्थन गर्दै आएको उनको भनाइ थियो।

अन्त्यमा

भविष्यलाई नियाल्दा नेपाल र अस्ट्रेलियाको सम्बन्ध थप सुदृढ र विस्तार हुन सक्ने आधारहरू देखिएका छन्। यस्ता आधार हुन्- ऊर्जा, कृषि प्रविधि, वातावरण संरक्षण, नवीकरणीय स्रोत, शिक्षा, सीप विकास र पर्यटन। द्विपक्षीय लगानीका सम्भावना बलिया हुँदै गएका छन्। नेपालले अस्ट्रेलियालाई दिगो पर्यटन, हरित ऊर्जा र एग्रो-टेक्नोलोजीमा साझेदार मान्छ भने अस्ट्रेलियाले नेपाललाई सांस्कृतिक र युवाशक्ति-बहुल देशका रूपमा चिन्छ।

६५ वर्षको मित्रता वार्षिकोत्सव मात्रै होइन- दुई देशका हजारौँ मान्छेका जीवनमा उतारचढाव, उपलब्धि, सम्झना र आशामा आधारित छ। हिमालको चिस्यान र अस्ट्रेलियाली समुद्रको न्यानोपन मिसिएको सम्बन्धका आधारहरू साँच्चै लोभलाग्दा छन्। यस्तो सम्बन्ध जति पुरानो हुँदै जान्छ, उति नयाँ अर्थ बोकेर अघि बढ्ने देखिन्छ। नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध भौगोलिक दूरीमा सीमित नभई भावनात्मकताले नजिक्याएको सम्बन्ध हो।

विकास सहयोग, विद्यार्थीका सपना, आप्रवासीका संघर्ष, नेपाली चाडपर्वका उत्सव र मानवीय सद्भावका ऊर्जाहरू एकआपसपमा मापन भएमा ६५ वर्षपछि अझ निखारिँदै, ताजा, विश्वासिलो र हृदयस्पर्शी हुँदै अघि बढ्नेछ।

सगरमाथाको काखबाट होस् या दक्षिणी गोलार्धको सामुद्रिक तटबाट नै किन नहोस्- यो सम्बन्ध समुद्रको छालझैँ घटबढ नहोस्, हिमालको उचाइझैँ स्थिर र अडिग रहोस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast