एनपीएल सिजन २ मा प्रत्येक चौका बराबर एनसेलले चार शैक्षिक सामग्री वितरण गर्ने

हिमाल प्रेस ३० कार्तिक २०८२ २०:५० | Sunday, November 16, 2025
2
SHARE
एनपीएल सिजन २ मा प्रत्येक चौका बराबर एनसेलले चार शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँ- एनसेल फाउन्डेसनले यस वर्ष पनि नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा हानिने प्रत्येक चौकावापत दुर्गम तथा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।

गत वर्ष एनपीएलसँगको साझेदारीमार्फत २ हजार ६१२ विद्यार्थी लाभान्वित भएपछि यस वर्ष पनि फाउन्डेसनले यो पहललाई निरन्तरता दिएको हो।

पहिलो सिजनमा कुर ६५३ चौका हानिएका थिए, जसअनुसार शैक्षिक सामग्री वितरण गरिएको थियो। यो कार्यक्रमअन्तर्गत एनसेलले देशभरका ९ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिसकेको छ।

एनसेलले ल्याएको ‘क्रिकेटदेखि कक्षाकोठासम्म’ नामक पहलले खेलकुदलाई शिक्षासँग जोड्दै विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।

फाउन्डेसनले चौकावापत प्रत्येक विद्यार्थीलाई स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका सामग्री वितरण गर्नेछ। यी सामग्रीले स्रोतसाधन अभाव भएका विद्यालयका विद्यार्थीहरूको नियमित पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर लक्ष्मी खड्काले भनिन्,‘क्रिकेटले हामी सबैलाई जोडेको छ। सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्जल भविष्यका लागि यस साझेदारीलाई निरन्तरता दिन पाउँदा हामी अत्यन्तै खुसी छौँ। खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीहरूले भविष्यमा पाउने अवसर र सिकाइसँगै जोडिनेछ।’

एनसेलका अनुसार फाउन्डेसनले वितरण गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह तथा कार्यान्वयन साझेदार संस्थासँगको सहकार्यमा सम्बन्धित विद्यालयहरूमा पुर्‍याइनेछ।

प्रकाशित: ३० कार्तिक २०८२ २०:५० | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast