रवि लामिछाने। फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किन तयार भएका छन्। पार्टीका प्रवक्ता मनिष झाले शुक्रबार उक्त जानकारी दिएका हुन्।
‘अपराह्न कार्यवाहक सभापतिज्यू, ललितपुर जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटघाट भएको छ र प्रशासनले खबर गरेपछि आउन तयार भनेर जानकारी गराइएको छ’, झाले भने।
सहकारी प्रकरणमा पुर्पक्षका लागि नख्खुस्थित कारागारमा थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारमा तोडफोड हुन थालेपछि त्यहाँबाट बाहिरिएका थिए। उनले कारगार प्रशासनबाट बाहिरिँदा लिएको भनिएको पत्र विवादमा परेको छ। नख्खु कारागार प्रशासनले रविले सार्वजनिक गरेको पत्र आधारिकारिक नभएको स्पष्ट पारेको हो।
‘त्यो पत्रको कुनै पनि अंश मिलेको देखिँदैन,’ नख्खु कारागार प्रशासन प्रमुख सत्यराज जोशीले भनेका छन्, ‘त्यो पत्र उहाँहरूले के गर्नुभएको हो मलाई पनि जानकारी छैन। त्यो विषयमा धेरै बोल्न सक्दिनँ। उहाँ आएपछि थप कुरा गरौँला।’
कारागार प्रशासनले लामिछानेलाई तत्काल सम्पर्कमा आउन अनुरोध गरेपछि उनी फर्कन तयार भएका हुन्।
रास्वापाका उपाध्यक्ष डीपी अर्यालले आफू पार्टी सभापति लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी रहेको बताएका छन्। उनले भनेका छन्, ‘पत्र बुझ्ने म हुँ, पत्र मेरो अगाडि हस्ताक्षर भएको हो।’ उनले पत्र नक्कली नभएको पनि स्पष्ट पारेका छन्।
‘पत्र फेक होइन, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुन सक्छन्। मिति हामीले सच्याएको होइन। सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ’, अर्यालले भनेका छन्। यसैगरी गृह मन्त्रालयलगायतका सुरक्षा निकाय सबैसँग पनि आफैँले समन्वय गरेको अर्यालयको भनाइ छ। उनले भने, ‘यसबारे सभापतिज्यूलाई केही जानकारी छैन। सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु।’



