युट्युबमा सर्वाधिक रुचाइएका पाँच नेपाली फिल्म

सुस्मिता बजगाईं १६ असोज २०८२ १४:४४
26
SHARES
युट्युबमा सर्वाधिक रुचाइएका पाँच नेपाली फिल्म

चाडपर्व दसैँ र तिहारमा लामो बिदा हुने भएकाले समय कसरी बिताउने भनेर सोचिरहनुभएको छ। छ भने तपाईँका लागि मनोरञ्जनका साथै केही सिक्नका लागि युट्युबमा आएका नेपाली फिल्महरू हेर्न सक्नुहुनेछ।

त्यसो त युट्युबमा फिल्म हेर्न पैसा लाग्दैन। त्यसकारण धेरैले हेर्नेछन् भन्ने अनुमान गरिन्छ, तर पनि सबै फिल्म सबै वर्ग समूहका मानिसको रुचिको विषय बन्दैन।

दसैँ बिदा लक्षित गरेर हामीले अहिलेसम्म युट्युबमा सार्वजनिक भएका नेपाली फिल्ममध्ये तीन करोडमाथि भ्युज गएका केही फिल्म संकलन गरेका छौँ। जसमा केही पुरानादेखि केही नयाँ फिल्म परेका छन्।

यी हुन् तीन करोडभन्दा बढी दर्शकले हेरेका पाँच नेपाली फिल्म

१) छक्का पञ्जा ३

‘छक्का पञ्जा ३’ युट्युबमा तीन करोडभन्दा माथि हेरिने पहिलो फिल्म हो। यो फिल्म अहिलेसम्म ३ करोड ७० लाखले हेरिसकेका छन्। दीपाश्री निरौला निर्देशित फिल्ममा देशको शैक्षिक व्यथितिलाई मुख्य विषय बनाएको छ। जसमा ग्रामीण तथा सरकारी विद्यालयहरूको शैक्षिक अवस्थालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ र विद्यालय सुधार हुनुपर्ने सन्देश दिएको छ।

दीपकराज गिरी र दीपिका प्रसाईं मुख्य भूमिकामा रहेको फिल्ममा प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, लक्ष्मी गिरी, शारदा गिरीलगायत कलाकारले अभिनय गरेका छन्। आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको कथा र पटकथा दीपकराज गिरीले लेखेका हुन्।

यो ‘छक्का पञ्जा’ को तेस्रो सिक्वेल हो। यसको पाँचौ सिक्वेलसम्म बनिसकेको छ। पाँचओटै शृङ्खलालाई दर्शकले निकै रुचाएका छन्।

२) क्याप्टेन

युट्युबमा धेरै हेरिने अर्को फिल्म हो ‘क्याप्टेन’। अहिलेसम्म यो फिल्मले ३ करोड ६६ लाख भ्युज बटुलिसकेको छ। फिल्म एक फुटबल खेलाडीको कथामा आधारित छ।

फिल्मको मुख्य भूमिकामा छन् अभिनेता अनमोल केसी। उनले इशान पात्रको चरित्रमा अभिनय गरेका छन्। जसको सपना हुन्छ देशलाई गोल्ड मेडल जिताउने बुबाको आकांक्षा पूरा गर्ने। यही वरिवरि इशानको जीवनमा आइपर्ने पैसाको अभाव, पारिवारिक समस्या र झमेला फिल्ममा देखाइएको छ। साथै इशानको प्रेम पनि प्रस्तुत गरिएको छ। फिल्मलाई युट्युबमा धेरै दर्शकले रुचाएका छन्।

सामीप्यराज तिमल्सिनाको कथा रहेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन्। फिल्मको पटकथा र संवाद दिवाकर स्वयंको छ। अनमोलसँगै फिल्ममा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, उपासना सिंह ठकुरी, प्रियंका एमभीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्म भुवन केसीले निर्माण गरेका हुन्।

३) प्रेम गीत
प्रेम कथामा आधारित फिल्म ‘प्रेम गीत’ अहिलेसम्म सर्वाधिक हेरिनेमध्ये तेस्रो नम्बरमा छ। फिल्मले अहिलेसम्म तीन करोड ४५ लाख भ्युज कमाइसकेको छ। सुदर्शन थापाको कथा र निर्देशनमा बनेको फिल्ममा पूजा शर्मा र प्रदीप खड्का मुख्य भूमिकामा छन्। फिल्ममा उनीहरूकै प्रेम कथा र विवाहका लागि पारिवारिक उतारचढाव प्रस्तुत गरिएको छ। प्रेमीको लागि ज्यान दिन तयार एक सफल प्रेमिल जोडीको मार्मिक कथा बनेको छ।

पूजा र प्रदीपसँगै फिल्ममा सहायक भूमिकामा सरोज खनाल, लक्ष्मी गिरी, राजाराम पौडेल, नोर्बु छिरिङलगायत कलाकार छन्। फिल्मको पटकथा र संवाद रामचरण पाठकले लेखेका हुन्।

‘प्रेम गीत’ सफल भएसँगै निर्माण टिमले ‘प्रेम गीत २’ र ‘प्रेम गीत ३’ बनाइसकेका छन्। दुबै सिक्वेल दर्शकले रूचाएका छन्।

४) नाईं न भन्नू ल ५

फिल्म ‘नाईं न भन्नु ल ५’ युट्युबमा धेरै हेरिनेमध्ये पाँचौ नम्बरमा छ। फिल्मले अहिलेसम्म तीन करोड ३३ लाख भ्युज बटुलिसकेको छ। विकासराज आचायै निर्देशित फिल्ममा बालबालिकाको प्रेमकथालाई मार्मिक ढंगमा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा बाल कलाकार सेड्रिना शर्मा र अनुभव रेग्मी छन्। उनीहरूकै बाल्यकालदेखिको प्रेम, नोकझोक र युवा भएपछि प्रेम जीवनमा आएको उतारचढाव प्रस्तुत गरिएको छ। फिल्ममा समावेश ‘बालापनको उमेर’ बोलको गीत पनि निकै चर्चित छ।

अनुभव र सेड्रिनासहित फिल्ममा स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल, दीलिप रायमाझी लगायत कलाकारको अभिनय छ। वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक आचार्यसहित सामीप्यराज तिमल्सिनाले लेखेका हुन्।

यो ‘नाईं न भन्नु ल’ को पाँचौ शृङ्खला हो। पहिलो भाग सफल भएपछि निर्माण टिमले यसको छैटौं शृङखलासम्म बनाइसकेका छन्। त्यसमध्ये कुनै सफल छन् भने कुनै असफल भए।

५) मिस्टर झोले

‘मिस्टर झोले’ युट्युबमा धेरै हेरिनेमध्ये पाँचौं फिल्म हो। यो फिल्मले अहिलेसम्म ३ करोड २४ भ्युज कमाइसकेको छ। फिल्म रामबाबु गुरुङको कथा, पटकथा र निर्देशनमा बनेको छ।

फिल्मले गाउँमा बस्ने सामान्य परिवार र समाजको कथा प्रस्तुत गरेको छ। फिल्म पति लापत्ता भएपछि घर धानेर बसेकी एक पत्निको कथा, औंसीमा जन्मेका सन्तानलाई समाजले लगाउने लाञ्छना र बलात्कारको मुद्दाबाट भाग्न गाउँमा फिरन्ते बनेर पसेको एक अपराधीकै कथा वरिपरि घुमेको छ।

फिल्ममा दयाहाङ राई, दीया पुन, वर्षा राउत, वियज बराल, पुस्कर गुरुङ, प्रवीण खतिवडा, बुद्धि तामाङ, अरुणा कार्की, कमलमणि नेपाल, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय गरेका छन्। ग्रामीण परिवेशको कथालाई दर्शकले मन पराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast