
केही समयअगाडि सामाजिक सञ्जालमा पोस्ट भएको ‘सुमेरुविहीन पुष्पमाला कुकुर र मुर्दालाई मात्र लगाइन्छ। यस्तो माला मानिसले लगाउनु हुँदैन’, भन्ने एकजना विद्वान्को भिडियो सामग्री सर्वत्र चासोको विषय बनेको छ। अझ सनातनीले अपनाउँदै आएको शास्त्रको ‘हवाला दिँदै’ प्रयोगमा नआएको विषय उठान गर्दा समाज तरङ्गित बन्नु स्वाभाविक हुन्छ। फूलमालाका बारेमा गरिएको टीकाटिप्पणीप्रति खण्डन गर्नु तिहारको प्रसंगमा औचित्यपूर्ण हो। खण्डनका लागि शास्त्रीय प्रमाणलाई आधार बनाइएको छ।
सुमेरुको शाब्दिक अर्थ ‘पर्वतका राजा मानिएको सुनको पर्वत, उत्तरीय ध्रुव, जपमालाको माथि राखिने ठूलो दाना’ भन्ने हुन्छ। देवीभागवत ११।१९।१९ मा ‘पर्वभिस्तु जपेद् देवीं माला काम्यजपे स्मृता। गायत्री वेदमूला स्याद् वेदः पर्वसु गीयते’ भनिएको छ। हातमा जप गर्दा पर्वका आधारमा गणना गर्दै तर्जनीको मध्य र टुप्पोलाई सुमेरु संज्ञा दिइएको छ। काम्यकर्ममा माला जप्दा सन्धिको अन्त्यमा रहने संख्याभन्दा भिन्न एक दानालाई सुमेरु बताइन्छ। वेदको मूल गायत्री हुन् भने पर्वहरूलाई वेदको संज्ञा दिइएको छ। देवीभागवतको यो पद्यमा सुमेरुको विषय उल्लेख छैन।
फूल र मालाबारे पारस्करगृह्यसूत्र एउटा सन्दर्भ आउँछ। ‘सुमनसः प्रतिगृह्णाति’ अर्थात् वासनयुक्त पुष्प वा पुष्पमाला ग्रहण गर्दछ। सोही सन्दर्भलाई स्पष्ट पार्ने अर्को मन्त्र छ :
याSआहरज्जमदग्निः श्रद्धायै मेधायै कामायेन्द्रियाय।
ताSअहं प्रतिगृह्णामि यशसा च भगेन च।।
अथावबध्नीते यद्यशोSप्सरसामिन्द्रश्चकार विपुलं पृथु।
तेन सङ्ग्रथिताः सुमनस आबध्नामि यशोमयि।। – पारस्करगृह्यसूत्र ६ – २३, २४
अर्थ– वासनायुक्त मनोहारी फूल प्रजापति जमदग्निले श्रद्धा र मेधाको कामना पूर्तिहेतु शरीरका इन्द्रिय र अवयवहरूलाई सुशोभित पार्न ग्रहण गरेका थिए। म पनि यश–षड्विध ऐश्वर्यसहित राम्रो गुण आधानका लागि वासनायुक्त सुगन्धित फूल ग्रहण गर्दछु। हे मधुर वासनायुक्त फूल हो! इन्द्रले फूल टिप्दै माला बनाई उर्वशी आदि गरिएका स्वर्गका अप्सराहरूलाई सुशोभित पारी लोकप्रिय गराएका थिए। म पनि असल गुण आधानका लागि वासनायुक्त पवित्र पुष्पमाला ग्रहण गर्दछु। यो मन्त्रको आशय वासनयुक्त फूल र माला बनाई लगाउने भन्ने हो। यसमा पनि सुमेरु भन्ने शब्द कतै परेको छैन।
पौराणिक मन्त्रहरूमा पनि पुष्पमालामा सुमेरुको प्रसंग देखिँदैन। उदाहरणका लागि पुराणमा माल्यादिनि सुगन्धिनि…।। आदि धेरै मन्त्रहरू रहेका छन्।
करमाला, अक्षमाला, तुलसीमाला, मोतीमाला आदिमा चौवन्न वा एक सय आठ संख्याको पूर्णतापछि सन्धि स्थानमा एउटा संख्या बढी राखिन्छ र त्यसैलाई सुमेरु संज्ञा दिइएको छ। जपका क्रममा अधिक संख्या जप गर्दा सुमेरु उल्लंघन नगरी पुनः फर्किनुपर्ने हुन्छ। दानालाई मालामा परिणत गर्दा पीठ र मुख भाग मिलाई उन्नुपर्दछ र यसलाई अनिवार्य मानिन्छ। जपमाला कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा अर्को पद्यमा भनिएको छ–
अङ्गुल्यग्रे च यज्जप्तं यज्जप्तं मेरुलङ्घनात्।
पर्वसन्धिषु यज्जप्तं तत्सर्वं निष्फलं भवेत्। यसको अर्थ हो–
सुमेरु उल्लंघन, औँलाहरूको टुप्पो र रेखामा स्पर्श गर्दै गरेको जप निष्फल हुन्छ। फूलको मालामा निश्चित संख्यामा फूलका थुँगाहरू हुनुपर्दछ भन्ने किटानी पाइँदैन। रह्यो सुमेरुको कुरा! पुराण वा तन्त्रमा जपमालामा सुमेरु अनिवार्य छ भन्ने विषय किटानै गरेको छ। पुष्पमालामा सुमेरुको निषेध हो भन्नका लागि स्रोतसहितका वाक्य आउनुपर्दछ। वास्तविक ज्ञानका लागि प्रमाण हुनु आवश्यक छ।
सुमेरु पर्वतको प्रतीकात्मक रूपमा प्रयोग गरिने चौवन्न र एक सय आठ संख्यापछि फेद र टुप्पोको सन्धिमा दुवै धागोमा उनिने दानालाई सुमेरुको संज्ञा दिइएको छ। फूलको मालामा सुमेरु अनिवार्य हो भन्ने विषय कहीँकतै आएका छन् भने शास्त्र बलाबलको हिसाबले ती अग्राह्य हुन सक्छन्। लयमा चलेको समाजलाई सही दिशानिर्देश दिनुपर्दछ। शास्त्र अनेक छन्– स्वशाखा परशाखा आदि। सुमेरु नभएको पुष्पमाला कुकुर र लासलाई मात्र प्रयोग गर्ने हो मानिसले लगाउन हुँदैन भन्ने विषयलाई गृह्यसूत्रको वचनले खण्डन गरेको छ। यसर्थमा माला भनेको वृत्ताकार युक्त परिधानीय विषयसँग सम्बन्धित पुष्पमालाको संग्रह हो। समाजलाई सुसूचित पार्न प्रमाण वचनसहित पुष्ट्याइँको आवश्यकता पर्दछ। चलिरहेका विधि र व्यवहारलाई गिजोल्नु हुँदैन। सही विषय प्रवाहित हुनुपर्दछ। विना प्रमाणका प्रस्तुतिले व्यक्तिको विज्ञतामा पनि प्रश्न उठ्दछ।
लक्ष्मीर्वसति पुष्पेषु लक्ष्मीर्वसति पुष्करे।
लक्ष्मीर्वसति गोष्ठेषु सौमनस्यं ददातु मे।। अधिकं न, अस्तु।