
काठमाडौँ– गाजापट्टीमा कुपोषण र अनिकालबाट दिनहुँजसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ। अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ।
प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले गाजामा अनिकाल घोषणा गरेदेखि अहिले सम्म ३५ बालबालिका सहित १७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ।
गाजापट्टीका अस्पतालहरूले गम्भीर भोकमरी र कुपोषणबाट पीडित र चरम तनावको अवस्थामा रहेका सबै उमेरका सयौँ मानिसहरूको उपचार गरिरहेको जनाएका छन्।
चिकित्सा स्रोतहरूले उल्लेख गरे अनुसार १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्। बिरामीहरूलाई गम्भीर भोकले तनाव र स्मरण शक्ति ह्रासको उपचार भइरहेको छ। गम्भीर कुपोषणबाट पीडित कयौँ मानिसहरूका लागि अस्पतालहरूमा पर्याप्त वेड र औषधिको अभाव छ।
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजापट्टीमा इजरायली नाकाबंदीको परिणामस्वरूप मार्च र जुनको बीचमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण दोब्बर भएको चेतावनी दिएको छ।
युएनआरडब्लुएले स्वास्थ्य केन्द्र र चिकित्सा केन्द्रहरूले यस अवधिमा बच्चाहरूका लागि लगभग ७४ हजारमा कुपोषण परीक्षणहरू गरेको तथा विश्वव्यापी तीव्र कुपोषणका लगभग ५ हजार ५०० घटनाहरू र तीव्र कुपोषणका ८०० भन्दा बढी घटनाहरू पहिचान गरेको जनाएको छ।