काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषण्मा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पनुरुत्थान तथा राहत कार्यका लागि कम्पनीले यो सहयोग उपलब्ध गराएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले एक कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।
यो सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको कम्पनीले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले विगतमा पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन र वातावरण संरक्षणजस्ता क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएको बताउँदै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
नियामक निकायबाट जारी निर्देशनअनुसार प्रत्येक आर्थिक वर्षको खुद नाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको जनाएको छ।



