वरिष्ठ कलाकार सन्तोष पन्त
काठमाडौँ- वरिष्ठ कलाकार सन्तोष पन्तले नेपाली फिल्म उद्योगमा सफल हुन प्रचारप्रसार र ‘तिकडम’ को भूमिका अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन्।
उनले २०७९ सालमा आफ्नो चर्चित टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’ को नाममा निर्माण गरिएको फिल्म व्यावसायिक रूपमा असफल हुनुको कारण पनि यही ‘तिकडम’ को कमी भएको बताएका हुन्।
उक्त फिल्ममा पन्त स्वयं मुख्य भूमिकामा थिए भने निर्देशन उनका छोरा साकार पन्तले गरेका थिए। फिल्मको ‘माया जदौ’ गीत निकै लोकप्रिय बनेको भए पनि फिल्मले भने अपेक्षित सफलता हासिल गर्न सकेन।
काठमाडौँमा आयोजित फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै पन्तले भने, ‘फिल्म बनाउन जति गाह्रो छ, चलाउन पनि त्यति नै गाह्रो रहेछ। फिल्म चलाउन ‘तिकडम’ सिक्नुपर्छ, त्यो नजानेर म असफल भएँ।’
उनले ‘हर्ष’ की निर्देशक एकता पौडेललाई फिल्म चलाउन कुनै न कुनै ‘तिकडम’ गर्न सुझाव पनि दिए। व्यंग्यात्मक शैलीमा उनले भने, ‘फिल्म चलाउन जसरी पनि प्रयास गर्नुस्। बरु मलाई अस्ट्रेलिया पठाइदिनुस् र हरायो भन्नुस्, त्यसपछि हंगामा हुन्छ अनि फिल्म चल्छ। ‘तिकडम’ नगरी फिल्म चल्दैन।’ उनका ती भनाइहरूले कार्यक्रमस्थल हाँसोले गुञ्जिएको थियो।



