नेपाल चलचित्र निर्माता संघको चुनाव हुँदै, अध्यक्षमा सुनिलकुमार थापा र उदय सुब्बा भिड्दै

हिमाल प्रेस ३० कार्तिक २०८२ १३:२७
30
SHARES
नेपाल चलचित्र निर्माता संघको चुनाव हुँदै, अध्यक्षमा सुनिलकुमार थापा र उदय सुब्बा भिड्दै

काठमाडौँ- नेपाल चलचित्र निर्माता संघको नयाँ नेतृत्वका लागि मंसिर १ गते अर्थात् भोलि चुनाव हुँदैछ। संघको १९औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने भएपछि निर्माताहरू चुनावी माहोलमा होमिएका हुन्।

निर्वाचन समितिले चुनावमा विभिन्न पदका लागि उम्मेदवार दिएकाहरूको नामावली सार्वजनिक गरिसकेको छ। संघको अध्यक्ष पदका लागि सुनिलकुमार थापा र उदय सुब्बाले नामावली दर्ता गराएका छन्। अध्यक्ष पदमा यी दुईबीच प्रतिस्पर्धा हुँदैछ।

थापा अहिले संघका महासचिव छन् र यसअघि एक कार्यकाल सदस्य रहेका थिए। त्यस्तै सुब्बा अहिले संघमा वरिष्ठ उपाध्यक्ष पदमा छन्। यसअघि उनी एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन्।

उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन्। दीपेन्द्र के खनाल, रौनकविक्रम कडेँल र ज्योतिराज राई छन्। यी तीन मध्येबाट दुई जना उपाध्यक्ष चयन हुनेछन्। एक जना वरिष्ठ उपाध्यक्ष र अर्काे उपाध्यक्ष।

त्यस्तै, महासचिवमा किरण नेपाली र खगेन्द्रप्रसाद लामिछानेबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षको उम्मेदवारी दिएका थापा समूहबाट महासचिवमा किरण नेपाली र सुब्बाको समूहबाट खगेन्द्र लामिछानेले उम्मेदवारी दिएका हुन्।

सचिवमा युवराज गिरी र कृष्णप्रसाद पोखरेल (किसान पोखरेल) बीच प्रतिस्पर्धा हुनेछ।

संघमा रहने अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध भए। कार्यसमितिको सदस्य पदमा ९ जना सदस्य रहने भनिएको छ। जसमा ७ जनाको मात्र उम्मेदवारी परेकाले कार्यसमिति सदस्य सबै निर्विरोध भएकाे संघले जनाएकाे छ।

निर्विरोध सदस्य चयन हुनेमा फिल्म मेकर्स प्रा.लिका चुम्बन जंग शाही, टंक बुढाथोकी प्रोडक्सन प्रा.लिका टंकबहादुर बुढाथोकी, स्वर्णीम कम्युनिकेसन प्रा.लिका श्रीधर पौडेल, विन्ध्याबासिनी क्रिएसन प्रा.लि.का मनोजकुमार अधिकारी, मिडिया पोर्ट प्रा.लिका प्रवीण कार्की, वीर गोर्खाली फिल्मस् प्रा.लिका घनेन्द्र थपलिया तथा रेडआई फिल्मस् प्रा.लिका राजकुमार पण्डित छन्।

निर्माता संघमा ३ सय २४ मतदाता छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast