
नेपाली साहित्यमा यात्रा संस्मरण विधा (जसलाई नियात्रा पनि भन्ने गरिन्छ) को प्रमुख स्थान रहेको छ। देशविदेशका विभिन्न दर्शनीय स्थलको भ्रमणका अवसरमा प्राप्त गरेका अनुभव र अनुभूतिलाई निजात्मक शैलीमा लेखिने गद्य निबन्ध नियात्राको नामले प्रख्यात भएको छ।
राणा प्रधानमन्त्री जंगबहादुरले गरेको पहिलो बेलायत यात्रा(१८५०-१८५१) पछि लेख्न सुरु गरिएको मानिने यात्रा संस्मरण विधाले ताना शर्माको ‘बेलायततिर बरालिदां'(१९७०) सम्म आइपुग्दा यसले आफ्नो विधागत महत्त्व स्थापित गरिसकेको छ। १९७० देखि हालसम्म नेपाली नियात्रा लेखनको गति तीव्र हुँदै गएको देखिन्छ। विदेशमा बस्ने, अध्ययन गर्ने वा कामका लागि जाने क्रम बढेपछि देशविदेशका धेरै स्थानको भ्रमण गर्ने व्यक्तिहरूको संख्या पनि दिनानुदिन बढ्दै छ। भ्रमणपछि आफ्ना अनुभव समेटेर लेख्ने लेखाउने क्रम पनि बढ्दै गएको छ। नियात्रा साहित्यले घुमेको, देखेको भोगेको, अनुभव र अनुभूति गरेका विषयभित्र पाठकलाई गहिराइसम्म पुर्याउन सक्ने क्षमता राख्ने मान्यताअनुरुप पाठकलाई नियात्रामा आकर्षित वा सम्मोहित वा मनको गहिराइसम्म पुर्याउन सक्नुपर्ने हुन्छ। यसर्थ निजात्मक अनुभूतिलाई लालित्यपूर्ण तवरमा प्रस्तुत गर्न सक्नु नै एक सफल नियात्राकारको सफलता मानिन्छ।
यसै पृष्ठभूमिमा साहित्यकार मनहरि खड्का ‘मनोहर’ को एक यात्रा संस्मरणात्मक कृति ‘हलाल राइस'(२०८२) प्रकाशन भएको छ। यो आलेखमा सोही कृतिका विविध पक्षबारे संक्षेपमा चर्चा गरिनेछ।
सानैदेखि साहित्य संगीतप्रति रुचि भएका खड्का युवावस्थादेखि लोकसंगीतका मूर्धन्य कलाकार पाण्डव सुनुवार, कवि लेखक गोविन्द गिरि प्रेरणा आदिसँगको संगतमा साहित्यिक सिर्जना गरे पनि प्रकाशमा भने ल्याउन सकेका थिएनन्। नेपाल सरकारको प्रशासन सेवामा तीन दशकभन्दा बढी समय व्यतित गरेर सेवा निवृत्त भएपछि पुन: साहित्य सिर्जनामा फर्किएका छन् उनी।
फलस्वरूप, २०८१ सालमा उनका चार साहित्यिक कृतिहरू ‘आमा’ (कविता संग्रह), ‘भियतनामी साथी'(लघु उपन्यास), ‘दिल्लीको सेरोफेरो'(यात्रा संस्मरण) र ‘हिंडने रुख'(संस्मरण कथा) प्रकाशित भए। २०८२ सालको साउनमा उनको ‘हलाल राइस’ कृति प्रकाशित भयो। १७४ पृष्ठको यो कृतिमा १७ वटा यात्रा संस्मरण समाविष्ट छन्। यस पुस्तकमा सरकारी कामको सिलसिला वा निजि तवरमा गरिएका नितान्त व्यक्तिगत भ्रमण वा यात्रा गरिएका ८ मुलुकको भ्रमणको यात्रा संस्मरण संगृहीत छन्। यसभित्र जापानको चार, चीनको चार, भारतको एक, अमेरिकाको तीन, जर्मनीको एक, श्रीलंकाको एक, फिलिपिन्सको एक र दक्षिण कोरियाको दुई यात्रा वृत्तान्त छन्। ‘यात्रा संस्मरण विचार र अनुभवको अमर्त्य स्वरुप’ भएकाले यो विधामा कलम चलाएको लेखकको भनाइ छ। विधाका हिसाबले ‘हलाल राइस’ उनको दोस्रो यात्रा संस्मरणात्मक कृति हो।
सुरुमा शाब्दिक पक्ष तर्फ हेर्दा ‘हलाल राइस’ मा प्रयुक्त शब्द ‘हलाल’ अरबि भाषाको सामान्य अर्थ ‘पवित्र’हो। यसको विपरीतार्थकका शब्दका रुपमा ‘हराम’(अपवित्र)प्रयुक्त गरिन्छ।पुस्तकको शीर्षकको अर्को शब्द अग्रेजी भाषाको ‘राइस’ रहेको देखिन्छ जसको अर्थ ‘चामल’ वा ‘भात’ हुन्छ। पुस्तकको शीर्षक नै अरबी र अंग्रेजीको समिश्रणबाट बनेकोले कौतूहलपूर्ण छ।
सरकारी सेवाका क्रममा प्राप्त अध्ययन, तालिम, सेमिनार, बैठक आदिमा सहभागी हुन विदेश भ्रमण गर्न प्राप्त अवसरको सदुपयोग गर्दै लेखकले सीमित समयमा आफूले पाएको ज्ञान, अनुभव र अनुभूतिहरूलाई इमानदार रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छन्। यस्ता अवसर पाउने सरकारका अधिकारीहरूको संख्या कम नभए पनि समाज र राष्ट्रका निमित्त उपयोगी कृति सिर्जना भने कमैले मात्र गरेका छन्।
पूर्वप्रशासक एवं सर्जक मनहरि खड्का भने आफ्नो सेवा निवृत्त जीवनमा विगतका विलुप्तप्राय स्मृतिहरू समेट्दै आफूले विचरण गरेका देश र स्थानहरूको रोचक तवरमा कथात्मक शैलीमा भोगिएका घटना वा भेटिएका कतिपय पात्रहरूसंग साक्षात्कार गराउन सफल छन्।
सार्वजनिक सेवा निवृत्त जीवनमा कतिपय मानिसहरू विगतको पदको अहम, रोब र ताप पालेर बस्ने र सदैव पदमुखी बनेर ढोकाढोका धाउने प्रवृत्ति यद्यपि नदेखिएको होइन। मनोहर भने आफ्नो सेवानिवृत्त जीवनलाई सिर्जनात्मक कार्यमा व्यस्त राख्दै समाजमा सकारात्मक सन्देश दिइरहेका छन्। यसको ज्वलन्त उदाहरण उनका २०८१/८२ सालमा प्रकाशित कृतिहरूले दिएका छन्। आफूले हासिल गरेका ज्ञान र अनुभवहरू भविष्यका निम्ति अभिलेखवद्ध गरेर राख्दिने उद्देश्यले यस प्रकारको लेखनमा सक्रिय छन्। उनको यस प्रकारको सक्रियता उनी जस्तै सेवा निवृत्तहरूको निमित्त पनि अनुकरणीय हुनेछ।
‘हलाल राइस’का विविध स्वाद
जापान : जापानको तीन पटकको भ्रमणको इतिवृत्तान्त रहेको यो कृतिको थालनी ‘जालमा भोकै यात्रा’ बाट हुन्छ। जापान जाने क्रममा जापान एयरलाइन्स (जाल)को विमानको उडानमा ‘निदाएकोले’ जापानी संस्कृति बमोजिम सुतिरहेका व्यक्तिलाइ उठाउन नहुने मान्यता बमोजिम एअर होस्टेसले नउठाएको हुँदा यात्रा अवधि भर भोकै रहनु परेको घटना अविस्मरणीय छ।
जापान सम्बद्ध अर्को संस्मरण ‘अकिरासँग अन्तिम भेट’ मा एक जापानी युवतीसँगको भेटमा आफूले सामान्य शिष्टाचार समेत देखाउन नसकेकोमा आफ्नो ‘अपरिपक्वता’ ले नेपाल र नेपालीको नाममा नकारात्मक भावना तिनमा अंकुरण भयो कि भन्ने संशय अनुभव गर्दछन्। लेखक विश्वमा जापानीहरूको आफ्नै पहिचान रहेर पनि ‘उनीहरूमा देखिने पश्चिमा मोह उदेकलाग्दो र विडम्बना पूर्ण’ लागेको हुन्छ। पश्चिमा संगीत, सिनेमा र फेसन आदिको नक्कल गर्नुलाई गौरव गरेको देख्दा सभ्यता र संस्कृतिले भरिपूर्ण जापान र जापानीहरू किन यस्ता भएका होलान् भनेर सोच्न पुग्दछन्।
आठ हप्ताको अर्को एक तालिमका क्रममा जापानमा रहँदाको संस्मरण हो ‘माउन्ट फुजिसान’। दुई महिना अवधिमा जापान जस्तो समृद्ध इतिहास, सभ्यता, संस्कृति र आधुनिक विकासको चरमबिन्दुमा पुगेको देशका ऐतिहासिक, प्राकृतिक स्थानहरू भ्रमण गर्न वा जापानका विविध पक्ष र विषयहरू हेर्न, बुझ्न सम्भव हुने कुरा होइन। तथापि सप्ताहान्तको बिदा उपयोग गरी गरिएको घुमफिरको विवरणले जापानको संस्कृति, जनजीवन, त्यहाँको उच्च आर्थिक-भौतिक विकास मात्र होइन अणुबमबाट क्षतविक्षत भएर पनि आफूलाई खरानीबाट उठाएर विश्वसामु आर्थिक रुपमा एक सशक्त राष्ट्रको रुपमा पुन:स्थापना गर्न सफल भएको देश र जनताको उत्प्रेरणात्मक गौरवमय इतिहास बोध गराउछन् यी नियात्राहरूले। जापानका प्रख्यात सहरहरू क्योटो, नागोया, हिरोसिमा आदिको यात्रा विवरण मार्फत जापानको इतिहास र वर्तमानसँग साक्षात्कार गराउँछ। दोस्रो विश्वयुद्धको त्रासद बिम्ब बनेको हिरोसिमास्थित मेमोरियल पार्क भ्रमण गर्दाको अनुभूतिले युद्धको विभीषिकासँग सादृश्य गराउँछ।
थाइल्यान्ड : थाइल्यान्ड सम्बद्ध एक मात्र नियात्रा शीर्षक ‘हलाल राइस’ बाट नै पुस्तकको पनि नामकरण गरिएको छ। तालिम कार्यक्रमका क्रममा खोनकायन नामक सहरमा रहँदा संगालेका अनुभवहरूको प्रस्तुति यसमा छ। कार्यक्रमका सहभागीका देशका विशिष्ट जानकारी र विविध धर्म सम्प्रदायका व्यक्तिको बानीव्यहोरा, आचरण, खानपिन, भाषासंस्कृतिमा रहेको विविधता बारे लेखकले बुझ्ने अवसर पाएका छन्। व्यंग्यात्मक रुपमा होस् वा जानिजानी भातलगायत सबै खानेकुरामा ‘हलाल’ भनी ट्याग राखिएको सानो देखिने घटनाभित्र पनि एक गुढ रहस्य लुकेको प्रतीत हुन्छ। यही घटनाले विविध धर्मावलम्बीबीच खानपान, भाषा, भेषभूषा आदि जीवनपद्धतिमा भिन्नता हुने तर एक अर्काप्रति देखाउनु भने सदभाव र सहिष्णु व्यवहार भने एकै हुने बोध गराएको छ।
चीन : लेखकले चीनको चार पटक भ्रमण गरेकोमा चीन सम्बद्ध पहिलो यात्रा संस्मरण हो- ‘संसारको छानोबाट देखेको समुद्र’। यसमा चीनको ल्हासा र सोही सहरको निकट रहेको नाम्त्सो नामक विशाल तलाउ भ्रमणको वर्णन गर्ने क्रममा लेखक तिब्बतमा चीनले हासिल गरेको भौतिक प्रगति र त्यहाँको प्रकृतिको मनोरम छटाको राम्रो चित्रण गर्दछन्। ‘कुनमिङ विमानस्थलमा आइपरेको झमेला’ नामक यात्रा संस्मरणमा आफ्नो चीन भ्रमणको विविध अनुभूति सँगालेका छन्। यसमा उनले चीन र चिनियाँ जनजीवन, त्यहाँको संस्कृति र सभ्यताको उजागर गरेका छन्।
आफू सरकारी कर्मचारी भएर पनि विदेश यात्रामा जाँदा राहदानीको म्याद न्यूनतम ६ महिना रहनुपर्ने प्रावधानप्रति अनभिज्ञ रहँदा चिनियाँ विमानस्थलमा खेप्नुपरेको सास्तीले उनलाई राम्रै पाठ पढाएको छ। सन् २०१२ को जुनमा मध्यवर्ती भूभागमा अवस्थित सहरको भ्रमणका अनुभव समेटिएको अर्को चीन सम्बद्ध यात्रा संस्मरण हो – ‘सेन्ट्रल चाइना भ्रमण’। चीनको हुनान र हवें प्रान्तहरूको भ्रमणका क्रममा चीनले छोटो अवधिमा हासिल गरेका आर्थिक विकास, चिनियाँ आतिथ्य, संस्कृति, लवाइखवाइ आदिको सजीव चित्र कोरिएको छ। विश्वकै सबैभन्दा ठूलो जल विद्युत् परियोजना थ्री गर्जेजको वर्णन छ।
‘बेइजिङमा नेपाली सान : श्वेत चैत्य’ शीर्षकको अर्को चीनसम्बन्धी संस्मरणमा चीनको राजधानी बेइजिङमा भएको ५ दिने अध्ययन भ्रमणका क्रममा तियानमेन स्क्व्यायर, फर्बिडन सिटी, ग्रेटवाल र चीनको आर्थिक-भौतिक प्रगतिका विविध पक्ष देखाउने प्रयास गरिएको छ। त्यहाँको अभूतपूर्व प्रगति देखेर लेखक विदेशमा देश सम्झन्छन् र आफ्नो देश भने पिछडिएकोमा दु:खी हुन्छन्। १२औँ शताब्दीमा चीन पुगेका प्रसिद्ध नेपाली कलाकार अरनिको (चिनियाँ ‘आनिको’) ले बनाएको श्वेतचैत्यको भ्रमण गर्दाका अनुभूति समेटिएका छन्।
भारत : पुस्तकमा भारत भ्रमणका दुई प्रसंग छन्। ‘कोलकाताको काली मन्दिर’ शीर्षकको यात्रा संस्मरण झट्ट हेर्दा भारतको कोलकातास्थित प्रख्यात काली मन्दिरको दर्शनबारे मात्र लेखिएको होला भन्ने लाग्दछ तर यसमा कोलकाता हुँदै फिलिपिन्सको राजधानी मनिला र फर्किने क्रममा ट्रान्जिटमा रहँदा गरिएको कोलकाता र सिंगापुरको वर्णन छ। यो संस्मरणले नेपालको प्रशासनिक र कूटनीतिक हचुवापनको दयनीय अवस्थाप्रति इंगित गर्दछ। वैदेशिक सहयोग सम्झौता (नेगोसिएसन) सम्बन्धी बैठकमा सहभागी हुन एक दिनको अवधिमा तयारी गरेर जानुपर्ने अवस्थाले नेपालको नेगोसिएसन स्तर, काजगातसमेत प्लेनमा पढेर जानुपर्ने अवस्था, उच्च तहको वार्ता र सम्झौतामा हुने सतही र स्तरहीन गृहकार्य र तयारीमा हुने गरेको नेपालको कमजोर पाटोलाई उजागर गरिएको छ। गम्भीर राष्ट्रिय महत्त्वको कार्यमा पनि हचुवा तयारी गर्ने प्रवृत्तिप्रति लेखक सचेत पार्दछन्।
भारतका उत्तरी क्षेत्रका केही महत्त्वपूर्ण स्थलको भ्रमण गरी लेखकले यसपूर्व नै ‘दिल्लीको सेरोफेरो’(२०८१) नामक कृति प्रकाशित गरिसकेको परिप्रेक्ष्यमा दक्षिण भारत हेर्ने, घुम्ने र अनुभव बटुल्ने मनसायले एक साथीसँग दक्षिण भारतका विभिन्न धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलहरूको भ्रमणका अनुभूति सँगालेर ‘लहडै लहडमा दक्षिण भारत यात्रा’ शीर्षकमा नियात्रा लेखेका छन्। दक्षिण भारतको खानाको अनौठा स्वाद चाख्दै दक्षिण भारतका प्रख्यात स्थलहरू मैसुर, उट्टी, कोदाइकेनल, मदुराई, कोइमबटोर, रामेश्वरम, कन्याकुमारी, चेन्नई भ्रमण गर्दाको वृत्तान्त हो यो। तामिलनाडुस्थित विश्वविख्यात तिरुपति बालाजी मन्दिरको दर्शन गर्न ६/७ घण्टा पर्खिँदा पनि पालो नआएकोले बिहानै फ्लाइट भएका कारण दर्शन गर्न नपाई फर्कनुपरेको खल्लो अनुभूति मात्र छैन भ्रमणका क्रममा भेटिएका नेपालीसँग आत्मीयता साटन पाएको खुसी छ भने कतिपयका दयनीय अवस्था देख्दा दु:खी हुन्छन्।
दक्षिण कोरिया : कोरियन युद्धले कोरियाली जनता बीच कोरेको विभाजन रेखा, त्यसले सिर्जना गरेको पिडा देखि कोरियाका विविध पक्षहरू, खानाको विविध परिकार र स्वाद जस्तै किमचि आदिको वर्णन त छँदै छ, एक प्यालेस्टिनीले तालिमका क्रममा गरेको दुर्व्यवहार देखेर ‘सबै प्यालेस्टिनी’ त्यस्तै हुने जस्तो भाव लेखकमा विकसित हुन पुगेको प्रसंग छ। व्यक्ति-व्यक्तिबीच व्यवहारमा फरक हुने र एउटा मान्छेको व्यवहारले सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्न सक्दैन भन्ने तथ्यतर्फ लेखक सजग हुनुपर्ने देखिन्छ। दोस्रो पटकको दक्षिण कोरियाको भ्रमणको वर्णन ‘भोकले गराएको सम्झौता’ मा कोरियाको इतिहासदेखि कोरियन आनीबानी, संस्कार, संस्कृतिबारे बोध गर्न सकिन्छ। कोरियाको विकास संस्कार र सभ्यताको भने विकास हुन अझै बाँकी रहेको घटना पनि उल्लेख गरेका छन्। कोरिया सम्बद्ध अर्को यात्रा संस्मरण ‘आधुनिक कोरियाका आर्किटेक्ट’ मा दक्षिण कोरियाको समग्र आर्थिक उन्नति गरेर देशलाई केही वर्षमा नै कायापलट गर्न सक्षम नेतृत्वका प्रेरणादायी प्रसंग संगालिएका छन्।
अमेरिका : लेखकले आफ्ना सन्तान भेट्न जाँदा अमेरिकाको भ्रमण गर्दा संगालेर लेखिएको भ्रमण-वृत्तान्त हो-‘प्राकृतिक पर्व: फल सिजन’। अमेरिकामा पनि नेपाली आपसमा विभक्त भएर मनाइएको इन्द्रजात्राको माहौल होस् वा कलेज पढ्दाका साथी साहित्यकार गोविन्द गिरी प्रेरणासँग भेट्दाको आत्मीय प्रसंग होस् वा अमेरिकामा रहेका भुटानी शरणार्थीको अवस्था होस् लेखकले आफूले अनुभूत गरेका विषय उल्लेख गरेका छन्। ‘फल सिजन’(पतझड ऋतु) उत्तर अमेरिकाको हेर्न लायक मौसम हो। यसैले लेखकले त्यहाँको पतझड मौसम, जनजीवन र संस्कृतिबारे सविस्तार लेखेका छन्।
सपरिवार नायग्र फल्स(नायग्रा झरना) भ्रमणको गर्दाको अनुभूति पनि रोमाञ्चक छ। अमेरिका बसाइमा लेखकले अमिश नामक जाति बस्ने गाउँको यात्रा गरेर लेखेको ‘अमिश भिलेज’ शीर्षकको यात्रा संस्मरणमा आधुनिक प्रविधिको प्रयोग नगरी जीवन निर्वाह गर्ने अमिश जातिको पुरानो ऐतिहासिक गाउँको वृत्तान्तले अमेरिकामा विविध जात, धर्म र संस्कृति रहेको बोध गराउँछ। यस्तै अमेरिकाका वासिङ्टन, न्युयोर्क आदि सहरको विभिन्न स्थानको अवलोकनका विवरण पनि पठनयोग्य छन्। ‘अमेरिका भ्रमणका तीता-मिठा यादहरू’ मा अमेरिकाको बसाइ सकेर फर्किदा त्यहाँको विमानस्थलमा दुर्व्यवहार भोग्नुपरेको नमिठो अनुभूतिले उनलाई नेपालीको पहिले रहेको नाम, सान, गौरव र इज्जत कतै क्षयीकरण हुँदै गएको त होइन भन्ने अनुभूति दिलाउँछ।
जर्मनी : ‘हावा मिलको टुप्पोमा अलपत्र’ शीर्षकको यात्रा निबन्धमा जर्मनीको अध्ययन भ्रमणका क्रममा घटित घटनाहरू उल्लेख गरिनुका साथै जर्मनीको नमुनायोग्य नवीकरणीय ऊर्जाको स्रोत विन्ड टर्वाइन (हावा मिल) को स्थलगत भ्रमण गर्दा टर्वाइनको शीर्ष स्थानमा पुगेर फर्कने क्रममा लिफ्ट नचल्दा पाएको सास्तीको विवरण रहेको छ।
श्रीलंका : ‘श्रीलंकामा पाँच दिन’ मा श्रीलंका भ्रमणमा अनुभूत गरिएका विषय, श्रीलंकाको तत्कालीन राजनीतिक, सामाजिक आर्थिक अवस्था आदि बारे विस्तृत रुपमा लेखिएको छ। श्रीलंकाका कोलम्बो, क्यान्डी आदि सहरहरूको भ्रमण, त्यहाँको बहुसंख्यक जनसंख्या बुद्ध धर्मावलम्बी भएको, चोकचोकमा बुद्धको सालिक र तस्बिर रहेको आदि प्रसंग, बहुमूल्य पत्थर (जेम्स र स्टोन) र चियाको निमित्त रहेको विख्यातिबारे रोचक तथ्यसहित वर्णन गरिएको छ। भगवान् बुद्धको दाँत रहेको विश्वास गरिएको ‘टेम्पल ओफ ट्रुथ’ भ्रमण तथा त्यहाँका अन्य महत्त्वपूर्ण पर्यटकीय, ऐतिहासक, धार्मिक र प्राकृतिक सुन्दरताको उल्लेख छ।
उपसंहार
‘हलाल राइस’ (यात्रा संस्मरण वा नियात्रा जे भने पनि) विश्वका आठ प्रमुख देसहरूको भ्रमणका क्रममा हासिल गरिएका अनुभव र अनुभूतिको विविध स्वाद र त्यहाँका विशिष्टताहरूसँग परिचित गराउने एक महत्त्वपूर्ण नियात्रा कृति बन्न सफल छ। सुस्पष्ट लेखन, सहज र सरल भाषा तथा वाक्य विन्यासले विषयवस्तु र सम्प्रेषण गर्न खोजिएको संदेशलाइ पठनीय र बोधगम्य बनाएको छ।भोगाइ र अनुभूतिको इमानदार एवं यथार्थ अभिव्यक्ति गरिएको एक सुन्दर कृति नेपाली साहित्य भण्डारले पाएको छ।
यो पुस्तक दृश्यात्मक अभिव्यक्तिको एक उदाहरण बन्न सफल लाग्दछ। लेखक जुन शैलीमा विदेशका विभिन्न देश, सहर, व्यक्ति, संस्कार, संस्कृति आदिको चित्र कोर्दछ्न् तिनले पाठकलाई स्वयं ती स्थानहरू आफैँ भ्रमण गरेको अनुभूति दिलाउँछ। त्यस्तै लेखक विदेश भ्रमणमा रहँदा देशको पीडा सम्झेर आफूलाई झक्झकाउँछन् भने विदेशमा रहेका नेपालीको सुखदुख र तिनको अवस्था बारे पनि लेख्न छोड्दैनन्।
भ्रमण गरिएका स्थानहरूको इतिहास, समाज, व्यक्ति, संस्कार, संस्कृति, सभ्यताको विशद चित्रण गर्नु पुस्तकको अर्को विशिष्टता हो। त्यस्तै, पुस्तकका अन्त्यमा राखिएका तस्बिरहरूले नियात्रामा इंगित गरिएका स्थान र पात्रहरू बुझ्न सघाउँछ। भिन्नभिन्न देश, संस्कृति, सभ्यता, इतिहास, प्रकृति, मानिस र तिनका आनीबानी आदि विविध विषयहरूको रसास्वादन गराउँछ। नि:सन्देह, सार्वजनिक सेवामा तीन दशकभन्दा बढी समय बिताएर सेवा निवृत्त जीवनमा साहित्य साधनामा रमाइरहेका सर्जक खड्काको यो पुस्तक नेपाली नियात्रा साहित्यको क्षेत्रमा एक सशक्त कृतिका रुपमा रहनेछ। उनको यस प्रकारको सिर्जनात्मक सक्रियता सबै सेवा निवृत्तहरूका निमित्त प्रेरणादायी हुने विश्वास गर्न सकिन्छ।
यस कृतिमा लेखकले एक अत्यन्त संवदनशील तथ्यप्रति ध्यानाकर्षण गराएका छन्। विदेशमा हुने महत्त्वतपूर्ण र उपयोगी भ्रमण वा तालिम लिएर नेपाल फर्केपछि सम्बन्धित उच्चतहमा हासिल गरिएको ज्ञान, सूचना र जानकारीसहितको प्रतिवेदन पेस गर्दा त्यस्ता प्रतिवेदनलाई कसैले गम्भीरतापूर्वक लिने नगरेको र यत्तिकै थन्क्याउने गरेको नमिठो अनुभूति लेखकको मात्र होइन, अरु धेरैको पनि छ। विश्वका विभिन्न देसहरूमा अध्ययन तालिममा गएर फर्किएका कर्मचारी वा विद्यार्थीले पेस गरेको प्रतिवेदनका केही अंश मात्र पनि गम्भीरतापूर्वक अध्ययन गरिएको भए र ती देशका राम्रा अभ्यासका केही अंश भए पनि अनुशरण वा अबलम्बन गर्ने जमर्को मात्र गरिएका भए नेपालको सामाजिक-आर्थिक अवस्थामा सन्तोषजनक प्रगति हुने लेखकको को आसयलाई नकार्न सकिँदैन।
पुस्तक तयार पार्ने क्रममा छपाइमा देखिएका केही सामान्य कमीकमजोरी हटाउन र केही तथ्यगत त्रुटि कतैकतै देखिनुले कृतिको ओजलाई केही दुर्बल बनाए पनि आगामी संस्करणमा लेखकको अवश्य ध्यान पुग्ने नै छ। जस्तै- नेपालस्थित अमेरिकी दूतावास भिसा सेक्सन बन्द’ गरिएको भन्ने प्रसंग वा सोह्रौँ शताब्दीमा युरोपबाट पलायन भएर अमेरिका पुगेका आमिश जातिलाई ‘अमेरिकाको आदिवासी रैथाने जाति’ भनेर उल्लेख गरेका विषय त्यसप्रति लेखले सजगता अपनाउनुपर्ने नै छ। यी र यस्ता केही सामान्य कमजोरीबाहेक सारांशमा मनहरि खड्का ‘मनोहर’ ले ‘हलाल राइस’ मार्फत नेपाली साहित्यको नियात्रा लेखन क्षेत्रलाई एक जोडदार कृति योगदान गर्नुभएकोमा द्विविधा नहोला।