खान्की भन्दा बान्की ठूलो – परराष्ट्रको जागिर

हरिकुमार श्रेष्ठ २९ कार्तिक २०८२ १३:५९
64
SHARES
खान्की भन्दा बान्की ठूलो – परराष्ट्रको जागिर

परराष्ट्रको जागिर बाहिरबाट हेर्दा केके न जस्तो, तर त्यसको भित्री कथाव्यथा त्यहाँ प्रवेश गरेपछि मात्र थाहा पाइँदो रहेछ। पहिलेदेखि राणा, शाह, ठकुरी र काठमाडौँका सम्पन्न नेवार जाति (मुन्सीखलक)को वर्चस्व रहेको परराष्ट्र मन्त्रालयमा हामीजस्ता सर्वसाधारण जनताको छोराछोरीले प्रवेश पाउनु भनेको अपवादजस्तै मानिन्थ्यो।

अपवाद स्वरुप नै भन्नुपर्छ- धेरै वर्षको अन्तरालमा लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाका माध्यमबाट २०३९ सालमा हाम्रो ९ जनाको ब्याचले परराष्ट्रमा प्रवेश पायो। योग्यता र कार्यदक्षताको कसीमा घोटिँदै समयक्रममा हाम्रो ब्याचले परराष्ट्रमा छुट्टै छवि बनाउन सफल पनि भयो। हामीमध्ये एकजना परराष्ट्र सचिव हुन पुगे, बाँकी सबैले राजदूतको जिम्मेवारी निर्वाह गरेर सेवा निवृत्त भए।

बाहिरवाट हेर्दा परराष्ट्रको करियर लोभलाग्दो देखिए पनि थालनीमा धेरै हन्डर खानुपऱ्यो। परराष्ट्रको जागिर खान्कीभन्दा बान्की ठूलो भन्ने आफ्नै अनुभवले पनि बतायो। निजामती सेवाको अंग भए पनि त्यतिखेर परराष्ट्र मन्त्रालयका कमर्चारीले आफूलाई अरू मन्त्रालयको भन्दा बेग्लै देखाउँथे। हिँडाइ डुलाइ, लवाइखवाइ, बोलीवचन, काम गर्ने शैली सबैमा फरक देखाउने आडम्बर त्यहाँका कर्मचारीमा देखिन्थ्यो।

त्यतिखेर परराष्ट्र मन्त्रालयको अधिकृत स्तरका कर्मचारीलाई दौरासुरुवाल लाउन अनिवार्य थियो। त्यस्तै उर्दीको पोसाक ग्रे कोट, कालोकोट, सरकारी प्रतिनिधिमण्डलको विदेश भ्रमण र औपचारिक कार्यक्रम आदिमा लगाउनुपर्ने पोसाकको वर्गीकरणलाई परराष्ट्रमा ‘मौसमअनुसारको ट्युनिक’ भनेर पनि चिनिन्थ्यो।

बाहिरी रूपमा त्यसले परराष्ट्रको इज्जत त धान्थ्यो तर हामीजस्ता नवप्रवेशीलाई त्यो इज्जत धान्नको सकस पनि गतिलै बेहोरियो। नामै परराष्ट्र- परराष्ट्रमा प्रवेश गरेपछि विदेशमा पोस्टिङका लागि धेरै समय कुर्न नपर्ला भन्ने भ्रम पनि सुरुदेखि नै टुट्यो। बाहिरबाट हेर्दा पराराष्ट्र एलिट सेवाजस्तो देखिन्थ्यो तर व्यवहारमा भने फ्युडल नेचरको थियो। दरबारको काख पाएका कर्मचारी दोहऱ्याई तेहऱ्याई विदेश पोस्टिङको तर मारिरहेका हुन्थे। अरू कैयन् सक्षम कर्मचारी भने पाखा लागेको लाग्यै पनि हुन्थे।

परराष्ट्र प्रवेश गरेको सुरुवाती वर्षमा त्यस्तो नियति मैले पनि भोगेँ। मन्त्रालयका कतिपय हाकिम, कारिन्दा तारैतार विदेश भ्रमण, तालिम तथा पोस्टिङमा जाने तथा पोस्टिङ सिध्याई अर्कै रबाफसँग मन्त्रालयमा फर्किँदा आफू भने उही दुई जोर दौरासुरुवालको भरमा लुखुरलुखुर मन्त्रालय धाइरहेको हुन्थेँ। सरकारी तलब त्यही हो- जहिले पनि महिनावारीको वारि नै।

विडम्बना पनि कस्तो भने परराष्ट्रको आकर्षण देखेर त्यतिखेरको ‘क’ श्रेणीको संस्थानको अधिकृत स्तरको स्थायी जागिर छाडेर आएको थिएँ। संस्थानमा जागिर खाँदा सरकारी कर्मचारीको तुलनामा तलबसुविधा पनि बढी थियो। परराष्ट्रमा प्रवेश गरेको सुरुको एकदुई वर्ष मैले पहिले काम गरेको अफिसबाट राजीनामा गर्दा प्राप्त उपदान, बिमा, औषधोपचार र सञ्चित बिदाको एकमुष्ठ प्राप्त रकमले गुजारा चलाएँ। तर त्यसले कति धानोस्? त्यसपछि पारिवारिक बजेट चलाउन धौधौ हुन थाल्यो। सुख्खा तलबको भरमा गुजारा चलाउन बाध्य थिएँ म।

परराष्ट्र मन्त्रालयको काम गर्ने शैली पनि सामन्ती ढाँचाको थियो। खासमा भन्ने हो भने त्यतिखेरको परराष्ट्र मन्त्रालय दरबारको लाचार छायाजस्तै थियो। दरबार रिझाउने काम बढी तर कर्मचारीको उत्प्रेरणा बढाउने काममा भने मन्त्रालयको खासै ध्यान पुगेको देखिन्थेन। परराष्ट्रको कर्मचारीको उत्प्रेरणाको एउटै स्रोत भनेको विदेश पोस्टिङ थियो। त्यहाँका हाकिम कारिन्दामा त्यसको दम्भको आभास देखिन्थ्यो। सुरुसुरुमा उनीहरूले हामीलाई मान्छे नै गन्दैनथे।

परराष्ट्रमा प्रवेश गरेको सुरुवाती वर्षतिरकै कुरा हो, हामी केही नवप्रवेशी (रुद्र नेपाल, पारस घिमिरे र मलगायत) साथीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपालको परराष्ट्र नीति जस्ता विषयमा ‘दि राइजिङ नेपाल’मा बेलाबखत लेखरचना प्रकाशनार्थ पठाउने गर्थ्यौँ। त्यसले रिपोर्ट राइटिङलाई केही मद्दत गर्थ्यो भने थोरै अर्थआर्जन पनि हुन्थ्यो। तर त्यस्ता विशुद्ध लेखकीय कार्यलाई परराष्ट्रमा प्रोत्साहन गर्ने परम्परा थिएन। उल्टै मन्त्रालयको गसिप क्लबका हाकिमहरूले ‘परराष्ट्रका नयाँ केटाहरू दि राइजिङ नेपालको कलमनिस्ट पनि हुन थालेछन्’ भनेर खिल्ली उडाउन थालेपछि हामीले आर्टिकल लेख्न छाडिदियौँ।

त्यस्तो प्रवृत्तिले के देखाउँथ्यो भने परराष्ट्र मन्त्रालय दरबारको लाचार छाया त छँदै थियो, त्यो पुरातनपन्थी संस्कारले भरिएको अड्डा पनि थियो। भलै अपवाद स्वरुप कुनै समयमा प्रा. यदुनाथ खनालजस्ता हस्तीले परराष्ट्र मन्त्रालय हाँकेका थिए।

परराष्ट्र मन्त्रालयमा हाम्रो एक वर्षको परीक्षणकालको अवधि समाप्त भएपछि बल्ल हाकिमहरूले हामीलाई बिस्तारै पत्याउन थालेका थिए। नतिजास्वरूप डेस्कको नियमित कामबाहेक अन्य संवेदनशील कामका लागि पनि हामी खटाइन थालेका थियौँ।

त्यस्तैमा, मलाई नारायणहिटी राजदरबारमा पहिलो पटक प्रवेश गर्ने सौभाग्य प्राप्त भयो। त्यसबेला एक विदेशी मित्रराष्ट्रका राष्ट्राध्यक्षको नेपालको राजकीय भ्रमण सन्निकट थियो। उनको भ्रमणको अवसरमा आयोजना हुने रात्रिभोजमा राजाले गर्ने भाषणको नेपाली अनुवाद गर्ने कार्यमा म दरबारमा खटिएको थिएँ। त्यसो त, नेपाली भाषा र व्याकरणमा म कमजोर थिएँ, छँदै छु। त्यस्तो संवेदनशील कामका लागि हाकिमहरूले किन पत्याए, म आफैँलाई विश्वास लागेको थिएन।

परराष्ट्रको परिचयपत्र देखाएर नारायणहिटी दरबारको पश्चिमी ढोकाबाट छिरेर विभिन्न सुरक्षा जाँच पार गरेपछि म दरबारको सचिवालयको एउटा चिसो कोठामा लगिएँ। त्यत्रो ठूलो सचिवालयमा मुर्दाशान्ति थियो। कर्मचारी हिँडेको, बोलेको आवाज केही सुनिन्थेन। त्यहाँ निकैबेर कुरेपछि दरबारको सचिवालयका कोही अमुक कर्मचारी दुईचार पान्ना सादा कागज र शब्दकोशका ठेली लिएर कोठामा प्रवेश गरे। उनको हातमा विदेशी पाहुनाको सम्मानमा आयोजना हुने रात्रिभोजमा राजाले बोल्ने भाषणको अंग्रेजी मस्यौदा थियो। मेरो काम त्यसकै नेपाली अनुवाद गर्नु थियो।

त्यस समयमा दरबारमा अंग्रेजीबाज सचिवहरूको बिगबिगी थियो। राजाले बोल्ने भाषण पहिले अंग्रेजी भाषामा मस्यौदा गरिन्थ्यो जसमा सेक्सपियरिएन शैलीका अंग्रेजी शब्दको भरमार प्रयोग हुन्थ्यो। अंग्रेजी साहित्यको विद्यार्थीलाई त पाच्य नहुने त्यस्ता शब्दावली मजस्तो अर्थशास्त्रको विद्यार्थीले कसरी पार लाउने? त्यसै त अनुवादजस्तो अरुचिकर विषय मलाई केही लाग्दैन। तैपनि दिनभर शब्दकोशसँग खेलेर क्लिष्ट भाषामा लेखिएको अंग्रेजी भाषणको सरल नेपाली अनुवाद गरेर म बाहिर निस्कन्थेँ। त्यसरी बाहिर निस्कँदा टाउकोबाट ठूलो भारी बिसाएजस्तो हुन्थ्यो।

रोचक विषय त – रात्रिभोजको अवसरमा राजाले नेपाली अनुवादको भाषण पढ्थे। अंग्रेजीमा तयार भएको मूल भाषणचाँहि अनौपचारिक अंग्रेजी अनुवाद भनेर अतिथिहरूलाई बाँडिन्थ्यो। राजाको भाषण रेडियोमा सुन्दा अनि गोरखापत्रमा पढ्दा दरबारको सचिवालयमा दिनभर मिहिनेत गरेर बुझाएको अनुवादको पाठ त्यसै खेर गयो जस्तो लाग्थेन।

त्यसरी नै दिन बित्दै थिए। परराष्ट्रमा प्रवेश गरेको तीन वर्षपछि बल्ल विदेश जाने साइत जुर्‍यो। त्यो पनि केही दिनका लागि नजिकैको छिमेकी देश बंगलादेशमा। तर मलाई संसारै जितेजस्तो लाग्यो किनकि रातो पासपोर्ट बोकेर पहिलोपटक विदेश जाँदै थिएँ। सार्कको पहिलो शिखर सम्मेलन सन् १९८५ मा ढाकामा आयोजना भएको थियो। सार्क अध्यक्षका नाताले त्यसको अर्को वर्ष १९८६ मा परराष्ट्रमन्त्रीस्तरीय बैठक पनि ढाकामा भएको थियो। त्यसमा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलमा कनिष्ट सदस्यमा मेरो नाम परेको थियो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले गरेका थिए। सदस्यमा परराष्‍ट्र सचिव नरेन्द्रविक्रम शाह, सहसचिव सुन्दरनाथ भट्टराई अनि उपसचिव लीलाप्रसाद शर्मा थिए। दूतावासका तर्फबाट राजदूत गेहेन्द्रबहादुर राजभण्डारी र द्वितीय सचिव मधुवन पौडेलले बैठकमा भाग लिएका थिए। क्षेत्रीय सम्मेलनमा भाग लिएको त्यो मेरो पहिलो अनुभव थियो।

सन् १९८६ को नोभेम्बरमा भारतको बैंगलोरमा सार्कको दोस्रो शिखर सम्मेलन आयोजना भएको थियो। त्यसपल्ट भने शिखर सम्मेलनको नेपाली प्रतिनिधिमण्डलमा म पनि परेको थिएँ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राजा वीरेन्द्रले गरेका थिए। राजा जानुभन्दा केही समयअघि हामी त्यसतर्फ प्रस्थान गर्‍यौँ। लीलाजी र म शाही नेपाली सेनाको एभ्रो विमानबाट त्यहाँको यात्रा गरेका थियौँ। काठमाडौँबाट बैंगलोर पुग्न त्यो जहाजलाई झण्डै ५-६ घण्टा लाग्यो। इन्धन भर्न जहाज पटनामा रोकियो, त्यसपछि नागपुरमा अनि बैंगलोर।

सम्मेलनमा मेरो प्रमुख जिम्मेवारी परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायलाई साथ दिनु थियो। मन्त्रीको समकक्षीसँगको भेटघाट र अन्य कार्यक्रममा मैले नोटटेकरका रूपमा काम गर्नुपर्थ्यो। उनी आफ्ना समकक्षीसँग काँधमा काँध जुधाई कुरा गर्ने सामर्थ्य राख्थे। उनको बहुआयामिक व्यक्तित्व र बहुपक्षीय कूटनीतिमा लामो अनुभवका कारण समकक्षीबीच उनले बेग्लै प्रभाव छाड्न सफल भएको देख्न सकिन्थ्यो।

फुर्सदको समयमा मन्त्रीले मलाई आफूसँगै घुमाउन लैजान्थे। उनमा अरूजस्तो मन्त्रीपदको दम्भ थिएन। रसिक स्वभावका थिए। उनले नै मलाई बैंगलोरको मुटुमा रहेको प्रमुख व्यापारिक केन्द्र एमजीरोड लगेका थिए। उनले उमेर घर्केपछि घरमा भित्र्याएको कान्छी नववधुलाई सारी किन्‍नुपर्ने रहेछ। मन्त्रीले फटाफट एक दर्जनजति प्रसिद्ध मैसोर सिल्क सारी किने।

‘तपाईँ पनि किन्ने हैन?’ मन्त्रीले उकासे।

बजेट सीमित थियो। तैपनि दाँतबाट पसिना निकाली दुईटा गार्डेन सिल्क सारी किनेँ। इज्जतको पनि सवाल थियो। मेरी श्रीमतीले जिन्दगीमा पहिलोपल्ट सिल्क सारी बेर्न पाएकी थिइन्।

त्यसरी नै गुजारा चल्दै थियो। परराष्ट्रको जागिर पाँच वर्ष पुगिसकेको थियो। त्यति लामो समयसम्म न विदेशमा पोस्टिङ, न त तालिम ! सुख्खा तलबको भरमा जेनतेन गुजारा गरिरहेको थिएँ। सँगैका केही साथीहरू विदेशमा चार वर्षको कार्यकाल सिध्याएर फर्किसकेका थिए। तर आफू भने खुइलिएको दौरासुरुवाल उनेर लुखुरलुखुर सिंहदरबार धाइरहेको हुन्थेँ। कहिलेकाहीँ छिमेकी मुलुकहरूमा जाने साइत जुर्थ्यो। त्यसबाट जोगिएको पैसाले घरभाडा, केटाकेटीको फिस, घरखर्च जेनतेन चलाइरहेको थिएँ।

त्यस्तैमा मलाई एउटा चिठ्ठा पर्‍यो। रेडियो नेपालले आफ्नो रजत जयन्तीको अवसर पारेर ‘शान्तिक्षेत्र नेपाल’ विषयमा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरेको थियो। मलाई पनि के सुर चल्यो, एकै बसाइमा एउटा छोटो निबन्ध लेखी रेडियो नेपालमा बुझाएँ। परराष्ट्र मन्त्रालयबाट रेडियो नेपाल नजिकै थियो। मैले कल्पना नै गरेको थिइँन तर मेरो निबन्ध त प्रथम हुन पुगेछ। प्रथम पुरस्कारको गतिलो राशि थियो- सात हजार रुपैयाँ। जुनबेला मेरो मासिक तलब नौ सय रुपैयाँ थियो, त्यतिबेला त्यो रकमले मेराे लागि ठूलो महत्त्व राख्थ्यो।

पुरस्कारको त्यो पैसाले मैले सोमशर्माको जस्तो सपना बुनेँ। आफूलाई एकजोर सुट, बच्चाहरूलाई फेन्सी ड्रेस र श्रीमतीलाई एकदुईवटा जापानी सिफन सारी। लाऊँलाऊँ, खाऊँखाऊँ भन्ने उमेर जो थियो। तर भनेजस्तो के हुन्थ्यो? साथीभाइ र हाकिमहरूले पुरस्कार पाएको उपलक्ष्यमा पार्टी गर्नुपर्छ भनेर उकासे। त्यसैमा आधी रकम चट्। बाँकी पैसा घरायसी बजेट सन्तुलन गर्नमा नै खर्च भयो। मैले बुनेको योजना शोमसर्माको सातुजस्तै भयो।

केही वर्षपछि सन् १९८९ मा म साँच्चिकै विदेश जान पाउने भएँ। जर्मनीमा चार महिनाको तालिमका लागि मेरो छनोट भएको थियो। तालिममा खानबस्नबाहेक आयोजकले खासै केही व्यर्होथेनन्। दिनको १५ मार्क पकेट खर्च दिन्थे, त्यत्ति हो। युरोपमा त्यति पैसा भनेको केही न केही। तर मलाई पैसाभन्दा पनि तालिमबाट केही नयाँ सिक्नु थियो। पैसा नभए पनि जेनतेन गुजारा त चलेकै थियो।

तालिममा भाग लिन थाइल्यान्ड र फिलिपिन्सबाट केटीहरू आएका थिए। अर्को साथी भुटानको थिन्ले पेञ्जोर थियो। तिनीहरूसँग मेरो कुरा मिल्थ्यो। साँझबिहान म तिनै केटीहरूसँग हल्काफुल्का कुरा गरेर बस्थेँ। नोरालिन हँसिली र छरिती केटी थिइन्। उनको कम्मरमा हात राखेर मैले जानी नजानी नाच्न सिकेको थिएँ। बर्लिनको हिउँबतासमा हामी एउटै छाताबाट जोगिएका थियौँ। बिदाको दिन उनले मेरो जिङग्रिंग कपाल छरितोसँग काटिदिन्थिन्। छोटो समयमा नै हामी मिल्ने साथी भएका थियौँ।

दोस्रो विश्वयुद्धपछि जर्मनी दुई मुलुकमा विभाजित थियो। दुई महाशक्तिबीच शीतयुद्धका कारण बर्लिन पूर्व र पश्चिम गरी दुई भागमा चिरा परेको थियो। बर्लिनको मुटुलाई छिचोलेर अग्लो कंक्रिटको पर्खालले दुई सहरबीच अभेद्य रेखा कोरेको थियो। आवागमन सहज थिएन। बिदाको दिन हामी भने पूर्वी बर्लिन घुम्न जान्थ्यौँ। कूटनीतिक राहदानीमा उनीहरूले सजिलै छाप लगाइदिन्थे। धेरै सोधखोज गर्दैनथे।

म त्यसरी प्राय: शनिबार पूर्वी बर्लिन जानुको एउटा खास कारण पनि थियो। चारमहिने तालिम सकिन लागेको थियो। बर्लिन त्यसै त महँगो सहर, दिएको पकेट खर्चले केही किन्न आँट आउँथेन। तर कम्युनिस्ट पूर्वी बर्लिनमा भने सामान सस्ता थिए, गुणस्तरचाहिँ थिएन। तर त्यहाँको डिपार्टमेन्ट स्टोर प्राय: रित्तै हुन्थे, भनेको चिज भनेको बेला नपाइने। त्यसैले फर्कने बेला म प्रत्येक शनिबार पूर्वी बर्लिनको डिर्पाटमेन्ट स्टोर नबिराई धाउने गर्थेँ। त्यसरी धाउँदा बच्चाहरूका लागि केही जोर लुगा र खेलौना जम्मा गरेको थिएँ। श्रीमतीका लागि भने मैले खासै केही किनिनँ एकदुईवटा एक्रेलिक स्वेटरबाहेक।

तालिम सकेर फर्केपछि सँगैका मिल्ने सहपाठीहरूसँग बेलाबेलामा पत्राचार भैरहन्थ्यो। फिलिपिन्सकी नोरालिन त तालिम सक्नेबित्तिकै जर्मनीको बोनस्थित दूतावासमा पोस्टिङ भएकी थिइन्। भुटानको थिन्ले पनि केही समयपछि जेनेभामा सरुवा भएको थियो। आफ्नो चाँहि उही गति थियो – साथीभाइको अघिल्तिर जहिले पनि निहुरमुन्टे न। न त भर्टिकल प्रमोसन न होरिजन्टल मोबिलिटी ।

अन्ततः परराष्ट्रमा प्रवेश गरेको आठ वर्षपछि बल्ल पोस्टिङको पालो आयो। त्यो पनि आफ्नै ब्याचको साथी फर्केपछि, उनको ठाउँमा। तर मैले कसैसँग गुनासो गरिनँ। पोस्टिङका लागि कसैसँग चाप्लुसी पनि गरिनँ। जागिर भनेको यस्तै हो भनेर चित्त बुझाउँथेँ।

त्यति भइकन पनि पहिलो पोस्टिङ सम्हाल्न जाँदा एउटा सामान्य कुराले मेरो मन कुँडियो जसले त्यतिखेरको परराष्ट्रको मानसिकता छर्लंग दर्शाउँथ्यो। दक्षिण एसियाका अरु देशका समकक्षी कूटनीतिक कर्मचारी नियोगमा पोस्टिङ हुँदा सामान्यतया पाँच वर्ष पुगेपछि सरकारलाई आर्थिक दायित्व नपर्ने गरी एक तह माथिको लोकल प्रमोसन लिई जान्थे। त्यो अन्तर्राष्ट्रिय प्रचलन थियो। मजस्तै सेवा अनुभव भएका छिमेकी मुलुकका कूटनीतिक कर्मचारी नियोगमा सरुवा हुदाँ प्रथम सचिवको पदमा गएका थिए। आफू भने द्वितीय सचिवको कनिष्ठ पदमा खुम्चिनुपरेको थियो। त्यसले गर्दा आफ्ना समकक्षीबीच अलि हीनताबोध हुने नै भयो। दूतावासमा प्रथम सचिवको लोकल प्रमोसन लिन पनि हामीलाई १० वर्ष कुर्नुपर्थ्यो। परराष्ट्रका हाकिमहरूले आफ्नै खल्तीबाट दिनु पर्ला जस्तो गर्थे।

त्यस्ता तितामिठा अनुभव अरू पनि थुप्रै छन् जसले गर्दा परराष्ट्र सेवाजस्तो एलिट सर्भिसको क्याडरलाई पनि यदाकदा ग्लानिभाव आउँदो रहेछ। समग्रमा, त्यस्तो ग्लानिभाव अरु कारणले भन्दा परराष्ट्रमा बिताउँदा खान्की र बान्कीबीचको तालमेल मिल्न नसकेको कारणले भएको हो कि भन्नलाई मलाई कुनै हिच्किचाहट हुँदैन।

अहिले यी कुरा भन्दा धेरैलाई विश्वास नहुन पनि सक्छ। कतिले त बढाई-चढाई लेखेको पनि भन्ठाल्लान्। तर परराष्ट्रको हाम्रो पुस्ता र हामी अगाडिको पुस्तामा समेत ‘परराष्ट्रको जागिर – खान्की भन्दा बान्की ठूलो’ भन्नेमा केही न केही तितामिठा अनुभव अवश्य छन्।

त्यति हुँदाहुँदै पनि परराष्ट्रको जागिर भनेपछि नेपालमा अर्कै इज्जत थियो, छँदै छ। प्रशासन सेवामा सँगै प्रवेश गरेका साथीभाइले पनि हामीलाई आदरभावले हेर्थे, कतिले इख पनि गर्थे। तर त्यो इज्जत धान्न कति गाह्रो थियो भन्ने थोरैलाई मात्र ज्ञात हुँदो हो।

धेरै वर्षपछि विगततिर फर्केर हेर्दा मलाई लाग्छ- परराष्ट्रमा हाम्रो सुरुवाती वर्ष विभिन्न आरोहअवरोहले भरिपूर्ण भए तापनि समग्रमा हाम्रो कूटनीतिक करियर सन्तोषप्रद रह्यो। निरंकुश पञ्चायती व्यवस्थादेखि सुरु भएको हाम्रो परराष्ट्रको यात्रा मुलुकमा बहुदल, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा कुनै दुर्घटनामा नपरी अघि बढेर एउटा निश्चित गन्तव्यमा पुग्नु भनेको चानचुने कुरा थिएन। त्यति बेलाको परराष्ट्रको क्याडर आफ्नो पेसाप्रति कर्तव्यनिष्ठ प्रोफसनल्स भएर नै त्यो सम्भव भएको थियो। तिनमा राजनीतिक आग्रहपूर्वाग्रह थिएन। व्यक्तिगत रूपमा फरक आस्था हुनु भनेको बेग्लै कुरा हो।

अहिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगको संरचनालाई विगतसँग तुलना गर्न मिल्दैन। वर्तमानमा आउँदा नेपालको परराष्ट्र सेवा पहिलेको तुलनामा धेरै विस्तारित र समावेशी भएको छ। परराष्ट्र मन्त्रालयको विभिन्न महाशाखा, शाखा र विभागहरू विस्तार भएका छन् भने विदेशस्थित नेपाली नियोगहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। त्यस हिसाबले हेर्दा पहिलेको तुलनामा अहिले कूटनीतिक सेवामा काम गर्ने कर्मचारीहरूलाई वृत्ति विकासका लागि मनग्य अवसर प्राप्त छन्। अहिले परराष्ट्रको क्याडरलाई ‘परराष्ट्रको जागिर – खान्की भन्दा बान्की ठूलो’ भन्ने सुर्ताले त्यति सताउँदैन होला, जति हामीले बेहोऱ्यौँ।

त्यति भइकन पनि परराष्ट्रको इज्जत र साख जोगाउने चिन्ता जति पहिलेकालाई थियो, अहिलेको क्याडरलाई त्यो भन्दा झन् बढी छ। कार्यक्षमता, दक्षता र विशिष्टताको कसीमा परराष्ट्रसेवाको कर्मचारीलाई झन् खरो उत्रने चुनौती छ किनभने ‘अल्कोहल, प्रोटोकल र जेरिटल’ का नामले चिनिने शास्त्रीय कूटनीतिको स्थान अहिले समिट डिप्लोमेसी, डिजिटल डिप्लोमेसी, पब्लिक डिप्लोमेसी, ट्रयाक टु डिप्लोमेसीजस्ता कूटनीतिका नयाँ आयामले प्रतिस्थापन गरेका छन्।

जसरी अन्तर्राष्ट्रिय सम्बन्धमा आएको अकल्पनीय परिवर्तनसँगै कूटनीतिको आयामले पनि सोहीअनुरुप बान्की फेरिरहेको छ। त्यसैगरी परराष्ट्र सेवाका कर्मचारीले पनि खान्कीमा मात्र ध्यान नदिई बदलिँदो परिवेशअनुसारको कूटनीतिक बान्कीमा आफूलाई ढाल्न सके मुन्सीखानाको पालादेखि परराष्ट्रले आर्जन गरेको इज्जत र साख धान्न थप मद्दत पुग्ने थियो होला।

त्यसै किन परराष्ट्रको जागिरलाई जानिफकारहरूले खान्की भन्दा बान्की ठूलो भन्दा हुन्?

(लेखकको हालै प्रकाशित  ‘नोस्टालजिया रिभिजिटेड’ इ-बुकबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast