
सानो छँदा दसैँतिहार खुबै रमाइलो लाग्थ्यो। पहिलो त स्कुल जानु पर्थेन। त्यसपछि नयाँ लुगा लगाउने, मिठो खानेकुरा खाने र साथीभाइसँग रमाइलो गर्न पाइने हुँदा कहिले दसैँतिहार आउलाझैँ हुन्थ्यो।
गाउँमा अहिले जस्तो बिजुली पुगिसकेको थिएन। दसैँमा घर पोतिन्थ्यो। तिहारका बेला दियो र मैनबत्ती बालेर घर झिलिमिली बनाइन्थ्यो। हुन पनि तिहार भनेकै उज्यालोको पर्व हो। घर उज्यालो हुँदा लक्ष्मीले बास गर्छिन् भन्ने आमविश्वास छ।
समय फेरिएको छ। घरघरमा अहिले परम्परागत दियोको सट्टा झिलिमिली बत्ती टाँगिन्छ। रंगीन बल्ब बाल्ने गरिन्छ। अहिले त दियोकै आकारमा बनेका विद्युतीय बत्तीहरू बालिन्छ। अझ बालबालिकादेखि युवामेत विभिन्न किसिमका पटाका पड्काउँदै आतिसबाजीमा रमाउने गर्छन्। तर यो उत्साहले कतै हाम्रो वातावरणलाई अँध्यारो त बनाइरहेको छैन?
पछिल्ला वर्षमा आधुनिक बत्तीको प्रयोग र पटाकाबाट निस्कने विषाक्त धुवाँका कारण वातावरण एवं मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। अझ यसको आवाजले बालबालिका, वृद्ध, बिरामी तथा पशुपक्षी प्रत्यक्ष मारमा पर्ने गर्छन्। तिहारको चमकसँगै पड्काइने पटाकाले हर्षोल्लास त ल्याउँछ तर त्यसले वातावरण र स्वास्थ्यमा गम्भीर असर पार्छ। हावामा मिसिने धुलो र विषाक्त ग्यासका कारण वायुमण्डलीय प्रदूषण तथा ध्वनि र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ।
पर्यावरणविद्हरूका अनुसार पटाका पड्काउँदा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइडजस्ता ग्यास र सिसा, बेरियम, तामाजस्ता धातुहरू वायुमण्डलमा मिसिन्छन्। पटाकाको १२० डेसिबलभन्दा बढी आवाज मानव कानका लागि असुरक्षित मानिन्छ। यसले तनाव, निद्रामा अवरोध र श्रवणमा समस्या पैदा गर्छ।
पशुपन्छीहरूमा पटाकाको आवाजका कारण दिशा भुल्ने, घाइते हुने वा मृत्यु हुने समेत घटना हुन सक्छन्। पटाकाबाट निस्कने विषाक्त धुवाँले वायु प्रदूषण हुने, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु र श्वासप्रश्वासमा गम्भीर असर पुर्याउँछ। दीर्घकालीन रूपमा यसले मुटु र श्वासप्रश्वास प्रणालीमा असर पार्छ।
पटाका पड्काउँदा पलभरको रमाइलो त होला तर त्यसबाट निम्तिने स्वास्थ्य समस्याले वर्षौँ पिरोल्न सक्छ। साना बच्चा र दमका बिरामीलाई यो अझ खतरनाक हुन्छ।
भारतको नयाँदिल्लीमा दीपावली सुरु नहुँदै वायु प्रदूषण चरममा पुगेका समाचार आएको छ। हरेक वर्ष दीपावलीका बेला दिल्लीमा वायु प्रदूषणको चिन्ता हुन्छ। त्यसैले त्यहाँ पटाका पड्काउने, गाडीहरूका लागि विभिन्न प्रतिबन्धहरू लगाउने गरिएको छ। यद्यपि यसपटक दीपावलीपछि ‘कृत्रिम वर्षा’ गराउने तयारी भइरहेको खबर छ।
नेपालमा पटाका पड्काएकै कारण त्यो स्तरको खतराको सामना गर्नुपरेको छैन। तर यस किसिमका गतिविधि बढ्दै जाने हो भने त्यो दिन पनि नआउला भन्न सकिन्न। पटाका नियन्त्रणका लागि तीनै तहका सरकार संवेदनशील रहनुपर्छ।
नेपालमा पटाकाको बिक्रीवितरण र प्रयोग गर्न पाइँदैन। नेपाल-भारत खुला सिमाना रहेकाले भन्सार छलेर गैरकानुनी रूपमा पटाका नेपाल ल्याउने गरिएको छ। चीनतर्फबाट पनि पटाका आउने गरेको बताइन्छ।
तिहार नजिकिँदै गर्दा पटाका बरामद भएका खबर पनि आएका छन्। तर अहिले पनि गाउँबजारमा पटाकाहरु सहजै किन्न पाइन्छ। यसका लागि नियन्त्रण र निगरानी बढाउनुपर्छ। तिहारलाई उज्यालो, रंग र उमंगको पर्वका रूपमा मनाउने हाम्रो परम्परा अद्वितीय छ। आधुनिक जीवनशैलीका कारण यो पर्व वातावरणीय बोझका रूपमा स्थापित हुँदै जान थालेको छ।
हामीले रमाइलो गरेर चाड मनाउँदै गर्दा वातावरणमा परेको असरलाई नजरअन्दाज भने गर्न मिल्दैन। यसका लागि हामीले विद्युत् खपत कम गर्ने खालका एलईडी बल्बहरु प्रयोग गर्ने, परम्परागत दियो बाल्ने र तिहारलाई पटाकामुक्त बनाउन सक्यौँ भने पक्कै पनि वातावरणमैत्री चाड हुन सक्छ। परम्परागत दियोले संस्कृतिको सौन्दर्य पनि बढाउँछ। हामीले संस्कृतिलाई जोगाउँदै वातावरणमैत्री विकल्प रोज्नु अहिलेको आवश्यकता हो। यसले तिहारको उल्लास घट्दैन, बरु संस्कृतिको संरक्षणका साथै वातावरण सुरक्षित हुन्छ।