संस्मरण

सम्झना बोस्टनको, स्पर्श महासागरको

विमल अधिकारी १८ असोज २०८२ २१:२३
10
SHARES
सम्झना बोस्टनको, स्पर्श महासागरको

सन् २०२३ मार्च १०-१२ सम्मका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पाँचौँ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन तय भएको थियो। कार्यक्रम स्थल थियो बोस्टनस्थित पशुपति बुद्ध मन्दिर। सम्मेलनमा ‘मनु ब्राजाकीको श्यामकहानी’ पुस्तकको लोकार्पण पनि गरिने भएकाले कार्यक्रममा मेरो उपस्थिति अनिवार्य थियो। त्यसमा पनि कोलोराडो च्याप्टरका तत्कालीन अध्यक्ष राजु सिटौलाले अनुरोध गरिसकेपछि नाइँ भन्नै सकिनँ। जाने निर्णय गरेँ। दुईतीन महिनाअघि नै चार दिनका लागि काममा छुट्टी मिलाएँ।

चार सय डलरमा डेल्टा एयरलाइन्सको हवाई टिकट मिल्यो। उडान समय थियो- मार्च १० शुक्रबार साढे १० बजे। कोलोराडोस्थित मेरो निवासबाट विमानस्थलसम्म जानका लागि चिनजानका उबरलाई मैले पहिल्यै अनुरोध गरेको थिएँ। उबरचालक ८ः३० मा घरमा आए।

म साढे ९ भित्रै डेन्भर इन्टरनेसनल एयरपोर्टमा पुगेँ। विमानस्थलमा लाम र भीड त हुने नै भयो। विमान उड्न केही ढिलाइ पनि भयो। विमान उड्न ढिला हुँदा एक प्रकारको छटपटी भए पनि कार्यक्रममा हिँडेका अर्को टोली त्यही उडानमा भेटेपछि मलाई निकै सहज अनुभव भयो। उहाँहरू हुनुहुन्थ्यो- वासुदेव खनाल दम्पती र विजयदेव अधिकारी दम्पती। उहाँहरूले खाजा मात्र खुवाउनुभएन, गन्तव्यसम्म पुर्‍याउने भरोसा पनि दिनुभयो।

विमानबाट बादलमाथिको दृश्यावलोकन गर्दै र निदाउँदै यात्रा गरियो करिब ३ घण्टा। बादलमाथि उड्दा बेग्लै संसारमा पुगेजस्तो लाग्थ्यो। बोस्टन एयरपोर्ट पुग्दा झमक्क साँझ परेको थियो। एयरपोर्ट अवतरण गर्न लाग्दा त्रास र आनन्दको अनुभव भयो। अवतरणका क्रममा समुद्रैसमुद्र देख्दा डर लागेको थियो भने विशाल एयरपोर्टको झिलिमिलीले मन आनन्द भयो। घरैघरैका छेउमा समुद्र, बिचमा समुद्र, बस्तीका छेउमा समुद्र, घरका छेउमा समुद्र। यस्तो दृश्य मेरा लागि पहिलो थियो।

बोस्टन एयरपोर्टलाई बोस्टन लोगेन एयरपोर्ट भनिँदो रहेछ। त्यहाँ हामीलाई लिन राजन थापा आउनुभयो वासुदेव खनालको अनुरोधमा। उहाँले हामीलाई सहज रूपमा बोस्टनस्थित पशुपति बुद्ध मन्दिरमा पुर्‍याउनुभयो। हेटौँडा घर भएका थापाजीले हामीलाई ठूलो गुन लगाउनुभयो त्यस दिन।

हामी कार्यक्रम स्थलमा पुग्यौँ। अनेसासकी महासचिव विमला निरौलाले स्वागत गर्नुभयो। ढाका कपडाको खादाले स्वागत गर्दा मैले पर्दैन भनेँ। फेरि अन्यले अनुरोध गरेकाले लगाएँ। किनभने मैले त्यसरी कहिले खादासहित स्वागत पाएको थिइनँ।

खाना खाइसकेपछि हामी सांस्कृतिक कार्यक्रममा सहभागी भयौँ। मैले केहीबेर कृष्ण धरावासीसँग भलाकुसारी गर्ने मौका पाएँ। सँगै बसेर तस्बिर कैद गरेँ।

हामी होलिडे इन एक्प्रेस साउथ बोस्टन होटलमा बसेका थियौँ। पहिलो रात एउटै कोठामा ४/५ जना मिलेर बस्यौँ। होटल सुविधासम्पन्न थियो। केही साथीहरूले दारुपानी पनि पिए। भोलिपल्ट बिहान ८ बजे ब्रेक फास्टको व्यवस्था हुने रहेछ।

उक्त होटलमा बस्दाको एउटा रोचक घटना मेरो मानसपटलमा ताजै छ। रातको साढे १० बजेको थियो। सबैजना निदाउने सुरसारमा थिए। एक्कासि आपत्कालीन साइरन बज्यो। अमेरिकामा होटलमा आगलागी भएमा त्यसरी साइरन बज्छ। मलाई २०७२ साल वैशाख १२ शनिबारको सम्झना दिलायो। सबैजना कोठाबाट निस्किए। म पनि हाफपाइन्ट र गन्जी लगाएर निस्किएँ होटलपछाडिबाट। अरू पनि त्यसरी नै भागाभाग गरिरहेका थिए। दमकल आयो। लिफ्ट तातेपछि आपत्कालीन साइरन (घन्टी) बजेको रहेछ। होटलमा आगलागी हुने संकेत पाएर चौथो तलादेखिका मान्छे भागाभाग गरेका थिए। हामी साढे ११ बजेपछि होटलमा फर्कियौँ। थाकेकाले भुसुक्क निदाइएछ।

भोलिपल्ट सम्मेलनमा सहभागी भयौँ। पहिलो दिन उद्घाटन कार्यक्रम र कार्यपत्र प्रस्तुति थियो। ह्यारी भण्डारी, शान्ता चौधरी, नारायण श्रेष्ठको उपस्थितिले कार्यक्रमको ओज बढेको अनुभव भयो। समारोहमा ‘श्यामकहानी’ विमोचन गराएँ। बिक्रीवितरण गरेर केही रकम सङ्कलन गरेँ। अधिकांशले किताब किन्न आनाकानी गरेका थिए। तैपनि ५ सय डलरको पुस्तक बिक्री हुँदा मन प्रफुल्ल भयो। पशुपतिको यात्रा सिद्राको व्यापार भनेजस्तै भयो मेरा लागि त्यो कार्यक्रम।

समारोहमा राजनीतिशास्त्रका एकजन गुरु धर्मप्रसाद कोइराला र पाटन संयुक्त क्याम्पसमा मानवशास्त्रका सहपाठी नवीन शर्मासँग भेट भयो। कोइराला गुरुलाई ‘श्यामकहानी’ उपहार दिएँ। उहाँ खुसी हुनुभयो। टेक्सस निवासी खेमराज पोखरेल सरलाई समीक्षार्थ एक प्रति थमाइदिएँ।

भोलिपल्ट कवितावाचनलगायतका कार्यक्रम थिए। कोलोराडो च्याप्टरले सर्वोत्कृष्ट कार्यसम्पादन पुरस्कार पाएको थियो।

कार्यक्रम चलिरहँदा मलाई भने महासागर हेर्ने हुटहुटी थियो। दिउँसो २ बजिसकेको छ। कार्यक्रम बीचमै छाडेर हिँड्न पनि त मिलेन। धैर्य गरेर समय बिताएँ। बोस्टन आएर पनि महासागर हेर्न नपाइने चिन्ता थियो। सोमबार बिहान साढे ७ बजे कोलोराडो फर्कनुपर्ने थियो। त्यसैले महासागर पुगी जलस्पर्श गर्दै पृष्ठभूमिमा महासागर राखी तस्बिर खिचाउने तीव्र चाहना थियो।

हेटौँडा घर भएका सर्लाहीका चेली बिहे गरेका गौरव थपलिया आउनुभयो। उहाँले पशुपति-बौद्ध्र मन्दिरको मोरगज (किस्ता) चेक बोक्नुभएको थियो। मन्दिरमा किस्ता तिर्ने उनको पालो रहेछ। तिनै थपलिया अग्रजले मलाई एटलान्टिक महासागर पुर्‍याउने वचन दिनुभयो। त्यहाँबाट नजिकै रहेछ समुद्र।

हाम्रो कारयात्रा सुरु भयो महासागरको तटमा रहेको हुल भन्ने स्थानका लागि। १५/२० मिनेट यात्रा गरेपछि एउटा बन्द गरिएको पुल देखियो। कार लामबद्ध थिए। पुल बन्द किन गरियो? मेरो जिज्ञासा थियो। पानीजहाज त्यही बाटो भएर जाने रहेछ। पानीजहाज अघि बढ्ने क्रममा थियो। मैले त्यो दृश्य पनि पहिलो पटक देखेको हुँ। १५/२० मिनेटपछि पुल खुल्यो। स्वचालित पुल देख्दा अचम्म लाग्यो। हावाबाट चल्ने इनर्जीका पंखा जडित थिए त्यहाँ। पानीजहाज अग्लो हुने भएकाले उक्त पुल बन्द गरिँदो रहेछ। पुल बल्क सिस्टम रहेछ। हामीले हुलस्थित महासागरमा गाडी पार्क गर्‍यौँ।

जीवनमा पहिलो पटक समुद्रको तटमा पुगेको थिएँ म। एटलान्टिक महासागरको दृश्य देख्दा अचम्म लाग्यो। समुद्रको भयंकर छालको तरंग देख्दा मन फुरुंग भएको थियो। बेग्लै संसारमा आएझैँ भएको थियो। त्यस्तो पानीको वेग, छाल, सुसाइरहेको, आवाज, तरंग मेरा लागि नौलो थियो। समुद्रको आवाज सुन्दा आतेस लाग्थ्यो। समुद्रको तटमा सुरक्षाका लागि सानो पर्खाल लगाइएको रहेछ। आँखाले हेरी नभ्याउने लम्बाइ र चौडाइ थियो महासागरको। महासागरको स्पर्शले मलाई अमेरिका पुगेपछिको एउटा महत्त्वपूर्ण रहर पूरा गरिदियो।

एटलान्टिक महासागर। तस्बिर : विमल अधिकारी

समुद्रको स्याँठका कारण धेरै बेर बस्न सकिएन। हुरी टोपी उडाउने खाले थियो। महासागर आइसकेपछि छालले चरणस्पर्श गर्नुपर्ने रहेछ। मेरा जुत्तामोजा भिजे। केही तस्बिर कैद नगरी चित्त बुझाउन सकिनँ। थपलिया दाइले मेरो मोबाइलमा तस्बिर कैद गरिदिनुभयो। जाडोले कामे तर पनि मलाई महासागरको स्पर्शले सम्पूर्ण भुलाइदियो।

पानीजहाज आउने समय भइसकेछ। पुलमा एकछिन अड्किएर फुत्किएर आई महासागर हेरेका थियौँ। हामी हतारिएका थियौँ। फर्कने क्रममा जाडोले खपिनसक्नुभएपछि हामी एउटा क्याफेतिर प्रवेश गर्‍यौँ। कफी/चियामा खासै रुचि थिएन। बाथरुम पुगेर फ्रेस भई गाडीमा आई बस्यौँ। ती दाइले कफीको चुस्की लिँदै पुल कटाउनुभयो। पुल नकटिएको भए एक घण्टा पुलमा चिसो खाएर बस्नुपर्थ्यो।

मलाई पशुपति बौद्ध मन्दिरमा छोडी थपलिया दाइ बिदा हुनुभयो। त्यो भ्रमणले मलाई बोस्टन यादगार गरिदियो। आइतबार काठमाडौँका विक्रान्त राणासँग परिचय भएको थियो। सोमबार १३ मार्चका दिन डेल्टाबाट डेन्भर फर्किनु छ। त्यसका लागि एयरपोर्टसम्म ड्रप गर्ने चाँजोपाँजो मिलाइयो राजु सिटौलामार्फत। राणा भाइ दुई पटक वचन दिएर बिदा भए। उनले ‘देशान्तर’ पत्रिका सञ्चालकको छोरो भनी परिचय दिएका थिए। कार्यक्रम सम्पन्न भएपछि हामी भोजन गरी होटलतर्फ लाग्यौँ। आइतबार १२ तारिखका दिन आगोमा सम्मेलन डीसी च्याप्टरमा हुने घोषणासहित कार्यक्रम सम्पन्न भयो।

सोमबार १३ मार्च, २०२३ बिहानै निद्राले छोड्छ। ५ बज्दा पूरा तयार हुन्छु। ७ः१५ को प्लेन चढ्नुपर्नेछ। ५ बजे आउँछु भनेको राणा भाइ साढे ६ सम्म पनि आउँदैनन्। फोनै उठाउँदैनन्। म पटकपटक होटलको कोठाबाट बाहिरभित्र गर्छु। राजु सिटौलामार्फत ती भाइलाई फोन गराउँछु। फेरि चौरमा गएर उसको प्रतीक्षा गर्छु। बोस्टनमा बस्नुपर्‍यो भने, प्लेन छुट्यो भने जस्ता कुरा मनमा खेलाउँछु। बल्लबल्ल विक्रान्त आइपुग्छन् ६ः४५ मा। भाइ मलाई ढुक्क गराउँछन्। हाँसीखुसी झिँजो नमानी एयरपोर्टसम्म पुर्‍याइदिन्छन्। झिसमिसेमा बोस्टनको झिलिमिललाई गोचर गर्दै केही व्यक्तिगत पृष्ठभूमि, नेपालको पृष्ठभूमिबारे भलाकुसारी गर्दै ७ बजे एयरपोर्ट गेटमा छोडी मलाई बिदा गर्छन् विक्रान्त। धेरै धेरै धन्यवाद भाइ भनेर म उनीसँग बिदा हुन्छु।

एयरपोर्टमा लामबद्ध थिए मान्छेहरू। मेरो पालो चाँडै आउँछ। म सोध्दै डेल्टाको गेट नम्बर १२ पुग्छु। ७ः१५ मा विमानभित्र पस्छु। विमानमा प्रवेश गर्ने पहिलो यात्री हुन्छु म।सम्पूर्ण शुभचिन्तकलाई प्लेनमा चढिसकेको जानकारी दिन्छु।

विमान समयमै डेन्भर अवतरण गर्छ। घर आई आराम गरी काममा जाने वातावरण बन्छ। उबर जसले मलाई ३० डलरमा पुर्‍याएको थियो, उसलाई मेसेज गर्दा एयरपोर्ट लिन आइपुग्छ। यसपटक खुसीले ४० डलर दिन्छु।

मलाई बोस्टन एकदम यादगार गराउँछ। समुद्रको माथिमाथि बाट प्लेनले भुइँ छाडेको समुद्रको बीचबीचमा सहर, प्लेनबाट हेर्दा सहर र प्रकृतिका सम्मिश्रण, काठे एकनासे घरहरू रमाइला क्षण थिए। ती दृश्य मोबाइलमा कैद छन्। समुद्रीतटका नीला दृश्य आदि रोचक मनमोहक लाग्थे। समुद्रकै छेउमा ठुला तालकै छेउमा बस्ती देख्दा आतेस र चिन्ता पनि तुल्याउँथ्यो।

साहित्यिक भेटघाट, ‘श्यामकहानी’ को विमोचन तथा बोस्टन भ्रमण र एटलान्टिक महासागर दर्शन मेरा लागि अमेरिकी जीवनको रोचक र स्मरणीय अनुभव हुन्। यात्रामा साथ दिने वासुदेव खनाल, विजयदेव अधिकारी, राजन थापा, गौरव थपलिया र विक्रान्त राणाको सहयोग भुल्न सक्दिनँ। हार्भर्ड विश्वविद्यालयलगायत बोस्टन सहरका अन्य स्थल घुम्न नपाएकोमा थकथकी लाग्छ।

हाल : कोलोराडो, अमेरिका

 

प्रकाशित: १८ असोज २०८२ २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast