विदेश गए मात्र जीवन बदलिन्छ भन्ने भ्रम चिर्दै चखेलका किसान

हिमाल प्रेस ९ कार्तिक २०८२ १२:१९
10
SHARES
विदेश गए मात्र जीवन बदलिन्छ भन्ने भ्रम चिर्दै चखेलका किसान

मकवानपुर- विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन्। यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ।

पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ। काठमाडौँ उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ– कोही मुला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन्।

जम्मा ३६ परिवारको मात्र बसोबास रहेको उक्त गाउँमा हरेक घरको आँगनमा हरियो बोटबिरुवा फस्टाएका छन्। यहाँका बालबालिकाले खेतीको अर्थ पढाइसँगै बुझेका छन्। उनीहरूले पसिनाबाट शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने बुझेका छन्। विद्यालय बिदाका दिन साना बालबालिका पनि बारीमा भेटिनुले यसलाई पुष्टि गरेको छ।

गाउँका किसानले गर्वका साथ भन्छन्, ‘हाम्रो बारीले कति इन्जिनियर पढायो, नर्स बनायो, विज्ञान पढ्ने धेरै छन्, त्यसैले हाम्रो बारीले तरकारी होइन इन्जिनियर फलाउँछ।’

यहाँका धेरैजसो घरका छोराछोरीले बारीको आम्दानीबाट प्राविधिक शिक्षा हासिल गरेका छन्। २९ वर्षीय सिभिल इन्जिनियर मिलन गुरुङ भन्छन्,‘म काठमाडौँको कलेजमा पढ्थेँ तर मेरो पढाइको शुल्क यही बारीको तरकारीले तिर्यो, अहिले जब म पुल र सडक डिजाइन गर्छु, म सोच्दछु– यो मेरो बारीको माटो र बुबाआमाको पसिनाले सम्भव गराएको हो।’

गुरुङलाई यो बारी र माटोमा यति लगाब छ कि चाडपर्वमा घर आउँदा पनि उहाँलाई बारीमा काम गर्न मन पर्छ। उनी थप भन्छन्, ‘हामीलाई यो बारीले आर्थिक रूपमा सक्षम बनाएको छ, त्यसैले म बिदा हुँदा घुम्नभन्दा पनि यहीँ माटोमा पसिना बगाउन घर आउने गर्छु।’

गुरुङका अनुसार यस वर्ष मुलाको मूल्य राम्रो भएकाले आम्दानी पनि मनग्य भएको छ। काठमाडौँबाट छोटो दूरीमा रहेको यो गाउँ प्राकृतिक रूपमा अत्यन्तै मनोरम भए पनि यहाँका स्थानीयलाई पर्यटन व्यवसायभन्दा खेती गर्नमै आनन्द मिल्छ। उनको खेतबारीमात्र होइन, त्यो एउटा विद्यालय हो, जहाँ माटोले आत्मनिर्भरता सिकाउँछ र पसिनाले गर्वको अनुभव दिन्छ।

मिलनमात्र होइन, गाउँका अन्य युवा अहिले नर्सिङ, कृषि विज्ञान, सिभिल इन्जिनियरिङ र कम्प्युटर प्राविधिकजस्ता विषय पढिरहेका छन्। कतिपय जागिरमा छन्। यसै कारण गाउँमा बाहिरबाट आउनेले भन्छन्, ‘यो त साँच्चै इन्जिनियर बनाउने बारी रहेछ।’ यही नामले गाउँको परिचयसमेत फेरिएको छ।

स्थानीय बूढापाका भन्छन्,‘पहिले बारी बाँझो हुन्थ्यो, अहिले बारी हराभरा छ।’ ३९ वर्षीया बुद्धिमाया तामाङ चखेलकी जीवन्त उदाहरण हुन्। श्रीमान् बेपत्ता भएपछि उनका लागि बाँच्ने आधार एक टुक्रा बारी मात्र थियो। पहिले मकै लगाउँथिन्, जसले वर्षभरि खान पनि पुग्दैनथ्यो। तर अहिले त्यो बारीमा गोलभेँडा, काँक्रो, बन्दा र सिमी लहलहाउँछ।

तामाङ भन्छिन्,‘पहिले मकै बाली काटेर ज्याला गर्न जान्थेँ, अहिले तरकारी बेचेर महिनामा रु ३०–४० हजार कमाउँछु, छोराछोरी पढाइ सकेर अब आफ्नै बलमा अघि बढिरहेका छन्।’

तामाङ विवाह गरेर आउँदा यो गाउँमा धेरै दुःख थियो। अन्नबालीले वर्ष नधान्ने कारण ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो। तर समयसँगै खेती गर्ने तरिका फरक भएको र जीवन पनि बदलिएको उनको भनाइ छ। सुत्केरी हुँदासमेत खान धौधौ परेको सम्झँदै उनी भन्छिन्,‘हामीले नजानेर दुःख पाएका रहेछौँ, बाटो बन्यो। हामीले तरकारी रोप्न थाल्यौँ,अनि पसिना पनि त्यही बारीमा बगायौँ, अहिले दुःखबिमार हुँदा पनि रकम साथमा हुन्छ।’

बारीले उनको छोराछोरी पढाउन र घर धान्न सजिलो भएको छ। हाल उनका दुई छोरी र एक छोराले कक्षा १२ पास गरिसकेका छन्। श्रीमान् बेपत्ता भएर समस्यामा परेको उनको परिवारलाई तरकारीखेतीले सहज बनाएको छ। काठमाडौँ र हेटौँडासम्मको यातायात सहज हुँदा किसानले बिहानै तरकारी संकलन गरेर बजार पठाउँछन्। उत्पादनको राम्रो मूल्य पाइँदा गाउँमा पुँजी पनि जम्मा हुनथालेको छ।

इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङ भन्छन्, ‘हामीले सिँचाइलाई प्राथमिकता दियौँ, सामूहिक ट्याङ्की र पाइप प्रणाली बनायौँ, किसानलाई प्रविधि सिकायौँ, अहिले गाउँमा उत्पादनमा दोब्बर वृद्धि भएको छ।’

स्थानीय सरकारको पहलमा सामूहिक सिँचाइ प्रणाली र प्रविधिमैत्री खेतीको अभ्यासले उत्पादनमा वृद्धि भएको अध्यक्ष तितुङले बताए। साथै, काठमाडौँ र हेटौँडा बजारसम्म सहज यातायात पुगेकाले किसानले आफ्नो उत्पादन सजिलै बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन्। काठमाडौँ उपत्यकाको सिमाना पार गरेपछि पुगिने यो ठाउँ पर्यटकका लागि गन्तव्य बनेको छ।

चखेल गाउँ अहिले ‘सफा गाउँ, हरियो बारी’ अभियानमा जोडिएको अध्यक्ष तितुङ बताउँछन्। जैविक तरकारी उत्पादनका लागि रासायनिक मल र विषादीको प्रयोग घटाइएको उनको भनाइ छ।

प्रकाशित: ९ कार्तिक २०८२ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast