बगैँचाबाटै सुन्तला बिक्री हुँदा नवलपुरका किसान खुसी

हिमाल प्रेस २३ कार्तिक २०८२ १४:५३
8
SHARES
बगैँचाबाटै सुन्तला बिक्री हुँदा नवलपुरका किसान खुसी

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली-५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ। अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए।

जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रूपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताए। स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो रु ६० देखि रु ६५ सम्ममा सुन्तला बिक्री गर्दै आएको उनको भनाइ छ।

‘एकातर्फ सहज रुपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्कोतर्फ सुन्तलाको मूल्यसमेत अघिल्ला वर्षकोभन्दा धेरै मूल्य पाउँदा किसान उत्साहित बनेका छन्’, रानाले भने। गत वर्ष रु ५० देखि रु ५५ प्रतिकिलोसम्म सुन्तला बिक्री भएकामा अहिले मूल्यसमेत केही बढेको उनले बताए।

नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन्। टिपिएका सुन्तला गाउँबाटै बिक्री हुँदा थप सहज भएको बुलिङ्टार-५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताए। उनको मात्रै करिब एक हजार सुन्तलाका बोट रहेका छन्। सुन्तला पाकेपछि स्थानीय बजारमा बिक्री गर्दै आएको उनले बताए।

मौसम राम्रो भएकाले यसपटक सुन्तलाको दानासमेत राम्रो लागेको र बजार भाउ राम्रो प्राप्त गरेको सारुले बताए। उनका अनुसार गत वर्ष राइकोटमा उत्पादन भएका सुन्तला साना दाना भएकामा अहिले दाना राम्रो लागेको छ।

उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमा नै आफूले खपत गर्दै आएको सारुले बताए। ‘अहिले सुन्तला बजार पठाउनेक्रम छ, जिल्लाका स्थानीय बजारमा खपत हुँदै आएको छ, पछि के हुन्छ हेरौँ’, सारुले भने।

जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउरालीलगायत क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ। अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन्। स्थानीय व्यापारी बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्। कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले बताए।

प्रकाशित: २३ कार्तिक २०८२ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast