नियात्रा

कपिलेश्वरको कल्पतरु खड्कुलेको धान

राजाराम बर्तौला २२ कार्तिक २०८२ १९:२९
30
SHARES
कपिलेश्वरको कल्पतरु खड्कुलेको धान

कपिलेश्वरको कल्पतरु तादी फाँटको धान
खड्कुलेको छाँगो राम्रो नुवाकोटको शान।

काठमाडौँको शिवपुरीबाट उत्तरतर्फ रहेको नुवाकोट यसै पनि ऐतिहासिक स्थल हो। त्यसमाथि पवित्र नदीहरू तादी, त्रिशूलीले सिञ्चित, दुप्चेश्वर, कपिलेश्वरजस्ता पवित्र शिवालयहरूले अभिमन्त्रित ठाउँ हो नुवाकोट। दुप्चेश्वरको दर्शन केही पहिला नै गरे तापनि कपिलेश्वरको दर्शन गर्न पाइएको थिएन। प्रकृतिसँग नजिक हुने बहानामा मन्दिरमा समेत माथा टेकेर पुण्य कमाउने लालसा पलायो। कपिलेश्वरको दर्शन पनि गर्ने र शारदीय घामको रापले सेकेर पाकेको, पहेँलपुर तरेली परेको फाँटमा आफ्नै बोझले झुकेका, धानका बालावेष्टित प्राकृतिक अलौकिकताको पनि दर्शन गरौँ साथै सुवासित भूमिको स्पर्श गरौँ भन्ने अभिप्राय बोकेर पदयात्राको समूहमा अघिल्लो साता सहभागी भएँ।

सक्रिय राष्ट्रसेवकको जीवनबाट अवकाशपछिको समय यसै गरी थोरै देवालय र धेरै प्राकृतिक स्थल घुमेर समय व्यतीत गर्न आनन्द आउन थालेको छ। जीवनलाई प्रकृतिको नजिक लिएर जाँदा एक किसिमको आनन्दको अनुभूति हुन्छ। शरीर क्लान्त त हुन्छ तर मन भने शान्त हुन्छ। माटो र वनस्पतिहरूको सामीप्यबाट आउने गन्ध, चरा तथा स्थावर अन्य जीवको अमुक ध्वनिमा पाइने स्वरसंगम श्रवण हुँदा शरीरको कुन प्रणाली जागृत हुन्छ कुन्नि?

अझ त्यसमाथि विविध रङसहितका अनेक प्रजातिका फूलहरू निस्फिक्री निश्चल फूलेर लहराउँछन् प्रकृतिलाई सौन्दर्यको अलौकिकता थप्दछन्। त्यही हेर्न म सधैँ लालायित रहन्छु। महाकवि देवकोटाले भनेको सम्झन्छु– ‘प्रकृतिमा बस गई सब तत्त्व खुल्छन्।’ प्रकृतिसँग सामर्थ्य छ इहलौकिक, जीवन दर्शनको अथाह गहिराइ छ पारलौकिक। म मनन गर्न सक्छु। अनुभूत गर्न सक्छु तर कति लाभान्वित भएँ भन्ने अनभिज्ञ छु।

साल वृक्षको जंगलले घेरिएको छ कविलास डाँडो। दक्षिणपाखो र उत्तरपाखो सारै उब्जाउ भूमि छ। रमणीय यस्तो छ यहाँबाट दक्षिणमा रानीपौवा, ककनी र शिवपुरी पूरै देखिन्छ। उत्तरमा शैल शिखर हिमगिरी देखिन्छन्। रसुवाको गोसाइँकुण्ड र सूर्यकुण्ड देखिन्छन्। दक्षिणमा लिखुको पानीले सिञ्चित उर्वर धानको फाँट देखिन्छ भने उत्तरमा तादीले सिञ्चित विशाल फाँट। पश्चिममा लिखु र तादीको संगमले विशेष सजिएको प्राकृतिक धरा रमणीय र दर्शनीय छ।

पूर्वपश्चिम लमतन्न परेर लिखु र तादी नदीको आधार भागबाट करिब ७०० मिटर माथि उठेको कपिल ऋषिको तपोभूमि कविलास गाउँ अहिलेको पञ्चकन्या गाउँपालिकाभित्र पर्दछ। उत्तरपट्टि सूर्यकुण्डबाट बग्दै आएकी तादी दक्षिणपट्टि चन्द्रमती (लिखुखोला) को मध्यभागमा अवस्थित यो ठाउँ पाठकको पुर्खाले बिर्ता पाएको ठाउँ हो भनेर पनि भनिन्छ। घुम्दै जाँदा पाठकहरूचाहिँ भेटिएनन्। बर लिखु दक्षिण फाँटमा पाठकहरू फेला परे।

यस्तो विशिष्ट ठाउँको पदयात्राका लागि हामी काठमाडौँको चक्रपथ, सामाखुसीबाट टोखा हुँदै गुर्जेभन्ज्याङ पार गरेर छहरे फेदीमा पुग्यौँ। पुल्चोकबाट पुल तरेर उकालो लाग्यौँ। शिवपुरीबाट उत्तर ओरालो लाग्दा नै पारी डाँडामा देखिन्छ कविलास र पञ्चकन्या गाउँपालिका। लिखु खोला पार गरेर करिब ४ किलोमिटर उकालो लागेपछि हामी ठाँटीभन्ज्याङमा गएर रोकियौँ। केहीबेरको हिँडाइपछि हामी कपिलेश्वर मन्दिरको प्रवेशद्वार पुग्यौँ।

जनश्रुतिअनुसार देवासुर संग्राममा कालकुट विष सेवन गरेपछि जलनको पीडाले छटपटिएर हिँडेका महादेव काठमाडौँको पशुपतिनाथ रहेको ठाउँ हुँदै नुवाकोटको दुप्चेश्वर रहेको ठाउँमा बास बसी भोलिपल्ट गोसाइँकुण्डमा पुगेर त्रिशूल प्रसार गरी आएको शीतल जलबाट बनेको जलकुण्डमा विषको दाह शान्त पारेर बस्नुभएको थियो रे। मिथकले नै हो स्थानीयता सजाउने। संस्कारले नै हो संस्कृति बसाउने।

महादेवको पछिपछि हिँडेका कपिल ऋषि हिँडाइमा पछि पर्नुभयो र कविलास डाँडामा पुग्दा त्यहीँ महादेवको ज्योतिर्लिंगको दर्शन पाउनु हुँदा अति हर्षित भई शिवलिंग स्थापना गर्नुभयो भन्ने किंवदन्ती छ। कपिलमुनिले आश्रम बनाएर बास बासेको ठाउँलाई ‘कपिल बास’ भन्न थालियो र शाब्दिक अपभ्रंश हुँदै जाँदा ‘कविलास’ भन्न थालिएको हो भनिन्छ। हिमवत्खण्डमा उल्लेख भएअनुसार ६४ ज्योर्तिलिंगमध्ये एउटा यो पनि हो।

मेरा समवयी सहयात्री छन् एसके रेग्मी र प्रदीप बराल। एक जना वरिष्ठ प्रशासक र अर्का वाणिज्य बैंकका पूर्व सीईओ। दुवै मित्रहरू जीवनको भोगाइबाट सन्तुष्ट रहेका तर जीवनको सिकाइप्रति जिज्ञासु। अझै लालायित अतृप्त अर्थात् भोका। क्षुधा ज्ञानको। उमेरको उकालो र पहाडको उकालो सँगै ढाडमा बोकेको झोलाको बोझले झुकेको शरीरलाई जीवनका आयामहरूलाई तौलेर हिँड्दै गरेका हरफन मौलाहरू। जागिरको धुनमा परिवारिक दायित्वबोधले थिचिएकाहरू नेपालको प्राकृतिक सुन्दरताको सोपान गर्न वञ्चित थिए।

अहिले फुक्कापाल भएका छन्, तिनै सहयात्रीहरू। अस्ति भर्खर माथिल्लो मुस्ताङ पुगेर आएका रेग्मी सरले मार्फाको स्याउ ल्याइदिएको छु भन्दै हातमा गोल्डन डेलिसस् थमाइदिएका थिए। सहयात्राको साथ पनि अचम्मै हुँदो रहेछ। मार्फा पुग्दा पनि साथीका लागि स्याउ ल्याउन बिर्सेनन्। गफिँदै हिँडेका छौँ हामी। उकालीमा सुस्केरा हाल्दा राष्ट्रको चिन्ता पनि बग्दो रहेछ पसिनासँगै। बराल सर भन्दै थिए, ‘लगानी छैन, बैंकमा रकम थुप्रिएको छ, ब्याज दर अझै घट्छ। संकेत त घट्दो आर्थिक वृद्धि दर हो।’ लामो प्रशासनिक अनुभव र राजनीतिक संगतले खारिएका रेग्मी सर भन्दै थिए, ‘अति भएर खति भएको हो।’ उनँको संकेत हालैको जेन जी आन्दोलनतर्फ थियो। उनको विचारमा ‘मुलुक वेदनामा छ। निर्वाचनले मात्र पनि पार पाउन मुस्किल छ।’ गफिँदै हिँड्दा मन्दिरको प्रवेशद्वार देखियो।

कलात्मक मन्दिर प्रवेशद्वार बनाइएको रहेछ। बर र पीपलको चौतारीले हामीलाई स्वागत गर्‍यो। चौतारीभरि मानिस थिए। ती त हामीलाई स्वागत गर्न आएका पो रहेछन्। हाम्रो समूहमा ६० जना थियौँ। कसले खबर गर्‍यो थाहा भएन। सम्भवतः समूहमा सहभागी कुनै शुभेचछुकको काम हुनुपर्छ भन्ने अनुमान गर्‍यौँ। जे भए पनि यो अनपेक्षित स्वागत कार्यक्रम देखेर सहभागी साथीहरू सबै खुसी भए। मन्दिर व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको उपस्थिति थियो। छोटो स्वागत भाषण र कपिलेश्वर मन्दिर, नाट्येश्वरी मन्दिर र चमेरो गुफाका विषयमा संक्षिप्त जानकारी उपलब्ध गराए। एक दिन, त्यो पनि एकछिन यस्सो गएर घुमेर आउनेलाई स्थानको महत्त्वका विषयमा छोटो जानकारी हुन सक्ला तर संक्षिप्त जानकारी हुँदैन।

चौतारोबाट ठाडो उकालो उक्लनुपर्दछ मन्दिर पुग्न। वरपीपल चौतारीसम्म बस जान्छ। हामी पदयात्राका लागि हिँडेको हुँदा बस केही तल नै रोकेर पैदल हिँडेका थियौँ।

ढुंगो खोज्दा देउता मिलेजस्तो….

पदयात्राका लागि निस्कँदा कपिलेश्वरको दर्शन गर्ने र खड्कुले झरना हेर्ने भनेर हिँडेका थियौँ। यहाँ आएपछि ज्ञात भयो कि कपिलेश्वर त एउटा छुटाउन नहुने तीर्थस्थल देवधाम रहेछ। कपिलमुनिको ध्यानबाट प्रसन्न भएर महादेवले दर्शन दिनुभएको र कपिलमुनिले स्थापना गर्नुभएको यो ६४ ज्यार्तिलिंगमध्ये एउटा रहेछ। कपिलेश्वर मन्दिरको भित्री खोपामा भैरव, काली र बुद्ध मूर्ति राखिएका छन्। मन्दिरको बाहिरी प्रांगणमा पनि बुद्ध प्रतिमा राखिएको छ। यसरी यो एउटा हिन्दु र बौद्ध समुदायको साझा धार्मिक तीर्थस्थल भएको छ।

साथै अभ्यागतहरूलाई यहाँ प्रख्यात नाट्येश्वरी मन्दिर छ भन्ने जानकारी छैन। डाँडामाथि रहेको कपिलेश्वरको दर्शन गर्न पुग्नुअघि नाट्येश्वरीको दर्शन गरेर सिँढी चढिन्छ। यहाँको नाट्येश्वरी काठमाडाँै उपत्यकाका नेवार समुदायभित्रको इष्टदेवी रहछिन्। नेवारहरूले यसलाई नासद्यः भनी पूजा गर्दै आएका छन्। भनिन्छ- संगीत साधकहरूले आफ्नो विद्या पूरा गरेपछि यहाँ आएर पूजा नगरी दीक्षित हुँदैनन्। यहाँको नाट्येश्वरीलाई बलि दिने प्रचलन रहेछ। इन्डियन आइडलको पवनदीप राजन आइडलको खिताब जितेपछि भाकल पूरा गर्न हेलिकप्टर चढेर यहाँ पुगेका थिए भनेर स्थानीयहरू सम्झने रहेछन्। हामी पनि चट्टानको भित्तामा रहेकी नाट्येश्वरीको दर्शन गरेर उकालो लाग्यौँ महादेवको दर्शन गर्न। वास्तवमा नृत्य र संगीतको देवतालाई भगवान् शिवको नाट्येश्वर रुपलाई मानिन्छ। देवाधिदेव महादेव अर्धनारीश्वर पनि भएको हुँदा देवीका रुपमा नाट्येश्वरी पुजेको हुनुपर्दछ भन्ने अड्कल काटियो।

कविलास डाँडाको अर्को विशेषता यहाँ चमेरो गुफा रहनु हो। यो गुफा मन्दिरभन्दा तल पर्दछ। डाँडाको दुवैतर्फ गुफा रहेको हुँदा सम्भवतः एउटै गुफाको हाँगो हुनुपर्दछ। उत्तरतर्फको चमेरो गुफा र दक्षिणतर्फको धर्म गुफा भनेर नामकरण गरिएको छ। यस पटक हामी गुफा हेर्न गएनौँ। यसको वर्णन सुन्यौँ र पूर्वनिर्धारित गन्तव्यतर्फ लाग्यौँ।

पदयात्रासहित कपिलेश्वरको दर्शन गर्ने भनेर घरबाट निस्केका हामीलाई नाट्येश्वरी, सिद्धिविनायक, सरस्वती र महालक्ष्मीसमेतको दर्शन गर्न पाउँदा ढुंगो खोज्दा देउता मिलेको अनुभूति भयो।

रातो अक्षता, फूलको गुच्छा र दहीको कतारोले स्वागत

हामी मन्दिर दर्शन गरेर फर्कँदा स्वागत गर्ने टोली पर्खेर बसिरहेको रहेछ। सबैलाई रातो अक्षता, फूलको गुच्छाले स्वागत गरियो। सामूहिक तस्बिर पनि लियौँ। छुट्टिन खोज्दा सबैको हातमा दहीको कप थमाइयो। थकित पथिकलाई दही कति प्रिय वस्तु हो भन्ने कुरा भुक्तभोगीले नै बताउन सक्लान्। हाम्रो आँत तृप्त भयो। लतक्क जमेको दही थपीथपी खाएर फुरुंग पर्‍यौं। सँगै राखेको क्यान हेर्दा चालिस लिटर दही खाएछौँ।
मन्दिर भएको कविलास डाँडो पहिला वडा नं. ७ थियो भने पञ्चकन्या गाउँपालिका भएपछि वडा नं. २ भएको छ। हामी अर्को गन्तव्य खड्कुले झरना अवलोकनका लागि जानुपर्ने भएकाले त्यहाँबाट बिदा भएर सोही गाउँपालिकाको ३ नं. वडातर्फ लाग्यौँ। यहाँबाट करिब ५ किलोमिटर पूर्व। दुई नम्बर र तीन नम्बर वडाको सिमानामा तीन नम्बरका वडा अध्यक्ष पराजुली महिला सदस्य अधिकारीसहित हाम्रो स्वागतका लागि उपस्थित थिए। कार्कीगाउँका मानिस जति हँसिला, मिलनसार र सहयोगी देखिए त्यस्तै यहाँको पहेँलपुर धानको फाँट। उनीहरूले खादा, रातो अक्षताको टीका र दही खान दिएर स्वागत गरे।

स्थानीय जनप्रतिनिधिले निःस्वार्थ भावले गरेको यस किसिमको स्वागतको अभ्यन्तर के नै पो होला र सिवाय प्राकृतिक पर्याय आन्तरिक पर्यटन प्रवद्र्धन? अपनत्व झल्किने र भावना पोखिने यस किसिमको अतिथि स्वागत नेपाली परम्परा गाउँको अग्र्यानिक स्वाद हो। सनातनी संस्कारमा अवशेषका रुपमा जीवित धरोहर हो। दुवै वडा अध्यक्ष र सदस्य हामीसँगै खड्कुले झरनासम्म पथप्रदर्शकको रुपमा हिँडेर गए। झरनामा गएर पदयात्रीहरूको सुविधाका लागि ठूल्ठूला ढुंगा उचालेर बाटो बनाइदिए। यस किसिमको सेवाभावको मुक्तकण्ठले प्रशंसा गरिनुपर्दछ। हामीलाई लागेको थियो यहाँसम्म ल्याएपछि उनीहरू फर्कनेछन्। कहाँ त्यस्तो भयो र? हाम्रो साथ अन्तिम बिदाइ नगरिन्जेलसम्म रह्यो।

खड्कुले झरनामा कात्तिक लाग्दासम्म प्रशस्त पानी थियो। चालिस पचास मिटर माथिबाट झरेको यो झरना सुन्दर देखिन्छ। झरनाले बनाएको रहमा पौडी खेल्ने ठाउँ पनि छ। पहाडको शिरभाग र जंगलको बीचबाट निस्किएको हुँदा यसको पानी कञ्चन र सफा छ। युवाले झरनाको प्रचुर आनन्द लिन सक्छन्। यो झरनालाई नजिकबाट भन्दा तरेली परेको खेतका आली र डिलहरूबाट हेर्दा अतिसुन्दर देखिन्छ। झरनाभन्दा माथि उसैको शिरमा एउटा सानो तलाउ छ। त्यहाँसम्म जान बाटो कठिन छ तर यहाँ पुगेपछि तल र माथिको दृश्य दर्शनीय लाग्छ।

झरना हेरर फर्कँदै गर्दा चार बजिसकेको थियो। बाटो अझै लामो थियो। यहाँ अतल सिंहको कथा जस्तै पर्‍यो। ‘सोझो बाटो जाने कि लामो बाटो जाने’ भन्ने। लामो बाटो सजिलो त थियो तर धेरे समय लाग्ने थियो। छोटो बाटो छोटो त थियो तर ठाडो उकालो र तरेली परेको धानका ससानो गराहरूका आली र डिलहरू हुँदै उक्लेर माथि पहाडको शिरसम्म पुग्ने। आलीबाट चिप्लिएर लड्ने सम्भावना त छँदै थियो। हाम्रा पथप्रदर्शक सन्तोषजी भिरपाखा भनेपछि चितुवाजस्तै उफ्रने। उनले ठाडै उकालो चढ्ने निर्णय लिए। हाम्रा स्थानीय वडाअध्यक्ष र सदस्यहरूले खेतका गरागरा हुँदै उकालो चढाउने भए। हामी पछिपछि हिँड्यौँ।
लिखुबाट उकालो लागेर करिब ७०० मिटर चढेपछि १३०० मिटरको उचाइमा कपिलेश्वर पुगिएको थियो। त्यहाँबाट ६०० मिटर बेसी झरेर खड्कुले झरना पुगिएको थियो। अब भने सीधै ८०० मिटरको उकालो चढेर घलेगाउँमाथिको भन्ज्याङ पुग्नु थियो।

एकातर्फ हरियो जंगल, अर्कोतर्फ काट्न ठिक्क परेको र कहीँकहीँ काट्न पनि थालिएको पहेंलै झुलेका धानका लहलहान खेतको दृश्य मोहित पार्ने खालको थियो। पाकेको धानको खेतबाट हिँड्दा धानबाट आउने बासनाको महकले मुग्ध बनाउँछ। आल्ह्लादित बनाउँछ। यहाँ चार थरीको धान लगाएका रहेछन्। समुद्र फेदी भन्ने धान यहाँको रोज्जा धान रहेछ। किसानको मिहिनेत फलेर पहेँलो स्वर्णतुल्य आभा दिइरहेको प्रतीत हुन्छ। झनै शारदीय आयाम, महालक्ष्मीको आराधना गरेर घरघरमा अन्न भित्र्याएर भकारी भर्ने समय। वर्षभरि झरी, बादल, असिना र पसिनाले आकुलव्याकुल भए पनि शरदयाममा भकारी भरेर मनका आनन्द पाल्ने र सन्ततिका लागि सपना देख्ने समय हो किसान हो। अध्यक्ष पराजुली भन्दै थिए, ‘यहाँका आधा मानिसको काठमाडाँैमा घर छ।’ साँच्चै यो फाँटमा धनधान्यकी देवी लक्ष्मीले बास गरेकी रहिछन्। त्यसै भएर खड्कुले झरनाले मागेका बेला खड्कुलोभरि अन्न दिन्थिन रे।’ कल्पतरु वृक्षादिको जराजराबाट बगेर किसानका बारी, खेत भिजाउँदै अन्न वृष्टि गर्ने यो ठाउँमा कपिलमुनि मात्र हैन देवाधिदेव महादेव नै बास बसेका रहेछन् त्यसैले।

फेरि दही
हिन्दु संस्कारमा दहीको उच्चस्थान छ। पञ्चामृतमा दही चाहिन्छ र पञ्चगव्य बनाउँदा पनि। दहीमा अक्षता भिजाउनु भन्छन्। दही समृद्धिको प्रतीक पनि हो। दही शुभकार्यको प्रतीक पनि। दही साइतको पेय पनि हो। दही कामना हो। दही कर्म हो। र दही समृद्धिको द्योतक हो। यो पदयात्रामा दहीले हाम्रो पिछा छोडेन। माथि भन्ज्याङसम्म आए वडा अध्यक्ष। बस हामीलाई प्रतीक्षा गरिरहेको थियो। थकित पदयात्रीहरू आआफ्नो सिटमा गएर बसे। अध्यक्षले सिटसिटमै गएर पुनः दहीको कप हातमा थमाए। दहीले स्वागत र दहीले नै बिदाइ गरे। हामीले बिदाइको हाता हल्लायौँ।

प्रकाशित: २२ कार्तिक २०८२ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast