पुस्तक चर्चा

प्रवासको प्रशंसनीय प्रयास

ध्रुवहरि अधिकारी २९ कार्तिक २०८२ १६:१८
10
SHARES
प्रवासको प्रशंसनीय प्रयास

यस स्तम्भमा यो पटक एक पत्रिकाको चर्चा गर्दैछु।

‘शारदा’ ऐतिहासिक प्रकाशन हो। वि.सं. ११९१ साल फागुनमा पहिलो अङ्‌क निस्केको। राणाकालीन नेपालमा साहित्यको आवरणमा भएपनि यो मुद्रित सामग्री जनसमक्ष पु‍-याउने प्रयास भएको थियो। उस बखत कतिपय स्रष्टाले जन-जागरणको त्यस पाइलोलाई ‘दुस्साहस’ पनि ठाने होलान्। जेहोस्, बीचमा लामो समय ‘शारदा’ ओझेलमा प‍-यो,हरायो। परन्तु प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक परिवर्तनका चरणहरू पार गरेपछि जागरुक युवाको एक जमातले ‘शारदा’ मासिकलाई निरन्तरता दिने जाँगर चलायो। पत्रिकाको नयाँ संस्करण निस्कन थालेको २०८२ सालमा आइपुग्दा १२औं वर्ष भइसकेछ।

सम्पादक/प्रकाशक विमल भौकाजीले ‘शारदा’को नवीनतम् अङ्‌क (कात्तिक २०८२) लाई ‘अष्ट्रेलिया-साहित्य विशेषाङ्‌क’ बनाउनु भएछ। र, अष्ट्रेलियामा रहे-बसेका नेपाली तथा नेपालीभाषीहरूबाट रचना, सामग्री जुटाउने संयोजक हुनुभएछ सौरभकिरण श्रेष्ठ। भौकाजीसँग यसअघि अमेरिका र बेलायत विशेषाङ्‌क प्रकाशित गरेको अनुभव रहेछ, तर सौरभजीको लागि लेख,रचना सङ्‌कलन र तिनलाई जोडेर ‘शारदा’ का पृष्ठहरूसम्म पुर्‍याउनु सर्वथा नौलो चुनौती भएछ। ‘संयोजकको तर्फबाट’ दिइएको मन्तव्यमा लेखिएका कुराहरू पढ्दा उद्देश्य र प्रयोजनबारे सान्दर्भिक जानकारी पाइन्छ। नेपालीभाषीहरूले लेखेका नेपाली र अङ्‌ग्रेजी पुस्तक,प्रकाशनहरू बहुसांस्कृतिक परिपाटी अँगालेको देश अष्ट्रेलियाका पुस्तकालयमा उपलब्ध भएको हेर्ने सौरभको उद्देश्यसँग को असहमत होला र ? “विविध कारणले नेपालीहरू संसारभर जहाँ फैलिएका भएपनि उनीहरू आफ्नो साहित्य,कला र संस्कृतिलाई जगेर्ना गर्न लागिपरेका देखिन्छन्।’ अर्को शब्दमा, विश्वका अन्य भागमा पुगेका नेपाली र नेपालीभाषीहरूको लक्ष्य अष्ट्रेलियामा कार्यरत नेपालीहरूको जस्तै छ। ‘शारदा’ को चर्चित परियोजनामा सौरभजीलाई राम कोइराला र सानु घिमिरेको ठोस सहयोग प्राप्त भएको रहेछ।

शारदा पत्रिकाको यो विशेषाङ्‌कमा १३२ पृष्ठ छन्। वस्तुतः यो कविता,गीत,गजल,कथा,संस्मरण र निबन्धहरूको रोचक सँगालो हो। यसमा नाति/नातिनी पुस्तादेखि बाजे/बजै पुस्तासम्मका कलमलाई अभिव्यक्तिको अवसर दिएको पाइन्छ। रचनामध्ये कोही मातृभूमिको परिवेशका छन् त कोही कर्मभूमिमा बटुलिएको अनुभव र अनुभूतिमा समेत आधारित देखिन्छन्। मनग्गे छ विविधता।

१२ वर्षीय आयाम घिमिरेको बालकविता यसरी टुङ्‌गिएको छः-

कागको गुँडमा जन्मिएर कोइली हुन्न काग
जहाँ जन्मे नि नेपाली हुँ नेपालको छोरा।

नवप्रतिभालाई फुल्ने फल्ने परिवेश उपलब्ध गराउन अभिभावकहरू प्रयत्नशील देखिन्छन्। उदाहरण हो, ‘मेरो विचार’ शीर्षकको श्रेया पौडेलको कविता जुन अङ्ग्रेजीबाट उनका पिता डा.प्रकाश पौडेलले अनुवाद गरिदिनु भएको रहेछ। नेत्र-चिकित्सासँग गाँसिएका डा.पौडेल बाल-बालिकालाई नेपाली भाषा,साहित्य र संस्कृतिसँग सदैव निकट राख्नुपर्छ भन्ने मान्यता राख्ने अभिभावक हुनुहुन्छ। ‘अष्ट्रेलियाको बालसाहित्यको इतिहास’ शीर्षकको उहाँको आलेखमा बाल-बालिकालाई नेपाली भाषाको ज्ञान दिन शब्दमाला,सम्झना पाठशाला,नेपाली पाठशाला-अष्ट्रेलिया जस्ता कार्यक्रमहरू सञ्चालन गरिंदैआएको जानकारी समावेश गरेको पाइन्छ।

‘शारदा’ मा नवयुवपुस्तालाई डोर्‍याउन सक्ने पाका नर-नारीको उपस्थिति झल्काउने लेखहरूमा रामप्रसाद कोइरालाको ‘अनुभव’ एक दृष्टान्त हो भने कुनै बेला भूटानको खाद्य निगममा नोकरी गरेका पुष्पलाल आचार्यको कटहरको स्वाद शीर्षकको ‘संस्मरण’अर्को उदाहरण हो। कटहर काँचोमा तरकारी र पाकेपछिको फलको रूपमा सेवन गरिने जिनिस मानिन्छ। जानकी (रिमाल) पौडेलको आत्मपरक ‘निबन्ध’ लाई पाकाहरूकै श्रेणीमा राखेर पढ्न सकिन्छ।

‘शारदा’ विशेषाङ्‌क यसमा परेका स्थापित स्रष्टा तथा सिकारू कवि लेखकहरूका कृतिका अतिरिक्त अष्ट्रेलियामा हुने भानु जयन्ति, पुस्तक लोकार्पण, कविता वाचन जस्ता कार्यक्रम र उत्सवका झलक भएका तस्बिरहरू पनि समावेश छन्। आवरणमा छापिएको सानी नानीको तस्बिरले नेपालीपनको आकर्षण प्रतिविम्बित गर्छ।

प्रकाशित: २९ कार्तिक २०८२ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast