तीनपाटन क्षेत्रको गीतसंगीत

ईश्वर पोखरेल १८ असोज २०८२ १७:०८
30
SHARES
तीनपाटन क्षेत्रको गीतसंगीत

लहरे गीत गाइन्थ्यो- तीनपाटनमा। लहरे गीत अर्थात् ‘लहरे वर, पातै फररर; झरेको कटर, कसले टिप्दैन र! कुरा बुझ्यौ, बुझिनौ?’ किसिमको गीत। गीतको खास सन्देश चैँ अन्तिम हरफमा रहने। गीतमा जवाफ फर्काउने मान्छेले पनि त्यही लयमा त्यसै गरी जवाफ दिने।

लहरे गीत एक्लै पनि गाइन्थ्यो। दोहोरी वा सवालजवाफका रूपमा पनि गाइन्थ्यो। एक्लै गाउनेमा नामी हुनुहुन्थ्यो- भादगाउँले ठूलाबा। गाउँ र बेसी गरिरहनुपर्ने ठूलाबालाई। गाउँबेसी गर्दा उहाँलाई साथी चाहिँदैनथ्यो; गीत गाउँदै हिँड्नुहुन्थ्यो। त्यस्तै अर्को गीतांगे हुनुहुन्थ्यो- सुङ्नामे कान्छा काका। उसो त हाकु ठुल्दाइ पनि लहरे गीतका गेडा उन्ने।

लहरे गीत अरू समयमा पनि गाइन्थ्यो। तर सवालजवाफकै रूपमा भने जात्रामा गाइन्थ्यो। तिलंगे, पिप्ले, सिक्रे आदि तीनपाटनका नामी जात्रा हुन्। गीतांगेहरू गीत गाउने उद्देश्यले नै जात्रा जान्थे, उपयुक्त जोडीको खोजी गर्दथे र रातभर गीत गाउँथे। गीतकै सवालजवाफ र छेडछाडकै क्रममा यी जोडीहरूका बीचमा मायाप्रेमको विकास हुन पनि सक्थ्यो। जात्रामा एक्लै आएको कुनै युवक वा युवती बिहान हुँदासम्म जोडी बाँधेर घर फर्किएको हुन पनि सक्थ्यो।

तीनपाटनमा प्रचलित अर्को गीतको रुपमा थियो- रामदली गीत। यो मकै गोड्दा गाइने गीतका रूपमा स्थापित थियो। गीतले कुनै प्रसिद्ध कथानक बोकेको हुन्थ्यो। यसमा एउटा गीत भट्ट्याउने व्यक्ति हुन्थ्यो र बाँकी सबैले ‘आउँ बरै रामदली जाउँ है’ भनेर उसलाई साथ दिनुपर्दथ्यो। मकै गोड्दा यस गीतले कोदालालाई लय प्रदान गर्दथ्यो। त्यो लय पक्रेर लयबद्ध किसिमले चल्ने कोदालाहरूको गति हेर्न लायक हुन्थ्यो। मान्छेहरू कोदालाको त्यो गति हेरेर रमाउन र गीतको कथानक सुन्न पनि मेलामा जाने गर्दथे।

र, तीनपाटनमा अर्को प्रचलित गीत थिए- संगीनी गीत। संगीनी कृष्णाष्टमी, तीज, पञ्चमीजस्ता महिलाका विशेष जमघट, स्नान र व्रतका अवसरमा गाइने गरिन्थ्यो। महिलाका अनुभवजन्य दुःख, दर्द, पीर, गुनासो, चिन्ता, पीडा आदिको भाव बोकेका हुन्थे- संगीनी गीतमा। तीनपाटनमा संगीनी गीतका विविध लय प्रचलनमा थिए।

भजन पनि तीनपाटनको लोकसंगीतका रूपमा थियो। भजनको आयोजना रातमा हुने गर्दथ्यो। यसमा एकजना भट्ट्याउने भूमिकामा हुन्थे। बाँकी सदस्यले खैँजेडी बजाएर नाच्थे। भजनमा पनि कुनै प्रसिद्ध कथानकलाई आधारशिला बनाइन्थ्यो। शाखामाढीका लोकबहादुर र बेसारेका केशवप्रसाद तीनपाटन क्षेत्रमा भजन भट्ट्याउने व्यक्तिका रुपमा चर्चित थिए। नृत्यमा भने लोकबहादुर र केशवप्रसादका आआफ्नै समूह थिए। यसबाहेक चिसापानीका कतिपय युवाले खुट्टा घुमाउने कला पनि तीनपाटनमा चर्चामा रहने गर्दथ्यो।

द्यौसी र भैलो तीनपाटनमा तिहारताका खेलिने/गाइने भाकाहरू हुन्। तीनपाटनमा भैलोमा महिलाहरू र द्यौसीमा पुरुषहरूको संलग्नता रहन्थ्यो। भैलिनी समवेत स्वरमा गाइन्थ्यो भने द्यौसीमा चैँ कुनै एकजनाले भट्ट्याउने र बाँकी सहभागीले ‘द्यौसी रे’ भनेर भट्ट्याउने व्यक्तिलाई साथ दिने गरिन्थ्यो। द्यौसीमा कुनै प्रसिद्ध कथानकलाई उनेर भट्ट्याउने गरिन्थ्यो।

तीनपाटनमा रेडियो जनजीवनको एक महत्त्वपूर्ण अंग बन्न थालेपछि रेडियोमा बज्ने गीतहरू जनजिभ्राका गीत बने र यस्ता गीत गाएको पनि सुन्न थालियो। प्रारम्भमा धर्मराज थापा, कुमार बस्नेत, बच्चुकैलास, पुष्प नेपाली, नातिकाजी, तारादेवी, फत्तेमान आदि गायकले गाएका गीतहरू लोकप्रिय रहे। यसमा पनि धर्मराज थापाका कृषिका कतिपय सन्दर्भलाई बोकेका गीतहरू जनजिभ्रोमा बढी भिजेका थिए। तारादेवीको ‘कालीपारे दाइ कति राम्रो…’ र ‘पार्वती हो नाउ…’ बोलका गीत पनि धेरैले रुचाएका गीतका रुपमा थिए।

यिनै समयताका तीनपाटनका केही उत्साही मार्क्सवादी युवाहरू नाटक लेखन र प्रदर्शनमा अग्रसर देखिए। यी नाटक/प्रहसन आदि लेख्थे; नाटक/प्रहसनमा पात्रका रुपमा अभिनय गर्थे; नाटक प्रहसनको निर्देशन गर्थे; गीत लेख्थे; संगीत भर्थे; कतिपय वाद्यवाधन बजाउथे; गीत गाउँथे; नृत्य निर्देशन गर्थे र नाच्थे। नाटक प्रदर्शनका लागि मञ्चको तयारी गर्ने, प्रदर्शनको प्रचारप्रसार गर्ने, स्वयंसेवकहरू छनोट र परिचालन गर्ने आदि जिम्मेवारी पनि यिनै युवाहरू लिन्थे। यी युवाहरूमा मुख्य थिए- भोजराज सत्याल, रुद्रप्रसाद काफ्ले, शंकर घिमिरे, तीर्थराज काफ्ले, कालीप्रसाद घिमिरे, दामोदर काफ्ले, झलकराम दाहाल, रामहरि पोखरेल, एकलाल श्रेष्ठ, उद्धवप्रसाद घिमिरे, बुद्धराम श्रेष्ठ आदि।

नाटक र नृत्य प्रदर्शनबाट तीनपाटनको जनजिभ्राले केही गीतहरू प्राप्त गर्दथ्यो। यस्तो प्रदर्शनपछि लोकप्रिय बनेको एउटा गीतको एक टुक्रा यस्तो थियो- ‘हिमालचुली पल्लापट्टि, भाले मयुर; छङ्छङ् गर्ने खोला, सोल्टी हजुर। लुकिचोरी लाको माया भाले मजुर; नभन्दिनु होला सोल्टी हजुर।’ यसबाहेक ‘कोही त भने बीए र एमए पास; कोही त भने रातोदिन दाउराघाँस। हाम्रो नेपालमा!…’ बोलका गीतमा पनि नृत्यको प्रदर्शन हुन्थ्यो। यस्ता गीतहरू पनि लामै समयसम्म जनजिभ्रामा रहने गर्दथे।

रेडियोमा नारायणगोपाल, अम्बर गुरुङ, फत्तेमान, प्रेमध्वज प्रधान, गोपाल योन्जन, ज्ञानु राणा, अरुणा लामा, तीर्थकुमारी, मीरा राणा, माणिक रत्न, राम थापा आदि गायक कलाकारले गाएका गीत बज्न थालेपछि तीनपाटनका केही रुचिसम्पन्न श्रोता आधुनिक गीत भनेर नामांकन गरिएका गम्भीर र भावनाप्रधान गीततर्फ रुचि राख्न थाले भने जनसामान्यको मुख्य रुचि लोकगीत भनिने लोकलयमा आधारित गीतहरूतर्फ रह्यो।

नेपाली भाषामा चलचित्र निर्माण र प्रदर्शनको सिलसिला चल्न थालेपछि भने तीनपाटनमा चलचित्रका गीत पनि सुनिन थाल्यो। यहाँ गाउन र नृत्यका लागि रोजिएको चलचित्रको पहिलो गीत ‘माइतीघर’ सिनेमाको ‘यो हो मेरो प्राणभन्दा प्यारो…’ बोलको गीत होला। तीनपाटनको जनजीवनले अत्यन्त रुचाएको र लामो समयावधिसम्म रुचाइएको चलचित्रको गीतमा ‘सिन्दूर’ चलचित्रको ‘आहा, वनमा फुल्यो फुलैफुल वास्ना चल्यो मनैमा…’ बोलको गीत हो।

रेडियोमा बज्ने फिल्मीगीत, लोकगीत र आधुनिक गीतको प्रभाव बढ्दै आएपछि तीनपाटनमा सुनिँदै आएका लहरेगीत र संगीनी गीत/संगीतहरूको प्रभाव कम भयो। कृषिमा विविधता आएपछि मकै गोड्दा गाइने रामदली गीत पनि सुन्न छाडियो। यसरी बाह्य गीतको प्रभावमा तीनपाटन क्षेत्रका कतिपय मौलिक गीत र लयहरू ओझेल पर्दै र विस्मृत हुँदै आए।

प्रकाशित: १८ असोज २०८२ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast