राजनीतिक निकास लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

हिमाल प्रेस २६ भदौ २०८२ १४:३८
राजनीतिक निकास लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

काठमाडौँ- नेकपा एमालेले अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ। मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै महासचिव शंकर पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘संविधानका मर्मअनुरुप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ’, वक्तव्यमा उल्लेख छ।

यसैगरी एमालेले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरुलाई सम्बोधन गरिनुपर्नेमा जोड दिएको छ।  एमालेले ​यस्तो विषय परिस्थितिमा संघीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरुलाई आआफ्‌नो स्थानबाट लोकतन्त्रका रक्षाका लागि रचनात्मक भूमिका खेल्न आग्रह गरेको छ।

‘स्थानीय तहहरुले निर्बाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ। संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरुलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धि रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ’, एमालेले भनेको छ।

यसैगरी एमाले सबैखाले निरंकुशतन्त्र, सशस्त्र द्वन्द्वकालको दोहोरो हिंसा, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल परिस्थिति, प्राकृतिक विपत्तिहरु एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्‌दै र तिनीहरुमाथि विजय हासिल गर्दै यहाँसम्म आइपुगेको वक्तव्यमा उल्लेख छ।

आजको प्रतिकूल अवस्था अन्त्य भएर जाने विश्वास एमालेको छ। ‘यस्तो विषम परिस्थितिमा केन्द्रीय सचिवालय सबै नेता कार्यकर्ताहरु, सदस्य र समर्थ–शुभेच्छुकहरु, जनप्रतिनिधि र जनवर्गीय संगठनका नेता कार्यकर्ता सहित सिंगो पार्टी पंक्तिलाई दृढ र एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ’, वक्तव्यमा उल्लेख छ।

यसैगरी पार्टीले ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरुको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम गर्न र जनतालाई परेका पीरमर्कामा सम्भव सहयोग प्रदान गर्न पार्टी पङ्क्तिाल्ई स्वयंसेवी भूमिका खेल्न निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast