गुण्डुवासीलाई चिठी : बैगुनीलाई गुनले मार्नुपर्छ, नलखेट्नु होला है!

दामोदर अर्याल ७ असोज २०८२ १७:५२
296
SHARES
गुण्डुवासीलाई चिठी : बैगुनीलाई गुनले मार्नुपर्छ, नलखेट्नु होला है! दामोदर अर्याल

गुण्डुवासी आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
नमस्कार!!

म थुप्रैचोटि तपाईँहरूको गाउँ गुण्डु आएको छु। प्राकृतिक हिसाबले पनि गुण्डु अत्यन्त सुन्दर छ। अहिले त अलिअलि सहरिया हावा पस्यो कि कुन्नि! म अलि धेरै आइरहेको त्यो बेलामा चाहिँ गुण्डु साँच्चिकै एउटा प्राकृतिक गाउँ नै थियो। मान्छे अत्यन्त सरल थिए। सहिष्णु थिए। बाहिरबाट आएका पाहुनाहरूलाई खुला हृदयले स्वागत गर्थे।

पाहुनालाई स्वागत गर्ने तपाईँहरूको स्वभाव अझै उस्तै रहेछ। यो कुरा सामाजिक सन्जाल र पत्रपत्रिका पढेर थाहा भयो। यो समाचारले मलाई अत्यन्त हर्षित बनाएको छ। यस मामिलामा म तपाइँहरूलाई धन्यवाद भन्न चाहान्छु।

एउटा यस्तो मान्छे जसलाई उपत्यकाको कुनै पनि टोलले आश्रय दिन मानेन। तर तपाईँहरूले मन खुसी भए पनि अथवा बेखुसी नै भए पनि सहारा दिनुभयो। तपाईँहरूको यो ठूलो मनको जति प्रशंशा गरे पनि कम हुन्छ। तर आफूले आश्रय दिएको मान्छेका बारेमा सबै कुरा थाहा पाउन जरुरी हुन्छ। ती मान्छेका बारेमा मैले थाहा पाएसम्म केही सूचना दिनु आफ्नो कर्तव्य ठानेँ। विवरण यस प्रकारका छ्न्–

१. ती मान्छे झापाका हुन्। ०२८ सालमा व्यक्ति हत्याका मामिलामा तत्कालीन पञ्चायतले उनलाई करिब १४ वर्ष जेल हाल्यो। मैले काम गरेको मेरो कम्युनिस्ट पार्टीले मलाई भनेको छ, ‘त्यो हत्या पार्टीको निर्णयअनुसार भएको थियो।’ पार्टीले आफ्नै निर्णयलाई गलत भनेर स्वीकारेको छ। आमजनतासँग पार्टीले माफी पनि मागिसक्यो। अहिले तपाईँहरूले जसलाई शरण दिनुभएको छ, उनलाई पार्टीले दोष लगाएको छैन। हामीले पनि दोष लगाएका छैनौँ। म तपाईँहरूसँग अनुरोध गर्न चाहन्छु, तपाईँहरूले पनि दोष नलगाउनु होला।

२. जेलबाट निस्केपछि उनी पार्टी काममै लागे। त्यतिखेरसम्म पार्टी ठूलो भइसकेको थियो। लामो समयसम्म जेल बसेको हुनाले हामी सबैले माया गरेको पनि साँच्चिकै हो। सबैले माया गरेको र पुल्पुल्याएको हुनाले उनी हौसीहौसीकन बोल्थे। जेलमा सिकेको उखानटुक्का सुनाउँथे, मान्छेलाई हसाउँथे। हामीले पनि खुबै उचाल्यौँ। पार्टीले पनि काम गर्ने मौका दियो। पञ्चायतको अन्त्यपछि सांसद बनाइरह्यो, मन्त्री बनाइरह्यो। पैसा पनि मनग्ये कमाए, बिहा पनि गरे। गुण्डुकै वरिपरि कतै घर पनि बनाएका छन्। देख्ने मान्छेहरू भन्छन्, घर होइन, महल हो रे!

जे होस्, अहिले उनलाई खानलाउन दु: छैन। सम्पत्ति अथाह नै छ, हिसाब गरिनसक्नु! अहिले आन्दोलनकारीहरूले उनको घरमा आगो लगाइदिए छन्। मुख अति छुच्चो छ, लगाइदिए होलान्।

गुण्डुवासीसँग मेरो विनम्र अनुरोध छ, घर पुनर्निर्माण नहुन्जेल राम्रैसँग राखिदिनु होला।

३. उनलाई अहिले ७४ जना मान्छे मारेको आरोप छ। सरकारले छानबिन गर्ला। आरोप सही ठहरिए फेरि जेल जालान्। आरोप प्रमाणित नभए आफ्नै घर फर्कलान्। यसका सन्दर्भमा हामी किन जान्ने हुनु? त्यतिन्जेलसम्म आश्रयचाहिँ दिनुहोला है!

४. आदरणीय दाजुभाइहरू! यतिचाहिँ तपाईँहरूलाई जानकारी दिऊँ, उनको मुख अति छुच्चो छ। उनले आफ्नै नेतालाई नाम लिँदा कुल्ला गर्नुपर्छ भनेका थिए। त्यतिमात्र हो र– हालसालै उनले मुद्दा नै लगाइदिए। आफ्नै सहकर्मीको सदस्यता खाइदिए। आफ्नै सहकर्मीहरूलाई पार्टीबाट निकाले। अरू त के कुरा गर्नु? पार्टी नै फुटाइदिए। अति बैगुनी छन्, तर बैगुनीलाई गुनले मार्नुपर्छ। गुण्डुबाट चाहिँ नलखेट्नु होला है।

५. ती मान्छे अलि गुण्डागर्दी मन पराउँछन्। कतिपयले उनलाई बूढो गुण्डा पनि भन्छन्। काम नभएका बेरोजगार तिघ्रेहरूलाई वरिपरि लगाएर हिँड्छन्। हिजो पावरमा हुँदा राजनीतिक नियुक्ति पनि दिन्थे। कतिपयलाई त उनले पार्टीकै नेता पनि बनाइदिएका थिए। उनी लामो समय गुण्डुमा बसे भने त्यहाँका केटाकेटी बिग्रन पनि सक्छन्। तर पनि मानवता ठुलो कुरा हो। केही अप्ठ्यारो व्यहोरेर पनि उनलाई तत्काल नहटाउनु होला।

उनको बारेमा तपाईँहरूलाई दिनुपर्ने सूचनाहरू अझ धेरै छन्। पछि अर्को चिठीमा अथवा भेट भयो भने बताउँला। अहिलेलाई यति नै!

गुण्डुवासीको सदा हित चिताउने

दामोदर अर्याल

प्रकाशित: ७ असोज २०८२ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast