क्रिस्टोफर एपिंगर। तस्बिर स्रोत : फाइनान्सियल टाइम्स
जुन महिनाको एक उज्यालो दिउँसो, लोरो पियाना ब्रान्डको जुत्ता लगाएका तीस वर्षका अग्ला र सुन्दर युवक फ्रान्सको सबैभन्दा विशिष्ट सहरमध्येको कान्सस्थित ला गेरित नामक रेस्टुरेन्टमा प्रवेश गरे। यो त्यस्तो रेस्टुरेन्ट हो जहाँका टेबल निकै महँगा र व्यस्त हुन्छन्। किनभने सर्वाधिक धनी ग्राहक पनि हप्तौँअघि बुकिङ गर्न र कान्स नजिकैको सानो भूमध्यसागरीय टापुमा पुग्न घाममा लाइनमा पर्खन बाध्य हुन्छन् त्यहाँ। तर ती युवक ढुक्कसँग सीधै पङ्क्तिको अगाडिबाट गए, पहिलो डुंगामा चढे र आफ्नो नियमित टेबलमा पुगेर बस्दै ला गेरितको रमणीय वातावरणमा हराए।
ती व्यक्ति हुन्- क्रिस्टोफर एपिंगर। उनले केही वर्षअघि मुख्य भूमिमा रहेको पहाडी क्षेत्रमा सात मिलियन युरो (लगभग १२ अर्ब ९ करोड ५० लाख नेपाली रुपैयाँ) को हबेली किनेका थिए। जहाँ उनी बसिरहेका थिए, त्यस नजिकैको सेतो पर्खालमा एउटा सानो तामाको पट्टिकामा लेखिएको थियो- ‘क्रिस्टोफर एपिंगर। ला गेरितको किंवदन्ती। ३०० बोतल क्रिस्टल, १३ जुन २०२४।’
यो पट्टिका एक वर्षअघिको उनको ३०औँ जन्मदिनको सम्झनामा जडान गरिएको थियो। त्यो साँच्चिकै ‘दन्त्यकथा’ जस्तो पार्टी थियो। उनले भनेका छन्, ‘त्यो साँझ यहाँ जमेको उत्सवलाई अद्भुत भन्नु ठिकै हो।’ उनले त्यो घटना सम्झँदै सधैँजस्तो दिउँसोको खाना अर्डर गरे – बुर्राता, ट्रफल पास्ता, लोब्स्टर र कोत डे बुफ।
एपिंगरको हबेलीमा जन्मदिनको उत्सव अघिल्लो रात नै सुरु भएको थियो। जहाँ केही पाहुना हेलिकोप्टरमा आएका थिए। अर्को दिन ला गेरितमा त्यसलाई निरन्तरता दिइएको थियो। वेटरहरूले झिलिमिली बत्ती बाल्दै सुनजस्तै चम्किला तीन सय वटा बोतलमा भरिएको लुई रोडेरे क्रिस्टल साम्पेयन काँधमा बोकेर भित्र्याएका थिए।
एपिंगर आत्मविश्वाससाथ बोल्छन्। उनको बोलीमा कुनै कृत्रिमता छैन। कहिलेकाहीँ कडा भाषा पनि प्रयोग गर्छन्। खाना खाने क्रममा उनले टाढाको डाँडाको चुचुरालाई औँलाले देखाउँदै भने, ‘त्यो हो मेरो नयाँ घर, मैले सन् २०२४ मा किनेको।’ उनले त्यस घरको नाम आफ्नी हजुरआमाको नाममा ‘भिल्ला मिर्ता’ राखेका छन्।
१४ मिलियन युरो (लगभग २५ अर्ब ९० करोड नेपाली रुपैयाँ) खर्च गरेर पुनःनिर्माणमा गरिएको त्यो घर नीलो समुद्रपारिबाट देखिन्थ्यो। त्यसै वरिपरि उनका बाबुआमाका लागि अर्को पाँच मिलियन युरो (लगभग ९ अर्ब २५ करोड नेपाली रुपैयाँ) को घर पनि मर्मत भइरहेको थियो। यी त उनका सम्पत्तिका एक भाग मात्र हुन्। उनका दुबईमा पनि धेरै घर छन्। एपिंगरले मुस्कुराउँदै भने, ‘४० वर्ष पुग्दा सायद म आफ्नै लागि टापु किनिसक्नेछु।’
एपिंगरको यस्तो विलासी जीवनको कारण हो व्यापार। उनले सन् २०२२ देखि २०२५ सम्म दुई बिलियन अमेरिकी डलर बराबरको तेल कारोबार गरे। यसबाट व्यक्तिगत रूपमा उनले व्यक्तिगत रूपमा २५० मिलियन डलर (लगभग ३७ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी नाफा कमाए। रूसको यूक्रेन आक्रमण र त्यसपछि लागू भएका वैश्विक प्रतिबन्धले ऊर्जा बजारमा ल्याएको उतारचढावबाट सम्पत्ति कमाउने एकमात्र व्यापारी उनी होइनन्। युद्ध सुरु हुँदा २७ वर्षका एपिंगर सम्भवतः सबैभन्दा कान्छा व्यापारी थिए।
रुसमाथि पश्चिमा देशहरूले प्रतिबन्ध लगाएपछि बीपी र सेलजस्ता ठूला तेल कम्पनीहरू कारोबार बन्द गर्न बाध्य भए। तर तेल विश्व अर्थतन्त्रका लागि अपरिहार्य भएकाले अन्ततः पश्चिमले रुस निर्यात गर्न सक्ने तर उसको आम्दानी सीमित गर्ने गरी ‘प्राइस क्याप’ नीति लागू गर्यो। यस्तो जोखिमपूर्ण अवस्थामा केही साहसी व्यापारीहरू बजारमा प्रवेश गरे। अरू डराएका बेला उनीहरूले अवसर देखे। यस्नै अवसर देख्ने व्यापारीमध्येका एक हुन् एपिंगर।
‘प्राइस क्याप वास्तवमै उपयोगी भयो’, एपिंगरले आफ्नो कोक जेरो नामक सिप अगाडि बढाँदै भने, ‘सुरुमा यो अलिक ‘ब्ल्याक बक्स’ जस्तो लाग्थ्यो। मलाई कानुनी ढाँचाभित्र रहेर पनि यो काम गर्न सकिन्छ भन्ने जानकारी थियो। पूर्ण प्रतिबन्ध लगाइएको भए म रुसको तेल छुँदैनथेँ। त्यो अवस्थामा म अपराधी हुने थिएँ।’
एपिंगर त्यो जोखिमपूर्ण कामका कारण सार्वजनिक रूपमा त्यो बोल्न तयार हुने सम्भवतः एक्ला व्यापारी हुन्। धेरैजसो व्यापारीहरूले चुपचाप रहन उचित ठानेका थिए। एपिंगरले आफ्नो कम्पनीकै नाम सीई इनर्जी राखे। सीई उनको नामको संक्षेप रूप हो।
एपिंगरका अनुसार उनका सबै कारोबार पश्चिमी कानुनी मापदण्डभित्रै थिए। सन् २०२५ को फेब्रुअरीदेखि उनले रूसी तेल व्यापार पूर्ण रूपमा बन्द गरिसकेका छन्। प्रतिबन्ध कानुनी मात्र होइन, राजनीतिक पनि हुने भएकाले एपिंगरले यसबारे सञ्चारमाध्यमसँग कुरा गर्न ठूलो जोखिम लिएका थिए। फाइनान्सियल टाइम्मसँगको कुराकानीमा उनले उद्योगले कसरी पश्चिमी नीति अवलम्बन गरी रूसी तेल विश्व बजारमा पुर्यायो भन्ने खुलासा गरे। उनको भनाइमा वित्तीय अभिलेख, इमेल, च्याट सन्देश र उद्योगका करिब दर्जनजति व्यक्तिका प्रमाणले समर्थन गर्थे।
खाना खानुअघि, खाना खाइरहँदा र पछि पनि उनले सोधिरहेका थिए- ‘के यो कुरा गर्दा ममाथि प्रतिबन्ध लाग्ला?’ उनको अनुहारमा डरभन्दा बढी उत्साह देखिन्थ्यो। ‘म रोकिँन्न,’ उनले भने, ‘म पैसामाथि बस्ने होइन, ब्याजबाट बाँच्ने होइन। म आफ्नो सम्पत्तिमा अर्को शून्य थप्न चाहन्छु।’
एपिंगरको जन्म सन् १९९४ मा जर्मनीको ह्याम्बर्ग नजिकको सानो सहरमा सामान्य मध्यमवर्गीय परिवारमा भएको हो। उनका आमाबुबा सोभियत संघमा जन्मिएका थिए र सन् १९८० तिर जर्मनी सरेका थिए। आमा चिकित्सक थिइन्, बुबा इन्जिनियर। एपिंगर सधैँ ‘तेल व्यापारी’ बन्ने सपना देख्थे।
बाल्यकालमा उनी हजुरआमासँग ‘डल्लास’ नामक अमेरिकी टेलिशृंखला हेर्थे। त्यो शृंखलाको जेआर युइङ नामक तेल व्यापारी पात्रले उनलाई मोहित बनायो। उनका साथीका बुबा आन्द्रे भान गिल्स वास्तविक जीवनका ‘जेआर’ जस्तै थिए- भिटोल नामक तेल कम्पनीका प्रारम्भिक कर्मचारी र पछि आफ्नै कम्पनी स्थापना गरेर करोडपति बनेका। किशोर अवस्थामा एपिंगर गिल्सको सेन्ट मोरिट्जस्थित घरमा बिदा मनाउन पुग्थे। त्यहीँ उनले तेल व्यापारको सफल कथालाई नजिकबाट अनुभव गर्न पाएका थिए।
एक रात चेसा वेग्लिया रेस्टुरेन्टमा उनले ग्लेन्कोरका संस्थापक मार्क रिचलाई भेटे। रिच इरानसँग प्रतिबन्धित तेल कारोबार गरेको आरोपमा अमेरिका छोडेर स्विजरल्यान्ड भागेका थिए। ‘त्यो भेटपछि मैले बुझेँ’, एपिंगर सम्झन्छन्, ‘उच्च डिग्री पाएका वकिल, चिकित्सक वा इन्जिनियरहरू होइन, विश्वव्यापी रूपमा जो जोखिम लिन्छन्, गन्ध, धुलो र सल्फरसँग काम गर्छन्- त्यस वर्गका मानिस सच्चा खेलाडी हुन्।’
एपिंगरले हामीलाई भत्कँदै गरेको सिँढीबाट माथि लिएर गए। एउटा अस्थायी काठको फल्याकमा हिँडाउँदै भविष्यको मुख्य शयनकक्षतर्फ लगे। त्यस कोठाका लागि उनले कराभाजियोको चित्र किन्ने योजना बनाइरहेका रहेछन्। कराभाजियोका प्रमुख कृतिहरूमा शिर छिन्नेका दृश्य देखाइएका छन्। ‘म केही साँच्चै गहिरो विषय चाहन्छु,’ उनले भने।
घरको अर्को भागमा भूमिगत जिमको छेउमा रहेको ‘वेट एरिया’ छ। उनका अनुसार त्यहाँ ‘स्टिम रुम’ बनाइनेछ। एपिंगरले प्रख्यात मोजाइक कलाकार पिएर मेस्गुइसलाई सुन प्रयोग गरी कोठाको कुनाबाट सुरु हुने र भित्ताभर फैलिँदै ठूलो हुँदै जाने सर्पको आकृति बनाउने जिम्मा दिन लागेको सुनाए। ‘यो ‘एलएसडी सपनाजस्तो’ दृश्य हुनेछ’, उनले मुस्कुराउँदै भने।’
एपिंगरले निर्माण सम्पन्न भएपछि हबेली कम्तीमा वर्षको केही समयका लागि कार्यसञ्चालन स्थल बनाइने बताए। ‘वास्तवमा मेरो फोन नै मेरो अफिस हो’, उनले भने, ‘म कम्प्युटर छुन्नँ। म नयाँ सम्झौता गर्छु, तेलको कारोबार मिलाउँछु, वकिल र अन्य पक्षसँग बहस गर्छु-सबै मेरो आइफोनबाट।’ उनले कान्स सहरको अर्को दिशातिर हात हल्लाउँदै भने, ‘त्यो त एकदम व्यस्त ठाउँ हो। यहाँ त म एक्लै हुन सक्छु। बिहान दौडन जान्छु, फोन गर्छु, जंगलमै चिच्याउने काम गर्छु, खाना खान्छु, पौडी खेल्छु- सबै यतैबाट। जीवन सुन्दर लाग्छ।’
एपिंगरमा सहजै सम्बन्ध बनाउने व्यापारीको क्षमता देखिन्थ्यो। उनको भित्री स्वभावमा केही आक्रोश पनि लुकेको अनुभव हुन्थ्यो। ‘पूरै उद्योग त अहंकारले भरिएका पुरुषको खेलमैदानजस्तो छ’, उनले भने, ‘जहाँ सबैले एकअर्कालाई जित्न चाहन्छन्। यहाँ त स्कुलको मैदानजस्तो वातावरण छ- जो बलियो हुन्छ, ऊ बाँच्छ।’
२०२१ को गर्मीमा एपिंगर फेरि शून्य बिन्दुमा फर्किए। काजकिस्तानमा असफल भएका लगानीकर्ताले उनलाई ठगीको आरोप लगाए र ह्याम्बर्गमा उनको प्रतिष्ठामा दाग पर्यो। लगानीकर्ताले पछि आपराधिक मुद्दा दायर गर्न खोजे पनि असफल भए। एपिंगरले आफू निर्दोष रहेको र सम्पूर्ण रकम फिर्ता दिन तयार भएको बताउँदै आएका छन्।
उद्योगका सबै चिनजानसँग फोन गर्दै उनले नयाँ थालनीको प्रयास खोजे। अन्ततः दुबईस्थित सानो ट्रेडिङ कम्पनीमा काम पाए, जहाँ उनलाई फुजैराह बन्दरगाहमा रहेको एक रिफाइनरीमा अवसर मिलेको थियो। यो रिफाइनरीले अफ्रिकाबाट कच्चा तेल र रूसबाट कम-सल्फरयुक्त इन्धन आयात गर्थ्यो। अनि त्यसलाई समुद्री इन्धनमा परिस्कृत गरेर जहाजहरूलाई बेच्थ्यो। यो रिफाइनरी जर्मन युटिलिटी कम्पनी ‘युनिपर’ को स्वामित्वमा थियो।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपमा उठेको विरोधबीच युनिपर मुख्यालयले रूसी इन्धन आयात गर्न रोक लगायो। एपिंगरले युनिपरका प्रबन्ध निर्देशक लार्स लिबिगसँग नजिकको सम्बन्ध बनाइसकेका थिए। उनलाई लाग्यो- अब अवसर यहीँ छ। अनि उनी आफैँले तेल स्रोतको खोज्ने निर्णय गरे।
कैयौँ प्रयासपछि एक चिनजानका व्यक्तिले उनलाई ‘मर्कन्टाइल एन्ड म्यारिटाइम ग्रुप (एमएन्डएम) सँग सम्पर्क गर्न सुझाव दिए। यो कम्पनी पाकिस्तानी मूलका धनी व्यापारी मुर्तजा लखनीद्वारा स्थापित थियो। मे २०२२ मा एमएन्डएमले एपिंगरको कम्पनी ‘सीई इनर्जी’ लाई युरोपका ट्यांकबाट ६० हजार टन इन्धन बिक्री गर्यो, जुन उनले युनिपरलाई पठाए। ‘त्यो पहिलो कार्गोले नै मलाई पहिलो मिलियन डलर कमाइदियो,’ उनले भने।
त्यसपछि उनी अझ ठूलो कारोबारतिर लागे। उनले ९८ हजार टन इन्धन काजाकिस्तानबाट किन्ने सम्झौता गरे। तर तेल रूसी बन्दरगाहमार्फत लोड हुने भएपछि युनिपरले कार्गो लिन अस्वीकार गर्यो। रिपोर्टअनुसार त्यो तेल रूसको उत्पादन थियो। अब एपिंगरको झोला खाली थियो- करिब १०० मिलियन डलर तिर्नुपर्ने तर खरिददार कोही थिएन। प्रत्येक दिन जहाज फुजैराहको किनारमा रोकिँदा हजारौँ डलर थप खर्च हुन्थ्यो। उनले अमेरिकी कानुनी फर्म ‘लेथम एन्ड वाट्किन्स’ भाडामा लिए, जसले तेल काजकिस्तानकै भएको प्रमाण जुटाएर युनिपरलाई त्यो तेल स्वीकार गर्न बाध्य पारेको थियो।
त्यो घटनाले उनलाई सचेत गरायो। अब उनले अर्को बाटो खोजे- तेल प्रत्यक्ष युनिपरलाई होइन, गल्फ पेट्रोल सप्लाइज (जीपीएस) नामक कम्पनीमार्फत बेच्ने र जीपीएसले युनिपरलाई आपूर्ति गर्ने।
त्यसै क्रममा एमएन्डएमले उनलाई ‘तेजारिनाफ्ट’ नामक नयाँ कम्पनीसँग चिनायो। अनि दुबईको फ्री जोनबाट इन्धन आपूर्ति हुन थाल्यो। इन्धन रूसी थियो तर दुबईको ट्यांक प्रणालीमार्फत आएका कारण यूएईमा मिश्रण गरिएको प्रमाणपत्र प्राप्त हुन्थ्यो।
सीई इनर्जीले सन् २०२२ देखि २०२५ सम्म ३.३ मिलियन टन तेल कारोबार गरेको थियो। त्यसका ग्राहक नाइजेरिया, बहमास, स्पेन, ब्राजिल, चीन, यूएई र मलेसियासम्म फैलिएका थिए।
पैसाका कारण एपिंगर र लखनीको सम्बन्ध बिग्रियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले दुबईस्थित केही व्यापारीविरुद्ध प्रतिबन्ध घोषणा गरे। यस कदमले अब रूसको तेल व्यापार गर्ने कम्पनीहरूलाई जुनसुकै मूल्यमा पनि प्रतिबन्ध लगाउन पश्चिमा तयार रहेको संकेत देखियो। वकिलहरूसँग परामर्श गरेपछि एपिंगरले पश्चिमी नियमहरूको कार्यान्वयन अत्यन्त अनिश्चित भएकाले निरन्तर व्यापार गर्न जोखिम बढेको निष्कर्ष निकाले। यसले उनको गतिविधिलाई सहज बनाएको खुला क्रेडिट अब उपलब्ध नहुने अर्थ पनि राख्थ्यो। त्यसपछि एपिंगर र लिबिग गैररूसी व्यवसायका लागि बैंकहरूसँग पहिलो चरणको छलफल गर्न जेनेभा गए। उनले भने, ‘म यसलाई लुकाउन सक्दिनँ। किनभने मेरा अंकहरू पाउने हरेक बैंकले बुझ्नेछ यो कहाँबाट आएको हो।’
एपिंगर आफ्नो व्यवसायको स्रोत रूसको तेल हो भन्ने कुरा लुकाउँदैनन्। उनी बैंकहरूले कम्पनीको वित्तीय स्थिति मूल्यांकन गर्नेछन् र आवश्यक क्रेडिट लाइन उपलब्ध गराउनेछन् भन्नेमा आशावादी थिए। उनले भने, ‘म सम्बन्ध निर्माणमा राम्रो छु। के म भिटोलको व्यापारी भन्दा राम्रो व्यापार गर्न सक्छु? होइन। के म मेरा सम्पर्कहरूलाई राम्रोसँग प्रयोग गर्न सक्छु? हो।’
जब हामी स्विजरल्यान्डमा अवतरण गर्यौँ, त्यहाँ पर्खिरहेको कारले हामीलाई सम्भावित नयाँ मुख्य वित्तीय अधिकारीसँगको भोजनस्थलमा पुर्यायो। मैले एपिंगर र लिबिगलाई बैंक बैठकका लागि छोडेँ। त्यसपछि एपिंगर खुसी देखिन्थे।
[टम विल्सनले अंग्रेजीमा लेखेको यो सामग्री फाइनान्सियल टाइम्सबाट भावानुवाद गरिएको हो।]



