
काठमडौँ- पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा जारी विरोध प्रदर्शन हिंसात्मक बनेको छ।
चम्याती क्षेत्रमा भएको झडपमा तीन प्रहरी मारिएका छन् भने करिब १५० प्र्रहरी घाइते भएका छन्। तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
पीओकेका प्रधानमन्त्री चौधरी अनवारुल हक र संघीयमन्त्री तारिक फजल चौधरीले संयुक्त पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गरेका छन्।
हकले भने,‘हिंसामार्फत कुनै उद्देश्य पूरा गर्न सकिँदैन। संघर्षहरूको समाधान सधैँ वार्तामार्फत हुन्छ।’
संघीयमन्त्री चौरीका अनुसार पाकिस्तानका प्रधानमन्त्रीले उनलाई कमिटी नेताहरूसँग वार्ता गरी समाधान निकाल्ने जिम्मेवारी दिएका छन्। उनले भने,‘हामीले कमिटीका ९० प्रतिशत माग मानिसकेका छौँ र अझै छलफलका लागि तयार छौँ।’
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पीओकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन र प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्।
शरीफले भने,‘शान्तिपूर्ण विरोध प्रदर्शन प्रत्येक नागरिकको संवैधानिक र लोकतान्त्रिक अधिकार हो, तर प्रदर्शनकारीहरूले सार्वजनिक व्यवस्थामा अवरोध गर्नुभएन।’
जम्मू कश्मीर पब्लिक एक्सन कमिटी (पीएसी) ले सरकारसमक्ष राखेका प्रमुख मागहरूः
प्रशासनिक अधिकारी र राजनीतिक नेताहरूलाई दिइएको विशेषाधिकार अन्त्य गर्नु
पाकिस्तानमा बसोबास गर्ने शरणार्थीहरूका लागि १२ संसदीय सिट सुनिश्चित गर्नु
निःशुल्क स्वासथ्य सुविधा, विद्यालय पोशाक र शिक्षा उपलब्ध गराउनु
अन्तर्राष्ट्रिय विमानस्थल स्थापना गर्नु
कोटा प्रणाली अन्त्य गर्नु
न्यायिक प्रणालीमा सुधार गर्नु
हालै सरकार र पीएसीबीच भएको वार्ता असफल भएपछि विरोध प्रदर्शन अझै चर्किएको हो।