नर्स आन्दोलनमा स्वास्थ्य मन्त्रालयको चासो, आइतबार सर्वपक्षीय छलफल हुने

हिमाल प्रेस १ कार्तिक २०८२ १२:५२
4
SHARES
नर्स आन्दोलनमा स्वास्थ्य मन्त्रालयको चासो, आइतबार सर्वपक्षीय छलफल हुने

काठमाडौँ- कम तलवमा काम गर्नुपरेको गुनासोसहित आन्दोलनमा रहेका नर्सको मागका विषयमा छलफल भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरोकारवाला पक्षहरुको रूपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरु, नेपाल नर्सिङ संघका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज संघका प्रतिनिधि, जेनजी प्रतिनिधि चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित छलफल भएको थियो । उक्त छलफलमा आइतबार सर्वपक्षीय छलफल हुने निर्णय भएको छ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङका समस्या, आन्दोलनरत नर्सले उठाएका माग र सेवा सुविधाका विषयमा छलफल भएको जानकारी गराइन्। उनले स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ को स्वास्थ्य मन्त्री स्तरीय निर्णय तथा निर्देशनबारे जानकारी गराएको उल्लेख गर्दै अब निर्णायक आन्दोलन गर्ने चेतावनी दिइन्। उनले कात्तिक २ गते सर्वपक्षीय छलफल हुने निर्णय भएको बताइन्।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले शुक्रबार भएको छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताए। उनले आन्दोलनरत नर्सका विषयमा सरकार सकारात्मक रहेको बताए।

सरकारी सरह सेवा सुविधा हुनु पर्ने माग अघि सार्दै पोखरास्थित मणिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र धनगढीमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएका छन्। अघिल्लो दिनमात्र प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार मात्रै स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर नर्सिङ आन्दोलन र उनीहरुको मागका विषयमा तत्काल छलफल गरी समाधान गर्न निर्देशन दिएका थिए। सोही अनुसार शुक्रबार बेलुका मन्त्रालयले पहिलो चरणको छलफल गरेको हो ।

सर्वपक्षीय बैठकमा नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक शर्मा, निजी मेडिकल कलेज एण्ड डेन्टल कलेज एसोसिएसनका कोषाध्यक्ष समेत रहेका मणिपाल मेडिकल कलेजका सञ्चालक शान्तराज बतास, जेनजी अगुवा सुदन गुरुङ, मेडिकल व्यवसायी दुर्गा प्रसाई, स्वतन्त्र नर्स समूहका ज्योति रानाभाट, सागर खतिवडा लगायत सहभागी थिए।

बैठकमा जेनजी अगुवा सुदन गुरुङले सुरुमै नर्सका समस्या बारेमा कुरा उठाउँदै नर्सिङ संघका प्रतिनिधिहरुलाई नर्सका समस्याहरु समाधानमा लाग्न आग्रह गरे। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूकहाँ कार्यरत नर्सहरुलाई सुविधाका विषयमा कुनै गुनासो नभएको बताए।

मणिपालका सञ्चालक बतासले जागिर सुरु गर्ने स्टाफ नर्सहरुलाई ट्रेनीको रुपमा सुरुमा १७ हजार दिए पनि त्यसपछि बढाउँदै लगेको बताए। उनले आफूहरुले श्रम शोषण गर्ने उदेश्य नराखेको बताए।

प्रकाशित: १ कार्तिक २०८२ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast