श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

हिमाल प्रेस ११ भदौ २०८२ १८:१४ | Wednesday, August 27, 2025
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा फाइल तस्बिर

काठमाडौँ– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे जमानतमा रिहा भएका छन्।

विक्रमासिङ्घे पक्राउ पर्ने पहिलो श्रीलंकाली पूर्वराष्ट्रप्रमुख हुन्। उनी भ्रष्टाचारविरुद्धको अभियानमा सत्तारूढ राष्ट्रपति अनुरा कुमार दिसानायकेको नेतृत्वमा सुरु गरिएको छानबिनमा रहेका धेरैजसो उच्चस्तरीय पूर्वमन्त्री र राजनीतिक नेताहरूमध्ये सबैभन्दा चर्चित छन्।

विपक्षी दलका वरिष्ठ नेता एवं विक्रमासिङ्घेका सहयोगी दनुष्का रामानायकका अनुसार उनलाई कोलम्बोको मजिस्ट्रेट अदालतले जमानत दिएको हो। तर निर्णयको थप विवरण सार्वजनिक गरिएको छैन।

शुक्रबार पक्राउ परेका पूर्वराष्ट्रपति अहिले कोलम्बो राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा छन् र अदालतको सुनुवाइमा टाढैबाट सहभागी भएका थिए।

उनलाई डिहाइड्रेसन र अन्य स्वास्थ्य समस्या भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। अस्पताल निर्देशक डा. प्रदीप विजेसिङ्घेले सोमबार मिडियालाई उनी स्थिर अवस्थामा रहेको बताएका थिए।

विक्रमासिङ्घेमाथि सन् २०२३ मा क्युबा र अमेरिकाको औपचारिक भ्रमणपछि बेलायतमा आफ्नी श्रीमतीको स्नातक समारोहमा भाग लिन सार्वजनिक कोष प्रयोग गरेको आरोप छ।

तर उनको पार्टीले यसलाई आधिकारिक हैसियतमा प्राप्त निमन्त्रणाअनुसार भएको भन्दै बचाउ गरेको छ।

जमानत सुनुवाइका क्रममा उनका हजारौँ समर्थक सडकमा उत्रिएर गिरफ्तारीलाई ‘राजनीतिक विच हन्ट (आफ्ना राजनीतिक विरोधीहरूलाई खोजी खोजी प्रतिशोध लिने)’ भन्दै विरोध जनाएका थिए। उनीहरूले कालो झण्डा फहराए, नारा लगाए र तत्काल रिहाइको माग गरे।

सन् २०२२ मा आर्थिक संकटले राजनीतिक अस्थिरता निम्त्याएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई राजीनामा दिन बाध्य पारेर विक्रमासिङ्घे सत्तामा आएका थिए।

उनको नेतृत्वमा मुद्रास्फीति घटेको, स्थानीय मुद्रा बलियो बनेको र विदेशी भण्डार बढेको बताइन्छ। तर मितव्ययिताका कठोर नीतिहरूका कारण उनको सरकार आलोचनाको चपेटामा परेको थियो।-रासस/एपी

प्रकाशित: ११ भदौ २०८२ १८:१४ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast