
काठमाडौँ– अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ।
आइतबार मन्त्रालयमा भएको भेटमा दुवै जनाबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको छ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनः निर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए।
उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो।
त्यस अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो।