
भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध सुशासनको माग राखेर जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनपछि मुलुकमा फरक परिस्थिति उत्पन्न भएको छ। तत्कालीन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयको विरोधमा थालनी भएको प्रदर्शनमा ठूलो जनधनको क्षति भयो। २३ गते माइतीघर मण्डलादेखि बानेश्वरसम्मको बाटो र देशका धेरै मुख्य सहरहरूमा विभिन्न गलत प्रवृत्तिका विरुद्धमा शान्तिपूर्ण नारा लगाउँदै विरोध प्रदर्शन भएको थियो। दिउँसो २ बजेपछाडि संसद ्भवनअगाडि युवाहरूको भीड एकाएक उत्तेजित बन्यो। प्रहरीले रोक्न खोज्दा नसकेपछि गोली चलायो, १७ जना युवाको ज्यान गयो। सोही दिन इटहरीमा गोली चल्दा दुई युवाको मृत्यु भएको थियो।
सोही घटनाको प्रतिरोधमा २४ गते प्रमुख प्रशासनिक भवन सिंहदरबारदेखि वडा कार्यालयसम्म र गणतन्त्रको प्रतीक राष्ट्रपति भवनलगायत लोकतन्त्रका धरोहरमा आगो लगाइयो, जेल तोडिए। १५ हजारमाथि कैदीबन्दी बाहिरिए। न्यायालय खरानी बनाइयो। राजनीतिक दलहरूका पार्टी कार्यालय, निजी घरहरू, व्यापारिक भवन, उद्योगहरूमा तोडफोड, लुटपाट र आगजनी भयो। थुनुवा राखिएका स्थानमा कार्यरत प्रहरीहरूमाथि गरिएको भौतिक आक्रमणले तीनजनाको ज्यान जानुको साथै सयौँ नेपाल प्रहरी र सशस्त्र प्रहरी घाइते भए। दुई दिनको आन्दोलनमा ७४ जना नेपाली नागरिकको अनाहकमा ज्यान गएको छ। सयौँ घाइते अझै पनि उपचार गराइरहेका छन्।
समग्रमा राजदरबार (नारायणहिटी संग्रहालय) र जंगीअड्डाबाहेक कुनै पनि सरकारी कार्यलय सुरक्षित रहेनन्। कांग्रेस-एमालेको ओली सरकार ढल्यो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा जेनजी पुस्ताको माग सम्बोधन गर्दै फागुन २१ गते आमनिर्वाचन गर्ने गरी अन्तरिम सरकार गठन भएको छ।
जेनजीको शान्तिपूर्ण आन्दोलनका क्रममा हुन गएको अप्रिय घटनाले राजनीतिक रूपमा ठूलो उथलपुथल ल्याएको छ। आन्दोलनका क्रममा उठेका विभिन्न प्रकृतिका आवाजले हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ। साथैसाथै केही अहं प्रश्न पनि हाम्रासामु तेर्सिएका छन्। के राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव छ? नेतृत्वबिना उद्देश्य पूरा गर्न सकिन्छ? क्रान्ति बिना शान्ति सम्भव छ? राजनीतिक रूपमा निराशाको कालो बादल मडाइरहेका बेला यस्ता प्रश्नको उत्तर पनि खोज्न अपरिहार्य छ।
सात दशकअगाडि राणाशासनको क्रूर विरुद्ध राजा त्रिभुवनसमेत सहभागी भएर गरेको आन्दोलन सफल भएपछि नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो। त्यसबेलाको राजनीतिक पार्टी ‘नेपाल प्रजापरिषद्’ को नामबाटै प्रजातन्त्र नामकरण गरिएको भन्ने बुझ्न सकिन्छ। पछि पञ्चायतविरुद्धको आन्दोलनमा ‘प्रजा होइन नागरिक बनौँ’ भन्ने नारा लगाउन थालियो। प्रजा भन्ने शब्दले राजा पनि भन्ने हुनाले प्रजातन्त्रको ठाउँमा लोकतन्त्र शब्दको प्रयोग हुन थाल्यो। लोकतन्त्रको शाब्दिक अर्थ ‘मान्छेको शासन’ वा ‘जनताको शासन’ हो। लोकतन्त्र एक यस्तो शासन व्यवस्था हो जसमा जनताले आफ्ना शासक आफूहरूले चुन्छन्।
दलहरूले नागरिकको विचार, अधिकार, वर्ग जात वा क्षेत्रीय मागलाई संगठित गरेर संसद् वा सरकारमा पु¥याउँथे। २०१७ सालमा दलहरूलाई प्रतिबन्ध गरेर राजा महेन्द्रले राजनीतिक दलहरूलाई प्रतिबन्ध गरेर पञ्चायत व्यवस्था लागू गरेका थिए। दलहरू जनताका आवाज हुन्। जनताका आवाजलाई प्रतिबन्ध गरेपछि दलहरूले भूमिगत रूपमा आफ्ना एजेन्डा र माग निरन्तर राखिरहे। नागरिकका सामूहिक आवाजलाई बन्द गर्न नसकेपछि पुनः बहुदलीय व्यवस्थाको स्थापना भयो।
दलहरूमा नेतृत्व परिवर्तन भइरहन्छ। कहिलेकाहीँ लामो समयसम्म एकै व्यक्ति नेतृत्वमा रहँदा विरोध गर्ने नेपाली समाजमा हिजोआज केही व्यक्तिहरू दलविहीन स्वतन्त्र नेतृत्वको कल्पना गर्छन्। स्वतन्त्र व्यक्तिमा व्यक्तिवाद हाबी हुन्छ। एकल निर्णयभन्दा सामूहिक निर्णय हितकर हुन्छ। लामो समयसम्म स्वतन्त्र र संगठित प्रतिपक्ष नभएमा सरकारको जवाफदेहिता कमजोर हुन्छ। नागरिकका अधिकार हनन हुन्छन्। नीतिगत निरन्तरता गुम्दै जान्छ।
स्वतन्त्र नेताको व्यक्तिगत सोचमा निर्भर हुने हुँदा भ्रष्टाचार र शक्ति दुरुपयोग रोक्ने संयन्त्र कमजोर हुन्छ। सानो क्षेत्रमा छोटो समयका लागि स्वतन्त्र एक व्यक्तिले सुशासन र पारदर्शितामा प्रभाव राख्न सके सिंगो राष्ट्रमा सुशासन र पारदर्शिता ल्याउन एक व्यक्तिको भरमा सम्भव हुँदैन। तसर्थ दर्बिलो र भरपर्दो स्थापित र उद्देश्य केन्द्रित राजनीति मुद्दा भएको पार्टीहरू चाहिन्छन्। अतः दल बिना लोकतन्त्र सम्भव छ भन्ने सैद्धान्तिक बहस गर्न सकिन्छ तर व्यवहारमा दीर्घकालीन रूपमा सफल उदाहरण कतै छैन। राजनीतिक दलहरू विकासक्रमका लोकतन्त्रमा खुला प्रतिस्पर्धी रूपमा रहनु अत्यन्त आवश्यक रहन्छ। राजनीतिक दलबिना सरकार निर्माण र प्रतिपक्षमा जिम्मेवा र जबाफदेहिताको संरचना अपूरो हुन्छ।
पुराना राजनीतिक दलहरूले नयाँ युवा भित्र्याउन नसक्नु वा पार्टीभित्र जनताको मर्म र भावनाअनुरूप पार्टीका गतिविधि न्यून हुनु गलत प्रवृत्तिको छलफल चियापसल र छलफलका विषयमा मात्र सीमित रहनाले राजनीतिक चेत राख्ने युवामा वितृष्णा र आक्रोश उत्पन्न गरेको छ। त्यस्तै सानासाना समूह संघसंगठनहरूले जायज माग राखेर जति धर्ना जुलुस गरे पनि झारा टार्ने पुरानो प्रवृत्ति नफेरिनु, नागरिकको माग सम्बोधनमा ढिलासुस्ती हुनु ,राज्यका सबै निकायमा भ्रष्टाचारको जालो हुनु, निर्णायक भूमिकामा बिचौलिया प्रवेश हुनु, संविधान र कानुन पालनामा एकरूपता नहुनु, बौद्धिक बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दै जानु, नयाँ उद्योगका बाटोहरूमा समस्या समस्याको चाङ हुनु, राज्यका हरेक क्षेत्रमा राजनीतिक भनसुन, दबाब र प्रभाव हुनाले कर्मचारीले स्वस्थ कार्य सम्पादन गर्न नसक्नु, नकारात्मक र गलत सूचना प्रचारप्रसार गर्नु, भविष्यको चिन्ता र चासोमा नेतृत्व तहमा गम्भीरता कम देखिनु र कुलतमा फसेका युवाहरूको बढ्दो संख्या जस्ता विषय जनआक्रोशका कारण हुन सक्छन्।
भ्रष्टाचार नियन्त्रण गर्न एकाध व्यक्तिहरू लागिरहेका छन्।
भ्रष्टाचार र सुशासनको चेतना सबै जिम्मेवार नागरिकमा हुनपर्छ। नेपाली जनतामा देशप्रति माया, नया पुस्ताप्रति बफादार र समृद्ध नेपालको कल्पना हुन आवश्यक छ। यसका लागि पुराना राजनीतिक दलहरूले गरेका कमीकमजोरीको पहिचान गर्नुपर्छ। दलहरू जनता सँगै गएर आत्मालोचना गर्नुपर्छ। आफ्ना योजना स्पष्ट राख्नुपर्छ। जनताले विश्वास गरे चुनावमा विजय भए सरकार बनाउने र नीति निर्माण गर्ने पराजित भए जनताको सुखदुःखमा साथ दिने पार्टीलाई मजबुत बनाउन थाल्नुपर्छ। यति भन्दै गर्दा पार्टीभित्र स्पष्ट र प्रतिस्पर्धात्मक पद्धतिद्वारा नेतृत्व निर्माण गर्ने हो भने पार्टी बाहिर नैतिक, आर्थिक र सामाजिक रूपमा पारदर्शी नेतृत्व निर्माण गर्नुपर्छ।
नेतामा उमेर अनुभवसँगै समस्या समाधान गर्ने क्षमता चाहिन्छ। इमानदार, क्षमतावान् र कुशल व्यक्तिहरू भएको दल मात्र जनताले मन पराउँछन्। दलहरूमा जनताले देखेको सपना साकार गर्न मार्ग प्रदान गर्ने र स्पष्ट दृष्टिकोण र सिद्धान्त भएको र जनतालाई सकारात्मक कार्यमा उत्प्रेरित गर्ने पथप्रदर्शक नेतृत्व चाहिन्छ। सानासाना अस्थायी उद्देश्य पूरा गर्न अल्पकालीन कार्यक्रममा विशेष नेता नचाहिन पनि दीर्घकालमा असम्भव छ तर ठूलो र दीर्घकालीन वा संरचनात्मक उद्देश्य पूरा गर्न जस्तै सामाजिक आन्दोलन, राजनीति परिवर्तन जस्ता ठोस कुरामा कुशल नेतृत्व नभएमा छिटै अव्यवस्था फुट वा दिशाहीनता हुन्छ। नेतृत्वबिना आन्दोलन लामो समयसम्म टिक्दैन। अस्थायी उद्देश्य सम्भव भए पनि संरचनात्मक उद्देश्य प्राप्त गर्ने स्पष्ट नेतृत्व अपरिहार्य हुन्छ।
कुनै पनि समाज वा देशको आर्थिक संरचना उत्पादन प्रणाली रोजगारी व्यापार वितरण वा सम्पत्ति स्वामित्वमा हुने मौलिकता र द्रुत परिवर्तनलाई आर्थिक क्रान्ति भन्न सकिन्छ। आर्थिक क्रान्तिका लागि कृषि, औद्योगिक, प्रविधिक र सामाजिक आर्थिक क्रान्तिलाई एकै लयमा वृद्धि गर्नुपर्ने हुन्छ। खासगरी उत्पादन प्रणालीमा आमूल परिवर्तन गर्ने समाजको वर्ग संरचना र जीवनशैलीमा सकारात्मक असर पार्ने नयाँ प्रविधि वा विचारको प्रयोग गर्नाले राजनीतिक व्यवस्थामा पनि प्रभाव पार्ने सम्भावना हुन्छ।
नयाँ पुस्ताले मनन गर्नैपर्ने कुरा
१. आज सर्वाधिक बहसको विषय प्रत्यक्ष कार्यकारीको माग नयाँ पुस्ताले पनि राखेको देखिन्छ। यसका लागि संविधानमा व्यवस्था नभएको हुनाले संविधान संशोधन गर्न पर्ने हुन्छ। सामाजिक आर्थिक र राजनीतिक असरहरू दृष्टिगत नगरी बढ्दो भूराजनीतिक प्रभावमा प्रत्यक्ष कार्यकारी रहने कुरा कति उत्तम होला यो विषयमा पर्याप्त अध्ययन गरिएको छ त?
२. हाम्रो देशको सुरक्षा संयन्त्र कमजोर देखिएको हो। २३ गतेको जेनजी हत्या र २४ गतेको देशभरका सरकारी र निजी सम्पत्तिमाथि हुने क्षतिको सूचना कतैबाट पनि अग्रिम प्राप्त गर्न नसक्नु सरकारी संयन्त्रको ठूलो कमजोरी हो। शान्तिपूर्ण आन्दोलनमा हिजोआज चारैतर्फ घुसपैठ भएको कुरा सार्वजनिक हुन थालेका छन्। आयोजक जेनजी लिडर र तत्कालीन प्रधानमन्त्रीबाटै घुसपैठको कुरा आएको छ। युवा विद्यार्थीको कार्यक्रममा षड्यन्त्र हुनु प्रहरीहरूसँग भएका हतियार खोसिनु, उनीहरूसँग नभएका हतियारबाट विद्यार्थीको हत्या भएको, आन्दोलनमा नकावधारी अपरिचित व्यक्तिहरूको व्यापक उपस्थित थियो भन्ने जस्ता कुरा सञ्चारमाध्यममा सुनिनु अत्यन्त दुःखद र गम्भीर विषय हो। सत्यतथ्य अनुसन्धान हुनुपर्छ।
३.अर्थतन्त्र बचाउन र बढाउन नसके राज्यको अवस्था कस्तो होला? लामो संघर्ष र बलिदानले प्राप्त नेपालको संविधान भूकम्प र संविधान जारीलगत्तै अघोषित नाकाबन्दीको सामना गर्दै गाउँगाउँसम्म भौतिक पूर्वाधारका रूपमा कार्यालय, बाटो, बिजुली, खानेपानी र प्रविधिको व्यापक वृद्धि विकाससँगै प्राविधिक र सीपमूलक स्कुलको स्थापना मनग्य भएको देखिन्छ। पर्यटन प्रवर्द्धनका लागि आवश्यक काम सुस्त गति भए पनि हुँदै गरेको देखिन्थ्यो तर युवाको चाहनाअनुसार छिटो र पारदर्शी भएन। हाम्रो सामु ठूलो चुनौती देखा पर्दै छ राष्ट्र निर्माणमा प्रमुख टेवा पु¥याउने स्थायी क्षेत्रमा पर्यटन पर्छ तर देशमा अशान्ति मच्चाइरहने हो भने पर्यटक आउँदैनन्।
जेनजी पुस्ता आफूप्रति इमानदार तथा भविष्य र राष्ट्रप्रति जिम्मेवार पुस्ता हो। जेनजीले संविधानको विश्वास गर्छ, लोकतन्त्र र गणतन्त्रलाई विश्वास गर्छ, लुटपाट र आगजनीले अर्थतन्त्रलाई कमजोर बनाउँछ भन्ने बुझेको छ। दलहरू खराब छैनन्। दलभित्रका केही पात्र खराब छन्। ती खराब पात्रबाट राष्ट्र अगाडि बढ्न सक्दैन भन्ने कुरा बुझेको छ। राष्ट्रिय हितका निम्ति सबै गोलबद्ध भएर हातमा हात, साथमा साथ हुनुपर्छ। भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दका विरुद्ध जायज मागहरू लिएर शान्तिपूर्ण आन्दोलन निस्किएको जेनजी पुस्ताको काँधमा चढेर देशमाथि गरिएको आक्रमण सामान्य रूपमा लिन सकिँदैन। हाम्रो लोकतन्त्रको जग कमजोर छैन। कुनै पनि बाह्य शक्तिले यसलाई ढाल्न सक्दैन।