संस्मरण

दसैँतिहार : पिङ र लिंगे पिङ

ईश्वर पोखरेल १ कार्तिक २०८२ १२:१८
28
SHARES
दसैँतिहार : पिङ र लिंगे पिङ

दसैँतिहारको स्मरण हुनासाथ तीनपाटन (सिन्धुली) मा बितेका बाल्यकाल अनेक बिम्ब मेरो स्मृतिमा सल्बलाउँछन्। ती बिम्बमध्ये एउटा जबरजस्त बिम्ब हो- लिंगे पिङ। म पिङ खेल्न रुचाउँछु। हाम्रातिर तीन किसिमका पिङको चर्चा हुन्थ्यो : लिंगे, रोटे र जाँते। हाम्रो गाउँ (कदमे) मा विजयादशमीको मुख्य दिनहरू प्रारम्भ हुनुभन्दा केही दिनपहिले पिङ हालिन्थ्यो र त्यो पिङ तिहार सकिएको केही दिनपछि मात्र खोल्ने गरिन्थ्यो। पिङ हालेको दिनदेखि पिङ खोलिएको दिनसम्म हरेक दिन बाल्यकालमा हामी पिङ हालेको स्थलमा हाजिर हुन्थ्यौँ; आफ्नो पालो पर्खिन्थ्यौँ र दसैँतिहारका सर्वोत्कृष्ट समय पिङ खेलेर व्यतीत गर्दथ्यौँ।

बाले घरमा हाम्रा लागि एकपटकको दसैँताका जाँते पिङ पनि हालिदिनुभएको थियो। जाँते पिङ अर्थात् जाँतो जसरी घुम्ने पिङ। खेल्ने मान्छे बसेपछि अरूले जाँतो जस्तै घुमाइदिने। सामान्य प्रविधिको प्रयोग भएकाले यस पिङमा दुई फरक सिटमा बसेका मानिसको तौल मिल्नु आवश्यक हुन्थ्यो नत्र पिङ कोल्टिन्थ्यो। सानो परिधिमा घुम्ने मात्र भएकाले यस प्रकारको पिङ खेल्दा रिंगटा लाग्थ्यो। वाक्वाकी नै हुने।

जाँते पिङसँग हामी चाँडै उक्तायौँ।

रोटे पिङ चैँ खेल्न रमाइलो। यो पनि घुम्ने तर उध्र्वतलीय दिशामा। यसमा पनि खेल्ने मान्छेले सिटमा बसिदिए पुग्ने। अरूले हल्लाइदिने। खेल्ने मान्छेको अरू कुनै भूमिका नहुने। तलमाथिको दिशामा घुम्न पाइने भएकाले खेल्दा मज्जा लाग्ने। तर पिङ निर्माण गर्न काठ धेरै चाहिने र केही निर्माणसम्बन्धी अतिरिक्त सीप पनि आवश्यक पर्ने। त्यसमाथि हल्लाइदिने गतिलै/बलियै दुईजना वयस्क मान्छे चाहिने। यी यावत् कारणले गर्दा हाम्रातिर यो पिङ त्यति प्रचलनमा थिएन।

यस्तो पिङ कतैकतै मात्र हाल्थे। जस्तो, एकपटक साखामाढीमा हाले- रोटे पिङ। हामी हुल बाँधेर खेल्न गयौँ। यहाँ पिङ खेल्न हामी जस्तै धेरै गाउँबाट आएका रहेछन्- मान्छेहरू। खेल्नका लागि पालो पाउनै कठिन।

अर्को पटक बेलघारीमाथि रातमाटेमा पनि रोटे पिङ हालियो। यहाँ पनि पिङ खेल्ने मान्छेको भीड। तर हाम्रो हकमा सजिलो के भने यो थियो- हाम्रो मामाघरनजिकको पिङ। रातमाटेका मगरमामा हामीलाई प्राथमिकतामा राख्नुहुन्थ्यो। हामी बाक्लै पालो पाउँथ्यौँ।

यस्तो रोटे पिङ भुकुने र चिसापानीमा पनि हालियो। अलिकपछि त भीमथान र चौतारा गाउँमा पनि हालिएछ।

तीनपाटनमा जहाँजहाँ रोटे पिङ हालियो; ती ठाउँमा दोहोर्‍याएर फेरि रोटे पिङ हालिएन। अघिल्लो वर्षका रोटे पिङका काठपात जथाभाबी भएर यस्तो भएको हो कि, रोटे पिङको झन्झटिलो सञ्चालन प्रक्रियाबाट स्थानीय बासिन्दा दिक्क भएकाले रोटे पिङ नदोहोरिएको हो, कसैले भन्न सक्दैन।

हाम्रो गाउँ कदमेमा चैँ यस्तो पिङ हाल्दै-हालिएन।

सहरबजारमा देखियो- जाँते र रोटे दुवै प्रकारका पिङ इलेक्ट्रिक हुँदा रहेछन्। इलेक्ट्रिक पिङमा हल्लाइदिने मान्छे नचाहिने। जाँते पिङ त खासै खेल्न रुचि लागेन। रोटे पिङप्रतिको आकर्षण पछिसम्म पनि रह्यो।

म आरआर क्याम्पसमा बेलुकी सत्रमा आईए दोस्रो वर्षमा पढ्थेँ। मेरो साथी थियो- दाङको श्रीधर पोख्रेल। हाम्रो बसोबास पनि मैतीदेवीमा एउटै घरमा थियो। लिजर पिरियडमा श्रीधरले भन्यो- ‘जाऔँ पिङ खेल्न।’

ती दिन भृकुटीमण्डपमा मेलाजस्तै थियो र त्यहाँ इलेक्ट्रिक रोट पिङ खेल्न चाहने मानिसको राम्रै भीडभाड थियो। क्याम्पसगेटबाट बाहिर निस्किएपछि मैले सोधेँ- ‘पहिले खेलेका छौँ?’
उसले भन्यो- ‘छैन।’ अनि मलाई त्यही प्रश्न सोध्यो। मैले भनेँ- ‘हाम्रातिर हाल्छन्। तर यति अग्लो होइन; होचो। मान्छेले हल्लाइदिनुपर्ने किसिमको।’

टिकट लिएर हामी पिङमा चढ्यौँ।

घुइँघुइँ पिङ घुम्न थाल्यो। पिङ घुम्न थाल्नु के थियो; माथि जाँदा र माथिबाट तल झर्दा हाम्रो सातो जान्थ्यो; हंसै उढ्ला जस्तो हुन्थ्यो। तर पिङ रोकिने कुरा थिएन। चल्ती इलेक्ट्रिक पिङबाट झर्न खोज्नु हद दर्जाको मुर्खता हुन्थ्यो; मृत्यु हुन पनि सक्थ्यो। यो घटना हामी दुवैका लागि डरको चरम अवस्थालाई अनुभूति गरेको रूपमा रह्यो।

त्यसपछि मैले रोटे पिङ पनि खेल्ने आँटै गरिनँ। अहिलेसम्म पनि ममा त्यो हिम्मत पलाएको छैन।

त्यसैले हाम्रो हकमा पिङ भनेको लिंगे पिङ नै हो।

हाम्रो गाउँमा लिंगे पिङ हालिन्थ्यो। लिंगे पिङ चैँ दसैंछेक हरेक वर्ष हालिन्थ्यो र त्यो तिहारसम्म रहन्थ्यो। यो हाम्रो गाउँको एक ग्रामीण परम्पराकै रूपमा स्थापित भएको थियो। हामीकहाँ लिंगे पिङको लठ्ठा बाट्नका लागि आवश्यक पथ्र्यो- बाबियो। लठ्ठा बाट्नका लाथि थोरैतिनो बाबियोले नपुग्ने। पिङका लागि बाबियो किन्ने कुरा हुन सक्दैनथ्यो। किन्न पाइँदैनथ्यो पनि। त्यसैले बाबियो काट्न गाउँका युवा हुल बाँधेर जाने गर्दथे- जंगल। जंगलको गाउँनजिकको भागमा बाबियो नपाइने। बाबियो काट्न जंगलको माथिल्लो भागमै/नांगेडाँडामै पुग्नुपर्ने।

जंगलबाट ल्याएको बाबियो कुनै एक घरमा जम्मा पारिन्थ्यो। बेलुका त्यही घरमा गाउँभरिका युवा जम्मा हुन्थे र लठ्ठा बाट्थे। हामी केटाकेटी हुँदा यस्तो कार्य प्रायः आँपगैह्रीका दाहाल काकाहरूको घरमा हुने गर्दथ्यो। पिङ हाल्ने सवालमा दाहाल काकाहरू उत्साहित त हुनुहुन्थ्यो नै; एकमत पनि देखिनु हुन्थ्यो। त्यसैले लिंगे पिङ बाट्न उहाँहरूकै घर रोजिन्थ्यो होला। लिंगे पिङका लागि बाबियो काट्न जाने, लठ्ठा बाट्ने र पिङ हाल्ने समग्र कामको संयोजन भने तेजकुमार कोइरालाबाट हुने गर्दथ्यो। उहाँ आफैँले भने पिङ खेलेको कहिल्यै देखिएन।

हाम्रो गाउँमा चोक र डगरको छेउमा अग्लाअग्ला वरपीपलका रूख थिए। त्यसैले लिंगे पिङ हाल्न हामीकहाँ बाँसको लिंगा गाड्नु पर्दैनथ्यो; तिनै वरका हाँगामा लठ्ठा झुन्ड्याइदिए पुग्थ्यो। हामी त्यसै गथ्र्यौ।

लिंगेपिङ खेल्नका लागि काम्रो अनिवार्य हुन्छ। लिंगे पिङका लागि सुरुमै तीनचारवटा काम्रा तयार पारिन्थ्यो र एउटा काम्रो काम नचल्ने अवस्थामा पुगेपछि अर्को काम्रो प्रयोगमा ल्याइन्थ्यो। त्यही काम्रोमा टेकेर खेल्थ्यौँ- हामी लिंगे पिङ।

लिंगे पिङका सन्दर्भमा खेल्नु भनेको मच्चाउनु हो। मच्चाउन बल चाहिन्छ। हातले लठ्ठालाई दह्रो किसिमले समातेर, काम्रामा खुट्टाले दह्रो किसिमले टेकेर पिङलाई बढीभन्दा बढी हुत्याउन प्रयास गर्नु पिङ मच्चाउनु हो। मच्चाउनु नै लिंगे पिङको रमाइलो पक्ष हो। यसरी लिंगे पिङमा कर्ता नै सर्वेपरि हुन्छ। उसैको तरिका र सामथ्र्यमा लिंगे पिङको रमाइलो पक्ष निर्धारित हुन्छ। त्यसैले पनि मलाई पिङ भनेको लिंगे पिङ नै हो भन्ने लाग्छ। हाम्रो बढी रस बसेको पनि लिंगे पिङमै हो।

दसैँतिहारमा ‘एकपटक भुइँ छाड्नुपर्छ’ भन्ने मान्यता थियो- हाम्रातिर। त्यसैले पिङमा कुनै कुनै समय वयस्क र प्रौढ महिला तथा पुरुषको पनि उपस्थिति हुन्थ्यो। मैले हाम्री हजुरआमाले पनि उभिएर पिङ मच्चाएको देखेको छु। बा, काकाबाले मच्चाएको त प्रशस्तै देखेको छु।

लिंगे पिङ कसैकसैले बसेर खेलेको पनि देखिन्छ। बसेर खेल्दा आफैँले मच्चाउन मिल्दैन। त्यसैले लिंगे पिङको खास मज्जा उभिएर खेल्दा हुन्छ। लिंगे पिङ प्रायः एकजनाले खेल्छ। त्यसो त दुईजनाले खेल्न पनि मिल्छ। लिंगे पिङमा दुईजना चढेर खेलेका छन् भने त्यसलाई दोहोरी भनिन्छ। दोहोरी खेल्दा दुवैजनाको प्रयत्न एउटै दिशा/लयमा केन्द्रित हुनु अनिवार्य हुन्छ।

मलाई पहिलेदेखि पिङ खेल्न मन पर्ने। मेरा लागि पिङ दसैँतिहारको एक महत्त्वपूर्ण पक्ष। दसैँ मान्न गाउँ जान छाडेपछि मैले सहज रूपमा पिङ खेल्ने अवसर कमै पाएको छु। चन्द्रनिगाहपुरमा बसोबास हुँदा पनि दसैँतिहारको बिदामा घर जाँदा म घरका केटाकेटीसहित पिङ खेल्न जाने गर्दथे।

अझै पनि ग्रामीण क्षेत्रमा कतै पिङ देखेँ भने म खेल्ने पालो माग्छु। सहरमा भने पालो माग्दैखेरि पाइने अवस्था हुँदैन। मेरो पिङ खेल्नुप्रतिको आकर्षण कम भएर होइन; सहज अवसर नपाएर केहीयता मैले पिङ खेलेको छुइनँ।

दुईतीन वर्ष भयो होला; लिंगे पिङ मच्चाएको फोटो फेसबुकमा पोस्ट गरेपछि दाजु (विनोद पोखरेल) ले कमेन्ट गर्नुभयो- ‘तँ अझै पिङ खेल्छस्? डर लाग्दैन?’ अरू केही कमेन्ट पनि त्यस्तैत्यस्तै थिए। हामी व्यक्तिको कामलाई हेर्छौँ र लगत्तै उसको उमेरलाई हेर्छौँ। तर काम सके उमेरभन्दा बढी उसको लगाव, आत्मविश्वास र सामर्थ्यमा आधारित हुन्छ।

दसैँतिहार विशेष चाड हुन्। किसानको फुर्सदिला दिनमा मनाइने यी चाडका अवसरमा हामी मावल, माइत र ससुराल जान्छौँ; भैलो/द्यौसी खेल्छौं; परिवारका मान्यजन, आफन्त र साथीसंगीसँग भेटघाट र भलाकुसारी गर्छौंँ, शुभकामना/आशीर्वाद थाप्छौँ; नयाँ/सुकिला कपडा लगाउँछौँ; मिठा र पोसिला परिकार खान्छौँ। यी चाडलाई विशेष रमाइलो र मनोरञ्जक बनाउनका लागि पिङ हाल्ने प्रचलन स्थापित भएको हो। यी चाडमा हामीले खाएका कतिपय परिकार सामान्य शारीरिक अभ्यासबाट पचाउन नसकिने स्तरका पनि हुने नै भए। दसैँतिहारलाई विशेष चाडका रूपमा स्थापित गर्ने सवालमा लिंगे पिङको महत्त्वपूर्ण भूमिका छ भन्ने मलाई लाग्छ।

मलाई लाग्छ- लिंगे पिङको मनोरञ्जक पक्ष त छँदै छ, शारीरिक एक्सरसाइजका दृष्टिले पनि लिंगे पिङ खेल्नु/मच्चाउनु उत्तम कार्य हो।

प्रकाशित: १ कार्तिक २०८२ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast