प्रधानमन्त्री चीन जाँदै, यस्तो छ कार्यतालिका

हिमाल प्रेस ११ भदौ २०८२ १८:५२
32
SHARES
प्रधानमन्त्री चीन जाँदै, यस्तो छ कार्यतालिका फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एसईओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ।

प्रधानमन्त्री ओली शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्ने छन्। उनले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्नेछन्। त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने छन्।

प्रकाशित: ११ भदौ २०८२ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast