संकटमा कांग्रेस : देउवाको अकर्मण्यता र गगन-विश्वप्रकाशको लाचारी

धर्मराज शाही ८ असोज २०८२ १८:२६
390
SHARES
संकटमा कांग्रेस : देउवाको अकर्मण्यता र गगन-विश्वप्रकाशको लाचारी

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको योगदान असाधारण छ। जहाँनिया राणाहरूको सत्ताबाट बहिर्गमनदेखि प्रजातन्त्र स्थापनासम्म, लुटिएको प्रजातन्त्र पुन:स्थापनादेखि गणतन्त्र स्थापनासम्म, शान्ति प्रक्रिया हुँदै संविधानसभामार्फत संविधान प्राप्त गरुन्जेलसम्म कांग्रेसको भूमिका निर्णायक रह्यो। आज यही पार्टी जनतामाझ कमजोर, अविश्वसनीय र दिशाहीन बनेको छ। लोकतन्त्रकै मेरुदण्ड मानिने कांग्रेसको यस्तो अवस्था हुनु देशकै लागि गम्भीर चिन्ताको विषय हो। यति मात्रै होइन लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसका प्रमुख संस्था सभापति पदमा आसीन भएकै बेला शेरबहादुर देउवा र उहाँकी पत्नी डा. आरजु राणालाई भौतिक आक्रमण गरी ज्यान लिने प्रयत्न हुनु अत्यन्तै खेदजनक र कायरतापूर्ण कार्यको जति नै निन्दा गरे पनि कम हुन्छ। यो घटना माफीका लागि लायक छैन। अपराधीहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याइनुपर्छ। अस्पतालमा उपचारत पार्टी सभापति देउवा र उहाँकी धर्मपत्नीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

घटनाक्रम कसरी विकसित भयो म त्यतातिर जान चाहान्नँ तर कांग्रेसलाई यो अवस्थामा ल्याउने प्रमुख जिम्मेवारी हालको केन्द्रीय नेतृत्व र केन्द्रीय समितिले नै लिनुपर्दछ। पार्टीलाई बलियो बनाउनुपर्ने निकाय आफैँ चरम गुटबन्दी, व्याक्तिगत स्वार्थ र निर्णयहीनताको दलदलमा फसेपछि कांग्रेस कमजोर हुनु स्वाभाविक हो।

असफल नेतृत्व, निराश जनता

पछिल्ला वर्षमा कांग्रेसले देशको बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफ्नो नीति, कार्यक्रम र संगठनलाई अद्यावधिक गर्न सकेन। आन्तरिक संघर्षले नेतृत्व र संगठन कमजोर हुँदै गयो। कार्यकर्तामाझ उत्साह मरेर गएको छ भने आमजनतामाझ कांग्रेसप्रतिको भरोसा झन् घट्दै गएको देखिन्छ।

१० वर्षदेखि निरन्तर पार्टी सभापति रहेका शेरबहादुर देउवा एउटा गुटको सभापतिभन्दा माथि उठ्न सक्नुभएन। पार्टीलाई हिजोको प्रजातान्त्रिक कांग्रेसजस्तो जुरुक्क उठाएर आफ्ना विरोधीलाई छानीछानी पार्टीभित्र घाँटी रेट्दा पनि निष्ठा र नैतिकताको राजनीति गर्ने कतिपय इमानदार नेताकार्यकर्ता बीपीले बनाएको चारतारे झण्डा हेर्दै आँखामा टिलपिलटिलपिल आँसु बोकेर किनाराका साँची भइबसिरहन बाध्य भए। संघको निर्वाचन आयो खोइ मेरो मान्छे, प्रदेशको निर्वाचन आउँछ खोइ मेरो मान्छे, स्थानीय तहको निर्वाचन हुन्छ ऊ हामीसँग छ कि छैन, राजदूत र संवैधानिक नियुक्ति यो त मेरो पेवाको धन, मन्त्री बन्दा कसको हो र कति नं. भित्रिया हो भनेर खोजी गर्ने विकृति, समानुपातिक सांसद छान्दा श्रीमती र नातेदार त्यो नभए भक्त हनुमान, भ्रातृ संगठनमा एकलौटी कब्जा यी र यस्तै चरित्रले पार्टी कसरी एकढिक्का र बलियो हुन सक्थ्यो?

फेरि पार्टीलाई नवजीवन दिन्छौँ, पुनर्निर्माण गर्छौँ, पार्टीको सैद्धान्तिक धारमा रेत लगाउँछौँ, पार्टीमा नयाँ पुस्ताका १५ लाख युवालाई जोड्छौँ, पार्टीलाई जनताका बीचमा सहज पुग्ने गरी डिजिटलाइजेसन गर्छौँ, भ्रातृ संगठनहरूको समयमै अधिवेशन गर्छौँ, पार्टीको नियमित अधिवेशन एक दिन पनि ढिला गर्दैनौँ भनेर हुंकार दिँदै युवाहरूको भरोसाका रूपमा महामन्त्रीका रूपमा स्थान बनाएका गगन थापा र विश्वप्रकाश शर्माको पनि नाडी कांग्रेसजनले राम्रै छाम्ने मौका पाए। सभापति शेरबहादुर देउवाको अकर्मण्यताका अगाडि हाम्रा महामन्त्री हिजोको नेविसंघका पदाधिकारीजस्तै देखिए।

पार्टीको सैद्धान्तिक धारलाई रेत लगाउने रटका साथ आएका महामन्त्रीहरू पार्टीको धार बुच्चो बनुन्जेलसम्म चुँ सम्म गर्न सकेनन्। पार्टीलाई आन्तरिक ऊर्जा दिने भ्रातृ संगठन टीकाटालो गर्ने पञ्चेहरूको संस्था जस्तो बनाइँदा पनि उनीहरू भागबण्डा खोजी बस्छन्। आफैँ नेता भएर आएको संस्थाहरूमा पछिल्ला १२ वर्षदेखि अधिवेशन हुन सकेको छैन तर त्यसैमा उनीहरूको कुनै दिलचस्पी रहँदैन।

हिजो रूख चिह्नमा भोट हालेकै कारण कांग्रेसका गर्धन छानीछानी रेटेको माओवादीको हँसियाहथौडा र समाजवादीको कलम चिह्नमा कांग्रेसका अविचलित समर्थकलाई भोट हाल्न नेतृत्वले जबरजस्ती कसम खाँदै गर्दा उहाँहरू पनि आफू र आफ्ना केही थान मान्छेको टिकट सुरक्षित गर्दै बसिरहनुभयो कास त्यही बेला पार्टीभित्र निर्णायक हस्तक्षेपसहितको विद्रोह गरेको भए कांग्रेसको आजको यो दिन आउने परिस्थीति बन्दैन थियो। १५ लाख नयाँ युवा जोड्ने कसम खाएका महामन्त्रीहरूले कांग्रेसका सात लाख समानुपातिक भोट घट्दै गर्दा यसको अलिकति पनि वस्तुगत समीक्षा गर्ने आँट नगर्नु उहाँहरूको कुशल नेतृत्वको परीक्षण हुनु पनि हो।

आज यो या त्यो नाममा पार्टी सभापति शेरबहादुर देउवा मात्र दोषी देखाएर कोही उम्किन मिल्ने स्थिति छैन। उहाँले गरेका हरेक गलत निर्णयका साँची बस्ने पार्टीका  सम्पूर्ण पदाधिकारीहरू र सिंगो केन्द्रीय समिति पनि यो परिस्थितिको उतिकै भागीदार हुनुहुन्छ। जिम्मेवारीका हिसाबले कसको भागमा कति पर्‍यो भन्ने कुरा मात्र हो सारमा यो सिंगो कमिटी नै असफल भएको छ यसको तत्काल विघटन भई नयाँ ऊर्जा, उत्साह र नेतृत्वमा पार्टीको पुनर्निर्माण हुनु आजको प्रमुख आवश्यकता हो।

विघटन किन जरुरी छ?

जब कुनै निकाय वा नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्दैन, त्यसलाई निरन्तरता दिनु पार्टीको हितमा हुँदैन। अहिलेको केन्द्रीय समितिले कांग्रेसलाई उठाउने हैसियत गुमाइसकेको छ। यसलाई निरन्तरता दिनु भनेको समस्या लम्ब्याउनु मात्र हो।

त्यसैले, सम्पूर्ण केन्द्रीय समिति विघटन गरेर नयाँ थालनी गर्नुपर्ने आवश्यकता बढेको छ। पार्टीभित्र नयाँ सोच, नयाँ पुस्ता र नयाँ नेतृत्वको माग दिनानुदिन चर्कँदो छ। भर्खरै सम्पन्न जेनजीको आन्दोलनले पनि एउटा कुरा स्पष्ट पारेको छ कि अहिलेका पुस्ता सदैव नेतृत्वको कमजोर परिणामको भारलाई बोकेर कदापि हिँड्न सक्दैनन्। अग्रगमनको बाटोमा हिँड्ने पुस्ताले तपाईँहरूको स्वार्थ सिद्धले भरिएका आकांक्षाहरूलाई कुनै पनि बेला पानी भरिएको बेलुनझैँ फुटाल्न बेर लगाउँदैनन्।

एउटा कुरा हामीले स्वीकार्नैपर्छ कि भदौ २३ को जेनजी आन्दोलन तपाईँहामी नेतृत्वमा रहेका व्यक्तिहरूको चरम अहंकारले निम्त्याएको परिणिति हो। भलै विभिन्न देशीविदेशी स्वार्थ समूहहरूले जेनजी पुस्ताको आन्दोलनलाई ढाल बनाएर आफ्नो स्वार्थको रोटी सेक्न प्रयत्न गर्दा देशले ठूलो विध्वंसकारी घटनाको सामना गर्नुपर्‍यो। बामे सर्दै गरेको लोकतन्त्रको हत्या, सहिदका रगतले लेखिएको संविधान जलाउन अनेक हथकण्डा भए अझै त्यो संकट पार भइनसकेको अवस्थामा कांग्रेसको नयाँ नेतृत्वले लिने निर्णय राष्ट्र, जनता र लोकतन्त्रका रक्षाका लागि कठोर निर्णयका रूपमा रहनुपर्नेछ। देशमा जबजब संकटका कालो बादलहरू मडारिन्छन् तबतब देशलाई पुन: एकताबद्ध गर्दै संकटबाट पार लगाउने कुनै शक्ति छ भने त्यो कांग्रेस नै हो भन्ने जनविश्वास हामीले कायम गर्नु छ। त्यसका लागि अहिलेको पार्टीका प्रमुख नेतृत्व र पदाधिकारीहरूबाट सम्भव छैन त्यसैले पनि यो समितिको विघटनबाहेक अर्को विकल्प देखिँदैन।

महाधिवेशन : नयाँ सुरुवातको आधार

कांग्रेसको सर्वोच्च निकाय महाधिवेशन हो। यही महाधिवेशनमार्फत पार्टीले आफ्नो नेतृत्व, नीति र कार्यक्रमलाई पुनः परिभाषित गर्न सक्छ। महाधिवेशनले मात्र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुनिश्चित गर्ने र जनतामाझ हराउँदै गएको विश्वास पुनः स्थापित गर्ने अवसर दिन्छ।

महाधिवेशनलाई टार्ने प्रयास पार्टीलाई अझ कमजोर बनाउँछ। यहाँ केही पार्टीका नेता तथा पदाधिकारीले विशेष महाधिवेशन माग गरेको कुरा पनि सुनियो, पार्टीको विधानत: चार वर्षको समया अवधि सकिन दुई महिना पनि बाँकी नरहेको अवस्थामा विशेष महाधिवेशनलाई जोड दिनुभन्दा नियमित महाधिवेशन नै सम्पन्न गरौँ भन्न किन अनिच्छुक बन्नुभएको? आखिर चाह्यो भने नियमित महाधिवेशन गर्न पनि असम्भव कहाँ छ र? आजकै दिनदेखि टाइमलाइन राखेर असोजभित्रै नयाँ र पुरानो क्रियाशील वितरण सम्पन्न गर्ने,  क्रियाशील सबैका लागि खुला गर्ने, कात्तिकको पहिलो साता सम्पूर्ण छानबिन गरी क्रियाशील टुंग्याउने, दोस्रो साता वडा अधिवेशन सम्पन्न गरी क्षत्रीय प्रतिनिधि चयन गर्ने, तेस्रो साता पालिका अधिवेशन सम्पन्न गर्ने, चौथो साता प्रदेश अधिवेशन सम्पन्न गर्ने, मंसिरको पहिलो साता दुई वा सोभन्दा बढी भएका निर्वाचन क्षेत्रहरूको क्षत्रीय अधिवेशन गर्ने, दोस्रो साता जिल्ला अधिवेशन सम्पन्न गर्ने, तेस्रो साता प्रदेश अधिवेशन गरी मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्न सम्भव छ। तर नेतृत्वको दृढ इच्क्षाशक्ति  देखिनुपर्छ। यो समय कसैले कसैलाई धारे हात लगाएर यो या त्यो भनेर जानु भन्दा पनि तत्काल नियमित महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवित गर्ने बाटो खोल्नुपर्छ। यही बाटोले मात्र कांग्रेसलाई फेरि जनतामाझ वैकल्पिक शक्ति होइन, प्रमुख शक्तिका रूपमा प्रस्तुत गर्ने नैतिक साहस राख्न सक्छ।

अन्त्यमा

नेपालमा स्थायित्व, सुशासन र लोकतन्त्र सबल बनाउन कांग्रेसको भूमिकालाई कसै गरी पनि नकार्न सकिँदैन। तर यो भूमिका निर्वाह गर्न कांग्रेस आफैँ सबल र विश्वसनीय हुनपर्छ। त्यसका लागि वर्तमान केन्द्रीय समितिको निरन्तरताले होइन, विघटन र तत्काल नियमित महाधिवेशनले मात्र नयाँ सम्भावना सिर्जना गर्नेछ। अब आउने नयाँ नेतृत्वले पनि नेपालको लोकतन्त्र सबल बनाउन कांग्रेसको तत्काल आत्मसुधार र पुनर्गठन गर्नैपर्छ। यसका लागि मुख्य कदमका रूपमा संगठनलाई पुनर्जीवन दिन गुटबन्दी अन्त्य गरी स्थानीय तहसम्म सक्रिय संगठन निर्माण गर्नुपर्नेछ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न सम्पूर्ण भ्रातृ संगठनहरूको नयाँ महाधिवेशनमार्फत नयाँ नेतृत्व र समावेशी संरचना स्थापना गर्नुपर्नेछ, जनतासँग प्रत्यक्ष सम्बन्ध भएका शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनजस्ता मुद्दामा स्पष्ट नीति तथा कार्यक्रम ल्याउनुपर्नेछ। सरकार वा प्रतिपक्षमा हुँदा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी नेतृत्व देखाउने आँट र भरोसा हुनुपर्छ। जनतासँग नियमित रूपमा संवाद, डिजिटल प्लेटफर्म र स्थानीय संरचनामार्फत जनतालाई नजिक राख्ने काम गर्नुपर्नेछ, अहिलेका नवयुवालाई पार्टीसँग जोड्न र निर्णायक तहमा नेतृत्वको अवसर प्रदान गर्न पार्टीको तत्काल संरचनागत सुधारलाई प्राथामिकतामा राख्नुपर्नेछ, कार्यगत क्षमता र योग्यताका आधारमा वास्तविक युवा पुस्ताका नेतृत्वलाई जनतामाझ चुनाव लड्न बन्देज नगरिए कांग्रेस फेरि जनतामा विश्वास कायम गर्दै लोकतन्त्रको प्रमुख रक्षकका भूमिकामा स्थापित हुन सक्छ र हुनेछ।

[शाही नेपाली कांग्रेसका महासमिति सदस्य हुन्।]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast