दसैँको सम्झना र आशीर्वाद

माला खनाल १२ असोज २०८२ १६:४१
116
SHARES
दसैँको सम्झना र आशीर्वाद

मेरो मानसपटलमा गाउँको दसैँको दृश्य ताजै छ। रातो माटोले लिपेको खरले छाएको चिटिक्क परेको घर, धर्तीको गन्ध, माटोमा खसेको पानी र शारदीय घाममा देखिने हरियाली, आहा! यस्तो परिवेशले मन शान्त हुन्छ। सबैजना नयाँ लुगा लगाएर चहलपहलमा व्यस्त। हरेक कुना खुसीको आवाजले भरिएको हुन्थ्यो।

आमा मिठामिठा परिकारसहित भान्साको काममा व्यस्त। बुबा मासु र ताजा तरकारीको जोहोमा यताउति पुग्नुहुन्थ्यो। चुलोमा आगो बालेर, कतै मासुको बासना त कतै अन्य तरकारीको।

बिहान सबेरै उठेर गाईभैँसी अनि बाख्राका लागि दिनभरिका लागि पुग्ने घाँस जुटाउन कति अतुर र उत्साहित हुन्थ्यौँ हामी। वास्तममा दसैँको टीका र आशीर्वाद थाप्नुभन्दा पैसा र प्रसाद धेरैभन्दा धेरै जम्मा गर्नु हाम्रो उद्देश्य रहन्थ्यो। आँगनमा राखिएको गुन्द्री, टीकाको थाल, रातो अक्षता र हरियो जमरा, हल्का धूपको वासना- यी केवल चाडका मात्र प्रतीक थिएनन्, आफन्त मिलनको अवसर पनि थिए।

नेपालीको जीवनमा दसैँ केवल चाड होइन, एउटा महत्त्वपूर्ण अनुभूति हो। सहर होस् या गाउँ, धनी हुन् या गरिब, सबैका लागि दसैँको समय उत्सवमय मात्र होइन उमंगले भरिएको हुन्छ। उत्सवसँगै धेरैले बोझ पनि व्यहोरेका हुन्छन्- नयाँ लुगा, मासु-मदिरा, पाहुनाको सत्कार आदिमा ऋण नै काड्छन्। दसैँ रमाइलो पर्वमात्र होइन यो त जिम्मेवारी र उत्सवको मिश्रण पनि हो।

पिङमा मच्चिँदा भुइँमा पैसा खस्ने र त्यो टिप्न हतारिँदा लड्ने। त्यसमा पनि आनन्द मिल्थ्यो। साथीहरूसँग सुन्तला, मिठाई, तिनचोसे अमिलो कताकति पकौडा अनि रोटी बाँडेर खाँदा हाँसोले आकाश भरिएजस्तो लाग्थ्यो। अहिले त यी सबै उतिबेलाका कुराजस्ता भइसके। अहिलेको नानीबाबुलाई ती कुरा सुनाउँदा होइन होला समेत भन्छन्। त्यतिबेला त्यो रमाइलोसँगै जिम्मेवारीको बोझ कत्ति पनि हुन्न थियो।

अहिले ती सबै स्मृतिमा छन्। तिनमा आमाबुबाको माया, जीवनको उत्साह र हातमा पाइने दक्षिणामा रमाइलो मिसिएको थियो। टीका लगाउँदा हातमा थमाइने पैसाले महिनौँ स्कुलमा उधारो खाएका पैसा तिरेर गरिने रमाइलो छुट्टै हुन्थ्यो। सिक्का (त्यतिबेला हामी ढ्याक पैसा भन्थ्यौँ) साथमा नोट नीला (एक रुपैयाँ) र राता (पाँच रुपैयाँ) नोट कसको कति भनेर देखाउने चलन थियो। नोट त्यो पनि रातो पाइयो भने त संसार जितेको अनुभव हुन्थ्यो। अनि दसैँ किन सधैँ नआएको होला भनेर थकथकी लाग्थ्यो।

नयाँ लुगा किन्ने, परिवार र पाहुनाको खर्च पूरा गर्ने नाममा आमाबुबाले ऋण लिनुपर्ने अवस्था थियो होला। बुवाको पेन्सन आए पनि कति नै पुग्थ्यो र? हामी बच्चा हुनाले त्यो बोझ पक्कै बुझ्दिनथ्यौँ। गाईबस्तुलाई दिनभरिको घाँसपानीको जोहो गरेपछि जिम्मेवारी पूरा भएको ठानिन्थ्यो। मलाई त लाग्थ्यो, दसैँ भनेको रमाइलो गर्ने सबै भेला हुने मासु, खाना खाजा र मिठाई खाने चाड हो। तर आज थाहा भएको छ, त्यही ऋण, त्यो तयारी र त्यो जिम्मेवारी दसैँको अर्को पाटो हो- अनि भनिन्छ दसैँ दुःख र खुसी एकसाथको मिश्रण।

समय फेरिएको छ। अहिले म आफ्नो खुट्टामा उभिएकी छु। मैले दुःख र संघर्ष गरेर आफ्नो जीवन अघि बढाएकी छु। अब स्कुलको खाजाको पैसा तिर्न हतारिनु छैन, न त ऋणको बोझले दसैँको आनन्द घटाउँछ। त्यसैले मेरा संघर्ष पछिका दसैँ मेरा लागि फरक छन्। दसैँमा अब नयाँ लुगा र पैसाको चाप रहेन।

बाल्यकालमा खाएका खाजा, साथीहरूको हाँसो, आमाबुबाको माया-यी स्मृतिहरू नै दसैँको वास्तविक धन हुन्। यसपालि वर्षौँपछि मैले दसैँमा गाउँ जाने निर्णय गरेकी छु। आँगनमा बस्नेछु, आमाले पकाएको खाना खानेछु। बुवा स्वर्गे भइसक्नुभएकाले अन्य बुबाहरूको हातको टीका ग्रहण गर्नेछु।

बाल्यकालमा थापिएका टीका अनि जमरा र दक्षिणाका लागि हुन्थे भने अहिले ती टीकाजमरा आशीर्वादका लागि हुनेछन्। त्यसैले म प्रत्येक मान्यजनको घरमा पुग्नेछु। हजुरबा, हजुरआमा, बुवाआमाको आशीर्वाद थाप्नेछु। अनि बिन्ती गर्छु- मलाई दक्षिणा दिएर बोझ नबनाई दिनुहोला। मसँग अहिले सबथोक छ तर खाली छु त मात्रै हजुरहरुको आशीर्वादको।

हाम्रो समाजमा छोराछोरीलाई हेर्ने दृष्टिकोण बेग्लै हुन्छ। छोरीलाई दक्षिणा दिनुपर्छ भन्ने मान्यताले गर्दा कतिपय हजुरबुवा, हजुरआमा, बाआमाहरुलाई कति बोझ बढेको हुन्छ। म विगत सम्झन्छु र उहाँहरूलाई बोझ बनाउन चाहन्नँ। म त केवल पात्र हुँ। सबैले यस्तो सोच राखेर दसैँमा रमाइलो गर्नुपर्छ।

दसैँको तयारीले सिकाउँछ- चाड बाहिरी प्रदर्शनमा होइन। जीवनको वास्तविक उत्सव भनेको आत्मसन्तोष, स्मृति र परिवारसँग बिताइएका क्षणमा हुन्छ। हरियो जमरा आशा हो, रातो टीका माया हो, धूपको हल्का वासना स्मृति हो। बोझ भने केवल बाहिरी छाया हो, जसले असली मिठास दबाउन सक्दैन।

साथीहरूसँग बिताएका समयको मिठास, घरपरिवारको साथ र गाउँका पुराना पाटोमा रमाइला सम्झना सबै दसैँको वास्तविक उपहार हुन्। बाल्यकालको खाजा अझै मीठो लाग्छ। साथीहरूको हाँसो कानमा गुन्जिन्छ। आमाबुबाको माया हृदयमा घुलिरहेको छ। यी सबैले सिकाएका छन्- दसैँ जीवनको आत्मीयता हो, स्मृतिको रंग हो। दसैँको वास्तविक अर्थ अब स्पष्ट छ- बाहिरी चमक होइन, भित्री आनन्द र परिवारको माया हो।

दसैँ आउँछ र हामी नेपाली तयार हुन्छौँ। म पनि कैयाैँ वर्षपछि दसैँमा गाउँ जाँदै छु, आँगनमा बस्नेछु, टीका र जमराको माया अनुभव गर्नेछु। खुसी पचाउँछु, बोझ भुलाउँछु र जीवनलाई फेरि उज्यालो बनाउँछु। गाउँको पातलो बाटो, बारीको हरियाली, ढलाने टहरो र घरको चुलो- यी सबैले दसैँको वास्तविकता प्रस्तुत गर्छन्।

आमा, दाजुभाइ-दिदीबहिनी, साथीहरू र छिमेकी-सबै मिलेर त्यो वातावरण बनाउँछन्, जसले जीवनको मूल्य सिकाउँछ। यसपालि म दसैँलाई उत्सवमात्र होइन, आत्मसात् गर्ने स्मृति, आशीर्वाद र जीवनको अनुभवका रूपमा मनाउनेछु। पुराना ऋण र बोझलाई भुलाउनेछु। दसैँ आउँछ र म तयार छु- आशीर्वाद लिएर, प्रेम लिएर, स्मृतिहरू लिएर फेरि फर्किनेछु। उही धुलोधुवाँ अनि एकअर्कोप्रति अपरिचित सहरमा। जहाँ मैले संघर्ष गर्न सिकेँ। मानिस स्वार्थी बन्दै गए। अनि म बिदेसिन बाध्य भएँ।

दसैँ मनाएर म यही स्वार्थी सहरमा फिर्नेछु। जसले संघर्ष बुझाउँछ। शासनसत्ता के हो सिकाउँछ। अनि बोलचाल र घुलमिललाई अनर्थ लगाउँछ। यो दसैँमा बिग्रेकाको मगज ठिक होस् र समाज स्वार्थी होइन खुसी बाँड्ने बनोस्। सबैमा हाम्रो महान् चाड दसैँको शुभकामना!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast